९ जेठ, भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जे पायो त्यही बोलेको र जनतालाई झुक्याएको आरोप लगाएका छन् ।
कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘अहिले केपी ओली अन्ट सन्ट बोलिरहेका छन्, कहिले जनताको घर-घरमा ग्यासको पाइप पुर्याउने, कहिले रेल कुदाउने त कहिले पानी जहाज चलाउने भन्छन् । काम नगर्ने, जनतालाई कहिलेसम्म झुक्याउने ?’
प्रधानमन्त्रीले तत्काल पूरा गर्न नसकिने कुराहरु बोल्दै जनतालाई झुक्याउने गरेको उनले आरोप लगाए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल एक बर्ष भित्र बनाउँछु भनी गरेको घोषणा व्यवहारिक रुपमा कठिनाई भएको देउवाले दाबी गरे । ‘लुम्बिनीमा ५ हजार हैन ५ सय मानिस अट्ने सभाहल बनाएर देखाउन चुनौती दिन्छु’ उनले भने ।
कांग्रेस सभापति देउवाले जनतालाई झुक्याउने झुठा आश्वासन दिएर समय खेर नफाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
देउवाले विपक्षी दल कांग्रेस वैकल्पिक सरकार भएको बताए । देउवाले नयाँ संविधान समावेशी, प्रजातान्त्रिक चएको तर, कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
असन्तुष्टिका विषयलाई संविधान संशोधनमार्फत् समस्या समाधान गर्न सकिने उनले बताए । उनले भने, ‘संविधान जारी भएपछि संशोधन भइसक्यो र जनताको आवश्यकता, भावनाअनुसार भोलि पनि संशोधन हुनसक्छ ।’
पछिल्लोपटक भएको सरकार परिवर्तनको खेलप्रति संकेत गर्दै उनले सरकारमै रहेको घटक सरकार ढाल्नुपर्छ भन्दै आफू कहाँ आएको जिकिर गरे । ‘सरकारमा बसेको दल सरकार ढलाउनु पर्यो भन्दै आए, प्रतिपक्षले जोगाउनु पर्छ भन्ने कुरा भएन,’ उनले भने विपक्षीको नाताले हुन्छ अगाडि बढ्नुस् भनेको मात्र हुँ ।’
सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रचण्ड आफैं सरकार परिवर्तन गर्न पर्यो भन्दै आएको र पछि कांग्रेसलाई धोका दिएको बताए । कम्युनिष्ट पार्टीहरु सत्तामा जान र सत्ता टिकाउनलाई मात्र राष्ट्रिय मुद्दा बोकेर हिँड्ने गरेको भन्दै कम्युनिष्ट पार्टीहरु कहिले पनि राष्ट्रवादी हुन नसक्ने बताए ।
अर्का केन्द्रीय सदस्य गगन थापाले संविधान कार्यान्वयनमा चुनौती रहेको औल्याउँदै चुनौतीलाई आत्मसाथ गर्दै सविधान कार्यान्वयनमा जानुपर्ने बताए । मधेसका समस्या सम्बोधन गर्ने र सबैको भावना समेटेर अगाडि बढ्ने दायित्व कांग्रेसको काँधमा रहेको भन्दै उनले नेतृत्वले सबैका भावना समेटेर अगाडि बढ्न प्रयत्न गर्नुपर्ने बताए ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4