Comments Add Comment

मलेसियाबाट फर्केका इलामे युवाको ‘जेल जर्नल’

भन्छन्- फेरि विदेश जान्छु, तर मलेसिया जान्न

३ असार, काठमाडौं । मलेसियामा ६ महिना जेल बसेर विकास लामा (नाम परिवर्तन) बुधबार राति काठमाडौं ओर्लिए । काठमाडौंबाट घर जान लागेका इलाम नयाँबजारका लामा उत्साही भन्दा बढी बेचैन देखिन्थे ।

Prison, Jailउनी मलेसिया गएको यो दोस्रोपटक थियो । अघिल्लोचोटि ३ वर्ष बिताएर फर्केका उनले यसपालि त्यहाँ डेढ वर्ष बिताए । तर, साढे चार वर्ष विदेशमा श्रम गर्दा पनि यतिबेला लामाको हात रित्तो छ ।

आर्थिक अवस्था सुध्रिनुको साटो उल्टै ऋणले थिचिएका छन् । त्यसैले उनी तेस्रोपटक विदेशिने सोचाइमा छन् ।

अघिल्लो ३ वर्षे विदेश बसाइमा केवल १ लाख २० हजार रुपैयाँ कमाएको लामा बताउँछन् । ‘त्यत्रो दुःख गरियो तर, लागेको ऋण पनि तिर्न सकिएन,’ उनले भने ।

गाउँकै एजेन्टले डुबाए

लामा दोहोर्‍याएर मलेसिया जाने सोचमै थिएनन् । तर, उनलाई गाउँकै एकजना म्यानपावर एजेन्टले उक्साए । न्यूनतम तलव नै महिनाको १४ सय रिंगेट हुन्छ भनेर लोभ देखाए ।

मलेसियाको चलेको प्लाष्टिक कम्पनीमा गतिलो कमाइ हुने, आइतबार ओभरटाइम गर्न सकिने, काम पनि सजिलो भनेपछि उनी लोभिए । त्यसपछि हतार-हतार एमआरपी बनाए । काठमाडौं नै आएर एमआरपी बनाउन १५ हजार खर्च गरे । त्यसपछि १ लाख ६० हजार रुपैयाँ नगद म्यानपावरमा बुझाए ।

कक्षा ८ पढेको बताउने लामा त्यो म्यानपावरको नामसम्म जान्दैनन् । उनले म्यानपावरको सञ्चालकको भिजिटिङ कार्ड भने साथमै राखेका छन् । त्यही झिकेर देखाउँदै भने, ‘यही म्यानपावरबाट गएको हो म । १ लाख ६० हजार दिँदा ३ सय रुपैयाँ फिर्ता दिएको हो ।’

उनलाई बिराट एसोसियट्स म्यानपावरले मलेसिया पठाएको रहेछ । गाउँमा सयकडा ३ मा खोजिएको १ लाख ६० हजार ऋणले उनलाई मलेसिया पुर्‍यायो ।

तर, त्यहाँ पुग्नासाथ उनले म्यानपावरबाट धोका पाएको थाहा पाए । नाम चलेको कम्पनी भनेर पठाइए पनि उनले एउटा मामुली मार्केटिङ स्टोरमा काम गर्नुपर्‍यो । उनलाई दिइएको एउटा पनि आश्वासन त्यहाँ पूरा हुने अवस्था थिएन । जब तलब बुझ्ने दिन आयो, त्यसपछि त उनी छाँगाबाट नै खसे झैँ भए । १४ सय ६ रिंगेट बेसिक तलवको सम्झौता गरेर गएका उनलाई साहुले ७ सय रिंगेट थमाए ।

खाना आफ्नै खर्चमा खानुपर्ने र कोठाभाडा बापत मासिक ५० रिंगेट पनि तिर्नुपथ्र्यो । यसैका कारण उनको महिनामा २ सय रिंगेट पनि नजोगिने भयो । ‘६ महिनासम्म त्यसैगरी काम गरंे, त्यसपछि साथीसँग १३ सय रिंगेट सापटी लिएर घरमा ५४ हजार रुपैयाँ पठाएँ । तामाङ भन्छन्, ‘पछि लेभी बढेर त्यो तलबले मलाई नै खर्च नपुग्ने अवस्था आयो । अनि मैले नभागी सुखै भएन ।’

काम गरेको प्रतिफल नै नपाइने भएपछि उनले पुराना चिनजानका एकजना साथीसँग कुरा गरेर भाग्ने चाँजोपाँजो मिलाए । आइतबार विदाको दिन पारेर भागे । आफ्नो पासपोर्ट र भिसाका डकुमेन्ट सबै पुरानो साहुसँगै थियो । तामाङले कपडा पोको पारेर कम्पनी छोडे ।

यसरी जेल परे

त्यहाँबाट भागेर उनी सेलंगरको चेरास पुगे । भागेको एक महिनासम्म कामविहीन भए । बल्ल एउटा रेष्टुरेन्ट र स्टोरमा अवैधानिक कामदारका रुपमा काम भेटे । त्यहाँ भने उनलाई खाएरै १२ सय रिंगेट तलब मिल्यो ।

उनले पहिले साथीसँग लिएको १३ रिंगेट तिरे । बिस्तारै पैसा बचाउँदै गए । ४२ हजार रुपैयाँ घर पठाउन भ्याए । तर, यो सिलसिला लामो समय टिक्न सकेन ।

गत सेप्टेम्बरमा उनी काम गरेको कम्पनीमा मलेसियाको अध्यागमनले छापा मार्‍यो । उनीसहित अवैधानिकरुपमा कार्यरत कामदार पक्राउ परे । अन्य पाँचजना नेपालीसँगै उनी प्रहरी हिरासत पुगे ।

‘१४ दिनपछि हामीलाई अदालतमा पेश गरियो । हामीलाई अवैध भएकोबारे सोधियो । तर, हामीले मुख खोलेनौं,’ लामाले भने- ‘त्यसपछि त पुलिसले हामीलाई झन् डर देखायो । १० वर्ष जेल हाल्ने र १० हजार रिंगेट जरिवाना लगाउने धम्की दिए ।

एक महिनापछि फेरि अदालतमा लैजाँदा हामीले गल्ती स्वीकार्‍यौं । त्यसपछि हामीलाई तीन महिनालाई भनेर जेल पठाइयो ।

कष्टकर जेल बसाइ

लामाका अनुसार मलेसियाको जेल जीवन ज्यादै कष्टकर थियो । साँघुरो कोठाभित्र धेरैजनालाई राखिएको उनी बताउँछन् । ‘जेलभित्र नाम मात्रको खाना दिँदा रहेछन् । प्रायः नुन र पानीमा प्याज हालेको तरकारी र भात दिन्थे । सामान्य कुरामा पनि नराम्रोसँग पिटेर यातना दिन्थे’ उनी भन्छन्- ‘सुत्नलाई एउटा पातलो ब्ल्यांकेट दिन्थे । त्यसैका भरमा कठ्याङ्ग्रीने जाडो कटाउनुपथ्र्यो ।’ भाषाको समस्याका कारण पनि जेलमा धेरै पिटाइ खानुपरेको उनी बताउँछन् ।

उनी ४ महिना १५ दिन जेल बसेर इमिग्रसेसनको सेल्टरमा आए । अब उनलाई त्यहाँबाट फर्किनुपर्ने थियो । तर, जेल भन्दा पनि त्यहाँ उनले धेरै कष्ट बेहोरे । अध्यागमन अधिकारी र प्रहरीले सेल्टरमा रहँदा गर्ने ब्यवहारले धेरै नेपाली पीडित भएको उनको भनाइ छ ।

‘हाम्रा दूतावासका मान्छे त्यो क्याम्पमा महिना दिनमा पनि पुग्दैन रहेनछन् । त्यसैकारण नेपालीलाई त्यहाँ धेरै हेपिन्छ । यता फर्काउने पासको फारम भराउनै महिनौं लगाइदिने रहेछन्’ उनी भन्छन्-‘जेलमा सजायँ काटेर आएकालाई अर्को जेलका रुपमा त्यो क्याम्प खडा गरिएको छ । हाम्रो सरकारले पनि क्याम्पमा आएकालाई उद्धार गर्न चासो दिँदो रहेनछ ।’

जेलमा बस्दा जस्तो क्याम्पमा बिरामी पर्दा पनि उपचार नपाइने उनले सुनाए । बिरामीहरुलाई त्यहाँका अधिकारीले कुनै वास्ता नगर्दा धेरै नेपालीको स्वास्थ्य बिगि्रएको उनले जानकारी दिए ।

‘जति माग्दा पनि औषधि दिइँदैनन् । दिए पनि त्यही प्यानाडोल -औषधि) दिन्छ’ उनी भन्छन्- ‘ज्वरो आएपनि प्यानाडोल, खुट्टामा घाउ आए पनि प्यानाडोल । मर्ने नै भयो भनेपछि मात्रै हो बाहिर उपचार गर्न लैजाने त ।’

उनी झण्डै २ महिना क्याम्पमा बसे । बल्लतल्ल आइओएम र प्रवासी नेपाली समन्वय समितिको पहलमा उनको उद्धार भयो ।

३० वर्षीय लामाले आफ्नो जीवनको अमूल्य ५ वर्ष विदेशमा श्रम गरे । उनको आर्थिक अवस्था सुधि्रनुको साटो उल्टै ऋणको भारीले थिचिएको छ । त्यसैले उनी तेस्रोपटक विदेशिने योजना बुन्दैछन् ।

‘सयकडा ३ को ऋणको सावा त के, ब्याजको पनि हिसाब गरेको छैन । ऋण दिनेहरुले मागेका माग्यै छन् । अर्काको पैसा हो, दिनु त पर्छ नै’ उनी दुखेसो गर्छन्-‘अब फेरि विदेश नगई त सुखै छैन ।’

अब मलेसिया जान्न

लामा अब विदेश गए पनि मलेसिया भने कुनै हालतमा पनि नजाने बताउँछन् । मलेसिया नेपाली कामदारका लागि ठीक ठाउँ नभएको उनको निश्कर्ष छ ।

‘जसलाई जति बेलामा पनि पुलिसले पक्रिन्छ । कहाँ कतिबेला कसले लुट्छ भन्ने पत्तो हुँदैन । न गतिलो तलब पाइन्छ’ उनले बेलिविस्तार लाउँदै भने ।

उनले धेरै नेपालीलाई पुलिसले झूठा मुद्दा लगाएर फसाएको देखेका छन् । भिसा र पासपोर्ट नभएकालाई विशेषगरी ड्रग्सको मुद्दा लगाइने गरेको उनी बताउँछन् ।

‘एक जना धनकुटाका दाइलाई त्यत्तिकै आइस केस (लागुऔषध मुद्दा) लगाइदिएको छ । उनी ३ वर्षदेखि जेलमा छन्’ तामाङ भन्छन्- ‘त्यहाँको अदालतले पनि आँखा चिम्लेर पुलिसकै कुरा पत्याउँछ ।’

जेल बस्दा बस्दै धेरै नेपाली मानसिक रोगको शिकार भएको उनले प्रत्यक्ष देखे । टोलाउने, खाना नखाने, छिनछिनमा बर्बराउने लगायतका समस्या भएका नेपाली उनले जेलमै भेटे ।

‘यहाँबाट ठूलो सपना देखाएर पठाएकालाई घात भएपछि दिमागलाई कन्ट्रोलमा राख्नै गाह्रो हुन्छ’ लामा भन्छन् ।’

छोरी बिरामी भइराख्ने हुनाले लामालाई थप तनाव छ । उनले सुनुवार थरकी केटीसँग अन्तरजातीय विवाह गरेकाले परिवारबाट खासै सहयोग मिल्दैन । श्रीमतीका आफन्तले त अहिलेसम्म छोरीलाई समेत बोलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment