७ असार, काठमाडाैं । नारायणहिटी राजदरवारको गेटअगाडि मञ्च खडा गरेर मंगलबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सपरिवार सहभागी भए । साथमा थिए भारतीय राजदूत रणाजीत राय ।
कार्यक्रमका लागि नारायणहिटी अगाडिको सडक पुरै कब्जा गरिएको थियो । वर्षाको कारण टुँडिखेल हिलाम्य भएकाले सडकमै योग दिवस मनाइएको हो ।
योग दिवसका सहभागीहरुको पहिलो हारमा उपप्रधानमन्त्री कमल थापा र भारतीय राजदूत रणजित रेसँगै मिसिएका थिए प्रधानमन्त्रीका दम्पत्ति । कुर्ता र सुरुवाल लगाएर आएका प्रधानमन्त्री ओलीले अरुले जस्तै योग दिवसको टिशर्ट पहिरिए । उनलाई टिशर्ट लगाउन पत्नी राधिकाले सघाएकी थिइन् ।
अलिक कठिन योगासनहरु सिकाइँदा प्रधानमन्त्री ठिंग उभिइरहे । सूर्य नमस्कार लगायतका सामान्य योगासनहरु भने उनले अरुसँगै गरेका थिए । कार्यक्रममा प्रधानमन्त्रीले भाषण पनि गरे । उनले संयुक्त राष्ट्रसंघले समेत मान्यता दिएको योग दिवसको ठूलो अर्थ र महत्व रहेको बताए ।
भारतको प्रस्तावमा दुई वर्ष अघिदेखि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो ।
प्रतिक्रिया 4