Comments Add Comment

एक्स्काभेटर चलाएर भविश्य बनाउने हो ? २५ हजार खर्चिनुस्

excavetor-2
२९ असार, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित एमएडब्लु अपरेटर तालिम केन्द्रमा धेरै जना युवा हेभी इक्वीपमेण्ट चलाउन सिक्दैछन् । तालिम सकिएपछि राम्रो अवसर पाइने आशा उनीहरु सबैमा छ ।

तालिममा ८ कक्षा उत्तीर्ण भएकादेखि ब्याचलर सकेकाहरुसम्म सहभागी छन् । न्यून शैक्षिक योग्यता भएपनि नेपालमै मासिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्न सक्ने भएपछि युवाको आकर्षण अपरेटर तालिममा देखिएको छ ।

तालिम केन्द्रकी प्रशिक्षक संगीता गैरे भन्छिन्, ‘क्यानडामा पीआर पाएकाहरुले पनि यही तालिम लिए । हामी अचम्ममा पर्‍यौं । विदशेमा इन्जिनियरको भन्दा अपरेटरको कमाइ राम्रो हुने रहेछ । त्यसैले यो तालिम लिन आकर्षण बढ्दो छ ।’

कसरी सिक्ने ?

न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमसँगको सहकार्यमा एमएडब्लु इण्टरप्राइजेजले २२ हजार ५ सयदेखि २५ हजार ५ सय रुपैयाँमा यो तालिम सिकाउँछ । अन्य विभिन्न संस्थाले पनि यो तालिम चलाएका छन् ।

कम्पनीले एक्स्काभेटर र ब्याक-हो लोडर गरी दुई किसिमका इक्वीपमेण्टको तालीम दिँदै आएको छ । कन्स्ट्रक्शन इक्वीपमेण्ट ट्रेनिङ एण्ड सर्भिस सेन्टरले पनि चेन एक्स्काभेटरको तालिम दिँदै आएको छ ।

एमएडब्ल्यूले मासिक औसत ४० जनालाई अपरेटरको तालिम दिइरहेको छ । १ महिने तालिम लिएकाले तराई क्षेत्रमा काम गर्न सक्छन् । तर, पहाडी क्षेहरुमा काम गर्नेहरुले भने फिल्डमा गएर केही समय चालकहरुसँग अझै प्रत्यक्ष अनुभव हाँसिल गर्नुपर्छ ।

एक महिने तालिम लिएपछि विभिन्न परियोजनामा काम पाउने सम्भावना पनि हुन्छ । काम गदैै जाँदा अनुभवले अपरेटर पोख्त हुँदै जान्छ । नेपालमा सडक विभाग अन्तरगत पनि तीन महिने तालिम चल्छ । तर, महंगो हुने भएकाले धेरै युवा एक महिने तालिमबाटै अपरेटर बनेका छन् ।

‘एक महिनामै दक्ष कामदार बनाउन नसकिए पनि रोजगारीका लागि तालिमले ढोका खुला गरिदिन्छ,’ प्रशिक्षक गैरे भन्छिन्, ‘यहाँ काम नपाएर भौतारिएका र विदेश जाँदा राम्रै कमाउँ भन्ने कसैलाई लागेको छ भने यो उपयुक्त पेशा र सीप हो ।’

नेपालमा तालिम नलिएर सहचालकका रुपमा हेभी इक्वीपमेण्ट चलाउन सिक्नेको संख्या पनि उच्च छ । तर, अपरेटरले इक्वीपमेण्ट चलाउन जाने पनि यसको सुरक्षा, मर्मत सम्भारलगायत काममा भने दक्ष हुँदैनन् । त्यसैले यस्तो व्यावसायीक तालिम जरुरी रहेको गैरेको भनाइ छ ।

माग धेरै, दक्ष कम

नेपालमा अपरेटरको जति माग छ, त्योअनुसार सीप सिक्ने र काम गर्नेहरु छैनन् । त्यसैले अपरेटरमा अझै पनि भारतीय श्रम बजारमा नेपाल निर्भर छ । धेरै भारतीय अपरेटरहरु अहिले पनि नेपालका ठूला परियोजनमा कार्यरत छन् । वर्षाको समयमा पहिरो खसेका पहाडी बाटाहरुमा एक्स्काभेटर चलाउनेहरु नभएर हैरान छ ।

हेभी इक्वीपमेन्ट अपरेटरको रोजगारीमा राम्रो कमाइ हुने देखेर नै यो तालिम लिनेहरु विस्तारै बढ्दैछन् ।

तालिम लिएपछि सिधै दक्ष अपरेटर बन्न भने सकिँदैन । यसका लागि उनीहरुले चालक अनुमतिपत्र लिनुपर्छ । तर, नेपालमा चालक अनुमतिपत्र नलिइ अपरेटर काम गर्नेको संख्या उच्च छ । लगभग ६ सय अपरेटरले मात्रै अनुमतिपत्र लिएका छन् । तर, झण्डै ३ देखि ४ हजार अपरेटरहरु अहिले पनि कार्यक्षेत्रमा छन् ।

बढ्दो स्कोप
पूर्वाधार निर्माणका लागि हेभी इक्वीपमेन्ट अनिवार्य साधन हो । अब झन् अत्याधुनिक इक्वीपमेन्टहरु भित्रिँदै गर्दा यो क्षेत्रको स्कोप बढेर गएको छ ।

नयाँ इक्वीपमेण्ट किन्नेहरुले तालीम प्राप्त दक्ष जनशक्तिलाई काममा बढी प्राथमिकता दिने गरेका छन् । त्यसैले पनि तालिम लिएका अपरेटरहरूले सजिलै काम पाउने अवस्था छ ।

पछिल्लो समय नेपालमा ठूला आयोजनाका रुपमा सडक, उद्योग, क्रसर, हाइड्रोपावरलगायत भौतिक पूर्वाधार निर्माण हुने क्रम तीव्र छ ।

Sadak-Rasuwa
अब विकासको गति लिन लागेको नेपालमा यो पेशामा लाग्नेहरुका लागि अवसरले पनि गति लिँदैछ । मागअनुसार जनशक्ति नहुँदा यो क्षेत्रमा कमाइ पनि गतिलै छ । दक्ष भएपछि महिनामा ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्न पच्चीस हजार रुपैयाँ खर्च गरेर यो सीप सिक्दा हुन्छ ।

अपरेटरको न्युनतम् मासिक तलवसहित मेसिन चलाएको घण्टाका हिसावले भत्ता पनि जोडिन्छ । विकट पहाडी क्षेत्रसम्म गएर काम गर्नेले नेपालमै पनि १ लाख रुपैयाँसम्म कमाउँछन् ।

अधिकांश विदेश

तर, नेपालमा अपरेटरको तालिम लिने ८० प्रतिशत युवा विदेश जाने गरेका छन् । त्यसमध्ये पनि अधिकांश खाडी मुलुक नै जान्छन् ।
‘केही लहै-लहैमा जानेले विदेशमा दुःख पनि पाएका छन् । तर, तालिम लिएर जानेहरुमध्ये ९५ प्रतिशतले साउदी-कतारमै पनि महिनाको एक लाख रुपैयाँभन्दा बढी कमाउँछन्,’ प्रशिक्षक गैरे भन्छिन्, ‘हामीले सिकाएर विद्यार्थीले प्रगति गरेको देख्दा निकै खुसी लाग्छ । उनीहरुले पनि आभार प्रकट गरिरहेका छन् ।’

यूरोपियन देशमा पनि राम्रो माग रहेकाले आजभोलि यो तालिम लिएर विदेशिने युवाको संख्या बढ्दो छ ।

लाइसेन्समा समस्या

पिच सडकमा चलाउन मिल्ने र नमिल्ने गरी दुईथरी हेभी इक्वीपमेण्ट हुन्छन् । चेन भएको एक्स्काभेटर पिच सडकमा चलाउन पाइँदैन । त्यसका लागि ड्राइभिङ लाइसेन्सको आवश्यकता नपर्ने भए पनि सरकारले सबै प्रकारका हेभी इक्वीपमेण्ट चलाउन लाइसेन्स अनिवार्य गरेको छ ।

सरकारले यस्ता उपकरणको लाइसेन्स लिन लाइट गाडीको लाइसेन्स हुनै पर्ने नियम पनि राखेको छ । २ वर्ष हल्का सवारी चलाएकाले मात्रै ठूला मेसिनको लाइसेन्स बनाउन पाउँछन् । त्यसैले धेरैले लाइसेन्स निकाल्न चासो नदिँदा ८० प्रतिशत अपरेटरहरु लाइसेन्स नलिइ मेसिन चलाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment