+
+

बजार अनुगमनका क्रममा व्यापारी पक्राउ गरेको बिरोधमा बजार बन्द

रासस रासस
२०७३ भदौ ९ गते १०:१२
Hifajat-Miya-ko-Pasal
फाइल फोटो

९ भदौ, गोरखा। व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ ।

सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ‘छापामार शैलीमा व्यापारीलाई जानकारी नगराई बजार अनुगमन गरेको तथा निर्दोष व्यापारीलाई हिरासतमा राखेको’ भन्दै छुटाउन दबाब दिन सङ्घले बजार बन्द गराएको हो । होटल तथा दूध, तरकारी बिक्री गर्ने पसल खुल्ला रहेपनि अन्य पसल बन्द छन् । सडकमा गाडी भने निर्बाधरुपमा चलेका छन् ।

सङ्घका महासचिव भगवानबाबु मास्के नेतृत्वको टोलीले बजार बन्द गर्न आह्वान गर्दै बिहानदेखि माइकिङ गर्दै हिँडेका थिए । प्रशासनले भने पक्राउ परेका व्यापारी विरुद्ध कालोबजारी ऐन तथा केही सार्वजनिक अपराध ऐनअनुसार कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । थप अनुसन्धानका लागि बुधबार पाँच दिनको म्याद थपिएको छ ।

अनुदानको मल कृषक समूह वा सहकारीले बिक्री गर्न पाउने भएपनि ती व्यापारीले गाउँका बचत तथा ऋण सहकारीमार्फत मल ल्याई सदरमुकामस्थित व्यक्तिगत पसलबाट बिक्री गर्दै आएको अनुगमन टोलीले बिलसहित फेला पारेको थियो ।

अनुगमनपछि तीनवटा पसलमा ५० किलोका ३६४ बोरा मल सिलबन्दी गरेको छ । “अनिता एग्रोभेटमा १९५ बोरा, विशाल किराना स्टोर्समा ७९ बोरा र श्रेष्ठ किरानामा ५० बोरा मल बिक्रीका लागि राखेको पाइइएको थियो ।

अनु श्रेष्ठ र ईश्वर श्रेष्ठले अनुदानको मल ढुवानी मात्रै गरिदिएको दाबी गरेपनि उनीहरुले बिक्री पनि गरेको बिल पनि भेटिएको हो । रामशरण कोइरालाले आफू सहकारीको संस्थापक सदस्य रहेकाले सहकारीले मल बेच्ने अनुमति दिएको दाबी गर्दै आएका छन् ।

यसअघि विभिन्न राजनीतिक दल, मजदुर सङ्घसङ्गठन तथा यातायात व्यवसायीले गोरखा बजार बन्दको आह्वान गर्दा सङ्घले विज्ञप्ति जारी गर्दै व्यापार, व्यवसाय गर्न पाउनुपर्ने भन्दै विरोध गर्दै आएको थियो । तर कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारीलाई छुटाउन दबाब दिने भन्दै सङ्घकै नेतृत्वमा बजार बन्द हुनु हाँसोलाग्दो तथा कानुनको धज्जी उडाउने काम भएको सर्वसाधारण बताउँछन् ।

सङ्घका कार्यवाहक अध्यक्ष जीवनज्योति श्रेष्ठले प्रशासनले व्यापारीमाथि क्रूरतापूर्वक कारबाही प्रक्रिया अघि बढाएको विरोधमा बजार बन्द गर्नु परेको बताए । बजार खुलाउन प्रशासनले खासै पहल भने गरेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?