Comments Add Comment

एसडी मुनीको सुझावः मधेसी-जनजाति मिल्नोस्, दुईतिहाइ पुग्छ !

'माओवादीले एजेण्डा छाड्यो, मधेसीहरुमा एकता छैन'

sd-muni१७  कात्तिक, काठमाडौं । भारतीय प्राध्यापक एडसी मुनीले नेपालका मधेसी र जनजातिलाई आपसमा मिल्न र बहुमत पुर्‍याउन सुझाव दिएका छन् ।

राजधानीको र्‍याडिसन होटलमा बुधबारदेखि सुरु भएको नेपाल-भारतबारे दुई दिने सम्मेलनमा मुनीले मधेसी र जनजातिलाई आपसमा मिलेर दुई तिहाई मत पुर्‍याउन सुझाएका हुन् ।

कार्यक्रमा मुनीले ‘समावेशी लोकतन्त्रः भारत र नेपालको अनुभव’ विषयक सेसनको अध्यक्षता गरेका थिए, जहाँ डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, तरुण विजय र आरपी शर्मा लगायतका वक्ताहरु थिए ।

नेपालबारे बोल्दा आफूले भारतीय हुँ भन्ने बिर्सने गरेको र, त्यही कारण आफूलाई हाम्रोबारे बोल्ने तिमी को हौं भनेर नेपालीले प्रश्न आउने गरेको मुनीले सुनाए ।

नेपालमा संघीयतालाई लिर्ने दुई दृष्टिकोण गलत भएको मुनीले बताए । सानो देश छ, धान्न सक्दैन भन्ने र देश विखण्डन गर्छ भन्ने दुबै सोच गलत भएको उनले बताए । उनले भने, सानो र ठूलो देश भन्ने प्रश्नै होइन ।’

साथै संघीयताले देशलाई विखण्डन गर्ने नभएर अझ एकतावद्ध गर्ने उनको धारणा थियो ।

संघीयता स्वीकार गरेका कतिपय सार्क देशहरु अझै संघर्ष गरिरहेको भन्दै भारतीय प्राध्यापक मुनीले नेपालमा पनि अहिले त्यही समस्या देखिएको बताए ।

नेपालका तीन समस्या

मुनी समावेशी र संघीयता कार्यान्वयनमा समस्या देखिनुका तीन कारण औंल्याएका छन् ।

पहिलोः सामाजिक समूहहरुको मानसिकता । मुनीका अनुसार यो समूहले हरेक कुरामा भारतलाई जोडेर हेर्छ, जसले गर्दा मूल एजेण्डामा ध्यान नै जाँदैन ।

मुनीले नेपालका लागि भारतको कुनै फर्मुला नरहेको दाबी गर्दै भने, भारतको एउटा मात्र चाहना सबै पक्षलाई समावेश गरेर नेपाल अघि बढोस् भन्ने हो ।’

दोस्रोः पछाडि पारिएका समूहहरुवीच एकता नहुनु । मुनीले भने, एजेण्डा र कार्यक्रममा मधेसीहरुकै एकता छैन । मधेसी र जनजाति एक हुन सकेका छैनन् ।’

डा. बाबुराम भट्टराईले भनेको जस्तो नेपालमा मधेसी र थारु एक तिहाई, आदिवासी जनजाति एक तिहाई र खसआर्य एक तिहाई रहेको भन्दै मुनीले अगाडि भने- मधेसी, थारु र जनजातिको दुई तिहाई भयो भने एक तिहाईले अस्वीकार गर्न सक्दैन ।’

शान्तिपूर्ण संघर्षमा पनि शक्ति संख्याले आउने बताउँदै मुनीले भने, एक तिहाई मधेस, एक तिहाई जनजाति । यो भनेको दुई तिहाई हो । यसलाई अस्वीकार गर्न सकिँदैन ।’

उनले अघि भने, मलाई लाग्छ-यो मधेसी र जनजातिले गम्भीर छलफल र गृहकार्य गर्ने समय हो ।’

तेस्रोः माओवादीको कमजोरी । प्राध्यापक मुनीले तेस्रो समस्याका रुपमा माओवादीको आलोचना गरे । मधेसी र जनजातिका मुद्दाहरु माओवादीले नै उठाएको तर, वीचमा आएर उसले ती एजेण्डा छाडिदिँदा समस्या सिर्जना भएको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment