३० कात्तिक, काठमाडौं । फेसबुक धेरैका लागि सम्पर्कमा रहिरहने र सूचना आदान-प्रदान गर्ने माध्यम बनिरहेको छ । तर पछिल्लो समय नेपाली समाजमा फेसबुक अपराधको कारक पनि बन्न थालेको छ ।
विषेश गरेर युवा युवतीका लागि फेसबुक जति उपयोगी भैरहेको छ त्यति नै घातक पनि । त्यही फेसबुकले नुवाकोटकी अनुजा लामिछानेको पनि ज्यान लिएको छ ।
प्रेमीलाई पासवर्ड दिएपछि
कतिपय श्रीमान श्रीमती अथवा, पे्रमी पे्रमीकाले आफ्ना फेसबुकको युजेर नेम र पासवर्ड दुरुपयोग नहुने विश्वाससका साथ एकअर्कालाई दिने गर्दछन् । नुवाकोट बेत्रावतीकी अनुजाले पनि प्रेमी भनिएका गाउँकै अनिल डंगोललाई आफ्नो फेसबुकको पासवर्ड दिइन् । अनुजाको फेसबुक अनिलले बेला-बेला खोलेर हेरिरहन्थे ।
तिहार अघि दुबैजना डेटिङ गएका थिए । डेटिङमा डंगोलले अनुजालाई किस गर्न लागेको फोटो खिचे । त्यही फोटो अनुजाकै फेसबुकबाट सार्वजनिक गरिदिए । आफ्नो फेसबुकबाट किस गरेको फोटो सार्वजनिक भएपछि अनुजा निकै तनावमा परिन् ।
अनुजाका बुवा शेष लामिछानेका अनुसार फोटो फेसबुकमा हालेपछि डंगोलले आफूबाहेक अरु कसैसँग पनि सम्बन्ध नराख्न ब्ल्याकमेलिङ गरेका थिए । ब्ल्याकमेलिङबाट आजित भएकी अनुजाले कात्तिक १५ गते बुवालाई आफ्नो समस्या बताएकी थिइन् ।
शेषले भने, ‘छोरीले कुनै केटाले यस्तो गरिरहेको छ भनेर सुनाएकी थिइ । मैले भोलि कुरा गर्छु भनेँ । तर भोलिपल्टै मेरो छोरी गायब भइ ।’
भाइटीकाको दिन पुलबाट खसालेर हत्या
कात्तिक १६ गते भाइटिकाको दिन थियो । वरपर छरछिमेक तिहारको रमाइलोमा मस्त थिए । तर यता लामिछानेको परिवारको मन भने रम्न सकिरहेको थिएन । टिकाटालो सकेर शेषबहादुर लामिछाने घरमै बसिरहेका थिए । साँझ करिब ७ बजे छोरी अनुजा घरबाट निस्किन् ।
छोरी घरबाट निस्किएको केहीबेरपछि एक व्यक्ति पुलबाट अनुजाले हामफालेको भन्दै आइपुगे । गाउँले तत्काल अनुजाको खोजीमा लागे तर कतै भेटिएन । राती अबेरसम्म खोज्दा पनि नभेटिए पछि सबै घर फर्किए । भोलिपल्ट बिहानै फेरि खोजीमा लाग्दा अनुजाको शव नग्न अवस्थामा त्रिशुली नदीको किनारमा भेटियो ।
घटनालगत्तै प्रहरीले अनुसन्धान गर्दा हल्ला गर्ने व्यक्ति अर्थात अनिल डंगोलले नै पुलबाट फालेर अनुजाको हत्या गरेको खुल्यो । अनुजाका प्रेमी भनिएका तिनै अनिल डंगोलले नै अनुजाले पुलबाट हाम फालेको भनेर लामिछाने परिवारलाई खबर दिएका रहेछन् । घटना अनुसन्धानका लागि डंगोललाई प्रहरीले हिरासतमा लियो । तर, जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने अनुजाको हत्या भएको हो वा आत्महत्या भन्ने एकीन हुन नसकेको दावी गरेको छ ।
पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएन
भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १७ गते अनुजाको शव त्रिशुली किनारमा भेटिएको थियो । प्रहरीले शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्यायो । तर अहिलेसम्म पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको अनुजाका बुवा शेषबहादुरले बताए ।
‘छोरीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेर प्रहरीले घटनालाई कमजोर बनाउन खोजेको र अभियुक्तलाई छुटकारा दिन खोजेको शंका लागेको छ,’ शेषबहादुरले भने, ‘तुरुन्त सत्य तथ्य सार्बजनिक गर्नुपर्यो ।’
कतिपय राजनितिक दलका नेताहरुले पनि घटनालाई दबाउन खोजेको पीडित पक्षको आरोप छ ।
आफ्नो पासवर्ड कसैलाई पनि नदिनुस्ः प्रहरी
आफूले विश्वासिलो ठानेको व्यक्तिले विश्वासघात गर्नसक्ने भन्दै प्रहरीले आफ्नो पासवर्ड कसैलाई पनि नदिन आग्रह गरेको छ । अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिराय यादवका अनुसार श्रीमान-श्रीमती अथवा पे्रमी-पे्रमीकामा फेसबुकको पासवर्ड दिने क्रम बढ्दै गएको छ तर त्यसैले पछि अपराधीक घटना निम्त्याउने गरेको छ ।
‘उनीहरु एकअर्कालाई विश्वास गरेर पासवर्ड दिन्छन् तर त्यसले पछि अर्कै घटना निम्त्याउन सक्छ । फेसबुकले निम्त्याउने अपराधको मुख्य कारण यही हो,’ निरीक्षक यादवले भने ।
युवाहरुले पासवर्डका आधारमा आफूसँग सम्बन्ध राख्न दवाव दिने तथा युवतीहरुले पैसाको बार्गेनिङ गर्ने गरेका घटनाहरु थुपै्र आउने गरेको यादव बताउँछन् ।
त्यस्तै कतिपय अपराधीक व्यक्तिहरुले फेसबुकमा साथी बनाउन खोज्ने भएकाले नचिनेका मान्छेहरुलाई फेसबुक साथी नबनाउन पनि निरीक्षक यादवको सुझाव छ ।
प्रतिक्रिया 4