२६ मंसिर, काठमाडौं । हवाई यात्रा गर्नुअघि जहाजभित्र कति तौलसम्मको सामान कस्तो आकारको झोला वा सुटकेसमा लान पाइन्छ भन्ने विषयमा यात्रुलाई विस्तृतमा जानकारी हुँदैन । यसमा पनि वायुसेवा कम्पनीपिच्छे आ-आफ्नै नियम हुन्छन् ।
पछिल्लो दुई दशकदेखि सहज र सरल तरिकाले स्वदेशी तथा विदेशी पर्यटकलाई उनीहरूको गन्तव्य पुर्याउँदै आएको निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरले जहाजमा यात्रुले लान पाउने सामानको तौल र झोला वा सुटकेसको आकारबारे जानकारी दिएको छ ।
‘हवाई यात्रा गर्दा कति तौलसम्मको सामान लान पाइन्छ र झोला वा सुटकेसको आकार कस्तो हुनुपर्छ भन्ने कमै यात्रुलाई थाहा हुन्छ,’ बुद्ध एयरको ग्राउन्ड अपरेसनका वरिष्ठ प्रबन्धक रत्न राई भन्छन्, ‘त्यसकारण यसबारे विस्तृतमा जानकारी नलिई विमानस्थल पुग्दा यात्रुलाई समस्या पर्नसक्छ र सामान बढी भयो वा झोलाको आकार सही भएन भने उडान गर्न नपाइने सम्भावना हुन्छ ।’
उनकाअनुसार सामान हाल्ने झोला वा सुटकेस आयताकार (रेक्टेंगल) आकारको हुनुपर्छ । नर्मल (महँगो) टिकट खरिद गर्ने यात्रुले प्रतिटिकट २० किलोसम्मको तौल लान पाउँछन् । एउटा ब्यागेजमा अधिकतम ३२ किलोभन्दा बढी तौलको सामान लान पाइँदैन । ‘आफूले लाने सामानसहित ब्यागेजको सम्पूर्ण सुरक्षा जाँच र त्यसको सबै जिम्मेवारी यात्रुकै हुने गर्छ,’ राई भन्छन् ।
बुद्धका अनुसार ‘फ्लाइट चेक इन काउन्टर’ मा ब्यागेज ट्याग लगाउनुपर्छ । कम्पनीको ब्यागेज संकलन समूहले ब्यागेज संकलन गरी यात्रुहरूको गन्तव्यअनुसार वर्गीकरण गर्छ । ‘ब्यागेजभित्र टुटफुट हुने खालको कुनै सामान छन् र त्यसमा सावधानीपूर्वक बोक्नुहोस् भन्ने ट्याग छ भने हामी थप सावधानीपूर्वक त्यस्ता ब्यागेज गन्तव्यसम्म पुर्याउँछौं,’ उनी भन्छन् ।
बुद्धसँग ब्यागेज ओसारपसार गर्ने विशेषखाले ट्रली छन् जसमा घामपानी छेक्ने छानो (कभर) समेत छ । ब्यागेज ओसारपसार सुरक्षित र थप सावधानीपूर्वक गरिने हुनाले आˆनो सामानबारे यात्रुले चिन्ता गर्नुनपर्ने राई बताउँछन् ।
‘यात्रुमात्र नभई उनीहरूको सामानको सुरक्षा गर्नु र उत्कृष्ट सेवा दिनु हाम्रो उद्देश्य हो,’ उनी थप्छन्, ‘जब ब्यागेज गन्तव्य पुग्छ तब यात्रुले काउन्टरमा ट्याग देखाएपछि त्यसैअनुसार आफ्नो ब्यागेज पाउँछन् ।’
बुद्धका अनुसार सुरक्षा जाँच भइसकेका ब्यागेज उपयुक्त आकारको सुटकेस वा त्यस्तै अन्य कन्टेनरमा राखिएको हुनुपर्छ, जसले गर्दा सहज ओसारपसार गर्न सकिन्छ । प्रत्येक ब्यागेजमा उडान नम्बर, उडान मिति र गन्तव्य उल्लेख हुनुपर्छ । पुरानो ब्यागेज ट्याग छ भने हटाउनुपर्छ ।
‘यात्रु र ब्यागेज एउटै उडानमा हुनुपर्छ र आफ्नो ब्यागेज तथा बोर्डिङ कार्ड लिन यात्रु आफैं काउन्टरमा उपस्थित हुनुपर्छ,’ राई भन्छन्, ‘यात्रुलाई सुरक्षासम्बन्धी अनिवार्य प्रश्न सोधिने छ । प्रतिटिकट लान पाइनेभन्दा बढी तौलको सामान भयो भने थप शुल्क तिर्नुपर्छ र यसको सबै जिम्मेवारी यात्रुको नै हुने गर्छ ।’
कम्पनीका अनुसार प्रत्येक होल्ड ब्यागेज तौल गरिएको हुनुपर्छ र सबैमा ब्यागेज ट्याग राखिएको हुनुपर्छ । यसो भयो भने यात्रुले आफ्ना ब्यागेज सहज तरिकाले पाउन सक्छन् । हृविलचेयर, बग्गी, प्रामजस्ता सामान भने बुद्धले निःशुल्क लाने व्यवस्था गरेको छ ।
त्यसैगरी यात्रुले चेक इन भइसकेपछि र हुनुअघि ब्यागेज सुरक्षा प्रक्रिया सबै पूरा गरेको हुनुपर्छ । जाँच भइसकेको ब्यागेजमा मूल्यवान, विनाश हुने, टुटफुट हुने वा नाजुक किसिमका सामान हुनुहुँदैन ।
त्यसबाहेक ट्राभल डकुमेन्ट, मेडिकल सर्टिफिकेट, व्यापारसम्बन्धी कागजात, बोक्न मिल्ने ल्यापटप, मोबाइल, क्यामेरा, सांगीतिक सामग्री, तस्बिर, पैसा, गरगहना, औषधीलगायत सामान भने हृयान्ड क्यारीमा बोक्नुपर्छ । सबै चेक भइसकेका ब्यागेजका लागि बुद्धले एउटा छुट्टै व्यक्तिगत ट्याग पनि पनि जारी गर्ने गर्छ ।
जहाजभित्र खतरनाक वस्तु वा प्रतिवन्धित सामान नपुगोस् भन्ने उद्देश्यले सुरक्षाका लागि विमानस्थलस्थित बुद्धका कर्मचारीले यात्रुलाई यसबारे सोध्न सक्छन् ।
जहाज, यात्रु वा जहाजभित्रको सम्पत्तिमा खतरा हुनसक्ने सामान वा पदार्थ भएका ब्यागेज कम्पनीले लान दिँदैन । अमिल्दो गरी प्याक गरिएका सामान तथा कानुन, नियम वा सुरक्षा मापदण्डले प्रतिबन्ध लगाएका कुनै पनि सामग्री जहाजमार्फत लान र ल्याउन नपाइने बुद्धले जनाएको छ ।
त्यस्तै ३२ किलोसम्म तौल भएको सामानलाई बुद्धले असाध्यै गह्रुंगो मान्ने गरेको छ । त्यसकारण यस्ता ब्यागेज लिँदा कम्पनीले ‘हेभी लेबल’ को ट्याग झुन्डाइदिने गर्छ ।
३२ किलोभन्दा बढीको ब्यागेजलाई अधिकतम् तौल मान्ने गरिएको र यस्ता ब्यागेजमा ३२ किलोसम्मको तौलमात्र लान पाइन्छ र त्यसभन्दा बढी तौल अर्को झोला वा सुटकेसमा हाल्नुपर्ने कम्पनीको ग्राउन्ड अपरेसनका वरिष्ठ प्रबन्धक राईले जानकारी दिए ।
प्रतिक्रिया 4