Comments Add Comment

फास्ट ट्रयाक आफैं बनाउन सक्छौं, नसके भारत र चीनबाहेक अरुलाई बोलाऔं

नेपालसँग स्वार्थ नजोडिएका देशबाट सहयोग लिन सकिन्छ

kaman-singh-lama_810सरकारले हालैमात्र काठमाडौ-निजगढ फास्ट ट्रयाक आफैं निर्माण गर्ने भनेर घोषणा गरेको छ यो सही निर्णय हो । किनकि यो हामी आफैं बनाउन सक्छौं ।

हामी बनाउन सक्छौं होला त ? यस्ता प्रश्न धेरैका मनमा हुन सक्छन् । तर, ढुक्क हुन जरुरी छ कि फास्ट ट्रयाक हामी नेपालीले आफैंले नै बनाउन सक्छौं ।

विभिन्न देशमा जागिर तथा कामको सिलसिलामा पुग्दा मैले कैयन निर्माण  उद्योगमा नेपालीहरुले काम गरेको देखिरहेको छु । पुँजी, इन्जिनियरिङ र निर्माण हामी आफैं गर्न सक्छौं । यसमा कुनै शंका गर्न जरुरी छैन ।

(यो पनि पढ्नुहोस्: फास्ट ट्रयाक नेपाली ठेकेदारले मात्रै बनाउन सक्दैनन्- पूर्वसचिव सिटौला)

दक्षिण कोरिया अहिले अनुदान तथा सहयोग प्राप्त गर्ने देशहरुबाट सहयोग बाँड्ने देश बन्न खोजिरहेको छ । त्यसैले दक्षिण कोरियाबाट पनि निर्माणको क्षेत्रमा थुप्रै सहयोग प्राप्त गर्न सक्ने स्थिति छ । तर यो फास्ट ट्रयाक भने हामी आफैंले निर्माण गर्नुपर्छ ।

सकभर यो आयोजना नेपाली आफैंले निर्माण गर्न पर्दछ । यदि नेपाली बाहेक अन्य कम्पनीलाई फास्ट ट्रयाकको जिम्मा लगाउने हो भने नेपालका सीमा छोएका बाहेक अन्य देशका कम्पनीलाई  ठेक्का दिनुपर्छ ।

तर, छिमेकीबाहेक अन्य सीमा नजोडिएका राष्ट्रहरुलाई जिम्मा लगाउँदा हामीले छिमेकी राष्ट्रहरुसँग पनि दौत्य सम्बन्ध राख्नुपर्छ । छिमेकी राष्ट्रसँग सम्बन्ध राम्रो बनाउँदै सीमा नजोडिएका राष्ट्रहरुलाई यसको निर्माणमा जिम्मा लगाउँदा समयमै निर्माण हुन सक्ने सम्भावना प्रवल हुन्छ ।

(यो पनि पढ्नुहोस्: नीतिगत छिद्रहरु सच्याऔं, फास्ट ट्रयाक आफैं बनाऔं-डा. सूर्यराज आचार्य)

विभिन्न देशका आफ्ना आफ्नै स्वार्थ हुन सक्छन् । यसमा सीमा जोडिएका राष्ट्रहरुको स्वार्थ अलि बढी हुन सक्छ । तर, त्यो स्वार्थ छ भन्दैमा हामीले आफूलाई सच्याउने हो, अरुलाई गाली गर्ने होइन । के गर्‍यौं त आखिर हामीले विदेशीको स्वार्थ हटाउन  र कम गर्न ?

सीमा नजोडिएका राष्ट्रहरुमा एसियन मूलका राष्ट्रहरु खोज्ने हो भने जापान र दक्षिण कोरिया यस क्षेत्रमा विश्वमै सक्षम मानिन्छन् । दक्षिण कोरिया र जापानसँग सुरुङमार्ग निर्माणमा प्रशस्त ज्ञान र अनुभव छ । यदि हामीले फास्ट ट्रयाकमा सुरुङ  राख्ने हो भने दक्षिण कोरिया पनि हाम्रो लागि उत्तम हुन सक्छ ।

तर, दक्षिण कोरियाली प्राविधिकहरुका अनुसार नेपालको पर्वत श्रृंखला मजबुत छैन । अलि कमजोर भएका कारण नै दक्षिण कोरियाले जिम्मा लिएको कुलेखानीदेखि भीमफेदीको सुरुङ निर्माण केही ढिला भएको थियो ।

अब फास्ट ट्रयाक हामी जहाँ निर्माण गर्दैछौं, त्यो चुरे क्षेत्र हो । त्यसैले त्यहाँ पनि सुरुङमा जोड दिनु त्यति उचित हुँदैन । यस बाहेकका अन्य विकल्पहरुको पनि हामीले खोजी गर्नुपर्छ ।

हाम्रा नेपाली दक्ष नागरिकहरु अहिले विदेशमा काम गरिरहेका छन् । सरकारसँग नै आफ्ना दक्ष नागरिक के कति छन् भन्ने जानकारी छैन । किनकि सरकारले यसबारेमा प्रशस्त अध्ययन नै गरेको छैन ।

(यो पनि पढ्नुहोस्: फास्ट ट्रयाकको नामै ठीक छैन, फेर्नुपर्छ- स्वर्णिम वाग्ले)

फास्ट ट्रयाक निर्माणका लागि आवश्यक पर्ने जनशक्ति हामीले विदेशबाट खोज्नुपर्दैन । बरु विदेशमा रहेका हाम्रा यसै क्षेत्रमा दक्ष भएका मानिसहरुलाई भने स्वदेश बोलाउनु जरुरी छ । यदि हामी विदेशी दक्ष प्राविधिकहरु नै खोज्ने हो भने पनि थोरै मात्रै ल्याउँ ।

यो फास्ट ट्रयाक निर्माण भनेको हामीले आफ्नो क्षमता थाहा पाउने अवसर पनि हो । यसका लािग आवश्यक पर्ने नेपाली प्राविधिकहरुको खोजी गरौं । मलाई विश्वास छ, सहजै नेपालीहरु भेटिनेछन् । किनकि विदेशका कैयन निर्माण कम्पनीमा काम गर्दागर्दै हाम्रा नेपालीहरु दक्ष भइसकेका छन् । अब ती दक्ष जनशिक्तलाई हाम्रो देशमा भित्र्याउनु पर्छ ।

हामीले बनाउन सक्दैनौं र हाम्रा ठेकेदारहरु पनि इमान्दार छैनन् भनेर कसैले तर्क गर्छ भने त्यो निराश मानसिकता हो । के हामी हाम्रो क्षमता अध्ययन नगरी आँखा चिम्लेर सधैं यस्ता आयोजना विदेशीलाई जिम्मा लगाउने त ?

ठूला निर्माण आयोजनाहरुमा प्रयास नगर्ने र विदेशी कम्पनीलाई मात्रै जिम्मा लगाउने कार्यले निश्चय पनि देशलाई फाइदा गर्दैन । त्यसैले अब हामीले नै निर्माण गर्नुपर्छ  फास्ट ट्रयाक यदि अर्काेलाई जिम्मा लगाउने हो भने पनि छिमेकी राष्ट्र नचिढ्याई सीमा नछोएका राष्ट्रलाई यसको जिम्मा दिऔं ।

(लामा दक्षिण कोरियाका पूर्वराजदूत हुन्)   

यो पनि पढ्नुहोस्  

फास्ट ट्रयाक बनाउने, तर कुन मोडेलमा ?

काठमाडौं-निजगढ ‘फास्ट ट्र्याक’ किन बनेन ? अब कसरी बन्छ ?

फास्ट ट्रयाक: २५ वर्ष पुरानो सपना

भारतले यस कारण कब्जा गर्न चाहन्छ ‘फास्ट ट्रयाक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment