बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेकै थिए ?

दिनेशराज पन्त

dinesh-raj-pant-810

राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ ।

पछिल्लो समयमा पृथ्वीनारायणमाथि लगातार आक्रमण भएको पाइन्छ । उनी राष्ट्रनिर्माता हुन् कि होइनन् भन्नेमा विवाद गरिन्छ । खासमा नेपाल चाहिँदैन भन्ने कुराको कोही मतियार छन् भने उनको विरोध गरे हुन्छ । तर, नेपाल हाम्रो देश हो र यो चाहिन्छ भन्नेहरूले उनलाई गाली गर्न कदापि मिल्दैन । इतिहासको अध्ययन नहुने र उपबुज्रकहरुले मात्र गर्ने काम हो त्यो ।

हामी आज नेपाली भएर बसेका छौं । पृथ्वीनारायणलाई नमान्नु, बिर्सनु र उनको नामको दिवस नै बाहियात भन्नुको अर्थ हामीले नेपालको अस्तित्व नै स्वीकार छैन भन्नु हो । उनी राष्ट्रिय एकताको प्रतीक होइनन् भन्नुको अर्थ हामीलाई नेपाली भएर बस्न हामीलाई मन छैन भन्नु हो । हुन सक्थ्यो, त्यसबेला पृथ्वीनारायण नभएर यो देश एकीकरण गर्ने अर्कै व्यक्ति जन्मिन सक्थ्यो । त्यो त सम्भावनाको कुरा भयो । तर, उनले गरिसकेको काममा हामीले आँखा चिम्लिनु भनेको इतिहासको अपमान हो ।

पृथ्वीनारायणलाई आक्रमण गर्नेहरुले विभिन्न आरोप लगाएको पाइन्छ । उनले हाम्रो राज्य खाए, उनले कुनै एकीकरणको भावना नराखी आफ्नै स्वार्थवश राज्य विस्तार गरेका थिए भनेको सुनिन्छ । खासगरी काठमाडौंका बासिन्दाले हाम्रो राज्य खाए भन्ने आक्रोश मिसिएको छ ।

मानौं, पृथ्वीनारायणमा हजारौं दोष थियो रे । सुरुवाती चरणमा त उनले ठूलो राज्यको राजा हुनकै लागि राज्य विस्तार गर्दै लगेका हुन् । तर, त्यो कुराबाट हामीलाई फाइदा भयो । हामीले अहिले नेपाल हाम्रो राष्ट्र भन्न पायौं र नेपाली भएर बाँच्न पायौं ।

पृथ्वीनारायणको मूल्यांकन गर्दा धेरै जना पूर्वाग्रही भएको देखिन्छ । उनी र उनका सन्तानका चरित्र हेरेर उनको मूल्यांकन गर्नु वस्तुगत हिसाबले न्यायसंगत हुँदैन । उनका सन्ततिको बदनामीसँग जोडेर उनले गरेको नेपाल एकीकरणको योगदान भुल्न मिल्दैन ।

हुन त हिजोको समयमा पनि पृथ्वीनारायणको ठीक मूल्यांकन भएको थिएन । कतिपय पूर्ववर्ती इतिहासविद्हरुले नै चाकडीको दृष्टिकोणले उनको व्याख्या गरेका थिए । त्यस क्रममा देवत्वकरण पनि गरियो । तर, देवत्वकरण नगरी प्रमाणहरुको आधारमा हेर्दा नै उनको योगदान उच्च रहेको साबित हुन्छ ।

हिजोका दिनमा उनका सन्तानहरूले पनि पृथ्वीनारायण हाम्रो पुर्खा हुन्, उनले इतिहासमा ठूलो योगदान गरेका थिए भनेर हेरेको पाइँदैन । सन्तानको रुपमा पुर्खाको नाम भजाएर खानुपर्छ भन्ने दृष्टिकोण मात्रै थियो । अहिलेका मान्छेहरुले पनि उनको योगदानको पाटो नहेरी एकोहोरो विरोध गरिरहेका छन् । उनीहरुले आफ्नै खुट्टामा प्रहार गरिरहेका छन् ।

dineshraj-panta-3

नेपाल फैलिँदा ऐश्वर्य भोगको दायरा बढ्यो

हिजोको समयमा मल्लकालमा कान्तिपुर (काठमाडौं), पाटन र भक्तपुर गरी तीन वटा राज्य थिए । थापाथलीदेखि उता बागमतीपारि शत्रु राज्य थियो । हिजो काठमाडौंका मान्छेले कुपण्डोलको ऐश्वर्य भोग गर्न पाएका थिएनन् । यस्तै, पाटनको मान्छेले थापाथली र भक्तपुरको मान्छेले मनोहरापारिको ऐश्वर्य भोग्न पाएनन् ।

काठमाडौं, पाटन र भक्तपुरका राजाहरु दाजुभाइ नै भए पनि आपसमा रिस उठ्यो र झैझगडा पर्दा चाडपर्व र जात्रामा सर्वसाधारणले अर्को राज्यमा जाँदा समस्या भोग्नुपर्ने अवस्था थियो ।

आज मेचीदेखि महाकालीसम्मको ऐश्वर्य भोग गर्न सबै भूभागका मान्छेले पाएका छन् । त्यसको सुरुवात पृथ्वीनारायण शाहले नै गरेका हुन् । उनले काठमाडौंलाई राजधानी पनि बनाए । बरु त्यसपछि गोर्खा सुक्यो ।

यदि पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अहिलेको नेपाल नै हुन्थेन । हो, सुरुमा त उनले राज्य विस्तारको दृष्टिकोण मात्र राखेका हुन् । तर, समय क्रममा नेपाललाई कसरी एउटै बनाउने भन्ने उनको ध्याउन्न रह्यो । उनी राष्ट्रिय एकताको प्रतीक हुन् । यसको प्रमाण के भने नेपाल भएर त आज हामीले राष्ट्रिय एकतामा यो ठीक छ कि बेठीक छ भनेर हामीले बहस गर्न पाएका छौं ।

यसो भन्दैमा हामीले पृथ्वीनारायणलाई शाहजहाँ भनेर तारिफ गर्ने पनि होइन । त्यो त उनका सन्तानले वा उनलाई भजाएर खानेहरुले गर्लान् । हामी सामान्य मान्छेले त वस्तुगत रुपमा हेर्ने हो ।

क-कसको राज्य खाए ?

काठमाडौं खाल्डो आसपासमा उतिबेला तामाङ, नेवार लगायत विविध जातजातिले यहाँ हाम्रो राज्य थियो भन्ने दाबी गर्छन् । पृथ्वीनारायणले गर्दा त्यो गुम्यो भनेर सत्तासराप गर्ने गरिन्छ ।

यहाँ ती जातजातिको राज्य रहेको भए पनि पृथ्वीनारायणले राज्य विस्तारका क्रममा आफ्नो पकडमा नलिँदैमा ती राज्यहरु कसरी स्वतन्त्र रुपमा रहन सक्थे ? किनकि अस्ताउँदै गएको मुसलमानी शक्ति र बढ्दै गएको अंग्रेज शक्तिको चेपुवामा अवश्यै पर्थे उनीहरु । स्वतन्त्र रुपमा अस्तित्वमा रहन असम्भव थियो ।

नेपाल भयो र हामीले आफ्नो राज्य गुमायौं भन्ने हो भने पृथ्वीलाई जति गाली गरे पनि हुन्छ । नत्र अरु आधार भएन ।

तराईमा स्वतन्त्र राज्य थिएन

पृथ्वीनारायणमाथि अर्को आरोप लगाइन्छ, दुई सय ४० वर्षदेखिको तराईको राज्य खाइदिए भनेर । त्यो रिसले पनि कतिपयले उनीमाथि पूर्वाग्रह साँधेको पाइन्छ । विदेह/जनकहरुको युगमा तराईमा स्वतन्त्र राज्य थियो होला । तर, जुन बेलामा पृथ्वीनारायणले कब्जा गरे, त्यो बेलामा त तराई छुट्टै राज्य नै थिएन ।

dineshraj-panta-4

तराईका अधिकांश ठाउँमा पहाडी मूलका सेन राजाहरुको राज्य थियो । अवधका नबाव र त्योभन्दा अगाडि मुगलका बादशाहहरुले सेन राजाहरुलाई तराईको भूभाग कमाउन दिएका हुन् । त्यस हिसाबले तराई भन्नु त्यतिबेला सेन राजाहरुको राज्यको अंग मात्र हो ।

आज हेपिएका, दबिएका भनिएका जातजातिले पृथ्वीनारायणकै कारण राज्य खोसिँदा जातिगत रुपमा आफूहरु पछि परेको बात लगाउँछन् । तर, उनले एकीककरण गर्नुभन्दा अगाडिको समयमा ती जातजातिको अवस्था कति राम्रो थियो त ? त्यसरी पनि हेरौं । म त भन्छु, उनले एकीकरण अभियानबाट बरु बाहुन, क्षेत्री पो पीडित भए । गोर्खाली पीडित भए । किनकि उनीहरु भुरेटाकुरे भए पनि राजा भएर बसेका थिए ।

पृथ्वीनारायणले कुनै राज्य जितेपछि त्यहाँका जनता कोही प्रताडित हुनु परेन । बरु अमनचैन पाए । यो ऐतिहासिक तथ्यले बोल्छ । वि.सं. १८२६ मा रणजित मल्ल नेतृत्वको भक्तपुरमाथि उनले जित हात पारे । त्यसपछि भक्तपुर अन्तर्गत ठिमीका त्यसबेलाका भारदार ज्योतिषी खलकले लेखेका छन्, ‘रणजित मल्ल जुजु (राजा) हुँदा हरेक कुरामा महँगी थियो, पृथ्वीनारायण राजा हुँदा सस्तो भयो ।’ उनीहरुले बरु त्यतिबेला नै कुरा बुझेका रहेछन् ।

पृथ्वीनारायणले आफूले जितेका ठाउँमा स्थानीय संस्कृतिलाई नै बढावा दिए । आफ्ना कुरा थोपरेनन् । उनले कान्तिपुरमा आक्रमण गर्दा कुमारीको जात्रा चलिरहेको थियो । कुमारी त मल्ल राजाले मानेकी देवी थिइन् । तर, उनले जितेपछि पनि कुमारीलाई नै मानेर शासन चलाइदिए ।

वीर त अरु पनि थिए तर…

नेपालकै सन्दर्भमा कुरा गर्दा पृथ्वीनारायणभन्दा ठूला वीर त मुकुन्द सेन, यक्ष मल्ल थिए । पाल्पाका सेन त काठमाडौं उपत्यकासँग पनि लड्न आएका थिए । तर, उनीहरुमा सूक्ष्म भिजन थिएन । उनीहरुले राज्य भनेको राजाले बाँडेर खाने भनेर सम्झिए । पृथ्वीनारायणले भने त्यसरी सोचेनन् ।

उनले आफ्नो उपदेशमा बाउआमाको नाम लिएका छैनन्, तर भाइहरुको बारेमा उल्लेख गर्दै ‘हामी तीन खोपीका गरी पाँच पाण्डवका अवतार भयाका थियौं भनेका छन् । भाइहरुसँग राज्य बाँड्ने कुरामै उनको मत मिलेन । माहिलो भाइ महोद्दामकीर्ति शाहले विद्रोह गरेर तराईतिरको राजा हुन खोजेका थिए । तर, उनी टुक्रा नेपाल चाहँदैन थिए । राज्य बाँड्न नमानेपछि भाइहरु विरोधी भएर निस्किए ।

यदि सिन्धुलीको लडाइँमा पृथ्वीनारायणले ‘किन लकलाई हराउन नसकेका भए नेपालको वर्तमान स्वरुप नरहन सक्थ्यो । तर, त्यहाँ उनले किल्लाको सेनालाई हराएको विक्रम सम्वत् १८२४ असोज १५ गते हो । यहाँ कात्तिक २४ गते मानिराखेका छन् । इतिहासलाई प्रामाणिक ढंगले राख्ने पद्धति नभएको देश भएर यस्तो जथाभावी भएको हो । हामीकहाँ वस्तुगत आधारमा व्याख्यान गर्ने पद्धति हैन, आफ्नो अनुकूल गर्ने प्रवृत्ति छ ।

dineshraj-panta-2

कीर्तिपुर छुट्टै राज्य थिएन

कतिलाई अहिले के भ्रम छ भने त्यतिबेला कीर्तिपुर भिन्नै राज्य थियो । यो गलत बुझाइ हो । कीर्तिपुर छुट्टै राज्य नभई पाटनअन्तर्गतको राज्य थियो । त्यतिबेला पाटनका राजा थिए तेजनरसिंह मल्ल ।

लडाइँका क्रममा कीर्तिपुर तहसनहस नै भए पनि त्यसबाट पनि पृथ्वीको औचित्यहीनता हुँदैन । हामीलाई नेपाल चाहिँदैन भनेको खण्डमा उनको औचित्य नामेट पार्न मिल्छ । गोर्खामा नरभुपाल शाह राजा हुँदाको समयसम्म सबै बाइसीचौबीसी टाकुरे राजाहरु थिए । पृथ्वीनारायणले ती सबै राज्यलाई एउटै मालामा उनेपछि नै आधुनिक नेपाल बनेको हो ।

धार्नीको हिसाब नगरौं, नाक-कान काटेका थिए

पृथ्वीनारायणले विक्रम सम्वत् १८२२ चैत ३ गते कीर्तिपुरमाथि विजय प्राप्त गरेका थिए । त्यस क्रममा उनले विरोधीहरुको नाक काटेका थिए भनेर एकथरि भन्छन् । उनको तारिफ गर्नेे अर्काथरि भने नाक-कान काटेकै थिएनन् भनेर हिँड्छन् । उनले नाक-कान काटेकै हुन् ।

पृथ्वीनारायणले कीर्तिपुरमा कतिपय विरोधीहरुको नाक काटे भनेर प्रामाणिक रुपमै देखिन्छ । त्यो विषय उनी आफैं पनि इतिहास लुकाउने पक्षमा थिएनन् ।

उनका दरबारिया पण्डित ललितावल्लभले वि.सं. १८२७ मा लेखेको ‘पृथ्वीन्द्रवर्णोदय’ मा त्यसबारे प्रष्टसँग लेखिएको छ । त्यहाँ पृथ्वीनारायणको तारिफ गरेकै ठाउँमा कीर्तिपुरमा आफ्ना केही विरोधीहरुको उनले नाक काटिदिए भनेर लेखिएको पाइएन्छ ।

मेरो अनुसन्धान अनुसार, वि. सं. १८२२ चैत ३ गते कीर्तिपुर विजयपछि चैत २७ गते नाक काटिएको रहेछ । तर, कति जनाको काटियो ? १७ धार्नी भयो कि १८ धार्नी भयो ? त्यो त कसैले जोखेको थिएन होला । त्यो अर्कै पक्ष भयो । तर, पृथ्वीनारायणले त्यस्तो काम नगरेको भए हुन्थ्यो ।

तीन पटकको प्रयासमा कीर्तिपुरमाथि विजय हासिल भएको थियो । वि. सं. १८१४ को पहिलो लडाइँमा पृथ्वीनारायणको प्यारा काजी -प्रधानमन्त्री) कालु पाँडे मारिए । दोस्रोमा उनका कान्छा भाइ सुरप्रतापको आँखा फुट्यो । अर्का भाइ दलजित शाहको खगाली हाड (ढाडको) भाँच्चियो । यी कुरा प्रामाणिक हुन् । विजय प्राप्त गरिसकेपछि त्यसैको आवेगमा उनले रिस फेरेको हुन सक्छ ।

अरु भनाइ चाहिँ के छन् भने, लडाइँको बेला केही कीर्तिपुरेले नै ढोका खोल्दिएर पृथ्वीनारायणको सेनालाई भित्र पसाउन सघाए । पछि धोकाले दुई-चार जना गोर्खालीलाई मारिदिए । पछि उनले त्यो घटनामा को-को संलग्न थिए भनेर नाइकेहरुको नाक-कान काटे भन्ने भनाइ छ ।

त्यस्ता केही घटना अघि सारेर पृथ्वीनारायण क्रूर शासक थिए कि भनेर पगरी गुथाउने कोसिस गरिन्छ । तर, उनी त्यसबेलाका समसामयिक कुनै पनि शासकभन्दा क्रूर थिएनन् । उनी कुशल राजनीतिज्ञ थिए ।

कुनै पनि शासकहरुले मान्छे मारेकै कुरा गर्ने हो भने पृथ्वीनारायणले काठमाडौं र पाटनमा आक्रमण गर्दा जनधनको खासै क्षति भएन । भक्तपुरमा भने अलि बढी भयो । लडाइँमा एउटा आफ्नै भाइ सुरप्रताप थिए भने अर्का योद्धा थिए वंशराज पाँडे । अधिराजकुमार रहेका सुरप्रतापमा उत्ताउलोपना भएकोले उनले भक्तपुरमा बढी मान्छे मारे भनेर पृथ्वीनारायणको मनमा पर्‍यो । त्यसैले त्यसको अपजस भाइलाई दिए ।

उनी भावनामा बग्ने भए त भाइलाई माया गरेर वंशराजलाई नै दोष दिने थिए होलान् । पृथ्वीनारायण त्यसभन्दा माथिल्लो सोचका थिए । उनी शासकीय दृष्टिकोणले माथि थिए ।

आफूमा दोष आएपछि सुरप्रताप दाजुसँग रिसाएर हिँडे । उनी पश्चिमतिर फन्किएर हिँडे । तर, त्यस क्रममा पश्चिमका राजाहरुले अर्कै सोचे । उनीहरुले यो त गोर्खालीले पठाएको जासुस भन्ने सम्झिएर सुरप्रतापलाई मारिदिए ।

(नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ  प्रा. पन्तसँग जोतारे धाइबाले गरेको कुराकानीमा आधारित)

२०७३ पुष २७ गते १४:३१ मा प्रकाशित (२०७३ पुष २८ गते १७:३९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१२ प्रतिकृयाहरू प्राप्त
  • सुभद्रा लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२३

    पृथ्वी नारायण शाहलाई म आफ्नो बिद्यालय कालिन शिक्षादेखी नै राष्ट्रनिर्माता मान्थेँ र मरुन्जेल सम्म राष्ट्रनिर्माता नै मान्छु। आजभोली को घ्रिणित राजनितीका खेलाडिहरु र तेसका पछि कुद्नेहरुले जे सुकै भनुन मा मा कुनै दखल पर्ने छैन

    56
    9
    Share

  • विकास मगर लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:१२

    समान्य लडाई झगडामा आफनो मान्छेको नाथ्रो फुटी रगत बगेको देख्नेले अर्को पक्षको गर्धन छिनाउन पछी पर्दैन भने त्यत्रो युद्धमा जित पछी ढोका खोली भित्र पसाई गोखार्ली सेनालाई मार्ने को नाक होईन गर्धनै छिनाउन सक्थे तर उनले त्यसो गरेनन् । यसबाट पनि उनी क्रुर नभई कुशल राजा थिए भन्ने प्रमाणित हुदैन र ?

    63
    10
    Share

  • Navin Bhusal लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:१८

    पृथ्वी नारायण शाहले राज्य बिस्तार मात्र गरेका भए देशको नाम नेपाल हैन गोर्खा हुने थियो । तेसकारण त्यो एकिकरण नै थियो ।

    50
    5
    Share

  • सन्तोष तिमिल्सेना लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:४५

    लाएक पृथ्वीनारायण र नालायक हाम्रा नेता । पृथ्वी तिमी सोर्ग मा छौ तेहा बाट नेपाल हेर्दा दुख लाग्दो हो ।

    31
    7
    Share

  • केके लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:५२

    १८ हजार नेपाली मारेर मगर किरात मधेशी र तामाङ्ग थारु र नाना थरी राज्यको सपना देखाएर देश टुक्रयाउने स्थितिमा पुर्याउनेहरु पृथ्वीनारायण शाहलाई नराम्रो देख्नछन । कस्तो दिन आयो देशमा । हरे शिव ।

    3
    0
    Share

  • डा. कविताराम श्रेष्ठ लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १९:२३

    इतिहासकार दिनेशराज पन्त मेरा पुराना मित्र हुन् र मैले उनलाई जसरी चिनेको छु त्यसरी नै उहाँ यस लेख़मा एकतर्फबाट हेर्दा औपचारिक सन्तुलित हुनुहुन्छ। उहाँले अर्कोतर्फबाट पनि यस्तो सन्तुलित दृष्टिकोण दिन पर्ने म देख्छु। त्यो अर्क़ो पाटा भनेको पृथ्विनारायण शाहले युद्धसमाप्ति पछि देखाएको प्रतिशोधात्मक अमानुषिक क्रूरता हो। जवजब पृथ्वीनरायणलाई दैवीकरण गर्ने वा यो लेखले गरेको जस्तो चोख्याउने प्रयत्न हुन्छ तबतब पीड़ितहरूका त्यो दूरदन्त घाउ बल्झन्छ। त्यो बल्झनबाट निस्केका चित्कारलाई सहानुभूतिको साटो जबजब उल्टै प्रतिकारात्मक अभिव्यक्ति आऊँछ त्यसमा झनै नुनचुक थपिन पुग्छ। यो मेटाउने हो भने यस कुरामा मेरा विद्वान मित्र दिनेशराजको सकारात्मक ध्यान जान जरुरी छ। यो लेख जसरी पृथ्वीनारायणको योगदानप्रति सकारात्मक हुन प्रयत्नशील भो त्यसरी नै उनको क्रूरताको घाउले मर्माहत जनप्रति पनि सहानुभूतिपूर्ण सामवेदनशील हुनु पर्छ नै। यसै लेखमा पनि पाँचसात हरफ त्यसरी लेखिएको भए पनि सायद यो सन्तुलित हुन्थ्यो। तर भएन। जेहोस अब एउटा लेख त्यसतर्फको आओस म तपाईहरूको प्रयत्नमा सहकार्य गर्ने छु। — कविताराम श्रेष्ठ

    3
    2
    Share

  • Shta Shta लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:०५

    पृनाशाले वास्तवमा नेपालको पुनर्एकीकरण पो गरेका हुन्, नेपाल प्रागऐतिहासिक कालमा नै अहिलेको नेपाल जत्रै थियो नि! इतिहासको प्रस्तुती इमानदारीपुर्वक पुर्वक प्रस्ट्याउनु वेश!

    2
    0
    Share

  • JL लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:५८

    बेतुकको कुरा गरेर दुनिया भड़ाउने यो लेख आफैमा अर्थहिन छ/ कसैलाई दोस्यउदै आफुलाई राम्रो देखाउन खोज्नु भन्दा अरु केहि छैन यो लेखमा/ राम्रालाइ कसैले राम्रा भनि रहन पर्दैन मानिसले आफै राम्रा भन्छन/ पृथीनारायण राम्रा भए मानिसले आफै बुझछन कसैले बुझाई रहन जरुरि पर्दैन/ भ्रमको खेति छर्दै पृथीनारायणलाइ राम्रो देखाउन खोज्ने भन्दा अरु बढी केहि देखिएन/ श्री ५ को नाममा यो देशमा श्री १० हुन खोज्ने हरुको कर्तुत हो यो भनेर सबैले बुझे हुन्छ/

    2
    6
    Share

  • ABC लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २१:२८

    yo lekhak le ta aafaile dekhera aayeko jasto garchha ta…

    2
    2
    Share

  • Rajiv लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २३:४०

    I laugh when I think there were ques: why prithvi narayan shah didn’t make gorkha as capital. Problem is: we are only taught nepal parichay in 10+2, I don’t if it is same now with 50 marks. Teach ppl history abt china and india since 2000 bc. Else u will be innar ko bhyaguta.

    1
    0
    Share

  • गुरुङ सोल्टी लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ०:१८

    ठिक! बाहुन हरुले आफ्नै नाममा इतिहास लेखाए !
    पृथ्बी नारायणको सेना मुख्यत मगर हरु थिए , तिनको नाम इतिहासमा कतै लेखिएन !
    तत्कालिन समयमा काठमाडौँले ब्रिटिश कम्पनीको सहयोग मागेपछि नेपाल हान्न आएका ब्रिटिश सेनालाई सिन्धुली गढीमा ८०० को गोर्खाली सेनाले २५०० अंग्रेज लाई हराएर पठायो जसको नेतृत्वकर्ता थिए सर्दार बंशु गुरुङ !
    तर बंशु गुरुङको नाम कहिं इतिहासमा लेखिएन !
    पछी “एसियामै पहिलो युद्ध हामीले बंशु गुरुंगको गोर्खाली सेना संग सिन्धुलीमा हार्यौं’ भनी अंग्रेज सेनाका कप्तान किन लकले आफ्नो डायरीमा लेखेको बर्षौ पछी फेला परेपछि मात्रै संसारले थाहा पायो तर नेपालका एकात्मक बादीहरुले त्यसलाई इतिहासमा दर्ज गर्न बंशु गुरुंगलाई बिभुति मान्न टायर भएन !

    अर्को कुरा लेखकले यहाँ भने जस्तो कालू पाण्डेको मृत्यु उक्त लडाइमा भएको हैन उनलाई आफ्नै सेनाले काटेको इतिहास छ !

    3
    2
    Share

  • Sahas GM लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १६:१७

    history lai aafno anukultama byakhya garnu bhanda yatharthata paskida ramro hunthyo ki….british fauj sanga ladda birata prapta garne haruko itihas khou ta lekheko????

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this