Comments Add Comment

मधेसी मोर्चाका दुई रणनीतिः चुनाव स्थगित गराउने, नभए बिथोल्ने

चुनाव बिथोल्न लाठी जुलुसदेखि आम हडतालसम्म

३ बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई असफल पार्न बैशाख पहिलो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको कार्यक्रमको सूचीमा लाठीजुलुस र निर्वाचन कार्यालय घेराऊदेखि आम हडताससम्म छन् ।

मोर्चाले आन्दोलनका उद्देश्य दुई वटा बनाएको छ, पहिलो- सरकारलाई तर्साएर बैशाख ३१ को चुनाव वीचैमा स्थगित गराउनु । र, दोस्रो- यदि चुनाव स्थगित भएन भने निर्वाचन कार्यक्रममा र मतदानमा अवरोध पुर्‍याउनु ।

मोर्चाले आन्दोलनको मुख्य केन्द्र २ नम्बर प्रदेशका ८ जिल्लालाई बनाउने योजना बनाएको छ । साथै नयाँशक्ति लगायत चुनावचिन्ह नपाएका ६४ दलसँगको सहकार्यमा यसलाई पहाडसमेत देशव्यापी बनाउने गृहकार्य भइरहेको मोर्चाका एक नेताले बताए ।

स्थानीय चुनाव रोक्नका लागि मोर्चाले निर्वाचन कार्यालय घेराऊ गर्ने, निर्वाचन आयोगको काममा व्यवधान गर्ने र मतदानलाई प्रभावमा पार्ने गरी आम हडताल लगायतका कार्यक्रमहरु तय गरेको छ ।

मधेसी मोर्चाले सरकारलाई धम्की दिएर चुनाव स्थगन गर्ने नीति लिएको छ । चुनाव रोकिएन भने मुलुक द्वन्द्वमा जान सक्ने मोर्चाले चेतावनी दिएको छ ।

तर, सरकारी सुरक्षा संयन्त्रले भने दुई नम्बर प्रदेशका केही जिल्लाका केही गाउँपालिका र नगरपालिकामा सामान्य अशान्ति देखिने बाहेक अन्यत्र चुनाव हुने सक्ने रिपोर्ट सरकारलाई दिएको सत्तापक्षका नेताहरु बताउँछन् ।

चुनाव सार्न कांग्रेसभित्रै दबाव

मधेसी मोर्चाले निर्वाचन असफल पार्न आन्दोलनमा जाने निर्णय गरेकै दिन नेपाली कांग्रेसका मधेसी नेताहरुले पनि बैशाख ३१ को चुनाव सार्न आफ्नो नेतृत्वलाई दबाव दिएका छन् ।

कांग्रेस स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधी स्वयं पनि संविधान संशोधन नगरी चुनावमा जान नहुने अडानमा छन् । त्यस्तै शान्ति मन्त्री सीतादेवी यादवले पनि संविधान संशोधन नगरी चुनावमा जान नसकिने भन्दै चुनाव सार्न पार्टी नेतृत्वलाई दबावमा दिएको खबरहरु आएका छन् ।

निर्वाचनको सँघारमा आइपुगेका बेला सत्तारुढ कांग्रेसकै नेताहरुले मधेसी कार्ड देखाएर चुनाव सार्न शेरबहादुर देउवालाई दबाव दिएका कारण चुनाव वीचैमा स्थगित पो हुने हो कि भन्ने चिन्ता बढेको छ ।

तर, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने निर्वाचन नसर्ने अडान राख्दै आएको छ । सत्तारुढ राप्रपा र प्रतिपक्षी दल एमाले पनि चुनाव सार्ने पक्षमा प्रत्यक्षरुपमा देखिएका छैनन् ।

निर्वाचन आयोगले पनि चुनाव बैशाख ३१ मा एकै चरणमा निर्वाचन सम्पन्न गर्नका लागि तयारीलाई तीब्र बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment