+
+
Shares

रामेछापका भूकम्प पीडितः अनुदानको पैसाले अनिकाल टर्‍यो

अम्बिका बिकको गुनासो-राज्यको सूचिमा परिन

नवराज पथिक नवराज पथिक
२०७४ वैशाख १२ गते १२:०१

१२ बैशाख, रामेछाप । दुई वर्ष कसरी बिते ? रामेछापका भूकम्प पीडितका दुःख सुनी साध्ये छैनन् । विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा रामेछाप पनि पर्छ ।

भूकम्पमा आफन्त गुमाएको २ वर्ष बित्यो । घरबास गुमाएकाहरुको पनि बास गुमाएको २ वर्ष भयो । दुईवटा वर्षे झरीहरु बिते । टन्टलापुर गर्मी हुने चैतका घाम गए । अनि मुटु नै छुने पुस माघको चिसो पनि गयो । तर, भूकम्पीडितको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।
पुनः निर्माणको कामले गति नलिँदा भूकम्पले थला बसेका वस्तीहरु अझै उठ्न सकेका छैनन् ।

रामेछाप नगरपालिकाको हिमगाकी अम्बिका बिक अाफ्नाे घर माटोमा मिल्दा पनि लाभग्राहीको सूचिमा नपरेको बताउँछिन् । पतिको मृत्यु भएपछि व्यवहार धान्न गारो भएको उनलाई भूकम्पले अझ विपत्ति थपिदिएको छ । घर बनाउने पैसा छैन । राज्यको अनुदान पाउने सूचिमा उनको नाम छैन । त्यसैले पालको टहरामा बस्न वाध्य भएको उनी बताउँछिन् ।

पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य त्यस्ता घरलाई प्रवलिकरण गरी अनुदानको दायरामा ल्याउने बताउँछन् ।

घर बनाउनेहरुको पीडा बेग्लै

घर नबनाउनेको पीडा आफ्नै ठाउँमा छ । अझ घर बनाउनेहरुको पीडा अझ चर्काे छ । बस्ने बासै नभएपछि सरकारले प्राविधिक नै नखटाई सार्वजनिक सञ्चामाध्यममा आएका सूचनाको आधारमा भूकम्प प्रतिरोधि घर बनाएकाहरुका घर अहिले प्राविधिकले मापदण्ड अनुसार नभएको भन्दै पास गर्न नमानेपछि भूकम्प पीडितहरु थप समस्यामा परेका छन् ।

रामेछापको टोकरपुर, चुचुर, बाम्ती, गुम्देल लगायतका उच्च पहाडी क्षेत्रका भूकम्प पीडितहरुले आफ्नै प्रविधि र प्रयत्नमा भूकम्प प्रतिरोधि घर बनाएका छन् ।

सरकारले अहिले तोकेको मापदण्ड अनुसार ढुङ्गा माटोको घर एक तलेभन्दा माथिको बनाउन पाइँदैन, तर स्थानीयले भने दुई तले घर नै बनाएका छन् । यसैले उनीहरुको घर अस्वीकृत हुने अवस्थामा पुगेको दोरम्बा गाउँपालिकाको टोकरपुरका जनक खड्का बताउँछन् ।

प्राविधिकले दिएको निर्देशन अनुसार घर बनाउनेहरुले पनि घर निर्माणको काम सकिसक्दा समेत दोस्रो किस्ता रकम पनि नपाएको बताउँछन् ।

के भन्छन् घर बनाएका र बनाउन लागेका पीडितहरु ?

पहिलो किस्ता अनुदान रकम लिएका मध्ये कतिपय भने गाउँमा स्थायी रुपमा बस्ने मानिसहरु छैनन् । कतिपय एकै घरका तीन चार जनाले मात्रै रकम पाएका छन् । त्यस्ता मानिसहरु भने हत्तपत्त घर बनाउने सुरुमा छैनन् ।

उनीहरु भरसक मिलाएर अर्काे किस्ता पनि रकम लिने दाउमा छन् । केही नलागे अन्तिममा मात्र सरकारलाई देखाउनका लागि घर बनाएर अनुदानको रकम लिने सुरमा उनीहरु छन् । यस्ता मानिसहरुको संख्या १० प्रतिशत भन्दा बढी रहेको आँकलन गरिएको छ ।

अनुदानमा नाम नपरेर छुटेकाहरुको संख्या पनि त्यतिकै छ । उनीहरुलाई राज्यले कसरी सम्बोधन गर्छ ठेगान छैन ।

प्राविधिकले अनेक कुरा गर्दैछन्
राजुराम पाठक, दोम्बा गाउँपालिका ३ टोकरपुर

बस्ने बास नै नभए पछि घर बनाइयो । बीच-बीचमा बन्धन हालेर घर बनाएपछि पछि अनुदान दिन्छ भन्ने कुरा भयो । त्यही हिसाबले ऋण काढेर भए पनि घर बनाइयो । अहिले आएर प्राविधिकले अनेक कुरा गर्दैछन् । ऋणको ब्याज तिरेको तिरेकै छ । तर पहिलो किस्ता रकम बाहेक अरु रकम पाएको छैन ।

घर बन्यो तर दोस्रो किस्ता आएन
ध्यानबहादुर नेवार, रामेछाप नपा ४ हिमगंगा

भूकम्पले घर भत्कियो । पहिलो किस्तार ५० हजार रुपैयाँ पाएपछि घर बनाउन सुरु गरियो । बल्ल-बल्ल कर्मी पाएका ले घर बनाउने काम सरासरी गरियो । डीपीसीको काम सकेपछि दोस्रो किस्ता रकम पाउने भनेको थियो । दास्रो किस्ताका लागि फारम पनि भरेर पठाइयो ।
घर बनाइसकेको पनि लामो समय वित्यो अझै दोस्रो किस्ता रकम पाएको छैन । ऋणको ब्याज बढेको बढेकै छ । पैसा कहिले आउने हो केही ठेगान छैन ।

माझी बस्तीमा गरीबीको कहर
सदरमुकाम मन्थलीसँग जोडिएको गाईखुराको माझी बस्तीका घरहरु भूकम्पले सोत्राम भएर ढले । ती घरहरु ढलेको २ वर्ष बित्यो । तर, अहिले पनि घरहरु ढलेका ढलेकै छन् । खण्डहर बेनो बस्ती जस्ताको तस्तै छ । स्थानीयले अझै पनि पुनर्निर्माणको काम सुरु गर्न सकेका छैनन् ।

मन्थलीसँगै जोडिएको ठेडीखोलाका माझी समुदायका मानिसहरुले ठेडीखोलाको बगरमा टहरो हालेर बसेको २ वर्ष बित्यो । उनीहरु अहिले पनि टहरोमा नै छन् । उनीहरुका खण्डहर बनेका घर जस्ताका तस्तै छन् ।

पूननिर्माणका लागि पहिलो किस्ता रकम लिएर पनि सर्वसाधारणले किन घर बनाउन सुरु गरेका छैनन् त ? यसै विषयमा केही प्रतिनिधिपात्रसँग कुराकानी गरेका छौँ ।

अनुदानको पैसाले अनिकाल टारें
निर्माण माझी, मन्थली नपा ७ भटौली

सरकारले घर बनाउन भनेर पहिलो किस्ता वापत ५० हजार रुपैयाँ त दियो । तर, घर कस्तो बनाउने भन्ने अन्योल अहिले पनि छ । महिनै पिच्छे र प्राविधिक नै पिच्छे घरका नक्सा फेरिएका छन् । त्यसले पनि मानिसहरुमा अन्योल छ ।

फेरि राज्यले दिने भनेको अनुदानको काठ अहिलेसम्म आएको छैन । घरको बन्धन बाँध्न सिमेन्ट र रडको प्रयोग गर्दा निक्कै महंगो पर्छ । अनि गरिवले कसरी घर बनाउनु ? अझ हाम्रो जस्तो विपन्न समुदायमा दैनिक ज्याला मजदुरी नगरी हातमुख जोरिँदैन ।

हिउँदभरि इँटा बनाउन भक्तपुरको इँटाभट्टामा हुनुपर्छ । वर्षामा घर बनाउने कुरै भएन । के गरी घर बनाउनु ? कतिले त लिएको पैसा पनि अनिकाल खाएर मासीसके यस्तो अवस्थामा कसरी घर बन्छ ?

जग्गा छैन,कहाँ घर बनाउने ?
पूर्णबहादुर माझी, मन्थली ८ गाईखुरा

गाईखुरामा हाम्रो २४ घरमाझी बस्ती छ । एक घरले पनि घर बनाउन सुरु गरेको छैन । भूकम्पले कसैको घर पनि ठाडो छैन । हाम्रो जग्गा दर्ता गर्दा वस्ती भनेर गरेको रहेछ । कसैको पनि आप\mनो पूर्जा छैन ।
आफ्नो नाममा पूर्जा बनाएर घर बनाउनु भनेर बसेको सबै कागज पूरा गर्‍यौं । तर, मालपोत र नापिले भरे भोलि भन्दै टारेको छ । घर, बनाउन नसक्दा टन्टलापुर घाम र गर्मीमा जस्ताको टहरोमा बस्नु परेको छ । यसरी बस्दा बुढाबुढी र बच्चाहरु बिरामी परेको परेकै छन् ।

काम गर्ने मान्छे पाइएन
वीरबहादुर माझी, लिखु-६ खिम्ति

काम गर्ने मान्छे नै पाइँदैन । मान्छे नै पाए पनि काम लगाइसक्नु छैन । अनि कसरी घर बनाउनु । काम गर्ने मान्छेहरु दिनको १ हजार ५ सय रुपैयाँसम्म ज्याला भन्न लागे ।

त्यो पनि मान्छे पाइँदैन । त्यसमाथि काठ छोइसक्नु छैन । सरकारले दिने भनेको अनुदानको काठ दिएन । काठ किन्दा एउटा ढोकालाई १० हजार पर्छ । काठमात्रै अनुदानको पाए पनि सस्तो पर्दथ्यो ।

फेरि अहिले आएको नक्सा हामी गाउँघरका मानिसहरुलाई काम लाग्ने छैन । २ कोठे एकतले गोठ जस्तो घर बनाएर के गरी जीविका चल्छ । नक्सा फेरिँदै छ पनि भन्छन् । गाउँघरको व्यहार चल्ने नक्सा आउला र घर बाउँला भनेर पनि पर्खेको ।
पानीको हाहाकार

रामेछाप जिल्लाका धेरै वस्तीहरु खानेपानीको गम्भीर संकटमा छन् । ती वस्तीका भूकम्प पीडितहरुलाई पानीकै अभावमा घर बनाउन समस्या छ । सुनकोसी, तामकोसी र लिखु किनारका तल्लो भागमा खानेपानीको ठूलो समस्या छ । ती वस्तीमा खानेपानी समेत नदी र खोलाबाट ट्याक्टरमा बोकाएर खानुपर्छ । यस्तो अवस्थामा उनीहरुलाई घर बनाउने पानी जोहो गर्न निक्कै गारो छ ।

यसबाहेक प्राविधिक र प्राविधिक तालिमको अभाव पनि रामेछापको पुननिर्माणमा चुनौति रहेको पूननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य बताउँछन् । प्रविधिकहरु जागिर छाडेर हिँड्ने र भएका प्राविधिक पनि नियमित गाउँमा नबस्दा स्थानीयक निर्माण कार्य प्रभावित भएको छ ।

यसैगरी काठको अभाव, अनुगमनको अभाव, दोस्रो किस्ता भुक्तानीमा भएको ढिलाई, भवनका डिजाइन, संस्थागत संरचना र कर्मचारी व्यवस्थानमा देखिएको समस्या, ऋण प्रवाहमा देखिएको अन्योल, जोखिमयुक्त वस्ती र तिनीहरुको स्थानान्तरणको बारेमा निर्णय नहुनु पनि रामेछापको पुननिर्माणको क्रममा देखिएको समस्या रहेको उनले बताए ।

तैपनि अन्य जिल्लाको तुलनामा रामेछापमा निर्माणको कामले गति लिएको बताउँदै उनले यसलाई अझ गति दिन आफू लागिपरेको बताए ।
करिव ५० हजार घर बन्नु पर्ने जिल्लामा २ वर्षको बिचमा २ हजार घर पनि नबन्नुले बाँकि घर बन्न कति समय लाग्ला सहजै अनुमान गर्न सकिन्छ । भूकम्प पीडितहरुको यो दुरावस्था र दुर्दिन कहिलेसम्म रहने हो, अझै ठेगान छैन ।

यो पनि पढ्नुस्

बहसः पुनर्निर्माण प्राधिकरणकै पुनर्निर्माण गरौं

प्राधिकरणमा प्रशासन हावीः सीईओलाई साइजमा ल्याइयो

पुनर्निर्माणमा सुशील ज्ञवालीका ३८० दिन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?