Comments Add Comment

कालिकोटमा दलहरुको नजर रास्कोट नगरपालिकामा

रास्कोटको सम्भावनाले तान्यो दलहरुलाई

२६ वैशाख, कालिकोट । प्रदेश नं. ६ को विकट जिल्लाका रुपमा रहेको कालिकोटमा पनि चुनावी सरगर्मी बढेको छ । मदान गर्ने दिन वैशाख ३१ नजिकिँदै जाँदा दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

चुनावमा होमिएका सबै राजनीतिक दलहरु अहिले नतिजा आफ्नो पक्षमा पार्न तम्सिएका छन् । विशेष त उनीहरुको नजर यहाँको  रास्काेट नगरपालिकामा परेको छ ।

यहाँका तीन वटा नगरपालिका मध्ये राष्कोट नगरपालिमा यहाँका राजनीतिक दलहरुले सामाजिक रुपमा चर्चा कमाएका व्यक्तिलाई मेयरका उम्मेदवार बनाएका छन् ।

मुख्य राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र रास्काेट नगरपालिकामै केन्द्रित भएका छन् ।

घरदैलोमा केन्द्रीय नेतृत्व

२०६४ र २०७० को संविधानसभाको निर्वाचनमा जिल्ला सदरमुकाम केन्द्रित भएका दलहरु अहिले राष्कोटमा केन्दि्रत भएका छन् ।

रास्कोट नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा दान बहादुर बमलाई उठाएको छ । बमलाई जिताउन लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय उपाध्यक्ष एवं एक लाख ग्रेजुअट युवा अभियान्ताका संयोजक अशोकनाथ योगी घरदैलो अभियानमा छन् । यहाँ कांग्रेस र राप्रपावीच तालमेल भएको छ । राप्रपाले उपमेयरमा हजा सुनारलाई उठाएको छ ।

नेकपा एमालेले मेयरका लागि मनिराज बराललाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन पूर्वसञ्चार सहायकमन्त्री एवं २०५१ सालको मध्यावधि निर्वाचनमा कालिकोटका सांसद यज्ञराज न्यौपाने अहिले घरदैलो अभियानमा छन् ।

सहायकमन्त्री भएदेखि कालिकोट नफर्किएका न्यौपाने अहिले आफ्नो पार्टीका नेतालाई जिताउन राष्कोटमा खटिएका छन् । यस्तै सामुदायिक रेडियो प्रशारक संघका पूर्वअध्यक्ष एवं अमार्कका उपाध्यक्ष मिनबहादुर शाही पनि घरदैलो अभियानमा छन् ।

यो नगरपालिकामा माओवादी केन्द्रबाट काशिचन्द्र बराल उम्मेदवार बनेका छन् । उनी पुराना पत्रकार पनि हुन् । पत्रकारितासंगै सहकारिका अभियानमा होमिएका बरालले अहिले मेयरको टिकट लिएर राष्कोटमा चुनावी अभियानमा जुटेका छन् । बराललाई जिताउन पनि माओवादी नेतृत्व अहिले प्रचारमा खटेको छ ।

राष्कोट मै किन केन्द्रित भए दलहरु ?

यहाँका राजनीतिक दलहरु राष्कोट नगरपालिकामा केन्द्रित हुनुको मुख्य कारण यहाँको सम्भावना हो । जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा रास्कोट नगरपालिका भौगोलिक हिसाबले सुगुम पनि छ । यहाँ ठुला फाँटहरू पनि छन् । कालिकोट जिल्लाको धेरै सम्भावना बोकेको नगरपालिका राष्कोट भएकोले पनि राजनीतिक दलहरु यहाँ केन्द्रित भएका हुन् ।

पर्यटकीय सम्भाब्यता

रास्कोट क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र मानिन्छ । यातायातको पहुँच भन्दा बाहिर रहेका बेला गुमनाम रहेको यहाको धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल सडक यातायात जोडिएसंगै पर्यटन प्रबर्धनको एक प्रमुख केन्द्रविन्दुको रुपमा रहेको छ ।

धार्मिक हिसावले कालिकोट मात्र नभई अछाम दैलेख र बाजुरा र जुम्लासम्म समेत चर्चामा रहेका शिवनाथ मन्दिर, देउरापाटन, डाडेमाडु जस्ता धार्मिक स्थल यसै नगरपालिकामा रहेका छन् । जिल्लाकै ठुला पाटनी भूभाग, फाँटहरु र मानव निर्मित तालहरुसमेत बनाउन सकिने सम्भाब्यता यहाँ छ । बडिमालीका मन्दिर जान सजिलो र छोटो सडक बाटो यसै रास्कोट नगरपालिका बाटै विस्तार गर्न सकिने सम्भावना छ । यसले गर्दा पनि राजनीतिक दलहरु यहाँ केन्द्रित भएका छन् ।

कृषि र फलफूलका लागि उर्वर जमिन

कुनै बेला तत्कालिन राजदरबारमा पुग्ने रातो चामल उत्पादित रास्कोट क्षेत्र धान, मकै, कोदो, फापर, जौ र स्याउ, ओखर र सुन्ता जस्ता फलफूल खेतिका लागि उर्वर मानिन्छ ।

मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि पनि यहाँको जमिन उर्वर मानिन्छ । यसले गर्दा पनि दलहरु यहाँ केन्द्रित भएका हुन् ।

यातायात तथा विद्युतको पहुँच

रास्कोटमा ग्रामीण बिकासको प्रमुख आधार मानिने सडक र विद्युत सेवासमेत छ । विगत साढे २ वर्षदेखि ग्रामीण पहुँच कार्यक्रमले ग्रामीण सडक बिस्तारका लागि रास्कोट नगरपालिकाको सान्तीघाटदेखि सबै वडासम्म पुग्ने गरी सडक सञ्जाल विस्तार गरिसकेको छ ।

रास्कोट नगरपालिकाकै पोतमारा स्थानमा करिव ५ सय किलो वाटको विद्युत उत्पादन गरिएको छ । यहाँबाट कालिकोटका सान्नीत्रिबेणी गाउँपालिका हुदै खाँडाचक्र नगरपालिकासम्म विद्युतीय सेवा विस्तार भैसकेकाले यसलाई आधारविन्दु बनाई विभिन्न खालका उद्योग कलकारखाना सञ्चालन गरी समृद्ध नगर बनाउन सकिने भएकोले दलहरु यहाँ केन्द्रित भएका हुन् ।

दलसिंह गिरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment