Comments Add Comment

कांग्रेसबाट पहिलो चरणमा महेश अर्थ र ज्ञानेन्द्र भौतिक पूर्वाधार मन्त्री

देउवाले उपप्रधानमन्त्रीमा गोपालमान र कृष्ण सिटौलामध्ये को रोज्लान् ?

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री निर्वाचित हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा आफ्नो पार्टीबाट तीनजना मन्त्री बनाउने भएका छन् । स्रोतका अनुसार यस विषयमा उनले रामचन्द्र पौडेलसँग पनि कुरा गरेका छन् ।

देउवा निकट एक नेताका अनुसार पहिलो चरणका गोपालमान श्रेष्ठ, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने मनस्थिति देउवाले बनाएका छन् । श्रेष्ठले उपप्रधानमन्त्री दावी गरेका छन् ।

तर, पार्टीभित्रैबाट देउवामाथि कृष्ण सिटौलालाई उपप्रधानमन्त्री बनाउन दबाव पनि परिरहेको छ । सत्ता सहयात्री र विपक्षी दलहरुसँग डिल गर्नका लागि पनि गोपालमान भन्दा सिटौला सहज हुने उनीहरुको देउवालाई सुझाव छ ।

महेश आचार्यलाई अर्थमन्त्री बनाउने र भौतिक पूर्वाधार मन्त्रालय ज्ञानेन्द्रवहादुर कार्कीलाई दिने तयारी देउवाको छ । आचार्य पार्टीभित्र रामचन्द्र पौडेल समूहका हुन् । तर, उनी देउवासँग पनि समदूरीमा छन् ।

देउवा समूहमा अर्थमन्त्रालय चलाउने अर्थविदको पृष्ठभूमिका प्रभावशाली नेता छैनन् । रामशरण महत, डा. नारायण खड्का, महेश आचार्य सबै पौडेल पक्षमा छन् । तीमध्ये आचार्यलाई देउवाले आफू अनुकुल ठानेर अर्थमन्त्री बनाउन लागेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय पछिल्लो समय देउवाले आफ्ना विश्वासपात्रलाई मात्रै दिने गरेका छन् । यसअघि विमलेन्द्र निधी र रमेश लेखकलाई भौतिक पूर्वाधार मन्त्री बनाएका देउवाले यसपटक ज्ञानेन्द्र कार्कीलाई दिन लागेका हुन् ।

गोपालमान श्रेष्ठलाई भने देउवाले आफू नेतृत्वको सरकारमा ल्याएर पार्टीमा निधीलाई उपसभापति मनोनित गर्ने बाटो खुलाउन लागेका हुन् । वरिष्ठताका हिसाबले गोपालमानले उपसभापति दाबी गर्दै आएका थिए ।

उनलाई संसदीय दलको उपनेता बनाउने चर्चा पनि चलिरहेको थियो । यसपटक उनले उपप्रधानमन्त्री दावी गरेका छन् । गोपालमानको बारेमा अझै पनि देउवाले वचन दिई नसकेको एक कांग्रेस नेताले बताए ।

तर, कांग्रेसभित्रै राजनीतिक डिल गर्न सक्ने क्षमता राख्ने नेतालाई देउवाले आफूपछिको उपप्रधानमन्त्री बनाएर लैजानुपर्ने सुझाव पनि दिएका छन् । उनीहरुले कृष्ण सिटौलालाई उपप्रधानमन्त्री बनाउन सुझाव दिए पनि देउवाले यसबारे प्रधानमन्त्री निर्वाचित भइसकेपछि साँझ छलफल गर्ने आश्वासन नेताहरुलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment