Comments Add Comment

दलित भए बापत मुखमा चिया खन्याइदिएः जनताले गाउँपालिका उपाध्यक्ष बनाइदिए

यसरी पूरा भयो-चियाको गिलास छोए बापत सजाय पाएकी भाँणको अठोट

१५ साउन, डडेलधुरा । अंग्रेजीमा एउटा भनाइ छ-फर्गिभ बट डण्ट फर्गेट (माफी देऊ तर, कहिल्यै नबिर्स) । डडेलधुराको अजमेरु गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कलावती भाँणको जीवनमा यस्तै अवस्था आइपुग्यो यसपटकको स्थानीय तह निर्वाचनले ।

बाल्यकालमै भएको छुवाछुतको घटनाले उनलाई अझै झस्काउने गर्छ । दलित भएका कारण चिया पसलमा गिलास छोइँदा कथित उच्च जातिका व्यक्तिले गिलाको चिया फालेको घटना उनले कसरी बिर्सनू ?

जुन दिन उनले त्यो घटनाको सामना गरिन्, त्यहि दिन निर्णय गरेकी थिइन्-म पनि एक दिन नेता बनेर देखाउनेछु र यही गाउँमा छुवाछुतविरुद्ध अभियान चलाउनेछु ।’

नभन्दै उनले आँटेको पूरा भयो । चिया फाल्नेप्रति उनको अहिले कुनै प्रतिशोध छैन तर ,त्यो घटना बिर्सन पनि सक्दिनन् ।

गाउँपालिका उपाध्यक्ष भएपछि अनलाइनखबरसँग उनले भनिन, ‘म कक्षा २ मा पढ्थे, काठमाण्डौंबाट छुट्टीमा घर आएको थिएँ । पसलमा एकजना भलाद्मी मान्छे चिया पिउँदै थिएँ । मैले एउटा गिलास छोएँ तर उसले मेरो मुखमा गिलासको चिया फालिदियो ।’

उनले अघि भनिनन्, त्यो घटना अझै पनि मलाई याद आउँछ । उनीहरुलाई मैले एक दिन नेता भएर देखाउछु भनेको थिएँ र म आज जनप्रनिनिधि भएँ ।’

छुवाछुत हटाउन दलित समुदायको व्यक्तिले राजनीतिक नेतृत्व गर्नुपर्छ भन्ने बुझेर आफू राजनीतिमा लागेको भाँण बताउँछिन् । उनले माओवादी पार्टीमा लागेर राजनीति शुरु गरिन् र प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसको गढ तोडेर उपाध्यक्ष जित्न सफल भइन् ।

को हुन भाँण ?

डडेल्धुराका सात स्थानीय तह मध्ये एक तहमा माओवादी केन्द्रले जित हासिल गर्‍यो । माओवादी केन्द्र अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भयो ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कलावती भाँण विजयी भइन् । उनी २१७१ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गाउँपालिकाको अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ निर्वाचित भए । यो माओवादी पार्टीका लागि पनि ठूलो सफलता थियो ।

२०४० सालमा अजयमेरुमा जन्मिएकी भाँणको भाग्य नै मान्नुपर्छ कि उनले राम्रो ठाउँमा पढ्ने अवसर पाइन् त,र पूरा गर्न सकिनन् । सरकारले प्रदान गरेको देउकी प्रथा अन्तरगतको निःशुल्क छात्रवृति कोटामा पढ्ने अवसर पाएकी भाँणले राजधानीस्थित महेन्द्र भवन गर्ल्स सेकेन्डरी बोर्डिङ स्कुलबाट कक्षा १० सम्मको पढाई पूरा गरिन् ।

त्यसपछि उनी डडेल्धुरा फर्किन् । उनलेे जिल्लाको अजयमेरु गाउँपालिकामा रहेको श्री सहश्रलिङ माविमाा पढ्दै गर्दा घरायसी कारणले आफ्नो पढाईलाई त्यही विश्राम गर्न पुगिन् ।

भाँणको राजनीतिक यात्रा

भाँणजले २०५७/२०५८ सालदेखि विद्यार्थी राजनीति थालेकी उनी माओवादी पार्टी युद्धमा रहेकै बेला उनी अखिल क्रान्तिकारीमा आबद्ध भएर काम गरिन् तर, भूमिगत भने भइनन् । उनका श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् । उनले बीचमा राजनीतिलाई विश्राम समेत दिनुपर्‍यो । बादी समुदायकी भाँणले केही वर्ष एनजिओमा काम गरिन् ।

चार/पाँच वर्ष आफ्नो बादी समुदायमा काम गरेको उनले बताइन् । उनले भनिन् ‘बादी समुदायमा केही न केही परिर्वतन गर्नु पर्छ भन्ने लागेर काम गरेकी हुँ ।’

जागिरपछि पार्टीबाट टाढिएकी उनी २०७० सालमा भएको संविधान सभाको चुनावमा अखण्ड सुदूरपश्चिम पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी थिइन् । अन्ततः उनी फेरि माओवादीमा फर्किन् । २०७१ सालपछि उनी माओवादी पार्टीमा क्रियाशील भएकी हुन् ।

भाँणका योजना

चुनावमा बेला जनतासँग गरेका वाचाहरु पूरा गर्ने चुनौति उनीसँग छ । उनले भनिन् ‘अजयमेरु गाउँपालिकालाई समृद्ध बनाउन असम्भव भन्ने छैन । यहाँका जनताको साथ अनि सहयोग चाहिन्छ, पाँच बर्षे कार्यकालमा यो गाउँपालिकालाई समृद्ध बनाएरै छोड्छौं ।’

खानेपानी, सिंचाइ, विद्यालय व्यवस्था र स्वास्थ्यचौकी अजयमेरु गाउँपालिकाका मुख्य समस्या हुन् । त्यसो त चार पटक प्रधानमन्त्री भए पनि देउवाको गृहजिल्लाका धेरै ठाउँमा विद्यूतीकरण हुन सकेको छैन । यो समस्याको समाधान भाँणका लागि चुनौती हो ।

आफैं दलित र उत्पीडनमा पारिएकाले उनी महिला र दलित अधिकारको लागि अभियान चलाउने योजनामा छिन् । उनी भन्छिन्, ‘म एउटा महिला भएको कारणले गर्दा मलाई न्यायपालिका सुम्पेको छ, यहाँका जनातले त्यसैले उहाँहरुको आयआर्जनमा वृद्धि गर्नको लागि काम गर्छु ।’

गाउँटोलमा महिलाहरुका समूह बनाएर उनीहरुको आर्थिकका लागि सिपमुलक तालिमहरुको व्यक्त गर्ने योजना रहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment