Comments Add Comment

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे

 

३१ साउन, रौतहट । जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । मंगलबार बिहान मात्र पुरेनवा र सवगढहामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् ।

जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ ।

घरबारविहीन बनेका पीडित परिवार स्थानीय सडकमा पाल टाँगेर र विद्यालय भवनमा बसिरहेका छन् । दलित बस्तिहरुको अवस्था दयनीय छ ।

पीडित परिवार गौर-चन्द्रनिगाहपुर सडक किनारामा पाल टाँगेर बसेका छन् । सडकमै खाने, सुत्ने र पशुचौपाया बाँध्ने गरेका छन् ।

‘दुई दिनदेखि सडकमा अलपत्र छौं । कोही हेर्नसम्म आएको छैन,’ सबगढहाका ६२ वर्षीय बाबुलाल साहले भने । दुईकोठे घर भत्किएपछि उनी परिवार लिएर सडकमा निस्केका हुन् । सबगढहाका १० परिवारको नियति उनकै जस्तो छ ।

सडकमा बसिरहेका परिवारले बाढीमा डुबेका कलहरुबाट आउने लेदो पानी प्रयोग गरिरहेका छन् । जसका कारण गम्भीर स्वास्थ्य समस्या देखिने जोखिम बढेको छ ।

अर्बौंको नोक्सानी

सदरमुकाम गौरका हरेक पसलमा तीन फिटसम्म पानी जमेका कारण कपडा, विद्युतीय सामग्री, खाद्यान्न, औषधिलगायत सामग्री प्रयोग गर्न नमिल्ने गरी नष्ट भएका छन् ।

खाद्यान्न गोदामहरुमा पनि पानी भरिएको कारण चामल, दाल, गहुँ नष्ट भएका छन् । नष्ट भएका खाद्यान्नको परिमाण हजारौं क्विन्टल रहेको व्यवसायी गोपाल अग्रवालले बताए । उनले भने, ‘५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।’

बाढीले दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष देवप्रयाग गुप्ताले बताए । खोरमा राखिएका कुखरा र पोखरीका माछा पनि बाढीले बगाएको छ ।

बाढीले बबण्डर मच्चाइरहँदा स्थानीय प्रशासन र प्रहरीसमेत आत्तिएको अवस्थामा देखिएका थिए । बाढीमा फसेकाहरुको उद्धार गर्न डुंगाको पनि व्यवस्था गर्न सकेनन्, दुवै निकायले । देवाहीमा बाढीले घेरिएको घरमा फसेका दुई सय जनाको उद्धारमा पनि निकै ढिलाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment