Comments Add Comment

बाढीले कुन जिल्लामा कति क्षति ? यस्तो छ रिपोर्ट

३२ साउन, काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले तराईका जिल्लाहरुमा पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ । स्थानीय जिल्ला प्रशासनले क्षतिको विवरण धमाधम संकलन गरिरहेको छ । तर, एकसाता पुग्न लाग्दासम्म गृहमन्त्रालयले क्षतिको पूर्ण विवरण तयार पार्न सकिरहेको छैन ।

तराईका जिल्लाहरुमा बाढीले पारेको प्रभाव र क्षतिबारे अनलाइनखबर टीमले विभिन्न जिल्लाको प्रारम्भिक विवरण संकलन गरेको छ ।

प्राप्त विवरणअनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, चितवन, बर्दिया लगायतका जिल्लाहरुमा बढी क्षति भएको छ भने सिराहा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा अपेक्षाकृत कम क्षति देखिएको छ ।

अनलाइनखबरलाई प्राप्त क्षतिको प्रारम्भिक विवरण यस्तो छः

झापाः १२ को मृत्यु, तीन हजार परिवार विस्थापित

झापा जिल्लामा बाढीका कारण १२ जनाको मुत्यु भएको प्रारम्भिक तथ्यांक आएको छ । बाढीले बगाएर २ जना बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुरुमा २ हजार घर परिवार विस्थापित भएको विवरण आए पनि यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ‘अहिलेसम्म विस्थापित परिवार संख्या २५ सय पुगिसकेको छ,’तिवारीले भने, ‘यो संख्या अझै बढ्ने र तीन हजारको हाराहारीमा पुग्ने हामीले अनुमान गरेका छौं । जिल्लाको तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’

बाढीले झापा गाउँपालिका, गौरीगञ्ज नगरपालिका लगायतका दक्षिणी भेगमा बढी क्षति पुर्‍याएको छ ।

भर्खरै धान रोपिएको हुनाले बाढी र डुबानका कारण झापाको कृषि व्यवसायमा निकै ठूलो क्षति भएको छ ।

बाढीले झापा जिल्लामा पर्ने पूर्व-पश्चिम राजमार्गको पुल र सडकमा भने खासै क्षति पुर्‍याएको छैन ।

त्यहाँको सडक सुचारु अवस्थामै रहेका छन् । प्रजिअ तिवारीले भने- ‘आजैमात्रै हामीले बैठक बसेर सामान्य क्षति भएका ठाउँहरुमा तत्काल मर्मत गर्न भनेका छौं । मुख्य राजमार्गमा खासै ठूलो क्षति भएको छैन, अन्यत्र क्षति भएका पुल पुलेसा र सडकहरु मर्मत गरेर तत्काल सुचारु गरिनेछन् ।

मोरङमा १७ को मृत्यु, ११ हजार परिवार विस्थापित

मोरङ जिल्लाबाट हालसम्म प्राप्त विवरण अनुसार बाढी र डुवानमा परी १७ जनाको मृत्यु भएको छ । ४ जना वेपत्ता छन् । वेपत्ता हुनेमध्ये अधिकांशको मृत्यु भएको हुन सक्ने प्रशासनको अनुमान छ ।

बाढी र डुवानका कारण जिल्लामा ३ हजार २ सय १ वटा निजी घरमा क्षति पुगेको प्रशासनले जनाएको छ । बाढीबाट जिल्लामा ११ हजार ४ सय २० परिवार विस्थापित भएका छन ।

मोरङमा डुवान भएका घरहरुको संख्या ८ हजार ५ सय पुगेको छ । रिपोर्ट आउने क्रम जारी रहेकाले क्षति भएका घर र विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

बाढी र डुवानमा परी घाइते हुनेको संख्या भने प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी र डुवानमा परी ८० वटा गाई गोठमा क्षति पुगेको छ भने ५ हजार २ सय ५३ चौपायाको मत्यु भएको छ । यो संख्या थप हुन सक्ने प्रशासनको भनाइ छ ।

बिराटनगर विमानस्थल र आयल निगमको पर्खाल तथा रिजर्भ ट्यांकको तेलमा पानी मिसिएको छ । विद्युत आपूर्ति बन्द हुँदा खानेपानीको आपूर्ति पनि बन्द भएको छ । विमानस्थललाई समेत बाढीले असर पुर्‍याएका कारण एक सातासम्म विमानसेवा ठप्प छ ।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयको ब्यारेकमा बाढीले क्षति पुगेको छ । प्रहरी चौकी कर्सियाको कम्पाउण्ड वालमा पनि क्षति पुगेको छ ।

बाढी र डुवानका कारण जिल्लाका केही सडकमा पनि क्षति पुगेको छ । रंगेली इलाका प्रहरी कार्यालयतर्फ जाने मुख्य सडक, भेडुवाथानको मुख्य सडक र विभिन्न स्थानका मुख्य तथा स्थानीय राजमार्गहरुमा आशिंक क्षति हुँदा सवारी साधन चलन गाह्रो भएको प्रशासनले जनाएको छ ।

मोरङमा ६ वटा पुलमा क्षति पुगेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सुन्दर हरैंचा-४ स्थित गछिया पुलको दायाँ-वायाँ साइटमा गछिया खोलाले कटान गरेको छ । पथरीस्थित डाँस खोलाको पुलको पनि दायाँबायाँ साइडमा कटान भएको छ ।

दक्षिणी भेगको रंगेली नगरपालिका नजिकै बक्राहा खोलाको पुल दायाँ-वायाँ कटान भएकाले हलुका सवारी साधन मात्रै चल्ने अवस्था छ । बेलबारी ५ स्थित नहरको पुलमा क्षति पुगेको छ । बेलबारीको ४ र ५ नम्बर वडाको वीचमा रहेको लिम्बूचौक र सभापुर जोड्ने पुलमा पनि क्षति पुगेको छ ।

बिराटनगर-१९ स्थित सिंघिया खोलाको पुलमा पनि दायाँवायाँर तल्लोभागमा खोलाले कटान गरेको छ ।

सुनसरीः १२ को मृत्यु, ३१ सय परिवार विस्थापित

सुनसरीमा बाढीका कारण १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा बढी इटहरी नगरपालिकाका छन् । मृतककोे संख्या अझै बढ्ने अनुमान छ । ७ जना वेपत्ता भएका छन् । ३ जना घाइते भएका छन् । प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण झण्डै ३१ सय परिवार विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले भनिन्, विस्थापित भएका मध्ये धेरैको घर भत्किएको छ । धेरै टाटीका घर हुन्छन् । झण्डै ३ हजार त्यस्ता घरमा क्षति पुगेको अनुमान छ ।’

विस्थापित भएकाहरुलाई सार्वजनिक भवन, मठमन्दिरमा राखिएको छ । र, उद्योग बाणिज्य संघ लगायत विभिन्न संघ संस्थासँग समन्वय गरेर खाना खुवाउने व्यवस्था मिलाइएको छ ।

मंगलबारदेखि जिल्ला दैवी प्रकोप उद्दार समितिले पनि राहत वितरण गर्न थालेको छ । सुनसरीमा १०८ त्रिपाल, १५ हजार ५०० किलो चामल, ९७० किलो दालका साथै चिउरा, विस्कुट, नुनतेल, भुजा, चाउचाउ पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सप्तरीः ४ को मृत्यु, ५ हजार घर बगे

लगातारको बाढीका कारण सप्तरी जिल्ला तहस-नहस बनेको छ । जिल्लाका प्रत्येक गाउँ र नगरपालिका बाढीको चपेटामा परेका छन् । ९ वटा गाउँपालिका र ८ वटा नगरपालिकामा बाढी पसेर गाउँहरु क्षतविक्षत बनाएको छ ।

जिल्लामा अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । मृतक वालकको सदगति गर्ने ठाउँ नपाएर कोशीमा शव बगाइदिएको दर्दनाक दृश्य पनि यही सप्तरी जिल्लाकै हो ।

आइतबार साँझ खेत हेर्न गएका ब्रहमपुरका नथुनी रामलाई खोलाले बगायो । उनको शव सोमबार बिहान फेला परेको थियो । ६५ बषर्ीय उनलाई तारकेला खोलामा आएको बाढीले बगाएको हो ।

सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण ५ हजारभन्दा बढी घर बगाएको छ भने १५ हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान छ । सप्तरी जिल्लामा ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

यसअघि २७ गते खाँडो खोलामा आएको बाढीमा परी राजविराज-१५, देउरी भरुवाका डोमी यादवको ज्यान गएको थियो । बाढी थुन्नका लागि खटिएका ६५ बर्षीय यादव खोलाको ढिस्कोमा पुरिएका थिए । उनको शव फेला पर्न सकेको छैन ।

सप्तरीका विभिन्न ठाउँको बाढीसँगै बाटो बगाउँदा विभिन्न गाउँको सम्बन्ध सदरमुकाम राजविराजसँग विच्छेद भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको भंगहास्थितको पुल अत्यन्तै जीर्ण भएर भत्किने संघारमा पुगेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।

बाढीले सप्तरी जिल्लालाई नै तहस-नहस पार्दै पूर्व पश्चिम राजमार्गको एक दर्जन भन्दा बढी ठाउँमा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार जिल्लाको खडक, शम्भुनाथ, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकासहित रुपनी, कृष्णासावरण गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा क्षति पुर्‍याएको छ । अहिले यी ठाउँहरुमा एकतर्फी रुपमा मात्रै सवारी आवागमन भइरहेको छ ।

सप्तरी जिल्लामा कृषकहरुले भर्खरै रोपाइँ गरेको अधिकांश धानखेती बाढीको चपेटामा परेको छ । रोपाइँ भएकामध्ये ८५ प्रतिशत धान बाढीसँगै बगेपछि कृषकहरु चिन्तित बनेका छन् । रोपाइँ भएका खेतमा १० फिटसम्म पानी र लेदो जमेको छ ।

राजविराज-कुनौली सडकखण्ड अन्तर्गत रञ्जितपुरमा बाटो बगाउँदा जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवत जावतमा समस्या भएको छ । अघिकांश गाउँका कच्ची सडकहरु बाढीले बगाएको छ । मलेठस्थित बाटो बाढीमा बग्दा केही गाउँका बासिन्दाको बाटो बन्द भएको छ । कठौना-पातो सडक खण्ड तीन ठाउँमा भत्किँदा दुई नगरपालिका र एक गाउँपालिकाका बासिन्दालाई आवत-जावतमा समस्या भएको छ ।

खड्ग नगरपालिकाको ७ र ८ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने खडक खोलाको पुलको पूर्व साईडको ५ वटा पिलर कटान गरी खसाएको छ भने अन्दाजी १० मिटर सडक कटान गरेको छ । शम्भुनाथ नगरपालिका ६ स्थित राजमार्गमा रहेको फापी खोलाको पुलको पश्चिमतिर भागमा कटान भएको छ भने रुपनी गाउँपालिका ६ स्थित दुधेला खोलाको पुलमा करिब तीन मिटर कटान गरेको छ ।

बाढीले सुरुङगा नगरपालिका ५ स्थित बि्रघना पुलको बाँया पट्टी अन्दाजी दुई फिट जति खाल्डो परेको कारण पुल जोखिममा रहेको प्रहरीले जनाएको छ । तत्काल पुल मर्मत हुन नसके राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन सक्ने इलाका प्रहरी कार्यालय कडोरबनाले जनाएको छ ।

यस्तै कृष्णासावरण गाउँपालिका २ सितापुर स्थित गहेडी खोलाको पुलको पूर्वपट्ट िदक्षिण भागमा आधा कटान गरी जीर्ण बनाएको छ । यी ठाउँहरुमा एकतर्फी रुपमा मात्रै सवारी सञ्चालन भइरहेको छ । हनुमाननगर कंकालिनीमाई नगरपालिका १ स्थित हुली खोलाको पानी जमेर अवरुद्ध भएको राजमार्ग पानीको सतह घटेपछि आइतबार साँझबाटै सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिराहाः अढाइ सय घर भत्किए

सिरहा जिल्लामा सप्तरीको तुलनामा निकै कम क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठका अनुसार बाढीका कारण २५८ वटा घर भत्किएका छन् । करिब दुई सय परिवारका पाँच सय जनसंख्या विस्थापित भएका छन् ।

जिल्लाको मिर्चैया, कल्याणपुर बर्साइन र सिराहाको इटारी, कर्जनहा आदि गाउँमा बढी क्षति पुगेको छ । लहानमा २० परिवार विस्थापित भएका छन् । सुदीपुरका ४० परिवार विस्थापित भएका छन् ।

बताहा र दलान खोलाको बाढी र कटानको समस्या बढी देखिएको छ । मुसहरलगायत दलित जातिले बढी क्षति बेहोर्नु परेको छ । खेतमै घर बनाएर बसेका कारण पनि उनीहरुका घरमा पानी भरिएको छ ।

अन्य जिल्लाको तुलनामा सिरहामा बाढीको प्रकोप कम रहेको प्रजिअ श्रेष्ठले बताए ।

महोत्तरीः ४ जनाको मृत्यु

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका अनुसार जिल्लामा बाढीमा परी हालसम्म चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । तीन सय ४७ घरमा क्षति पुगेको छ भने करिब ४० हजार जनसंख्या विस्थापित भएको छ ।

जिल्लामा चार हजार जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । गोपालपुर, रहरपट्टी, सिंगियाही, मटिहानी, बालुवा, एकडाँडालगायत गाउँ बढी प्रभावित भएका छन् । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रजिअ श्रेष्ठले बताए ।

सर्लाहीः ७ को मृत्यु, २ लाख प्रभावित

सर्लाहीमा बाढीबाट ७ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । तर, प्रभावितहरुको संख्या निकै ठूलो छ ।

कुल जनसंख्याको २०/२५ प्रतिशत अर्थात झण्डै २ लाख मानिस बाढीबाट प्रभावित भएको स्थानीय प्रशासनको आंकलन छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भने, ‘पानी घटेको छ र, क्षतिको विवरण संकलनको काम भइरहेको छ ।’

सूचना अधिकारी लक्ष्मीप्रसाद खरेलका अनुसार गरिब र पीछडिएको मानिसहरु बाढीबाट नराम्ररी प्रभावित भएको छ । सरकारी राहत पुर्‍याउनु पर्नेहरुको संख्या लाख बढी रहेको उनले बताए ।

विस्थापित भएकाहरुलाई सार्वजनिक भवन तथा खुला ठाउँमा त्रिपालमा राखिएको छ र, विभिन्न संघ संस्थाले ड्राइफुट दिएका छन् ।

तर, कति घरमा क्षति पुग्यो वा भत्कियो भन्ने यकिन तथ्यांक छैन । यसका लागि एक साता समय लाग्ने सीडीओ कणेलले बताए ।

केन्द्रबाट राहत पुर्‍याउन थालिएको छ । मंगलबार जिल्ला दैवी प्रकोप उद्धार समितिले तोकेको ६ ठाउँमा राहत झारेर वितरण गरिएको छ भने आज बुधबार तीन ठाउँमा झार्ने तयारी छ ।

बाराः ७ सय घरमा पूर्ण क्षति

बाढीका कारण बारा जिल्लामा ३ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । प्रभावितहरुको संख्या ३ हजार बढी छ ।

जिल्लामा करिव ७०० घरमा पूर्ण रुपमा क्षति भएको छ भने ११३० घरमा आंशिक क्षति भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अनलाइनखबरसँग भने, कतिपय ठाउँमा सञ्चार सम्पर्क हुन सकेको थिएन, त्यसैले क्षतिको विवरण आउने क्रम जारी छ ।’

बाढीबाट विस्थापित भएकाहरुलाई सार्वजनिक भवनहरुमा राखिएको छ र खानाको व्यवस्था गरिएको छ । केही पीडितहरु भने आफन्त कहाँ छन् ।

बाढीका कारण बारा जिल्लाको सडक संरचनामा ठूलो क्षति भएको छ । धेरै ठाउँमा सडकहरु बगाएको छ भने पूर्वपश्चिम राजमार्ग अन्तरगतको दुधौरा पुलसमेत भासिएको छ । त्यस्तै हेटौंडा जाने बाटोमा पर्ने ३ नम्बर पुलमा पनि क्षति पुगेको छ ।

पर्सामा पाँचको मृत्यु

पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेलका अनुसार डुबानमा परेर जिल्लामा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंगलबार मात्र राहत वितरणका लागि आएको हेलिकोप्टर हेर्न दौडेका एक बालकको ठोरीमा खाल्डोमा डुबेर मृत्यु भएको छ ।

हजारौं हेक्टरमा लगाइएको धानबाली जलमग्न छ । पाँच सयभन्दा बढी घर डुबानमा परेका र करिब तीन हजार जनसंख्या विस्थापित भएको छ । पर्साका उत्तर, पश्चिम र दक्षिणी भेगमा परेका निर्वाचन क्षेत्र नम्बर ४ र ५ बाढीबाट बढी प्रभावित भएका छन् । मसिहानिया, नगवा, बागवान, पट्टेरवा, धोविनीलगायत गाउँ तथा वीरगन्ज महानगरका केही वडा पनि डुबानमा परेका छन् ।

रौतहटः १८ को मृत्यु, झण्डै ७ लाख प्रभावित

बाढीका कारण रौतहट जिल्लामा मृतकको संख्या १८ पुगेको छ भने ३ जना वेपत्ता भएको छ । देवाही, प्रेमपुर गोनाही र लालबकैया नदी आसपासका क्षेत्रहरु बाढीबाट बढी प्रभावित छन् । बाढीका कारण जिल्लाभरमा ३० हजार घरधुरी प्रभावित भएका छन् तर, ग्रामीण क्षेत्रबाट रिपोर्ट आउन सकेको छैन । फुस र ईंटाका कच्ची घरहरु भत्किएका छन् ।

जिल्लाभरमा ६ लाख ८८ हजार २७ जना प्रभावित भएको स्थानीय प्रशासनको अनुमान छ । जसमध्ये १ लाख ६ हजार ९९५ घरधुरीलाई त्रिपाल चाहिने देखिएको प्रशासनले जनाएको छ ।

बुधबार फेरि पानी परेको छ, जसले सडक किनार र स्कुलमा पाल हालेर बसेकाहरुको विजोग भएको छ । ओत लाग्ने र खाना पकाउने ठाउँ समेत छैनन् । त्रिपाल र खानेकुराको बढी माग छ । केन्द्रबाट पठाएको राहत निकै अपर्याप्त भएको छ ।

रुपन्देहीः एकको मृत्यु, दुई घाइते

बाढी पहिरोले यस वर्ष रुपन्देहीमा भने खासै धेरै क्षति नगरेको स्थानीय प्रशासनले जानकारी दिएको छ । तर, कोटही माईमा एउटा घर तत्कँदा १५ वर्षका किशोरको मृत्यु भएको छ भने उनका बुबाआमा दुबैजना घाइते बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिकामा ७/ ८ वटा पक्कीघरहरु भत्किएका छन् । त्यहाँका पीडितहरु आफन्तकहाँ आश्रय लिएर बसिरहेका छन् ।

यस वर्ष गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरुमा विगतको जस्तो ठूलो पानी नपरेका कारण रुपन्देहीको तिनाउ खोलाले खासै बिगार नगरेको रेग्मीले बताए । उनले भने- ‘गत वर्ष बाढीले एउटा पुल भत्काएको थियो, तर यस वर्ष रुपन्देही जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गमा कुनै क्षति पुगेको छैन । जनधनको क्षति पनि अन्यत्रभन्दा कम छ ।’

तर, जिल्लाबाट अन्यत्र जाने बाटोमा भने राजमार्ग अवरुद्ध हुँदा जिल्ालबासीहरु पनि प्रभावित बनेको रेग्मीले बताए । नवलपरासीको दाउन्नेमा राजमार्ग भत्किँदा आवत जावतमा समस्या परेको उनले बताए । दाउन्नेको सडक मंगलबार बेलुका सुचारु भए पनि फेरि केही घण्टाका लागि आवागमन बन्द गरेर मर्मत भइरहेको उनले जानकारी दिए ।

रेग्मीका अनुसार बुटवलबाट पाल्पातर्फ जाने सडक शिद्धबाबा भन्ने स्थानमा पहिरोले पुरिँदा यातायात अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि त्यहाँको बाटो खुलिसकेको छ ।

बर्दियाः ५ को मृत्यु, राप्ती र बबईको बबण्डर

यस वर्षको बाढीले मध्यपश्चिममा सबैभन्दा धेरै क्षति बर्दिया जिल्लामा भयो । बाढीका कारण जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृत पाँचमध्ये तीनजना बबई नदीको बाढीमा परेका थिए । मृत्यु हुनेमा ठाकुर बाबा नगरपालिका ५ खोनपुरका ६० वर्षीय गोविन्द थारु र बारबर्दिया नगरपालिका १० गन्धर्व टोलका राजेन्द्र थारु छन् । एकजना महिलाको सनाखत हुन सकेको छैन ।

त्यस्तै ठाकुरबाबा नगरपालिका २ मा घरको भित्ता भत्किएर ७० वर्षीय साहुनी थारुको मृत्यु भएको छ । गुलरिया नगरपालिका ३ संगमवस्तीका ५३ वर्षीय बलबहालुर सिंहको घरनजिकै नातामा डुवेर मृत्यु भएको हो ।

बर्दियामा बाढीका कारण ४ जना घाइते छन् । उनीहरुमध्ये एकको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

डुवानका कारण करिव ५ हजार परिवार विस्थापित भएको र तीमध्ये केही बाढीको पानी घटेपछि घर फर्किसकेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

यस वर्ष बबई नदीले बितण्डा मच्चाएको छ । बाढीमा परी नदी तटीय क्षेत्रका ठूलो भूभाग डुवानमा परेको छ भने डुवानका कारण बर्दियाको मुख्य वाली धानखेतीमा ठूलो असर परेको छ । बर्दियाका सडकहरुमा भने खासै क्षति पुगेको छैन । तर, बबई नदीेको पुल भासिँदा निकै ठूलो क्षति भएको छ ।

बर्दियामा पश्चिम राप्तीले यसवर्ष निकै ठूलो संख्यामा डुबान समस्या निम्त्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment