Comments Add Comment

प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

२७ भदौ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सोमबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशको विकासको खाका सार्वजनिक गरेको छ ।

नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको खाकामा सप्तरीदेखि पर्सासम्मको विकासको खाका बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

जनकपुरमा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रम यस्तो छ-

१. जनकपुरधामलाई सनातन विवाह संस्कार मेगा सिटीको रुपमा विकास गर्ने ।

२. भारत सरकारसँगको साझेदारीमा अयोध्यादेखि जनकपुरसम्म ‘स्वयम्बर एक्सप्रेस’ रेल सञ्चालन गर्ने ।

३. जनकपुरधामलाई नेपालको केन्द्रीय रेलवे स्टेशनको रुपमा ५ वर्षभित्र विकास गर्ने ।

४. जलेश्वरमा ‘अष्टावक्र सनातन पूर्वीय सभ्यता/दर्शन अध्ययन अन्तर्राष्ट्रिय प्रतिष्ठान’ निर्माण गर्ने ।

५. सुनकोशी–कमला डाइभर्सन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

६. नेपाललाई कलकत्ता र बंगलादेशसँग जलमार्गद्वारा जोड्नको लागि जलमार्ग निर्माण गर्ने र सप्तरीको हनुमाननगर/भारदहमा कोशी बन्दरगाह निर्माण गर्ने । भारदहदेखि विहारको कुर्सेलासम्म जोड्ने जलमार्ग निर्माण गर्ने जसले भारतको हाल निर्मित इलाहवाददेखि हल्दियासम्मको राष्ट्रिय जलमार्गलाई जोड्नेछ ।

७. सर्लाहीको सागरनाथ वन क्षेत्रलाई वातावरणीय तथा साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा सागरनाथ/मुर्तिया चरा अवलोकन केन्द्र निर्माण गर्ने ।

८. वीरगञ्जलाई भारतको राष्ट्रिय राजमार्ग प्रणाली (उत्तर–दक्षिण तथा पूर्व–पश्चिम जोड्ने करिडोर र गोल्डेन क्वार्डि्रलेटरल राजमार्ग) सँग जोड्ने द्रूतमार्ग (एक्सप्रेस–वे) निर्माण गर्ने ।

९. वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको स्वायत्त नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्थापना गर्ने ।

१०. अमलेखगञ्जदेखि रक्सौलसम्म यात्रु रेल सेवा विकास गर्ने । जसले भारतीय रेल नेटवर्कसँग जोड्नेछ र नेपालबाट भारत जान र भारतबाट नेपाल आउन सहज हुनेछ ।

११. निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई फास्ट ट्रयाक प्रोजेक्टको रुपमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने ।

१२. निजगढ–काठमाडौं जोड्ने द्रूतमार्गलाई ‘तिरहुत–नेवा द्रूतमार्ग’को रुपमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

१३. पाँचखोला बाढी नियन्त्रण तथा सिँचाइ आयोजना निर्माण गर्ने । जसमा बागमती, लालबकैया,कमला, खाडो, माहुली नदीमा भारतसँगको सीमाक्षेत्रदेखि पूर्व–पश्चिम राजमार्गसम्म नदीको दुबैतिर बाँध निर्माण गरिनेछ ।

१४. हुलाकी राजमार्गलाई विद्युतीय रेलमार्ग र सडक मार्ग दुबैको रुपमा एकीकृत यातायात परियोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने ।

१५. सप्तरीको राजविराजमा विद्यापति मैथिली अध्ययन प्रतिष्ठान र बाराको कलैयामा भोजपुरी अध्ययन प्रतिष्ठान स्थापना गर्ने ।

१६. पूर्व–पश्चिम राजमार्गमा बृहत् शिल्पी/सलहेस/दिनाभद्री सहकारी बजार (सुपर कोअपरेटिभ) निर्माण गर्ने । जुन तराई/मधेशका विभिन्न दलित/शिल्पी समुदायद्वारा सञ्चालित कृषि उपजहरुको प्रमुख बजार हुनेछ ।

१७. कृषक स्वाभीमान योजना । यो योजना अन्तरगत निश्चित कृषि उपजहरुको न्यूनतम मूल्य निर्धारण गरिनेछ । तोकिएका उपजहरु तोकिएको न्यूनतम मूल्यमा सरकारले खरिद गर्नेछ ।

१८. वैदेशिक रोजगारीमा गएका मधेशका नागरिकहरुको लगानीमा प्रवासी मधेशी कोष (म्युचुअल फन्ड) स्थापना गर्ने । जसले तराई/मधेशको विकास र समृद्धिको कार्यमा लगानीको थप पूँजी निर्माण गर्नेछ ।

१९. ढल्केबर–जनकपुर करिडोरलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी विकास गर्ने ।

२०. चुरे क्षेत्रको संरक्षण, दीगो जिविकोपार्जन र जल व्यवस्थापनका लागि चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने । यो परियोजनालाई पेमेन्ट फर इकोलोजिकल सर्भिसेज अन्तरगत भारत सरकारसँग सम्झौता गरी द्विदेशीय परियोजनाको रुपमा विकास र कार्यान्वयन गर्ने ।

उल्लेखित २० वटा विकास र समृद्धिका अवधारणालाई पूरा गर्न हाल प्रदेश नं. २ का लागि सरकारले विजियोजन गरेको बजेटबाहेक थप आवश्यक आर्थिक स्रोत आर्जन गर्न निम्न कार्यहरुहरु गरिनेछ:

– कर/राजश्व संकलन प्रणालीमा आमूल परिवर्तन गरी राजश्व संकलनमा ५ वर्षमा तीन गुणा वृद्धि गर्ने र १० वर्षमा ५ गुणा वृद्धि गर्ने ।
– विकास बजेट पूर्णरुपमा खर्च गर्ने र खर्च गर्ने विधिहरुको सरलीकरण गर्ने ।
– वैदेशिक लगानी
– रणनैतिक वैदेशिक अनुदान र प्रविधि हस्तान्तरण
– युद्धस्तरमा भ्रष्टाचार नियन्त्रण
– विकास र समृद्धिका लागि छिमेकी देशहरुसँग पारदर्शी तथा रणनीतिक साझेदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment