Comments Add Comment

मूल्य वृद्धि २.३ प्रतिशतमा सीमित, ७ प्रतिशत बढी रेमिट्यान्स भित्रियो


६ असोज, काठमाडौं । गत साउनमा मूल्य वृद्धि २.३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष साउनमा मूल्य वृद्धि ८.६ प्रतिशत रहेकोमा यो दर घटेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धि ७ प्रतिशतमा राख्ने लक्ष्य रहेको छ ।

साउनमा समग्र खाद्य बस्तुको मूल्य वृद्धिदर १ प्रतिशतले ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा यो दर ९.३ प्रतिशत रहेको थियो । दालहन, गेडागुडी, तरकारी, फलफुल, मसलाको मूल्य वृद्धि दर गत वर्षको भन्दा उच्चले घटेपछि खाद्य बस्तुको मूल्य वृद्धि पनि घटेको हो ।

यता, जुता, लत्ता कपडा, घरायसी सामान लगायत गैर खाद्य बस्तुको मूल्य वृद्धि दर ४.९ प्रतिशत रहेको छ । गत वर्ष यो समूहका बस्तुहरुको समग्र मूल्य वृद्धि ८.१ प्रतिशत थियो ।

काठमाडौंमा उपभोग्य सामान सबैभन्दा सस्तो देखिएको छ । काठमाडौंमा साउनमा मूल्य वृद्धिदर १.३ प्रतिशत रहेको थियो । यस्तै हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत मूल्य वृद्धि रहेको छ ।

भारतमा मूल्य वृद्धि दर कम भएकोले यसको प्रभाव पनि नेपालमा परेको हो । भारतको तुलनामा भने नेपालीहरुले १.१ प्रतिशत बढि मूल्य वृद्धि खेपिरहेका छन् । भारतमा मूल्य वृद्धि दर ३.४ प्रतिशत रहेको छ ।

यता, चालु आर्थिक वर्षको पहिलो महिनामा नै ७ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको छ । गत वर्षको साउनमा ५१ अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएकोमा गत साउनमा भने ५५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको हो । रेमिट्यान्स भित्रने दरमा सुधार देखिएपनि समग्र देशको आय व्यय खाता (शोधानान्तर खाता) भने अझै ३ अर्ब २८ करोडले घाटामा रहेको छ ।

व्यापार घाटा बढेपछि शोधानान्तर बचत पनि ऋणात्मक भएको हो । साउनमा नेपालबाट ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा बाहिरिएकोमा ७७ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ । कुल ७० अर्ब ५९ करोड रुपैयाँ व्यापार घाटा रहेको छ ।

नेपालबाट बाहिरिने बस्तु तथा सेवामा ३.९ प्रतिशतले गिरावट आएको छ । आयात निर्यात अनुपात भने ८.६ प्रतिशत रहेको छ ।

त्यस्तै, साउनमा देशमा कुल विदेशी मुद्राको सञ्चिति केही घटेर १० खर्ब ७८ अर्बमा सीमित भएको छ । यसले नेपालको १२ महिनाको बस्तु तथा आयात धान्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment