Comments Add Comment

भुटानी शरणार्थी बालबालिका दक्षिण अष्ट्रेलियामा नेपाली सिक्दै

भुट्नीज ईथ्नीक स्कूलले मनायो पाँचौ वर्षगाठ

दक्षिण अष्ट्रेलियाको भुट्नीज ईथ्नीक स्कूलले पाँचौ वर्षगाठ भव्यताका साथ मनाएको छ ।

शनिबार आयोजित कार्यक्रमा यस स्कूलमा पढ्ने मसिना बालबालिकाले स्कूलमा गएको पाँच वर्षमा सिकेका कला आफ्ना अभिभावक र अतिथीहरु सामू पस्केका थिए ।

दुई दशक भन्दा बढी नेपालमा शरणार्थीको जीवन बिताएर पुनर्वासका लागि विकसित मुलुकतिर लागेका भुटानीहरुनयाँ पुस्ताले आफ्नो भाषा नविर्सियोस भन्नेमा सजग छन् ।

नयाँ पुस्तालाई भाषा र संस्कृतिको ज्ञान दिन पुनर्वासित भुटानीहरुले खोलेका धेरै नेपाली पाठशाला मध्येको एक हो भुट्नीज ईथ्नीक स्कूल ।

यो स्कूलमा डेढ सय बढी१५ वर्ष मुनिका बालबालिकाहरु हरेक शनिबार नेपाली लेख्न र पढ्न आउँछन् । नयाँ पुस्तामा नेपाली सिक्ने रहर र पुराना पुस्तामा नेपाली सिकाउने जाँगर झनझन बढेर जाँदैछ ।

भाषा बारे भुटानी समुदायका वयस्क मात्र हैनन, केटाकेटी पनि निकै संवेदनशील हुन थालेका छन् । स्कूलका प्रिन्सिपल लोक पौड्याल भन्छन्, ‘बहुसंस्कृतिको महासागरमा पसेका हाम्रा कलिला बालबालिकाले आफ्नो भाषा मात्र सिके भने पनि इतिहास र अस्तित्व विर्सने छैनन् । हाम्रो प्रयत्न भनेकैति कलिला मगजमा हामी को हौ भन्ने ज्ञानको विजारोपण गर्नु हो ।’

नेपाल छोड्नु अघि बाबु आमा आफ्ना छोराछोरीले राम्रो अंग्रेजी बोल्न र पढ्न प्ररित गर्थे । त्यो त्यस बेलाको आवश्यकता थियो ।

तेस्रो मुलुकतिर पाईला सार्दै गर्दा अंग्रेजी पहिलो प्राथमिकता बनेको थियो । नेपालको शरणार्थी शिविरमा रहँदा टुटेफुटे सिकेको अंग्रेजीले एउटा पुस्तालाई अष्ट्रेलिया आएपछि जीवन यापनमा हम्मे हम्मे परिरहेको छ । कमजोर अंग्रेजी भएकाहरु थकथक गर्छन आज ।

समयले कोल्टे फेरेको छ । नाबालकै यता आएका वा यहाँ आएर जन्मेका धेरै बालबालिकाहरुलाई नेपाली बोल्न धौधौ पर्छ । त्यसैले उनीहरु अंग्रेजी हैन नेपाली सिक्दैछन अहिले ।

स्कुल, हाटबजार, टीभी, अन्लाईन जहाँपनि अंग्रेजी मात्र देखेका उनीहरुले बोली फुट्दा अंग्रेजीमै बोले । हजुरबा हजुरआमासँग हुर्कने अवसर पाएका थोरैले नेपाली सिक्ने मौका पाए ।

साता भर स्कूलमा अंग्रेजी बाहेक केही बोल्दैनन र सुन्दैनन पनि उनीहरु । कैयौं जातिका केटाकेटी भेला हुने स्कूलमा अंग्रेजी नबोली त भरै छैन । परिवार भित्रै पनि अंग्रैजी नै बोल्न सहज मान्छन । लाग्छ मनको कुरा व्यक्त गर्न अंग्रेजीमा सरल छ, नेपालीमा सारै अप्ठेरो । चाहेको कुरा सबैले बुझ्ने गरी व्यक्त गर्न नेपाली शब्द नै पुग्दैन ।

यही परिवेशलाई मध्यनजर गरेर दक्षिण अष्ट्रेलियामा बस्ने भुटानीहरुले आफ्ना नयाँ पुस्तालाई नेपाली बोल्न सिकाउनु पर्ने आवश्यकता देखे ।अरु नभए पनि आफ्नो भाषाको निरन्तरता नयाँ पुस्तामा हुनु पर्छ भन्ने आवश्यक्ता देखे । त्यही आवश्यकताको उपज हो भुट्नीज ईथ्नीक स्कुल ।

शनिबारको प्रस्तुतीले के देखायो भने यो शनिबारे स्कूलले बालबालिकालाई नेपाली लेख्न, बोल्न र पढ्न मात्र सिकाएन, नेपाली नाच सिकायो, मादल र बासुरी सिकायो । अनि सहज रुपमाकार्यक्रम सञ्चालन गर्न सिकायो ।

अतिथिका रुपमा आएकी बहुसांस्कृतिक मन्त्रि जोई बेट्टीसनले यी बालबालिकाको खुलेर प्रशंसा गरिन र आफ्नो भाषा र संस्कृति जोगाईराख्न प्रेरित गरिन् । उनले नयाँ पुस्तामा पनि नेपालीपनलाई जीवन्तता दिन लागिपरेका सबै स्वयमसेवकहरुलाई पनि आफ्नो यो सराहनीय काममा लागिरहन अनुरोध गरिन् ।

आफ्नो भाषा र संस्कृतिबारे नानीहरुलाई सिकाउन गरेको भुटानीहरुको प्रयासलाई दक्षिण अष्ट्रेलियाका प्रिमियर (मुख्य मन्त्री)ले पनि प्रशंसा गरे । उनले भने, नेपाली भाषा, कला र संस्कृतिको प्रचारले दक्षिण अष्ट्रेलियालाई बस्नका लगि सारै राम्रो ठाउँको रुपमा प्रस्तुत गरेको छ ‘

आफ्नो सन्देशमा राज्यकी शिक्षा मन्त्री सुजन क्लोजले छोटो समयमा भुटानीहरुको गरेको प्रगतिको प्रशंसा गरिन् ।

भुटानीहरुको नेपाली भाषाप्रतिको यो लगाव र समर्पणको अर्को प्रतिफल पनि निकै मिठो छ दक्षिण अष्ट्रेलियामा । यहाँको राज्य सरकारले नेपाली भाषालाई सरकारी स्कूलमा पठनपाठनको व्यवस्था गरेको छ केही बर्षदेखि ।

नेपाली वा अन्य कुनै पनि समुदायका केटाकेटीले कक्षा ८ देखी नेपाली भाषालाई एउटा विषयका रुपमा छान्न पाउँछन् । यसले नेपाली बोल्नेहरुलाई पढाईमा सहजता मात्र थपेको छैन, नयाँ पुस्तामा आफ्नो भाषाप्रतिको मोह र प्रेम उजागर गर्ने अवसर प्रदान गरेको छ । यसको निरन्तरताले नेपाली भाषा यहाँ पुस्तौ मर्दैन भन्ने आशाको किरण पलाएको छ ।

भाषिक स्वान्त्रताको आवाज उठाउँदा देशबाटै लखेटिएका भुटानीहरुका लागि आफ्नो भाषाले यति धेरै मान्यता पाउनु भनेको ठूलो उपलब्धि हो ।

भुटानले नेपाली भाषालाई कुल्चन खोजेको थियो, मार्न खोजेको थियो । अष्ट्रेलियाले त्यसको विपरीत फक्रने र फस्टाउने वातावरण सृजना गरिदिएको छ । सभ्य समाजले अरुको सभ्यता र अस्तित्वलाई सम्मान गर्न जान्नु पर्छ भन्ने ज्ञान भुटानलाई मिलोस् ।

घर फिर्तीको आन्दोलन सफल नभएपछि पुनर्वासमा निस्कदै गर्दा भुटानी शरणार्थीमा एउटा डर थियो -विरानो मुलुकमा गएपछि नयाँ पुस्ताले आफ्नो भाषा र संस्कृति चटक्क विर्सन सक्छ ।

दशकौं आफ्नो अस्तित्वका लागि लडेको पुरानो पुस्ताले यो चिन्ता राख्नु सामान्य हो । उनीहरुको चिन्तालाई भुट्नीज ईथ्नीक स्कुलले सम्बोधन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment