Comments Add Comment

गणेशमानको विपरीत बाटोमा प्रकाशमानको यात्रा !

कम्युनिष्टको विरोध गर्दै कात्यायनी मन्दिरबाट घरदैलो शुरु

२० कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंह नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन् । गणेशमान तिनै नेता हुन्, जसले चाक्सीबारीमा ०४६ सालमा वाममोर्चा र कांग्रेसवीच गठबन्धन गराएका थिए । र, सोही गठबन्धनले पञ्चायती अधिनायकवाद ढालेर देशमा लोकतन्त्र ल्याएको थियो ।

लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरुलाई पनि साथैमा लिएर अघि बढ्ने उनै गणेशमान सिंहका छोरा प्रकाशमान सिंह भने यतिबेला कम्युनिष्टहरु सत्तामा आए भने चुनावै हुँदैन र लोकतन्त्र नै रहँदैन भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।

नाताले बाबुछोरा हुँदैमा समान सोचाइ र विचारधारा हुँदैन भन्ने दृष्टान्त बनेका छन् प्रकाशमान । सोमबार चुनावी घरदैलोमा निस्केका सिंहले आफूलाई प्रश्न सोध्ने पत्रकारलाई भने- ‘कम्युनिष्टको सत्ता आयो भने तपाईले यसरी अन्तरवार्ता लिन पाउनुहुन्न ।’

घरदैलोका क्रममा उनले कम्युनिष्टहरुको चर्को निन्दा गर्दै भने-‘संसारमा फेल भइरहेको व्यवस्था नेपालमा ल्याउन गठबन्धन गरेका छन् । कम्युनिज्म आयो भने स्वतन्त्रता हुँदैन । यसरी तपाईहरुले मसँग इन्टरभ्यु नै लिन पाउँनुहुँदैन ।’

प्रकाशमानले कम्युनिष्टको भुतसँग डर देखाउँदै अगाडि भने- ‘यसरी चुनावै हुँदैन, स्वतन्त्रतै कहाँ पुग्छ पुग्छ । बहुलवादमा उहाँहरुले विश्वास गर्नु हुन्न । प्राइभेट पपर्टीमा उहाँहरु विश्वास गर्नुहुन्न ।’

काठमाडौं क्षेत्र नम्बर १ मा वाम गठबन्धनले कमजोर उम्मदेवार उठाएको छ । यहाँ अखिल क्रान्तिकारीका अनिल शर्मा वाम गठबन्धनको उम्मेदवार बनेका छन् । र, यो क्षेत्रमा प्रकाशमानका मुख्य प्रतिस्पर्धी कम्युनिष्टहरु नभएर विवेकशील साझा पार्टीका रविन्द्र मिश्र देखिएका छन् ।

तर, सिंहले भने आफ्नो चुनावी अभियानमा कम्युनिष्ट र साम्यवादको चर्को विरोधलाई आफ्नो एजेण्डा बनाएका छन् । लोकतान्त्रिक प्रक्रियामा आइसकेका वामपन्थीलाई आलोचना गर्दै सिंह उनीहरु आए भने चुनावै हुँदैन, पत्रकारले अन्तरवार्ता लिन पाउँदैन भन्ने प्रचारमा उत्रिएका छन्, जुन गणेशमान सिंहको वाम-कांग्रेस मिलापले लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता भन्दा पूर्णतः विपरीत छ ।

पुजारीको आशिर्वाद लिँदै घरदैलो शुरु

कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भीमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर घरदैलो अभियान शुरु गरे । सोमबार बिहान पत्नी सिर्जना, प्रदेशसभाका उम्मेदवार र नेता कार्यकर्तासहित मन्दिर पुगेका उनलाई पुजारीले टीका लगाइदिँदै आशिर्वाद दिए- जनताको मन जितेर काम गर्नू ।

काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान सिंहले निरन्तर जित्दै आएको ठाउँ हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भए । यसपटक प्रतिनिधि सभा निर्वाचनमा पनि उनी काठमाडौं १ बाट उम्मेदवार छन् । उनीसँगै काठमाडौं १ बाट विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र वाम गठवन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा पनि चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न थाले, ‘नेपाली कांग्रेसलाई भोट दिनुहोला, मलाई जिताउनुहोला ।’

मेलम्चीको पाइप बिछ्याउने क्रममा भत्काइएका सडक लामो समयसम्म मर्मत नहुँदा सास्ती भोग्दै आएका स्थानीयबासीले प्रकाशमानसँग अबदेखि दुःख नपाउने ग्यारेन्टी खोजे । कालो सुट लगाएका स्थानीय एक युवकले चुनावको पर्चा हेर्दै भने- पहिले पनि तपाईंलाई जिताउँदै आएका छौं, मेलम्चीको पानी छिटो ल्याउनुपर्‍यो, बिग्रिएको बाटो बनाउनुपर्‍यो ।

विगतको भन्दा धेरै सुधारको काम भएको दावी गर्दै प्रकाशमान त्यहाँबाट अघि बढे । रातो चाइनिज इँटाको घरमा पुगेर त्यसैगरी दुई हात जोड्दै दोहोर्‍याए- फेरि पनि मलाई नै जिताउनुहुन्छ भन्ने विश्वास छ ।

त्यो घरकी महिलाले पनि नमस्कार फर्काइन् र भनिन्, ‘देशमा विकास गर्नुपर्‍यो ।’ उनले पनि काठमाडौंमा खानेपानीको समस्या दर्शाइन् ।

हरेक निर्वाचनमा प्रकाशमानले जित्दै आए पनि बाटो र खानेपानीको समस्या समाधान नभएको गुनासो अधिकांश मतदाताको थियो । गुनासो पोख्नेहरुलाई प्रकाशमानको जवाफ एउटै हुन्थ्यो- कांग्रेसभन्दा अगाडि एक नम्बर क्षेत्रमा विपक्षीहरुले प्रतिनिधित्व गर्थे ।

संविधानसभा आइसकेपछि मात्रै हो यहाँ कांग्रेसले प्रतिनिधित्व गर्न पाएको । विगतमा प्रतिपक्षहरुले जित्दा बाटोघाटो ढलको निकै समस्या थियो, कांग्रेसले जित्न थालेपछि कति विकास भएको छ तपाईंहरुलाई थाहै छ ।

उनले धोबिखोला करिडोर केही बनेको र केही बन्ने क्रममा रहेको, सामुदायिक विद्यालयहरुमा भवन र कक्षा कोठा बनाएको, खानेपानीको बन्दोबस्त मिलाएको र पद्मकन्या सामुदायिक स्कुलमा नमूना छात्राबास बनाएको विषय भन्न छुटाउँदैनथे ।

त्यतिमात्रै होइन उनले सडकमा सोलार बत्ती जडान भएको विषयलाई पनि आफ्नो उपलब्धीको रुपमा ब्याख्या गर्दथे । उनले भने, ‘विदेशबाट कोही आउँदाखेरि पनि जिल्ला विकास समितिले १० वटै निर्वाचन क्षेत्रहरुमध्ये १ नम्बर क्षेत्रमै ल्याएर सोलार देखाउने गरेको छ ।’

कांग्रेसको घरदैलोको समाचार संकलन गर्न खटिएका पत्रकारहरुलाई पनि बेलाबेला प्रतिक्रिया दिन अघि सर्थे प्रकाशमान । सबैजसो पत्रकारहरुले वाम गठवन्धन र रविन्द्र मिश्रतर्फ संकेत गर्दै एउटै प्रश्न गर्दथे- चुनावमा कत्तिको च्यालेञ्ज गर्नुभएको छ ? जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

प्रकाशमानले चुनावमा च्यालेन्ज महसुस गरे पनि क्षेत्र नम्बर १ का जनता बहकाउमा नजाने धारणा राखे । उनले भने, ‘यहाँ क्रान्तिकारी पार्टीका नेताहरु आएकै हो, उहाँहरुको गति के भयो, दोस्रो संविधानसभा त ५२ दशमलव ३ प्रतिशत भोट रुख चिह्नमा आएको यो क्षेत्र हो ।

उनले नयाँ पार्टीहरुले केबल नारामात्र दिने तर काम गर्न नसक्ने दाबी गरे । ‘पुराना पार्टीहरुको जुन अनुभव छ त्यो नयाँ पार्टीहरुसँग हुँदैन । देश विकास टेस्टेड पार्टीहरुले मात्रै गर्नसक्छ,’ प्रकाशमानले भने, ‘राजनीति रत्नपार्कमा बसेर चटकेले चटक देखाएजस्तो होइन ।’

०७० को चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा माओवादीबाट प्रचण्डपुत्री रेणु दाहालले दोस्रो स्थान हासिल गरेकी थिइन् भने एमाले रेणुभन्दा पछाडि थियो ।

तर, यसबीचमा माओवादीको जनमत खस्किएकाले र राजनीतिमा नयाँ अनुहार रविन्द्र मिश्रको चर्चा बढी भएकाले मिश्रले कांग्रेस र वाम गठवन्धन दुबैको भोट काट्ने अनुमान गरिएको छ । त्यसैले काठमाडौं क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा रोचक बन्नेमात्रै होइन, प्रकाशमानलाई चुनौति थपिएको अनुमान धेरैले गरेका छन् ।

काठमाडौं १ मा यसपालि वाम गठबन्धन र प्रकाशमानवीचमा नभएर रवीन्द्र मिश्र र प्रकाशमानवीच प्रतिस्पर्धा हुने कतिपयको अांकलन छ ।

यसैवीच वर्षायाममा हिलोका कारण हिँड्नै नहुने अवस्था रहेको खरीबोटदेखि कात्यायनी चोकसम्म जाने बाटो चुनावमा मुखमा भत्काएर ढल बनाउन थालिएको छ ।

नयाँ बानेश्वरबाट मिलनचोकतर्फ जाने धुले सडकमा पनि अलकत्राको झोल छरेर धूलो हटाइएको छ । नयाँ बानेश्वर चोकस्थित स्टाण्डर्ड चाटर्ड बैंक अगाडि पनि अलकत्राको घोल छरिएको छ ।

अरु बेला चिर निद्रामा रहेका ठेकेदारहरु काठमाडौं १ मा चुनावको मुखैमा रातारात परिचालित भएका छन् ।

यो पनि पढ्नुहोस्

रविन्द्र मिश्रमाथि खनिए प्रकाशमान सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment