Comments Add Comment

ओखलढुंगाको चुनावः रोचक बन्दै यज्ञराज र रामहरिको भिडन्त

खतिवडालाई गढ जोगाउने चिन्ता, सुनुवारलाई प्रतिष्ठा

 

५ कात्तिक, ओखलढुंगा । जिल्लामा संघीय प्रतिनिधिसभाका उम्मेदवारको चर्चाले प्रदेशसभाका उम्मेदवारहरु छाँयामा परेका छन् ।

संविधानसभा निर्वाचनमा ओखलढुंगाका फरक-फरक निर्वाचन क्षेत्रबाट जितेका एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन् ।

सुनुवार र खतिवडा दुबैजना संविधानसभा र व्यवस्थापिका संसदमा प्रभावकारी प्रस्तुति देखाएर चर्चामा आएका युवा नेता हुन् ।

यो जिल्ला नेपाली कांग्रेसको १ नं. प्रदेशको गढ र सुरक्षित जिल्लाको रुपमा परिचित छ, यो एमाले महासचिव ई्रश्वर पोखरेलको गृह जिल्ला पनि हो । पोखरेल ओखलढुंगा आउने चर्चाले एमाले नेतृत्वको ध्यान ओखलढुंगातर्फ तानेको थियो । पोखरेल काठमाण्डौमै उम्मेदवार बन्ने भएपछि एमालेले सुनुवारलाई अघि सारेको हो ।

ओखलढुंगाको चुनाव किन राष्ट्रिय महत्वको भनेको छ भने अहिले जिल्लामा एकैदिन दुई दुईवटा चुनावी सभालाई सम्वोधन गर्न एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री शशांक कोइराला जिल्लामा खटिएका छन् ।

खतिवडालाई गढ र सुनुवारलाई प्रतिष्ठा जोगाउने चुनौति

२०१५ सालदेखि लगातार जित्दै आएको कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १ का १४ जिल्लामध्ये बहुमत जितेको र एकल जिल्ला समन्वय समिति गठन गरेको जिल्ला ओखलढुंगा मात्रै हो ।

स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १३६ मत छ । त्यस्तै एमालेको २३ हजार ८३५ मत छ । माओवादीले ९ हजार ६८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५३१ हुन्छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये कांग्रेसले चार वटा गाउँपालिका जितेको थियो भने एमालेले सिद्धिचरण नगरपालिका सहित ३ स्थानीय तह जितेको थियो । माओवादीले एउटा गाउँपालिकाको प्रमुख जितेको थियो ।

कांग्रेस नेता खतिवडा गठबन्धनमा बढ्ने असन्तुष्टिलाई क्यास गरेर मत तान्ने रणनीतिमा रहे पनि एक दर्जन बढी प्रभावशाली नेताहरुले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि उनलाई कांग्रेसको गढ जोगाउन चुनौति थपिएको छ ।

प्रदेश क मा रहेको खिजिदेम्बा गाउँपालिकाका बासिन्दा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ख मा उम्मेदवार बनेका छन् । क भन्दा कांग्रेसका लागि ख नै सुरक्षित देखेर उनले क्षेत्र परिवर्तन गरेको आरोमामा कांग्रेसका असन्तुष्ट नेताहरुले दरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीलाई स्वतन्त्र उम्मेदवार बनाएका छन् ।

प्रदेश क मा भने शुरुमा लिलाबल्लभ दाहाल (काका) ले टिकट पाए पनि अन्तिममा मित्रसेन दाहालले टिकट लगेपछि रामपुरकै दाहालबीचको अन्तरबिरोध हल गर्न कांग्रेसलाई सकस परेको छ ।

सुनुवार र खतिवडाको राजनीतिक पृष्ठभूमि

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सु्नुवार विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५३ मा आर आर क्याम्पस र ०५५ मा महेन्द्र रत्न क्याम्पस ताहचालको स्ववियु सभापति भएका थिए । अनेरास्ववियुको तर्फबाट त्रिविको सिनेटर समेत भएका सुनुवार अनेरास्ववियुको अध्यक्षमा ठाकृुर गैरेसँग पराजित भएपछि पार्टीको राजनीति गर्न ओखलढुंगा आएका हुन् ।

ओखलढुंगामा एमालेको दुई कार्यकाल पार्टी प्रमुख भएका सुनुवार ०६४ मा ओखलढुंगा १ बाट संविधानसभा सदस्यमा पराजित भए । ०७० सालमा भने ३ हजार ५ सय मतान्तरले कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर बिजयी भएका थिए । समान्य जीवनशैली अपनाउने सुनुवार कार्यकर्तासँग सधैं नजिक रहने गर्छन् ।

कांग्रेसको केन्द्रीय सदस्यमा पराजित रामहरि खतिवडा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीति थालेको बताउँछन् । उनी ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन् ।

सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडा युवाहरुबीच लोकप्रिय नेताकारुपमा स्थापित छन् । ०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वाचित भएका थिए ।

यस्तो छ जातीय सन्तुलन र दलगत प्रभाव

विगतमा भएका दुईवटा संविधान सभा निर्वाचन परिणामबाट ओखलढुंगाको प्रदेश क मा एमाले बलियो छ ख मा कांग्रेस बलियो छ ।

सुनुवार, राई, तामाङ र गुरुङ समुदायको बाहुल्य रहेको ओखलढुंगामा एमालेले सुनुवार गुरुङलाई नै उम्मेदवार बनाएको छ । कांग्रेसले पनि क्षेत्र नै परिवर्तन गराएर जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रदेश ख को उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेश ख मा एमालेको सबै भोट माओवादीलाई अनुमानसहित आˆनो शक्ति केन्दि्रत गरेको छ ।

माओवादी नेता बालकृष्ण ढुंगेल सोही क्षेत्रबाट ०६४ मा चुनाव जितेका थिए । स्थानीय तह चुनावमा माओवादीले ५ हजार मत पाएको छ भने एमालेको करीव १२ हजार मत रहेको छ भने कांग्रेसको १३ हजार ७६७ मत छ ।

प्रदेश क मा रहेको सिद्धिचरण नगरपालिकाको एउटा वडा बाहेक सबै वडा र खिजिदेम्बा,मोलुङ र चिसंखुवढी गाउँपालिका छन् । यी मध्ये खिजिदेम्बा कांग्रेसले जितेको छ भने सिद्धिचरण र मोलुङमा एमालेले जितेको छ । चिसंखुगढीमा माओवादीले जितेको छ ।

प्रदेश ख मा पर्ने लिखु, सुनकोशी, चम्पादेवी र मानेभन्ज्याङ गाउँपालिकामध्ये लिखुमा एमालेले जितेको छ भने अरु तीनवटै गाउँपालिका कांग्रेसले जितेको छ । यहाँ वाम गठबन्धनले माओवादीका उम्मेदवार मोहन खड्कालाई उम्मेदवार बनाएको छ ।

यस्ता छन् दुबै उम्मेदवारका घोषणा

दुवै उम्मेदवारहरुले जिल्लाको विकासको खाकालाई प्रतिबद्धता पत्रबाट सार्वजनिक गरेका छन् । दुवैले उज्यालो ओखलढुंगा बनाउने अभियानको नेतृत्व आफैले गर्ने दाबी पनि गरेका छन् । उनीहरुका चुनावी एजेण्डा फ्री वाइफाइदेखि केबलकारसम्मका छन् ।

कांग्रेस उम्मेदवार खतिवडाले आफ्ना प्रतिवद्धता आर्कषक नारासाहित अघि सारेका छन् । उनले सबै गाउँमा फ्री वाइफाइ र एक घर एक रोजगार बनाउने उनका मुख्य एजेण्डा रहेका छन् ।

उनले गुणस्तरीय र रोजगारमूलक शिक्षाका लागि नगरपालिका तथा गाउँपालिकामा कम्तिमा एक प्राविधिक शिक्षालय स्थापना हुने उल्लेख गरेका छन् ।

एक विद्यालय एक पुस्ताकालय अभियान अन्तर्गत ई लाईव्रेरीसहित विद्यालय पुस्तकालयलाई व्यवस्थित र पठनीय बनाउने योजना रहेको खतिवडाले जनाए ।

प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न न्युनतम १५ शैयाको अस्पताल स्थापना गर्ने र हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्ने, ग्रामीण विद्युतीकरण र वैकल्पिक उर्जाको व्यवस्था गर्ने र पर्यटन तथा धर्मसंस्कृतिको विकास गरी पर्यटकीय गन्तव्य बनाउन वृहत हलेसी सर्किट निर्माण गरी धार्मिक स्थलहरु नर्मदेश्वर महादेव, ककनी चम्पादेवी, दूधकुण्ड, लिब्जु, हलेसीआदिको धार्मिक पर्यटन प्रवद्धन गर्ने खतिवडाको घोषणमा उल्लेख छ ।

खतिवडाले टोलटोलमा फ्री वाइफाइको एजेण्डा ल्याएका छन् भने सुनुवारले पर्यटकीय स्थल र धार्मिक स्थल जोड्न केबलकारको अवधारणा ल्याएका छन् ।

वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज सुनुवारले आगामी पाँच वर्षसम्म विद्युत, खानेपानी तथा करमा विशेष छुट दिने र स्थानीय तहलाई नै उद्योगसम्बन्धी नीति बनाई एक वार्ड एक उत्पादनको अवधारणा लागु गरिने मुद्दा अघि सारेका छन् ।

सुनुवारले आगामी ५ वर्षभित्र जिल्लालाई उर्जामा आत्मनिर्भर बनाउन विद्युत् विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने, सबै स्थानीय तहका वडादेखि केन्द्रसम्म राष्ट्रिय प्रशारण लाईनको विस्तार गर्ने र ग्रामीण विद्युतीकरण नभएको स्थानीय तहमा सबै वडामा आगामी तीन वर्षभित्र विद्युत सेवा उपलब्ध गराई जिल्लालाई लोडसेडिङमुक्त बनाउने उल्लेख गरेका छन् र साथै गरिबीको रेखामुनि रहेका परिवारको पहिचान गरी विशेष सहुलियत दिइने घोषणा गरेका छन् ।

त्यस्तै, प्रत्येक गाउँपालिका र नगरपालिकामा गुणस्तरीय र अनिवार्य शिक्षाका लागि आफ्नो कूल बजेटको १५ प्रतिशत शिक्षामा लगानी गर्ने योजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरेका छन् ।

साथै, विद्यालय टाढा भएका विपन्न असहाय र अशक्त विद्यार्थीहरुका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा एउटा आवासीय विद्यालय सञ्चालन गर्ने र प्राथमिक तहमा मात्रृभाषा शिक्षा दिईने प्रबन्ध मिलाइने योजना अघि सारेका छन् ।

सुनुवारले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित गर्न गुरुकुल, विहार, गुम्बा, खुल्ला एवम् वैकल्पिक शिक्षा कार्यक्रमलाई पाँच वर्षमा राष्टि्य शिक्षा प्रणालीसँग आवद्ध गरिने व्यवस्था मिलाउने बताएका छन् ।

उनले भूकम्पबाट घर भत्किएर पनि तथ्यांकमा छुटेकालाई एकवर्षभित्र अनुदान उपलब्ध गराउने बताएका छन् ।

घोषणा पत्र जिल्लाबाट सार्वजनिक भएपछि बौद्धिक वर्गले विभिन्न कोणबाट टिप्पणी गर्न थालेका छन् ।

दुई गठबन्धनको प्रतिद्धतापत्रबारे ओखलढुंगा क्याम्पसका उपप्राध्यापक तथा बौद्धिक व्यक्तित्व युवराज दाहालले काँग्रेसका प्रतिबद्धता सटिक तर, बढी सैद्धान्तिक भएको बताए । उनले आकर्षक नारा तर, समय सीमाविनाको प्रतिबद्धतामा बौद्धिक वर्गले कम विश्वास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment