Comments Add Comment

सल्यानमा टेकबहादुर र प्रकाश ज्वालालाई विद्रोहीको सकस

वाम गठबन्धनको अग्निपरीक्षा, कांग्रेसलाई कागताली

१३ मंसिर, सल्यान । ०६४ सालयता वामपन्थीको गढका रुपमा चिनिएको सल्यान जिल्ला यसपटक पूर्वप्रधानमन्त्री स्व. मरिचमानसिंह श्रेष्ठका प्रतिस्पर्धीको उम्मेदवारी र ‘बागी’ उम्मेदवारका कारण चर्चित बनेको छ ।

सल्यानमा वाम गठबन्धनबाट बहालवाला मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत प्रतिनिधिसभामा भिड्दैछन् । एमालेका चर्चित नेता प्रकाश ज्वाला प्रदेशसभामा भिड्दैछन् । तर, बस्नेत र ज्वाला दुबैले बागीको सामना गर्नुपरेकाले कांग्रेस उम्मेदवारहरु निकै उत्साहित बनेका छन् ।

वामपन्थीको गढमा वाम गठबन्धनकै विद्रोहका कारण सल्यानमा कसले चुनाव जित्छ भन्ने आँकलन नै गर्न नसकिएको कांग्रेस र माओवादी दुबै पक्षका नेताहरुले बताउने गरेका छन् । यद्यपि बागीका कारण आफूहरुले चुनाव जित्ने सम्भावना बढेको कांग्रेस नेताहरुको भनाइ छ ।

देभैभरि वाम गठबन्धनवीच एकता देखिए पनि सल्यानमा भने वाम बिद्रोह रोकिएन । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा ‘वागी’ उम्मेदवार छन् ।

प्रदेश नं ६ को चर्चा गर्दा सुरुमा मुगु र हुम्लामा पनि विद्रोह देखिएको थियो । मुगुको समस्या पूर्णरुपमा हल भयो । हुम्लामा पनि सल्यानमा जस्तै प्रतिनिधिसभाका आधिकारिक उम्मेदवारविरुद्धको ‘वागी’ उम्मेदवारी कायमै छ ।

माओवादी केन्द्रले वागीको समर्थन गरेको भन्दै जिल्ला पार्टी नेतृत्वलाई नै कारवाही गरिसकेको छ । विद्रोहका वीच सल्यानमा जित निकाल्न सक्यो भने वाम गठबन्धन अग्निपरीक्षामा सफल हुनेछ । अन्यथा कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ ।

बस्नेतलाई बागीको त्रास, कांग्रेसमा उत्साह

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट माओवादी विनाविभागीय मन्त्रीसमेत रहेका टेकबहादुर बस्नेत उम्मेदवार छन् । बस्नेतसँग कांग्रेसका राजेन्द्रबहादुर शाह प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि विभिन्न ८ दलहरुले उम्मेदवारी दिएका छन् । कांग्रेस, वाम गठबन्धनसहित माले, जनमोर्चा, राष्ट्रिय जनमुक्ति, नयाँ शक्ति , एराप्रपा (राष्ट्रवादी) लगायतका दलहरुबाट उम्मेदवार छन् ।

जिल्लामा ०६४ यताको अवस्थालाई हेर्ने हो भने वाम गठबन्धनको जित निकै सजिलो थियो । तेस्रो स्थानमा रहेको कांग्रेसविरुद्ध पहिलो र दोस्रो माओवादी-एमालेबीच गठबन्धन हुँदा गठबन्धनको जित स्वाभाविक देखिन्थ्यो । तर, वाम गठबन्धनलाई कम्युनिष्ट गढ जोगाइराख्न गठबन्धन नै अभिसाप देखिएको छ ।

किनभने प्रतिनिधिसभामा माओवादीका संस्थापक नेता उमाकान्त शर्मा रेडियो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रचारमा छन् ।

जिल्ला पार्टीकै समर्थनमा शर्मा उम्मेदवार बनेकोले आधिकारिक उम्मेदवार बस्नेतलाई सजिलो छ्रैन । बस्नेतका निकटका बाहेक जिल्लाको नेतृत्व नै शर्माको पक्षमा उभिएको छ ।

प्रतिनिनिधिसभा सदस्यका लागि कांग्रेसबाट यसपटक राजेन्द्रबहादुर शाह  चुनावी प्रतिस्पर्धामा छन् । शाह पूर्वप्रधानमन्त्री स्व. मरिचमान श्रेष्ठसँग ०४३ सालमा भएको राष्ट्रिय पञ्चायतमा चुनाव लडेर चर्चामा आएका व्यक्ति हुन् ।

जिल्लामा शाहलाई पुराना नेता भएकाले कांग्रेस मात्र नभई सार्वजनिक व्यक्तिका रुपमा लिने गरेकाले पनि यसपटक कांग्रेसले जित्ने दाबी गरेको छ ।

माओवादीभत्रै बिद्रोहका कारण यसपटक आफूहरुलाई सहज भएको कांग्रेस सल्यानका सभापति गणेश चन्दले बताए । ‘वामपन्थीमा बिद्रोही उम्मेदवार छन्, यसले सजिलो भएको छ’ उनले थपे, ‘संघ र प्रदेश सबैमा कांगेसले जित्ने सम्भावना छ, हामी लागिरहेका छौं ।’

तर, वामपन्थीमा विद्रोह हुँदा सजिलो भए पनि चुनाव जित्नेमा कांग्रेस भने ढुक्क छै्रन । ‘चुनाव हो यसै भन्न सकिँदैन,’ सभापति चन्दले भने ।

यता वाम गठबन्धनका उम्मेदवार बस्नेत निकट माओवादीका एक जना स्थानीय नेताले भने बागी उठे पनि भए पनि कांग्रेसले जित्न नसक्ने बताए ।

उनका अनुसार विद्रोही उम्मेदवारले १० हजार बढी मत ल्याउँदा पनि वाम गठबन्धनका बस्नेतको जित निश्चित हुनेछ । भने- ‘सल्यानमा कांग्रेसको स्थान छैन, जित्ने वाम उम्मेदवारले नै हो, विद्रोही उम्मेदवारले १० हजार बढी मत ल्याउँदा पनि माओवादी नेता बस्नेतको जित निश्चित छ ।’

यता विद्रोही उम्मेदवार पक्षका नेताहरुले भने बस्नेतलाई संकट रहेको बताएका छन् । जिल्ला पार्टीनै विपक्षमा रहेकोले एमालेको मत समेत बस्नेतले पाउन अवस्था नरहेको भन्दै एक नेताले यसपटक कांग्रेसले जित्न सक्ने बताए ।

उनका अनुसार विद्रोही उम्मेदवारको १२ हजार मत दावी गरिएको छ । ‘यहाँ वाम गठबन्धन बलियो हो, तर आधिकारिक उम्मेदवारको पक्षमा पार्टी छैन,’ ती नेताले भने, ‘विद्रोही उमाकान्त शर्माले जित्न नसके पनि करिब १२ हजार मत पक्का छ, यसले गर्दा यसपटक कांग्रेसको जित हुन सक्छ ।’

कुल ६७ हजार ३९३ पुरुष र ६६ हजार ८२० जना महिला गरी एक लाख ३४ हजार २१३ मतदाता रहेको सल्यानमा नतिजा कसको पक्षमा पर्छ भन्ने अनुमान नै गर्न नसकिने अवस्था छ ।

यस्तो छ मत विश्लेषण

स्थानीय तहको मतअनुसार माओवादीको मत करिब २९ हजार छ । एमालेको मत २८ हजार छ । यस्तै कांग्रेसको मत २३ हजार मात्रै छ । राप्रपाको मत करिब ३५ सय छ ।

यो मतअनुसार वाम गठबन्धनको मत ५७ हजार आसपास छ । यही स्थानीय तहको मतलाई आधार मानेर वामपन्थीहरुले विद्रोहलाई छिचोलेर जित हासिल गर्ने दाबी गरेको छ ।

करिब ३५ सय मत रहेको राप्रपाको समेत आफ्नै उम्मेदवार रहेकाले पनि वामपन्थी गठबन्धनले आत्तिनु पर्ने अवस्था नभएको बताएको छ ।

स्थानीय तहको मतका आधारमा बिद्रोही उम्मेदवारले २८ हजार मत ल्याए पनि आधिकारिक उम्मेदवार विजयी हुने देखिन्छ । तर, विद्रोही उम्मेदवारले यति धेरै मत ल्याउन सक्ने अवस्था छैन । विद्रोही पक्षकै नेताले समेत १०/१२ हजार मत आउने आँकलन गरेका छन् ।

यही स्थानीय तहको मतलाई आधार मानेर वामपन्थीहरुले जित निश्चित भएको दाबी गरेका छन् । कांग्रेसले भने विद्रोही उम्मेदवारलाई देखाएर कांग्रेसलाई दाउ लागेको बताउने गरेको छ ।

प्रदेश क मा विद्रोही र आधिकारिकवीच प्रतिस्पर्धा !

कुल ३३ हजार ४७७ पुरुष र ३३ हजार १९७ जना महिला गरी ६६ हजार ९४१ जना मतदाता रहेको प्रदेश -क) मा कांग्रेस, वाम गठबन्धन, नेकपा माले, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रको उम्मेदवारी छ ।

कांग्रेसबाट एकराज डाँगी, वाम गठबन्धनबाट एमालेका गुलावजँग शाह उम्मेदवार छन् । वाम गठबन्धनविरुद्ध बागी दिएका माओवादी नेता भिमप्रकाश शर्मा मान्छे चुनाव चिन्ह लिएर चुनावी अभियानमा छन् ।

शर्मा माओवादी पोलिटब्यूरो सदस्य तथा जिल्लाका पूर्वइञ्चार्ज हुन् । उनी अहिले कारवाहीमा परेका छन् । शर्माकै लागि माओवादी जिल्ला पार्टी नै कारवाहीमा परेको छ । विना विभागीय मन्त्री बस्नेतका निकट केही नेताबाहेक सबै नेताहरुले शर्मालाई समर्थन गरेका छन् ।

शर्मालाई समर्थन गर्ने नेताहरुलाई कारवाही गरेपछि जिल्लामा माओवादी नै रित्तिएको छ । माओवादीले धेरै नेताहरुलाई कारवाही गरेपछि गठबन्धनलाई मत आउने सम्भावना निकै कम छ ।

माओवादी गढका रुपमा रहेको यो क्षेत्रमा सीट बाँडफाँटका क्रममा एमालेको भागमा परेपछि माओवादी जिल्ला कमिटी नै रुष्ट बनेर विद्रोह गरेको छ ।

मन्त्री बस्नेतनिकटका केही नेता कार्यकर्ताले आधिकारिक उम्मेदवार शाहलाई मत दिए पनि स्वतन्त्र उम्मेदवार शर्माको जित निश्चित भएको शर्मानिकट एक नेताको दाबी छ । ‘माओवादीको केही भोट मात्रै गठबन्धनमा जान्छ, अरु सबै स्वतन्त्र उम्मेदवारलाई आउने हो,’ ती नेताले भने, ‘६ हजार भोट गठबन्धनका शाहलाई गए पनि भीमप्रकाशको जित निश्चित छ ।’

तर गठबन्धनका नेताहरुले माओवादीको केही मत स्वतन्त्रलाई गएपनि शाहको जित निश्चित भएको दावी गरेका छन् ।

यो क्षेत्रमा स्थानीय तहअनुसार माओवादीको १८ हजार, एमालेको १२ हजार र कांग्रेसको १० हजारको आसपासमा मत छ । माओवादीको मत स्वतन्त्रलाई ६९ प्रतिशत गए पनि गठबन्धनकै जित हुने दावी गठबन्धनको छ ।

प्रदेश ख मा प्रकाश ज्वालालाई सहज

यो क्षेत्रमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवार गरी दश जना प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका दलहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्यमन्त्रीको दावेदारका रुपमा रहेका प्रकाश ज्वाला समेत यसै क्षेत्रबाट चुनाव लडेका छन् । उनी एमाले-माओवादी गठबन्धनका साझा उम्मेदवार हुन् ।

यस्तै कांग्रेसबाट डिल्लीराज रेग्मी, राप्रपाबाट राजेन्द्रवीर राय, राप्रपा प्रजातान्त्रिकबाट वेदप्रसाद खत्री चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेमा धनबहादुर विक र जितमान पुन स्वतन्त्र उम्मेदवार छन् ।

नेता ज्वाला अरु उम्मेदवारको तुलनामा ‘हेभीवेट’ र एमालेको संगठन पनि बलियो भएकोले यो क्षेत्रमा उनलाई त्यति अप्ठेरो छैन ।

ज्वालाविरुद्ध पनि माओवादीका जितमान पुनले उम्मेदवारी दिएका छन् । पुनले माओवादीको केही मत लैजाने पक्का छ । तर, स्थानीय तहको मतअनुसार एमाले एक्लैको मत धेरै भएकाले ज्वालाको जित सहज भएको वाम गठबन्धनको दावी छ ।

स्थानीय तहअनुसार यो क्षेत्रमा एमालेको मत मात्रै साढे १५ हजार छ । कांग्रेसको साढे १३ र माओवादीको साढे ११ हजार मत छ ।
यो मतअनुसार एमाले एक्लैले आफ्नो मत बचाए मात्रै पनि यहाँ ज्वालाको जित निश्चित छ ।

बागीले माओवादीको मत रोक्ने र २५ सय मत भएको राप्रपाले कांग्रेसलाई सहयोग गरेको खण्डमा ज्वालालाई केही असहज हुन सक्थ्यो । तर, राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । यसले गर्दा ज्वालालाई सल्यानमा अरु उम्मेदवार भन्दा जित्न सहज छ ।

यो क्षेत्रमा अहिले ६७ हजार २७२ मतदाता छन् । जसमा ३३ हजार ६४९ जना पुरुष र ३३ हजार ६२३ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment