Comments Add Comment

कञ्चनपुर-३ मा मामा-भान्जाको रोचक भिडन्त

१७ मंसिर, महेन्द्रनगर । नातामा मामा-भान्जा पर्छन्, कांग्रेस नेता रमेश लेखक र वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्ट । मामा कांग्रेसका हेभिवेट र भाञ्जा राजनीतिशास्त्रका विद्यावारिधि ।

मतदाताबीच मामाले जित्छन् कि भाञ्जाले भन्ने बहस चुलिएको छ, यतिबेला । मामाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् भने भान्जा उनलाई पछि पार्न प्रयासरत देखिन्छन् ।

यी दुवै बैतडी पुख्र्यौली थलो भएका नेता हुन् । कञ्चनपुर-३ मा बैतडी र दार्चुला सेन्टिमेन्टको मत बढी भएको मानिन्छ । करिब ६० प्रतिशत भोट सोही सेन्टिमेन्टको मानिन्छ । बाँकी ४० प्रतिशत अन्य सेन्टिमेन्टले ओगटेका छन् ।

कांग्रेस नेता लेखक यस क्षेत्रको विकास, निर्माण आफैंले गरेको दाबीका साथ मतदातासँग भेटघाटमा व्यस्त रहँदा डा. भट्ट भने कञ्चनपुरमा आएका हरेक विकास, निर्माणका योजना वामपन्थी सरकारका पालामा ल्याइएको बताउँदै त्यसको खण्डन गरिरहेका छन् । भन्छन्, ‘कांग्रेसले झुटो कुरा बोलेर जनतालाई अल्मल्याउने प्रयास गरिरहेको छ ।’

उनको भनाइमा कञ्चनपुरलाई अन्तर्राष्ट्रिय व्यापारको केन्द्र र नाका बनाउने कुरा ०६७ सालमा झलनाथ खनालको सरकारको पालामा आएको अवधारणा हो । ब्रम्हदेव हुँदै दार्चुलाको टिंकर नाका जोड्ने सडकको अवधारणा त्यही सरकारले ल्याएको डा. भट्ट बताउँछन् ।

‘महाकाली करिडोरबाट तिब्बतको ताक्लाकोट जोड्ने योजना खनाल नेतृत्वको सरकारले ल्याएको हो,’ उनी भन्छन्, ‘त्यतिबेला उक्त सडक निर्माणका लागि ८० करोड रुपैयाँ छुट्याइएको थियो ।’

उनको भनाइमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र लेखराज भट्ट आपूर्ति मन्त्री हुँदा दोधरा-चाँदनीको सुन्दरनगरमा सुख्खा बन्दरगाह निर्माणको योजना अगाडि सारिएको हो । र, त्यसका लागि ६ अर्बको बजेट नै छुट्याइएको थियो ।

२२ वर्षअघि भएको महाकाली सन्धिमा कञ्चनपुरमा सिँचाइका लागि नहर, ब्रम्हदेवबाट भासीसम्म फराकिलो सडक, दोधरा-चाँदनीको सिँचाइका लागि तीन सय ५० क्युसेकको नहर र पञ्चेश्वर बाँध निर्माण गर्ने उल्लेख थियो ।

‘यत्रो वर्ष बितिसक्दा पनि ती कुनै काम अगाडि बढेका छैनन्,’ डा. भट्ट भन्छन्, ‘अनि लेखकले यहाँको सबै विकास मैले नै गरेको दाबी गर्नुमा कुनै तुक छैन ।’

लेखक १८ वर्षदेखि संसदीय राजनीतिमा रहेको र महाकाली सन्धिका ती प्रावधान कार्यान्वयनका लागि एक दिन पनि संसदमा नबोलेको भट्टको आरोप छ । ‘१८ वर्षमा १८ इन्च पनि नहर खनिएन । कालापानीमा भारतीय सेना आएर बसेको विषयमा संसदमा एक दिन पनि बोल्नु भएन,’ उनी भन्छन् ।

बरु, लेखक सांसद नबन्दै आफूले ०५५ सालमा कञ्चनपुरको कुतियाकभरदेखि २८ दिनको पदयात्रामा लिपुलेकसम्म पुगेर भारतले मिचेको सीमा फिर्ता गराउने अभियान चलाएको उनी बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो नेपाल भ्रमणका क्रममा महाकालीमा पक्की पुल निर्माण अगाडि बढाइने बताएका थिए । ‘तर, उनको आश्वासनले मात्र पुल नबन्ने देखेर केपी ओली सरकारका बेलामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई साढे तीन अर्ब बजेट छुट्याउन लगाएका थियौं,’ डा. भट्ट भन्छन्, ‘शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उहाँलाई ल्याएर रमेश लेखकले शिलान्यास गराउनु भयो । उहाँले गरेको विकास त्यही हो ।’

महाकाली करिडोर, चाँदनी-दोधारामा सुख्खा बन्दरगाह र महाकालीमा पक्की पुलसहितको साढे नौ अर्ब रुपैयाँभन्दा बढी रकम वामपन्थी सरकारले छुट्याएकाले लेखकको दाबी हावादारी भएको डा. भट्टको भनाइ छ ।

‘ती विकास आयोजनाबाट यहाँ रोजगारी सिर्जना र विकासको लहर ल्याउने सोच बनाउने वामपन्थी सरकार हो । त्यसको जस भने लेखकले लिने प्रयास गरिरहनु भएको छ,’ उनी भन्छन्, ‘हामीले गरेका कामको जस लिँदा चुनावमा बिक्री भई पो हाल्छ कि भन्ने उहाँलाई लागेको हुन सक्छ ।’

लेखकको दाबी अर्कै छ । भन्छन्, ‘कांग्रेस ठूलो पार्टी बन्दा नै सुदूरपश्चिममा विकास निर्माण अगाडि बढेको हो ।’

उनको भनाइमा शेरबहादुर देउवा शक्तिमा आएपछि नै कञ्चनपुरबाट कैलाली जाँदा भारत भएर जानुपर्ने अवस्था अन्त्य भएको हो । कैलाली-अत्तरिया राजमार्ग खण्ड, पहाडी जिल्लाहरुमा सडक पुर्‍याउने, भौतिक पूर्वाधार निर्माण देउवा शक्तिशाली भएपछि नै प्रारम्भ भएको उनको दाबी छ ।

‘म भौतिक योजना मन्त्री बनेको समयमा जस्तो बजेट कहिल्यै सुदूरपश्चिममा आएको छैन,’ उनी भन्छन्, ‘कम्युनिस्ट साथीहरुले यहाँ कांग्रेसले के गर्‍यो भन्ने प्रश्न गर्छन् । कञ्चनपुर र त्यसमा पनि ३ नम्बर क्षेत्रमा काम कसले गरेको हो भन्ने कुरामा होडबाजी भइरहेको छ । काम त भएको रहेछ नि त । भएका काम अरुले र नभएका काम मैले गरेको हुन्छ ?’

यस्ता छन् चुनावी फ्याक्टर

डा. भट्टसँग माओवादी र त्यसमा यसअघि नै विलय भएको नेकपा संयुक्तका मतदाताको पनि साथ छ । लेखकसँग कांग्रेसको बलियो मत साथमा छ, जुन स्थानीय तह निर्वाचनमा छिन्नभिन्न हुन पुगेको थियो ।

डा. भट्टलाई एमाले, माओवादी र संयुक्तका जनवर्गीय संगठनहरु मिलाएर प्रचार प्रसारमा जुट्न केही समय लागेको थियो । दुवै नेता जब चुनावी प्रचारमा ओर्लिए, उक्त क्षेत्रमा विकास कसले भित्र्याएको हो भन्ने बहस पनि चुलियो । तर, अवस्था फरक छ ।

मझगाउँ विमानस्थल गौचरणमा परिणत भएको छ, १५ वर्षदेखि । त्यसलाई घेरिएको तारजालीको अवशेषसम्म देखिँदैन अहिले ।

महाकाली अञ्चल अस्पतालमा २७ जनाको दरबन्दीमा सात जना मात्र भेटिन्छन्, रिफरल सेन्टरमा सीमित छ त्यो ।

चाँदनी-दोधाराका अधिकांश सडक कालोपत्रे भएका छैनन् । चुरेबाट बग्ने खोलानालाको डुबान र कटान घट्नुको साटो दिनानुदिन बढ्ने क्रममा छ । घाँडीघाँचमा तटबन्ध निर्माण चुनावी एजेन्डा बनेको दुई दशक बित्यो ।

महाकाली नदीमा पुल निर्माण सुरु भएको छैन । महाकाली करिडोर सडक पनि सरकारी प्रक्रियामै अल्झेको छ । शहरी क्षेत्रका केही सडक कालोपत्रे बनेका छन् । केही खोलामा पुल निर्माणाधीन छन् । स-साना खोलानालामा झोलुंगे पुल बनेका छन् ।

त्यसबाहेकको ठूलो विकास भने यस क्षेत्रमा मतदाताले सहजै देख्न सकेको पाइँदैन ।

यस्तो छ अंकगणित

कांग्रेस उम्मेदवार लेखकको विश्लेषणमा कञ्चनपुर-३ मा ०५६ सालमा कांग्रेस पहिलो र राप्रपा दोस्रो भएका थिए । एमाले तेस्रो थियो । एमालेसँग ६ हजारभन्दा बढी र राप्रपासँग पाँच हजारभन्दा बढी मत अन्तर थियो ।

‘२०७० सालमा एमाले र माओवादी दुवैको मत जोड्दा म चार हजारले अगाडि थिएँ,’ उनी भन्छन्, ‘र, एमाले चौथो स्थानमा थियो । दोस्रो माओवादी र तेस्रो राप्रपा थियो ।’

त्यतिबेला माओवादी, राप्रपा र एमाले तीन वटैको मत जोड्दा मात्र कांग्रेस आठ सय मतले पछाडि थियो ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनका वडाध्यक्षहरुको कुल मत २५ हजार पाँच सय ९३ थियो । यस क्षेत्रमा भीमदत्त र महाकाली नगरपालिका तथा वेदकोट नगरपालिकाको ८ नम्बर वडा पर्छन् ।

तीन नगरपालिकाका कांग्रेसका ३० वडाध्यक्षहरुको मत १६ हजार १९ मात्र छ । अर्थात्, कांग्रेस नौ हजार पाँच सय ७४ मत पछाडि थियो, स्थानीय निर्वाचनमा ।

उक्त निर्वाचनमा पार्टीभित्रको चरम विवाद मिलाउन नसकेका कारण पछाडि पर्नुपरेको र अहिले अवस्था सुध्रिसकेको लेखकको दाबी छ । र, राप्रपाको समेत मजबुत पकड रहेकाले निर्वाचन जित्न कठिन नहुने उनको दाबी छ ।

डा. भट्टको दाबी भने फरक छ । यस क्षेत्रमा बैतडी सेन्टिमेन्टका पकड बलियो मानिन्छ । र, भट्टहरुको बसोबास पनि बाक्लै छ । लेखक र भट्ट दुवै बैतडी सेन्टिमेन्टका हुन् । उक्त सेन्टिमेन्टको मत बाँडिने सम्भावनाका बावजुद भट्ट मतदाताहरुको अधिकांश भोट पाउने उनको दाबी छ ।

भट्टहरुको मत आकषिर्त् गर्न भने उनलाई सहज देखिँदैन । किनभने, अधिकांश कांग्रेस समर्थक मानिन्छन् ।

उनी जन्मेको बैतडी र हुर्केको दार्चुलामा हो । गणितमा एमएस्सीसम्मको अध्ययन पिथौरागढमा गरेका हुन् । र, राजनीतिशास्त्रमा अर्को स्नातकोत्तर गरेर एमफिल र विद्यावारिधिको अध्ययन नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वबिद्यालयमा गरेका हुन् ।

त्यस हिसाबले बैतडी र दार्चुला सेन्टिमेन्टको भोट पाउने विश्वासमा उनी देखिन्छन् ।

अहिले वाम गठबन्धनले महाकाली पारिका चाँदनी र दोधारा क्षेत्रमा आफूलाई केन्दि्रत गरेको पाइन्छ । महाकाली नगरपालिकामा पर्ने दुवै गाउँमा कांग्रेसको राम्रो पकड भएको मानिन्छ । त्यही भत्काउने जोडबलमा देखिन्छ, वाम गठबन्धन ।

सोही रणनीतिअनुसार दोधारा-चाँदनीका प्रभावशाली नेता मानिने मानबहादुर सुनारलाई प्रदेशसभा ‘ख’को प्रत्यक्षमा टिकट दिएको छ, उक्त गठबन्धनले ।

सुनार ०४९ सालमा कांग्रेसबाट गाविस अध्यक्ष बनेका थिए । ०५१ सालमा कांग्रेस नेता एनपी साउदलाई हराएका थिए, स्वतन्त्र उम्मेदवारका रुपमा । सुनार भन्छन्, ‘अहिले २/३ हजार मतले वाम गठबन्धन अगाडि छ, त्यस क्षेत्रमा ।’

डा. भट्ट यस क्षेत्रमा नयाँ अनुहार भएको कुरालाई कांग्रेस नेता/कार्यकर्ताले मुद्दा बनाइरहेका छन् । उनी भने यस्तो तर्क गर्छन्, ‘पहिलोचोटी चुनाव लड्दा जो पनि नचिनेकै हुन्छ । रमेश लेखक पनि ०५६ सालमा पहिलोचोटी चुनाव लड्दा नयाँ नै हुनु हुन्थ्यो ।’

आफू युवा भएकाले उक्त वर्गको मत आकषिर्त् गर्ने प्रयासमा रहेको डा. भट्ट बताउँछन् । भन्छन्, ‘युवालाई रोजगारी र प्राविधिक सीप विकासको एजेन्डा अगाडि सारेको छु ।’ प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिने व्यवस्था केपी ओली सरकारले अगाडि सारेको तर वर्तमान सरकारले त्यसको कार्यान्वयन हुन नदिएको विषयलाई उनले चुनावी मुद्दा बनाएका छन् ।

मेडिकल कलेज स्थापना, डुबान र कटानको समस्या अन्त्य, २० वर्षपछिको चापलाई ध्यानमा राखेर सडकहरु फराकिलो बनाउनेलगायत उनका चुनावी एजेन्डा छन् ।

त्यसबाहेक पर्यटन विकास, सुदूरपश्चिम विश्वबिद्यालयमा विश्वभरका विश्वबिद्यालयहरुसँग एक्स्चेन्ज कार्यक्रमहरुलगायत उनका एजेन्डा छन् ।

लेखकले भने वाम गठबन्धन दुई वर्ष नपुग्दै संविधानको पुनर्लेखन गर्ने प्रयत्नमा रहेको मुद्दालाई चुनावी नारा बनाएका छन् । भन्छन्, ‘शासकीय स्वरुप नै फेर्ने भनेको संविधानको पुनर्लेखन गर्नु हो । देशको कम्युनिस्टकरण जसरी पनि रोक्छौं ।’

महेन्द्रनगरलाई त्रिदेशीय व्यापारिक नाका बनाउने उनको मुख्य चुनावी एजेन्डा हो ।

महाकाली नदीको पानी र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका कारण यस क्षेत्रमा छिमेकी मुलुक भारतको पनि चासो जोडिएको छ । त्यसैले मामा-भान्जामध्ये कसले बाजी मार्छ भन्ने चासो मतदातामा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment