२० मंसिर, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बिहीबार ४५ जिल्लामा दोस्रो चरणको चुनाव हुँदैछ ।
ती जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामाग्रीसहित खटिइसकेका छन् ।
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ । यहाँ कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।
निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ ।
पहिलो घेरामा म्यादी र नेपाल प्रहरी रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । सेनाले हवाइ गस्तीको व्यवस्था पनि मिलाएको छ ।
दोस्रो चरणको निर्वाचन सकिए लगत्तै यही मंसिर १० गते निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु गर्ने आयोगको तयारी छ । निर्वाचन
आयोगका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
काठमाडौंको मतगणना पाँच ठाउँमा हुने
काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगगणना पाँच ठाउँमा हुनेछ ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा मतगणना हुनेछ ।
निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।
आयोगबाट काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा एक–एक निर्वाचन अधिकृतसहित ५ हजार ८४८ कर्मचारी खटिएका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमा ७३१ मतदान केन्द्र र ३०९ मतदानस्थल छन् ।
१० निर्वाचन क्षेत्रमा कुल मतदाताको संख्या ६ लाख ३० हजार ४६० छ । १ नम्बर क्षेत्रमा सबैभन्दा कम ४२ हजार ४३० मतदाता छन् भने २ मा सबैभन्दा धेरै ७४ हजार ७५६ मतदाता छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा ५३ हजार ८२४, क्षेत्र नम्बर ४ मा ६३ हजार २१५, क्षेत्र नम्बर ५ मा ६४ हजार ५५० मतदाता छन् ।
यसैगरी क्षेत्र नम्बर ६ मा ५८ हजार १८७, क्षेत्र नम्बर ७ मा ५७ हजार ५५८, क्षेत्रनम्बर ८ मा ५० हजार ८८, क्षेत्रनम्बर ९ मा ६७ हजार ६५१ र क्षेत्रनम्बर १० मा ७१ हजार २०१ मतदाता रहेका छन् ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका १७१ उम्मेदवार छन् । यसैगरी प्रदेश सभा (क) मा १०७ र प्रदेशसभा (ख)मा ११५ उम्मेदवार रहेका छन् ।
ललितपुर र भक्तपुरमा पनि चुनावको तयारी पूरा
ललितपुर र भक्तपुरमा पनि चुनावको तयारी पूरा भएको छ ।
ललितपुरका एक सय ३१ मतदानस्थलमा कर्मचारी पुगिसकेको मुख्य निर्वाचन कार्यालय प्रमुख सीता साम्बाले जानकारी दिइन् । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिएका छन् ।
जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी खटाइएको छ ।
ललितपुरमा दुई लाख २८ हजार तीन सय ३८ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा छ क्षेत्र छन् ।
सबैभन्दा बढी क्षेत्र नं. ३ मा ८६ हजार चार सय ३९ र सबैभन्दा कम क्षेत्र नं. १ मा ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं. २ मा ७५ हजार ९८१ मतदाता छन् ।
यसैगरी भक्तपुरका ७८ वटा मतदानस्थलमा पनि आवश्यक कर्मचारी खटिइसकेका छन् । कुल दुई हजार ५०४ कर्मचारीलाई निर्वाचनमा खटाइएको छ ।
भक्तपुरका ७८ मतदानस्थलमा २०९ मतदान केन्द्र छन् । तीमध्ये ३४ मतदानस्थल संवेदनशील छन् ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका जिल्लामा कूल एक लाख ७८ हजार ९५ जना मतदाता छन् ।
सो अनुसार निर्वाचन क्षेत्र नं. १ मा ९४ हजार १६४ र क्षेत्र नं. २ मा ८३ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा ४३ हजार ५५२ र प्रदेश नं. (ख) मा ५० हजार ६१२ मतदाता छन् ।
निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) मा ४४ हजार ८९ र प्रदेश (ख) मा ३९ हजार ८४६ मतदाता छन् ।
प्रतिक्रिया 4