९ पुस, काठमाडौं । किशोरावस्थामा आफ्ना छोराछोरीहरुमा देखापर्ने शारीरिक एवं मानसिक परिवर्तनलाई लिएर धेरै आमाबाबु चिन्तित एवं भावुक हुने गर्छन् । छोराछोरीहरु कुलतमा लाग्ने पो हुन् कि भन्ने चिन्ता अभिभावकमा हुन्छ । यता किशोर-किशोरीमा पनि अनेकखाले जिज्ञासा र कौतुहल बढ्ने गर्छ यो उमेरमा ।
कपडा छोटो भएछ । ज्यानमा काउकुती लाग्न पो थालेछ । बाहिर हिँड्दा केटाहरुको लोभी नजरले घुर्न पनि थालिसकेछ । सिटी बजाउने र जिस्क्याउनेहरुसँग पनि सामना गर्नुपर्ने अवस्था आइसकेछ । स्वभावमा लजानुपन बढ्दै जान थालेछ । अब ‘लौ छोरी ठूली भई’ भन्दै घरमा अभिभावकले पनि अनेक कुराकानी गर्न थालेछन् । अनि एउटी बालिकालाई विस्तारै बोध हुन थालेछ- अहो, म त तरुनी पो भइँछु । शायद उनको मनमा पनि गुञ्जन थाल्छ यो गीत- ‘मै ठूली भइँछु रे ! आइदेउ घुम्टी ओढाइदेऊ…’
बालापनबाट किशोरवयमा प्रवेश गरेपछि शरीर, मन र भावमा नौलो परिवर्तनको अनुभव हुन थाल्छ । हो, स्वप्नलोकमा अवतरण गरेजस्तै हुन्छ, जब किशोरीले टीनएजमा पाइला टेक्छन् । यहीबेला हो, वेपत्तासँग मन बहकिने । जे पनि गर्न मन लाग्ने, जे पनि गर्न आँट आउने । मनले ‘उडुँ कि गुँडु म’ भन्ने ।
यो उमेरमा शरीरमा उर्जा पनि त हुन्छ । किशोरवयलाई त्यसै भनिएको होइन, गोल्डेन एज ।
तर, ठीक यही चरणमा किशोरीहरु जीवनको भिन्न परिस्थितिबाट गुजि्ररहेका हुन्छन् । ऐना अगाडि ठिंग उँभिदा वा वाथरुममा सर्वाङ्ग नग्न हुँदा आफ्नै शरीरका अवयवहरु देखेर उनीहरुलाई अनौठो लाग्न थाल्छ । आखिर के भएको हो यो ? सोध्न संकोच लाग्छ । डर लाग्छ । साथीसंगीले के भन्लान् ? बाटोमा देख्नेहरुले के सोच्लान् ?
यही चरणमा हो, मासिक श्राव सुरु हुने । तर, कहिले, कहाँ, कुनबेला हुन्छ, त्यसको हेक्का हुन्न । साथीहरुसँग खेलिरहेका बेला । क्लासमा पढिरहेका बेला । कतै घुम्न गएका बेला । जहिले पनि । जुनसुकै अवस्थामा पनि । जब मासिक श्राव हुन्छ, आश्चर्य लाग्छ । कताकता काउकुति पनि । क्लासमेटले रगतको टाटा देखे के भन्लान् ?
मासिक स्राव, अंगप्रत्यङ्गको परिवर्तन, मानसिक उथलपुथल । यस्तै अवस्था एवं मनोदशाबाट गुज्रिरहेका किशोरीहरुले के-कस्ता अनुभूति र अनुभव गर्छन् होला ? केही किशोरीसँग भेटेर अनलाइनखबरले यसबारेमा खोतलेको छ ।
पहिलो पटक ‘मिन्स’ हुँदा
अम्बिका शाह ६ कक्षामा पढ्दै थिइन् । उमेर १२ बर्ष । क्लासमा थिइन् । मासिक स्राव भयो ।
‘सुरुमा अचम्म लाग्यो’ अम्बिकाले भनिन्, ‘ला, के भएको होला भनेर मन आत्तियो’ ।
स्त्रीलाई महिनावारी हुन्छ भन्ने अम्बिकाले स्कुलमा पढेकी थिइन् । तर, कहिले र कसरी हुन्छ ? त्यो भने आफैले भोगेपछि उनलाई थाहा भयो । पढाइ र भोगाइ फरक थियो । पाठ्यपुस्तकले किशोरवयमा मासिक स्राव हुन्छ र त्यो प्राकृतिक प्रक्रिया हो भन्ने त बुझाइदियो । यद्यपि, त्यो अवस्थालाई मानसिकरुपले कसरी सामाना गर्ने ? सिकाएन ।
‘सानै थिएँ, डर लाग्यो । यो किन भएको होला, यस्तो नभइदिएको भए नि हुन्थ्यो भन्ने लाग्यो’ अम्बिकाले सम्झिइन्, ‘त्यसबेला एकदमै दिक्क लागेको थियो ।’ घर कैलाली भए पनि उनी काठमाडौंमा हुर्किएकी हुन् ।
अम्बिकाको जस्तै भोगाइ थियो, कुसुम नेपाल, दुर्गा चौलागाई र आस्मा लामिछानेको पनि । उनीहरु सहपाठी हुन् । सबैजना विज्ञानमा प्लस टु गर्दैछन्, नयाँ बानेश्वरको नोवेल एकेडेमीबाट । उमेर पनि सबैको १७ र १८ बर्षको हाराहारी ।
अलग्गै बस्नुपर्दाको आपत
मासिक स्रावलाई ‘नछुने भएको’ भनिन्छ, हाम्रो समाजमा । यतिबेला मन्दिरमा पूजाआजा गर्न, भान्सामा खानपान पकाउन बर्जित गरिन्छ । पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथा पनि यसैको बाइ प्रोडक्ट हो ।
शहरका किशोरीहरुको भोगाइ पनि त्यति सुखद छैन । उनीहरुकै भनाइअनुसार जब पहिलोपटक मासिक स्राव हुन्छ, त्यसबेला घरपरिवारमा घुलमिल हुन पाइँदैन । अलग्गै वा आफन्तकहाँ लगेर राखिन्छ । एक्लै बस्नुपर्ने ।
‘यसरी छुटै बस्नुपर्दा झ्याउ हुन्छ’ कुसुम नेपाल भन्छिन्, ‘केही गर्न पाइँदैन ।’
मासिक श्रावमा कम्मर र पेट दुख्छ । कमजोरी महसुस हुन्छ । दिक्क लाग्छ । छटपटी हुन्छ । कसैले बोल्दा पनि झर्को लाग्छ । किशोरीहरुको साझा अनुभव थियो यो ।
‘कसैले बोल्दा पनि झर्को लाग्छ’, दुर्गा चौलागाईले भनिन्, ‘न काम गर्न मन लाग्छ, न पढाइमा ध्यान जान्छ ।’
किशोरीहरु कति दयानीय अवस्थाबाट गुजि्ररहेका हुन्छन् । तैपनि बाटोमा हिँडिरहँदा, क्लासमा बसिरहँदा, गाडीमा यात्रा गरिरहँदा, पसलमा केही किन्न गएका बेला केटाहरुको समूहले जिस्काउँछ । ठट्टा गरिदिन्छ । ‘त्यस्तोबेला चाहिँ एकदम रीस उठ्छ’ आस्मा लामिछानेले भनिन्, ‘अझ कोही कोही त घुरेर हेर्छन् ।’
त्यसो त किशोरीहरुलाई पहिलोपटक सेनेटरी प्याडको प्रयोग गर्दा वा ब्रा लगाउँदा सहज हुँदैन । कताकता लज्जावोध हुन्छ । अरुले थाहा पाउँछ कि भन्ने भय हुन्छ ।
यो उमेरको दोष के भने, बाहिर एक्लो हिँड्नै नहुने । केटाहरुको समूहमा मिसनै नहुने । हरक्षण परिवारको निगरानी र संरक्षणमा बस्नुपर्ने ।
जब कुनै किशोरी बाटोमा भेटिन्छे, केटाहरुको झुन्डले जिब्रो पड्काउन थाल्छ । गाडीका कति यात्री नजानिँदो तरिकाले लहसिन थाल्छन् । कोही आँखा गाडेर हेर्छन्, कोही अनेक बाहनाले छुन खोज्छन् ।
कुसुम भन्छिन्, ‘त्यसबेला क्या अड फिल हुने ।’
उनको भनाइमा समर्थन गर्दै अम्बिका थप्छिन्, ‘एक्लै हिँड्नै सकिँदैन । ग्रुपमा हुँदा मात्र अलि सहज हुन्छ ।’
लभ रिलेशन
शरीर विज्ञानअनुसार निश्चित उमेर पुगेपछि विपरीत लिंगप्रति आकर्षण बढ्छ । केटाले केटीलाई र केटीले केटालाई मन पराउन थाल्छन् । आपसमा भेट्न, वात गर्न, घुम्न जान मन लाग्छ । हामीले यी किशोरीहरुलाई सोध्यौं, के उनीहरु पनि कसैप्रति आकषिर्त भएका होलान् ?
प्रश्न सुनेपछि उनीहरुले मुखामुख गरे । एकछिन सन्नाटा छायो । त्यसपछि उनीहरुले ‘छैन’को संकेत गर्दै टाउको हल्लाए ।
मनोविज्ञहरु भन्छन्, किशोरवयमा विपरीत लिंगीप्रति आकषिर्त हुनु समस्या होइन । बरु, नहुनु चाहिँ समस्या हो । हामीले उनीहरुलाई यही प्रश्न राख्यौं । उनीहरुले आफूलाई बचाउ गर्दै यसो भने, ‘अहिले हामीलाई खाली करियरको चिन्ता छ, कसरी पढ्ने भन्ने चिन्ता छ । पढेपछि के गर्ने भन्ने चिन्ता छ । दिनभर पढाइ । अरुबेला सरको असाइन्मेन्ट, होमवर्क, प्रोजेक्ट वर्कले व्यस्त बनाउँछ ।’
विज्ञानका विद्यार्थी जो परे ।
कस्तो ब्वाइफ्रेन्ड ?
कस्तो केटालाई देख्दा फर्की-फर्की हेर्न मन लाग्छ ?
जवाफमा उनीहरु केही क्षण घोरिए । र, संयुक्त जवाफ फर्काए, ‘ह्यान्डसम ।’ तर, प्रश्नले मागेजस्तै फर्की-फर्की हेर्न चाहिँ मन नलाग्ने उनीहरुको तर्क थियो ।
‘हामी केटीहरुलाई झलक्क एकपटक देखेपछि पुग्छ’ अम्बिकाले जवाफ दिइन्, ‘त्यसपछि फर्केर चाहिँ हेरिँदैन ।’ सबैले अम्बिकाकै कुरामा सही थापे ।
केटीहरु प्रायः केटालाई घुरेर हेर्दैनन् । फर्की-फर्की पनि हेर्दैनन् । बस्, आँखा सामुन्ने परेको ह्यान्डसम केटामा भने उनीहरुको दृष्टि पर्छ । र, पछि साथीसँग त्यसबारे हल्काफूल्का चर्चा गर्छन्, ‘यार, क्या ह्यान्डसम केटा ।’
उनीहरु आफ्नो ब्वाइफ्रेन्ड चाहिँ कस्तो होस् भन्ने चाहन्छन् त ?
‘ह्यान्डसम ।’ कुसुमको रोजाइ, ‘फेसनेवल पनि ।’ अम्विकाले कुसुमको रोजाइमा सदर गर्दै थपिन्, ‘स्मार्ट होस्, अनि हाइट पनि है ! हाइटचाहिँ हुनुपर्छ । आफूभन्दा अग्लै ।’
अब पालो दुर्गाको । फ्याट्ट भनिन्, ‘प्रदीप खड्का जस्तै ।’ त्यसपछि हातले दाह्रीको सेप बनाएर भनिन्, ‘चट्ट मिलेको दाह्री होस् । ह्यान्डसम । हाइट पनि ।’
आश्माको निचोड यस्तो निस्कियो, ‘स्मार्ट र फेसनेवल मात्र भएर पुग्दैन । आफूलाई पनि बुझ्ने हुनुपर्छ । केयर गर्ने, माया गर्ने । भनौं न, अलि म्याचुअर्ड टाइपको ।’
फिजिकल रिलेशन
किशोरवयमा हुने विपरीत लिंगीप्रतिको आकर्षण खासमा प्रेम होइन । उनीहरु भावनाले होइन, आँखाले प्रेम गर्छन् । शरीरले प्रेम गर्छन् । विपरीत लिंगीप्रतिको आकर्षणले नै उनीहरुलाई आपसमा नजिक ल्याउँछ । त्यसैलाई उनीहरुले ‘प्रेम’ भनेर बुझ्ने गर्छन्, खासमा त्यो वासनाले भरिएको हुन्छ ।
हर्मोनहरुको उत्पादनमा बृद्धिसँगै शारीरिक आवश्यकता वा ‘सेक्सुअल डिजायर’ले पनि उनीहरुलाई आपसमा जोड्छ । मनोविज्ञहरु यसै भन्छन् । यही आधारमा हामीले सोध्यौं, ‘लभ परेको अवस्थामा फिजिकल रिलेसन आवश्यक छ वा छैन ?’
‘नो…नो’ अम्बिका अघि सरिन्, ‘हुँदैन त्यो त ।’ अरुले पनि उनलाई समर्थन गरे, यसो भन्दै, ‘फिजिकल रिलेसनको लागि लभ पर्ने होइन, लभ भनेको मात्र लभ हो । त्यसमा फिजिकल रिलेसनको कुरा आयो भने बर्वाद हुन्छ ।’
किशोरवयमा प्रेम गर्ने, फिजिकल रिलेसन राख्ने र अनिच्छित गर्भ बोक्ने उपक्रम बाक्लै देखिन्छ । त्यही कारण अहिले किशोरीहरुमा गर्भपतनको दर पनि बढिरहेको छ । तथ्यांकहरुले यसै भन्छ ।
तर, अम्बिका, कुसुम, दुर्गा र आस्मा यसको विपरीत उभिए । उनीहरुले भने, ‘फिजिकल रिलेसन भनेको बिहेपछि मात्र हो ।’ यससँगै उनीहरुले के पनि थपे भने, जोसँग प्रेम गरिन्छ, बिहे उसैसँग । एउटासँग लभ गर्ने र अर्कोसँग बिहे गर्ने कुरामा उनीहरु सहमत भएनन् ।
पढेपछि मात्र विवाह
हामीकहाँ भनाइ छ, ‘बीस बर्षपारि, बिहेवारी’ । यसो भन्नुको पछाडि शारीरिक, मनोवैज्ञनिक, सामाजिक, आर्थिक कारण छ ।
उनीहरुले ठ्याक्कै यो भाषा त प्रयोग गरेनन् । तर, ‘कहिले बिहे गर्ने ?’ भन्ने सन्दर्भमा चाहिँ ‘आफ्नो खुट्टामा उभिएपछि’ भन्ने जवाफ दिए । जबसम्म आत्मनिर्भर भइँदैन, तबसम्म बिवाहका लागि योग्य भइँदैन भन्ने उनीहरुको बुझाइ थियो । ‘पहिला पढिसक्ने, त्यसपछि जागिर खाने, त्यसपछि पैसा कमाउने’ अम्बिकाको धारणा थियो, ‘त्यसपछि बल्ल बिहे ।’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4