Comments Add Comment

IELTS प्रश्नपत्र आउटः भाइबर र ह्वाट्स एपमा डिल, विदेशी एजेन्टको संलग्नता रहेको आशंका

२३ पुस, काठमाडौं । ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा ‘आईईएलटीएस’को प्रश्नपत्र दिने भन्दै विद्यार्थीसँग रकम असुल्ने तीन जनाबिरुद्ध प्रहरीले ठगी मुद्दा चलाएको छ ।

झापा घर भइ हाल बालुवाटार बस्दै आएका सुरज लामा, बझाङ घर भइ हाल लैनचौर बस्दै आएका गणेशराज उपाध्यय र स्याङ्जाका विधान आचार्यविरुद्ध मुद्दा चलाइएको हो । लामा ब्रिटिस काउन्सिलका एजेन्ट समेत हुन् । उनको डिल्लीबजारमा कन्सल्टेन्सी छ ।

आइतबार म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालिएकाे महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

आईईएलटीएस परीक्षाको प्रश्नपत्र ‘खरिद–बिक्री’ भइरहेको सुराकी पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार अपरेशन चलाएको थियो । त्यसक्रममा सुन्धारास्थित एक गेस्टहाउसमा लेनदेन भइरहेको अवस्थामा विद्यार्थीसहित १३ जनालाई पक्राउ गर्‍यो ।

पक्राउ मध्ये विद्यार्थीहरुलाई प्रहरीले शनिबारै छाडिसकेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले शुक्रबार उनीहरुबाट लेनदेन भइरहेको ४ लाख रुपैयाँ बरामद गरिएको थियो ।

प्रहरी परिसरमा विद्यार्थीको भिड

आईईएलटीएस परीक्षाको प्रश्नपत्र पाउने आशमा एजेन्टलाई पैसा बुझाएका विद्यार्थीहरुको आइतबार काठमाडौं प्रहरी परिसरमा भिड नै लाग्यो । प्रहरीका अनुसार लामो समयदेखि प्रश्नपत्र विक्री वितरणमा हुँदै आएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

आइतबार परिसरमा भेटिएका एक पीडित विद्यार्थीका आफन्तले नाम उल्लेख नगरिदिने सर्तमा अनलाइनखबरसँग भने, ‘एक जना साथीले पैसा दिएपछि प्रश्नपत्र पाइन्छ भनेपछि होला त नि भनेर पैसा दिइन् । तर, अहिले पो यो सबै कुरा थाहा भयो ।’

अभियुक्तहरुले प्रश्नपत्रका लागि विद्यार्थीबाट ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म लिएको पाइएको छ ।

विदेशी एजेन्टको संलग्नता रहेको आशंका

प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रश्नपत्र ‘आउट’ गर्नमा विदेशी एजेन्टको संलग्नता रहेको देखाएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘भाइबर र ह्वाट्स एप जस्ता सामाजिक सञ्जालबाट डिलिङ हुने गरेको देखिएको छ ।’

यस विषयमा नेपालस्थित ब्रिटिस काउन्सिलसँग अनलाइनखबरले जानकारी लिन खोज्दा काउन्सिलका नेपाल डाइरेक्टर विक्रान्त गुरुङले केही बताउन चाहेनन् । उनले भने, ‘यस विषयमा हामी छिट्टै आधारिक धारणा सार्वजनिक गर्छौं ।’

शुक्रबार लिक भएको प्रश्न र शनिबारका लागि तय भएको आइइएलटीएस परीक्षाको प्रश्नपत्र मिलेको भेटिएको छ ।

प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशी भने घटनाको अनुसन्धान भइरहेको भन्दै थप बताउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment