+
+
Shares

चिडियाखानामा मान्छे र पशुको प्रेम !

पशुपन्छीलाई आफ्नै सन्तानजस्तै स्याहार्छन् कर्मचारी

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७४ माघ २ गते ९:२१

२ माघ, काठमाडौं । सायद मैया कपालीलाई जिन्दगीमा त्यति दुःख कहिल्यै लागेन होला, जति पोहोर साल सिम्बाको निधनमा उनलाई महशुस भयो । सिम्बा अर्थात् नेपालको सदर चिडियाखानामा पालिएको पोथी चितुवा ।

सिम्बा किन मरी कपालीलाई ज्ञान छैन । उनलाई यति थाहा छ, मृत्युभन्दा तीन वर्ष अघिदेखि नै उसको स्वास्थ्य कमजोर थियो ।

‘मैले उसलाई आफ्नो सन्तानभन्दा बढी हेरचाह गरेकी थिएँ,’ चिडियाघरकी कर्मचारी कपाली भन्छिन्, ‘हुन त, यहाँ काम गर्दा मैले धेरै जनावर हुर्काएँ । तर, सबैभन्दा बढी माया सिम्बाकै लाग्छ । सानैदेखि बिरामी भएकीले पनि होला, मैले सबैभन्दा बढी हेरचाह उसकै गर्नुपर्थ्यो ।’

नर्सरीमा टुसाएको माया

कपालीले चिडियाखानामा काम गर्न थालेको ११ वर्ष भयो । शुरुका चार वर्ष उनलाई भण्डारको हेरचाहमा खटाइयो । विभिन्न चराचुरुंगी र जनावरका लागि दानापानीको व्यवस्थापनमा उनको समय बित्यो ।

त्यसपछि उनी ‘नर्सरी’मा सरुवा भइन् । विभिन्न वनजंगल र राष्ट्रिय निकुञ्जबाट ल्याइएका, चिडियाघरमै जन्मिएका तथा प्रहरीले तस्करहरुबाट समातेकालगायत सबै किसिमका जनावर र पन्छीका बच्चाहरु नर्सरीमै हुर्काइन्छन् ।

अहिले उनको काखमा आइपुगेका छन्, चिम्पु र चम्पा । चम्पा करिब ६ महिनाकी भई भने चिम्पु चम्पाभन्दा दुई महिना कान्छो छ

‘यी सात वर्षमा मैले दजर्नौं लंगुर, चितुवा, भालु, खरायो, बँदेल हुर्काएँ,’ कपाली भन्छिन्, ‘तीमध्ये धेरै अहिले यहीँ छन्, कतिपयलाई अन्तै लगियो, कति त मरिसके ।’

अहिले उनको काखमा आइपुगेका छन्, चिम्पु र चम्पा । करिब तीन महिनाअघि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करको एक गिरोहको पञ्जाबाट यी दुई अफ्रिकी चिम्पान्जीलाई उद्धार गर्‍यो । र, चिडियाखानाको जिम्मा लगायो । चम्पा करिब ६ महिनाकी भई भने चिम्पु चम्पाभन्दा दुई महिना कान्छो छ ।

चिम्पु र चम्पाको आगमनपछि नर्सरीका कर्मचारीलाई फुर्सद छैन । ‘दूध, फलफूल र तरकारी गरेर कम्तीमा पनि दिनको ६ पटक खुवाउनुपर्छ,’ कपाली बताउँछिन्, ‘बच्चाहरु सानै छन् । प्रशस्त पौष्टिक तत्व चाहिन्छ । त्यसैले थप भिटामिन र प्रोटिन पनि खुवाउँछौँ ।’

नाइजेरियामा जन्मिएका विश्वास गरिएका यी चिम्पान्जीले नेपालको हावापानीमा घुलमिल हुन अझै सकेका छैनन् । त्यसैले स्वास्थ्यमा केही गडबड भइहाल्ला कि भनेर अरु औषधि पनि नियमित खुवाइएको छ ।

‘नाइजेरियाबाट काठमाडौंसम्म स-साना बाकसमा कोचेर ल्याउँदा दुवैको तौल डरलाग्दो गरी घटेको थियो,’ कपालीलाई सम्झना छ, ‘हामीलाई जिम्मा दिँदा दुवै करिब चार किलोका थिए । अहिले त उमेर अनुसारको तौल भइसकेको छ ।’

यसो भन्दै गर्दा कपालीको अनुहारमा खुशीको सञ्चार भएको प्रष्टै देखिन्थ्यो । र, मुखबाट आशाजनक वाक्य निस्कियो, ‘यिनीहरु छिट्टै पूर्ण स्वस्थ हुनेछन् ।’

उनका सहकर्मी रामकाजी पहरी भने अझै पनि ती चिम्पान्जीमा केही समस्या बाँकी रहेको ठान्छन् । हुन त, अरु कोही मान्छे नहुने रातका समयमा चिम्पु र चम्पाको हेरचाह गर्ने जिम्मेवारी भएकाले पनि होला, पहरीलाई अझै दुःख दिइरहेका छन् यिनीहरुले ।

‘उनीहरुलाई एकदमै न्यानो कोठा चाहिन्छ । सामान्यतया २५ देखि ३० डिग्री सेन्टिग्रेडको तापक्रम बनाइदिनुपर्छ,’ पहरी भन्छन् । त्यसैले चिडियाखाना प्रशासनले उनीहरुको कोठामा एयरकन्डिसनको व्यवस्था गरिदिएको छ ।

‘तर कहिलेकाहीं झ्याप्प बत्ती गइदिन्छ । राति बत्ती गयो भने त हतारहतार उठेर जेनेरेटर खोलिहाल्नुपर्छ । तापक्रम मिलेन भने जे पनि हुन सक्छ,’ पहरी भन्छन् ।

हरेक रात करिब ११ बजेतिर दुवैलाई दूध र स्याउ खान दिएपछि मात्र पहरी सुत्न पाउँछन्, त्यो पनि कुनै समस्या पर्‍यो भने जुनसुकै बेला उठ्ने शर्तमा ।

आशा र आशंका

नेपालमा समातिएका चिम्पान्जीलाई नेपालमै राख्ने कि नाइजेरिया फर्काइदिने भन्ने सम्बन्धमा दुवै सरकारबीच विवाद छ । नेपालले तिनलाई यतै राख्न चाहेको छ भने नाइजेरिया सकेसम्म छिट्टै फर्काउन चाहन्छ । तर, फिर्तीको प्रक्रिया कस्तो हुने भन्नेमा पनि अस्पष्टता छ ।

थप विवादमा फस्न नचाहेको चिडियाखाना प्रशासनले पत्रकारलगायत कसैलाई पनि ती चिम्पान्जीबारे सूचना संकलन र तस्बिर खिच्न रोक लगाएको छ ।

कपाली र पहरीले भने यो विवादको छिट्टै टुंगो लागोस् भन्ने चाहेका छन् । साथै, तिनलाई नेपालमै राखिनुपर्ने उनीहरुको मान्यता छ ।

किन त ?

‘हामीले तिनलाई आफ्नै बालबच्चाजसरी हुर्काइरहेका छौँ । अचेल सुन्दै छु, पूर्ण स्वस्थ भएपछि तिनलाई फर्काइन्छ रे,’ पहरी भन्छन्, ‘त्यस्तो भयो भने पक्कै पनि मेरो मनले राम्रो मान्दैन ।’

हरेक दिन उनीहरु दुवैलाई घाम तपाउँछन् र पुछपाछ पार्छन् । अँगालोमा बेरेर यताउता डुलाउँछन् । खुवाउँछन् अनि दिसा सोहोर्छन् । किन त्यति धेरै माया ? यस प्रश्नमा पहरी रिसाउँदै प्रतिप्रश्न गर्छन्, ‘अनि, फेरि हामीलाई कस्तो लाग्छ होला भनेर तपाईं किन सोध्नुहुन्छ ?’

पहरीभन्दा कपाली शान्त छिन् । तर, चिम्पान्जीप्रति उनको ममतालाई कम आँक्न मिल्दैन । ‘आफ्नै बच्चाजसरी तिनलाई काँधमा बोकेर हिँडेकी छु, काखमा खेलाएकी छु,’ कपाली भन्छिन्, ‘हाम्रै देश र संस्कृति सुहाउँदो नाम दिएका छौँ । हामी तिनै नामले बोलाउँछौँ । त्यसैले हाम्रो चिडियाखानाले पनि यिनलाई हुर्काउन र हेरचाह गर्न सक्छ ।’

चिम्पु र चम्पाको भविष्यबारे बोल्न निषेध

चिडियाखानाका वरिष्ठ अधिकारीहरु भने चिम्पु र चम्पाको भविष्यबारे चुइँक्क बोल्न मान्दैनन् । ‘हामीलाई वन मन्त्रालयले यसबारे नबोल्न आदेश दिएको छ,’ चिडियाखानाकी कार्यालय प्रमुख रचना शाह भन्छिन्, ‘ढुक्क हुनूस् न, उनीहरुको अवस्था सबै ठीक छ ।’

तर, शाहको भनाइले उनका कर्मचारीहरुलाई आश्वस्त पार्न सकेको छैन । ‘सरकारले तिनलाई यहीँ राख्ने गरी कुरा मिलाउन सके धेरै राम्रो हुन्छ,’ नर्सरीकी पूर्वकर्मचारी नीलकुमारी जोन्छें भन्छिन् ।

चिम्पु र चम्पालाई यतै राख्ने जोन्छेंको चाहनाका पछाडिका कारणहरु कपाली र पहरीका भन्दा फरक छन् । ‘हाम्रो चिडियाखानामा चिम्पान्जी नभएको धेरै वर्ष भइसक्यो । आगन्तुकहरु भने अरु जनावरसँगै चिम्पान्जी पनि हेर्न चाहन्छन्,’ उनी भन्छिन्, ‘यहाँ राखिए भने उनीहरु आकर्षणका केन्द्र बन्नेछन् ।’

कम छैन नर्सरीबाहिरको ममता पनि

जोन्छेंले चिडियाखानामा काम गर्न थालेको करिब ३५ वर्ष भयो । बीचका करिब २५ वर्ष उनले पनि नर्सरीमा बिताइन् । अहिले भने बढुवा भएर उनी ‘सेक्सन-३’की प्रमुख बनेकी छन् ।

‘मैले हुर्काएका जनावरको संख्या त सयौं होला । त्यसैले माया लागेका अनि तिनले छोड्दा दुःख लागेका कथा पनि गनेरै नसकिने होलान्,’ उनी भन्छिन् ।

सायद त्यसैले होला पुराना कुरा गर्दा पनि जोन्छें खासै बहकिन्नन्, अहिले आफूसँग नभएका जनावरका लागि कृत्रिम माया देखाउन उनलाई आउँदैन । बरु, आफूलाई अहिले दिइएको काममा उनी मख्ख छिन् । उनका अनुसार उनको अहिलेको काममा पनि नर्सरीजत्तिकै माया-ममता आवश्यक पर्छ, जुन उनले दिइरहेकी छन् ।

उनको सेक्सनमा सयभन्दा बढी माछा, भालु आठ, चरीबाघ चार, चितुवा तीन, वन बिराला पाँच, दुम्सी ६, कानेकछुवा ११, कछुवा सात, लोखर्के ६, मुसा ४०, गिनी पिग ८५ र चार वटा अजिंगर छन् । लाग्छ, उनी आफ्नो संरक्षणमा रहेका हरेक जनावरलाई व्यक्तिगत रुपमै चिन्छिन् । यहाँ उल्लेखितभन्दा बाहेक पनि केही जनावर र तिनको संख्या बताएपछि उनी भन्छिन्, ‘यी सबैको स्वास्थ्य मेरो जिम्मामा छ ।’

आफ्नो संरक्षणमा रहेकाहरुमध्ये जोन्छेंलाई सबैभन्दा मन पर्ने जनावर काले हो । ऊ पाँच वर्षको एउटा भालु हो । ‘यसले मेरो कुरा पनि बुझ्छ । भनेको सबै मान्छ,’ यो कुरा सुनाउँदा गर्दा उनी मोबाइलमा खिचेका कालेका दर्जनौँ तस्बिर र भिडियो देखाउँदै थिइन् ।

‘एक पटक मैले कालेलाई खोरबाहिरको घाँस उखेल् भनेर भनेकी, उसले त्यति गर्नलाई एक घण्टा पनि लगाएन,’ उनी थप्छिन्, ‘म नजिक जानेबित्तिकै ऊ पनि मैतिर आउँछ र मसँग जिस्किन थाल्छ ।’

अहिले चिडियाखानामा कालेका जातका चार वटा भालु छन् । बाँकी तीन वटा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका हुन् । कालेचाहीं चिडियाखानामै जन्मिएको हो । ऊ आफ्नो समूहको सबैभन्दा जेठो सदस्य हो ।

‘ऊ भालुमध्येको मात्र होइन, मेरो सिंगै सेक्सनको डन हो,’ जोन्छें भन्छिन्, ‘सबैभन्दा ज्ञानी पनि उही हो । अचेल भने यो अलिक चकचके भएको छ, सायद् चितवनबाट आएकाहरुको संगतले होला ।’

अबको केही वर्षपछि जोन्छेंको अवकाश हुँदैछ । त्यसभन्दा अगाडि नै चम्पा र चिम्पु आफ्नो सेक्सनमा भर्ना होऊन् भन्ने उनको चाहना छ । सायद उनलाई लाग्दो हो, यी दुई चिम्पान्जीलाई सबैभन्दा धेरै माया गर्छु, सबभन्दा धेरै ज्ञानी बनाउँछु ।

उनी भन्छिन्, ‘माया त लागिहाल्छ नि । संसारका सबै जाति-प्रजाति उस्तै त हुन् । मेरो सेक्सनमा भएका सर्पदेखि चितुवासम्म मेरै बालबच्चा हुन् ।’

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?