Comments Add Comment

प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिफारिस

१९ माघ, डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीका लागि पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ ।

शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस भएको हो । पार्टी प्रदेश कमिटी सचिवालयले दिएको जानकारी अनुसार छलफलमा भट्टको नाममा सहमति भएको छ । यसको औपचारिक निर्णय हुन भने बाँकी छ ।

केही समयभित्रै औपचारिक निर्णय हुने पार्टी सचिवालयले जानकारी दिएको हो । ‘प्रदेश कमिटीबाट भट्टको नाममा सहमति भएको छ’ माओवादी केन्द्रका ७ नं. प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले भने ‘अब दुई/तीन दिनभित्र केन्ऽले निर्णय गर्छ होला ।’

मुख्यमन्त्री पदका लागि पार्टीभित्र वीरभान चौधरी, झपट बोहरा र मानवहादुर धामीको नाम व्यापक चर्चामा रहेको थियो । तर, पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको छ ।

सरकारले प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि पहाड र तराईको सन्तुलन मिलाउने गरी पहाडलाई मुख्यमन्त्री दिने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बुझिएको छ ।

द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका भट्ट माओवादीभत्र इमानदार र नैतिकवान कार्यकर्ताका रुपमा परिचित छन् ।

वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भन्ने यस अघिनै एमाले-माओवादीबीच सहमति भइसकेको हुँदा भट्ट मुख्यमन्त्री बन्ने करिब करिब निश्चित देखिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद रहेका छन् भने कांग्रेसका १२ र राजपाका दुई सांसद छन् ।

यो पनि पढ्नुस् 

प्रदेश सांसदको बयानः हो, मैले भारतमा चौकीदारी गरेको हुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment