Comments Add Comment

नेपालको पहिलो उपन्यासः वीरचरित्र

वीरचरित्र नेपालको पहिलो उपन्यास हो । विसं १९६० मा पहिलोपल्ट छापिएको यस उपन्यासमा लेखक गिरीशवल्लभ जोशीले नेपालका पहाडी भूभागहरुमा रेल चढेको, गाउँ–गाउँमा ट्राम कुदेको, पक्की बाटाहरुमा मोटर दगुरेको परिकल्पना गरेका छन् । उपन्यासका पछिल्ला खण्डमा हवाइजहाजको समेत प्रसंग छ । जबकि, हवाइजहाजको पहिलो आविष्कार नै विसं १९६० मा भएको हो । सूचना र सञ्चारको खासै विकास नभइसकेको त्यो युगमा स्रष्टाले गरेको परिकल्पना साँच्चै इर्ष्यालाग्दो छ । पेसाले कविराज हुन्, गिरिशवल्लभ । श्री ३ प्रधानमन्त्री वीरसमशेरको शासन शैलीलाई कटाक्ष गर्दै लेखिएको यस उपन्यासमा परिवेशचाहिँ पश्चिमी पहाडी भूभागलाई रोजिएको छ ।

उपन्यास अंश

आफ्ना छोरा अग्निदत्तलाई एक कुँजो लोग्ने मानिस र स्वास्नी मानिसले खोला तारी लाटो तुल्याई जंगलतिर दौडाएर बेपत्ता तुल्याएको देखी गणेशदत्त शोकले व्याकुल भई राजकुमारहरुतिर फर्केर भन्छन्– ‘हे नानी राजकुमार हो, मेरो छोरोले तिमीहरुका उद्धार गरेथ्यो । आज उसलाई पनि आपत्ति पर्‍यो । कृपापूर्वक उसको उद्धारका खातिर यथाशक्य कोशिस गर ।’

तीन राजकुमार– ‘हओस्, हाम्रा अक्कल बुद्धिले सकेसम्म खोजतलास गरी लिएर आउँछौँ’ भनी गणेशदत्तसँग बिदा भई अग्निदत्तका खोजीमा गए । अन्दाजी ४/५ घडी दिन बाँकी भएपछि निराश भई गणेशदत्तकहाँ आएर भन्छन्– ‘हामीले हजुरका छोरालाई सारा जग्गामा खोज्यौँ केही पत्ता लागेन, अब के उपाय गर्ने हो ? आज्ञा होस्, हामी हाजिर छौँ ।’

गणेशदत्त– ‘त्यसरी खोज्दा पत्ता लागेन अब अर्को उपाय के बताऊँ ? एउटा छोरासँग त पहिले नै बिछोड भएको थियो । अब अर्को छोरासँग पनि भयो । यो बुढेसकालमा मरेपछि मुखमा बत्ती राख्ने पनि कोही भएनन् भने अब हामी बूढाबूढीले बाँच्नुभन्दा चाँडै नै मर्नु बढिया छ । हामी रहमा फालहाली मर्दछौँ । हाम्रो सद्गति गरी जो भएको लट्टीपट्टी तिमीहरुले लिनू’ भनी बूढाबूढी रुन लागे ।

तीन राजकुमार– ‘हे पण्डितबाजे, हजुरजस्ता बुद्धिमान मानिसले पनि यस्तो कुरा गर्नुहुन्छ ? हामी हजुरका धर्मका छोरा छँदै छौँ । हजुरहरुको इच्छा पनि रिडीमा तपस्या गर्न जानाको हो, उहीँ पाल्नुहोस् । हजुरका जन्मभर हामी तीन जनाले सेवा टहल पनि गरुँला, गुरुको पनि सकेसम्म खोजतलास गरुँला । अहिले यसरी नहडबडाउनुहोस् ।’

गणेशदत्त– ‘हे राजकुमार नानी हो, तिमीहरुले भन्नुपर्ने मुनासिव कुरा भन्यौ । तर, अाफूले जन्माएका दुई जना त्यस्ता छोरा त दैवले राख्न दिएन भने तिमीहरु राजाका छोराले कति दिन हाम्रो सेवा टहल गरौला र हामीलाई सेवा टहल पुग्ला ! तसर्थ, हामीलाई अब बाँच्नाको मनसुवा छैन । हामी दुई जना बूढाबूढी रहमा फालहाली मर्छौं’ भनी कम्मर कसी रहका किनारमा ठूलो ढुंगामा चढी बूढाबूढी फाल हाल्नलाई तयार भएका थिए ।

पश्चिमपट्टिका जंगलबाट १–१ बित्ता दाह्रा मुखबाट निस्केका, कालो वर्ण भएको, कैला जगल्टा पालेको, कालो कुचिन जामा लाएको, तोसका पटुका बाँधेको, हात खुट्टामा चाँप लाएको, बाँकी देखिएको आङ जतिमा काला खसीको आङझै रौँ उम्रेको, हातमा ढाल–तरबार लिएको दौडँदै आएर ढाल–तरबार जमिनमा राखी बूढा र बूढीका कम्मरमा पछिल्तिरबाट समाती भन्न लागे– ‘हे गणेशदत्त पण्डितबाजे, तपाईंले रहमा फालहाल्नु हुँदैन भनी महाराजबाट हुकुम भएको छ ।’

गणेशदत्त– ‘तिमी को हौ ? तिम्रा राजा को हुुन् ? के अर्थले मलाई फालहाल्न नदिएको हो ?’

राक्षस– ‘म गुरुमापा नामक राक्षस हुँ । हाम्रा राजा घण्टाकर्ण नामक राक्षस हुन् । मसानदेवीका आज्ञानुसार तपाईंलाई रोक्न पठाएको हो ।’

गणेशदत्त– ‘मसानदेवी को हुन् ? के अर्थले मसानदेवीले घण्टाकर्ण महाराजलाई लगाई यहाँ मलाई रहमा फालहाल्न रोक्न पठाएको ? यो सबै हाल जस्ताको तस्तो मलाई बयान गर ।’

गुरुमापा– ‘तपाईंका साथी भएका ठाउँमा गई सुबिस्ता गरी बस्नुहोस् । पछि म सबै वृत्तान्त कहुँला ।’

गणेशदत्त ‘हुन्छ, लौ हिँड जाऊँ’ भनी गुरुमापा र आफू ब्राह्मणीलाई साथमा लिई तीन राजकुमार बसेका ठाउँमा गई बिछ्यौना ओछ्याई गुरुमापालाई सोध्छन्– ‘हे गुरुमापा, जस्ताको तस्तो सबै कुरा वर्णन गर ।’

गुरुमापा– ‘मसानदेवी भनेकी को हुन्, उनको पूरा वृत्तान्त मलाई थाहा छैन । हाम्रा महाराज घण्टाकर्ण राक्षस आफ्ना बैठकमा बसेका थिए, अकस्मात् गारोबाट मसानदेवी प्रकट भई हाम्रा राजालाई भनिन्– ‘हे घण्टाकर्ण, गणेशदत्त पन्त, अग्निदत्त पन्त भनेका मेरा भक्त हुन् । तिनीहरुलाई बहुत दुःख पर्दा ज्यान फाल्न तयार भइरहेछन् । तिनीहरुको उद्धार गर भनी मसानदेवी अन्तध्र्यान भइन् ।

मसानदेवीको आज्ञानुसार महाराज घण्टाकर्णले मलाई गणेशदत्त भनेका को हुन्, कहाँ छन् ? तिनीहरुको खोजतलाश गरी प्राणहत्याबाट बचाऊ । तिनीहरुलाई परेको कष्ट सकेसम्म तिमीले हटाऊ । तिमीबाट नहुने कुरालाई हाम्रा हजुरमा जाहेर गर्नू । आजदेखि तिमी गणेशदत्त अग्निदत्तहरुका शरीरको हिफाजत गर्ने काममा खटियौ भनी महाराजबाट हुकुम हुँदा सो हुकुममुताबिक तपाईंहरुका शरीरको हिफाजत गर्न भनी आएको हुँ ।’

गणेशदत्त– ‘त्यसो भए मेरो छोरोलाई कसले लग्यो, कहाँ लग्यो होला ? तिमीलाई थाहा छ कि छैन ।’

गुरुमापा– ‘मलाई थाहा छ । वनझाँक्रीको मीत सुनाझाँक्रीले र रिठ्ठेझाँक्रीले भेष बदली यहाँबाट गंगा तारी लाटो तुल्याएर आफ्ना दरबारमा लगी बन्द गरी राखेका छन् ।’

गणेशदत्त– ‘मेरो छोरोलाई त्यहाँबाट उम्काएर तिमी ल्याउन सक्दैनौ ?’

गुरुमापा– ‘तिनीहरु टुन्याहाका खानी छन् । बहुत लडाका छन् । म एक्लैले केही लाग्दैन ।’

गणेशदत्त– ‘उसो भए हामी सबै मिलेर जाऊँ । सुनाझाँक्रीको दरबार कहाँ छ ?’

गुरुमापा हाँसेर भन्छन्– ‘२–४ जनाले गई सुनाझाँक्रीसँग लड्न सकिने होइन । अहिले गएर सुनाझाँक्रीको दरबारमा पुगिने पनि होइन । यहाँबाट तीन दिनको बाटो पूर्व र उत्तरको कुना उल्लेरीको लेकमा सुनाझाँक्रीको दरबार छ । त्यस लेकका आसपासमा गई बसेर कुनै अक्कल बुद्धिले उम्काउन सकिने रहेछ भने उम्काउँला । नसकिने रहेछ भने हाम्रा राजा घण्टाकर्णसँग मद्दत मागी लडाइँको तजबिज गर्नुपर्ला । अहिले यहाँ बसी काम छैन, हिँड्नुहोस् त्यस डाँडाका वरिपरि गई बसूँ ।’

गणेशदत्त ‘हुन्छ, हिँड जाऊँ’ भनी तीन राजकुमार, ब्राह्मणी र लतमायालाई साथमा लिएर लिमीठाना आइपुगे ।

गुरुमापा– ‘अब यहाँदेखि अगाडि बढ्नु हुँदैन । यही कुनै ठाउँमा डेरा गरी बसौँ । यहाँबाट उल्लेरीको लेक तीन कोस पर छ ।’

गणेशदत्त– ‘यहाँ बसी कस्तो किसिमको अक्कल बुद्धि लडाउने हो ? तिमीहरु विचार गर ।’

गुरुमापा र सबै जना मिली छलफल गर्दा आखिर सुनाझाँक्रीको दरबारमा चियो पठाउने कुरामा बैठान हुन आयो । गुरुमापा भन्छन्– ‘यहाँ बूढा गणेशदत्त बाजेलाई दुःख दिनु हुँदैन । मैले पनि यी बूढाबूढीलाई छाड्न भएन । तिमीहरु तीन राजकुमारमध्ये एक जना तयार होऊ ।’

ध्वाँकोटे राजकुमार– ‘अग्निदत्त बाजेले हामीलाई त्यत्रो संकटबाट उद्धार गर्नुभएथ्यो । आज उहाँलाई दुःख पर्दा हामीले नीच मारिरह्यौँ भने कृतघ्न पनि हुन्छौँ, परत्रमा बाटो पनि पाउनेछैनाँै भने म जान्छु’ भनी ढालतरबार लिएर उठी खडा भए ।

गुरुमापा– ‘हे राजकुमार, सुनाझाँक्री बडो चलाख छ, होसियारसित गए ।’

ध्वाँकोटे– ‘भरसक आफ्ना अक्कल बुद्धिले भेटेसम्म होसियारी गरी सके अग्निदत्त बाजेलाई उम्काई ल्याउँला । कथंकदाचित् सकिनँ भने पनि उनको खबरसम्म त जरूर बुझी आउनेछु’ भनी गणेशदत्तलाई ढोग दिएर अरु राजकुमार र गुरुमापालाई सलाम गरेर बिदा भई रमाना भए ।

सुनाझाँक्रीले आदि खोलाबाट अग्निदत्तलाई लाटो तुल्याएर जंगलको बाटो गरी अाफ्ना दरबारमा पर्याएर धामी, झाँक्री, सबै बसेका बैठकमा लगी सबैतिर फर्केर भन्छन्– ‘हे भाइ भारदारहरु हो, अग्निदत्त भन्ने हाम्रा मीतज्यूलाई मूर्छा पार्ने ठग यही हो । अब यसलाई के गर्न पर्‍यो लौ तिमीहरु भन ।’

मसानझाँक्री– ‘शत्रु भए पनि यो मानिस बहादुर हो । यसलाई मार्नु हुँदैन । लाटो मात्र तुल्याइराख्नुपर्छ । बरु यसको आङमा भएका चिजबीजहरु खोसेर लिनुपर्छ ।’

मसानझाँक्री रुखझाँक्रीतिर फर्केर भन्छन्– ‘हे रुखझाँक्री, मसानझाँक्रीले मुनासिब भने, यसलाई मारेर फाइदा छैन । बरु यसका आङबाट लाएको जो चीज वस्तु छ, सबै फुकालेर लेऊ ।’

रुखझाँक्रीले अग्निदत्तको आङ खोली हेर्दा मोहनमणि माला लिएर आप्mना घाँटीमा लाएको रहेछ । सो माला अग्निदत्तको घाँटीबाट झिकी सुनाझाँक्रीका नजिकमा गई भन्छन्– ‘हे गुरु, अरु थोक त यसको आङमा केही रहेनछ । हजुरकी मितिनी निधिनीले लाएको मोहनमणिको माला रहेछ, लिइबक्सियोस् ।’

सुनाझाँक्री रुखझाँक्रीका हातबाट मोहनमणिको माला लिएर आफ्ना घाँटीमा लगाई भन्छन्– ‘हे रुखझाँक्री, यस अग्निदत्तलाई तल लगेर छिँडीमा राख । पछि सल्लाहबाट जे ठहर्ला सो गरौँला ।’

सुनाझाँक्रीले ‘हओस्’ भनी अग्निदत्तका पाखुरा समाती तल छिँडीमा लगे ।

सुनाझाँक्री मसानझाँक्रीतिर फर्केर भन्छन्– ‘हे मसानझाँक्री, यो अग्निदत्तको बाबु गणेशदत्त र तीन राजकुमार यसको खोजीमा छन् कि त्यसै अन्यत्र गए, यो हाल तुरून्त बुझेर आऊ ।’

मसानझाँक्रीले ‘हओस्’ भनी यहाँबाट निस्केर आदि खोला गई खोज्दैखोज्दै लिमीठाना पुगे । त्यहाँ गणेशदत्त तीन राजकुमार गुरुमापाले सल्लाह गर्न लागेका, लुकेर रुखको आड गरी सुनी ध्वाँकोटे राजकुमारले बिदा भई हिँडेकोसम्म हेरे ।

आफू योगीको भेष गरी डेनमाइटको तेजाब हाली विभूतको गोला बनाई आफ्ना झोलामा राखी अगाडि उछिनेर गई मोदीबेनीका दोभानमा गई पीपलका रुखमुनि धुनी जगाई झोली, तुम्बा, चिम्टा, कक्कड चिलिम अघिल्तिर राखी हातमा साबरको पञ्जालाई अलक जगाई बस्दा भए ।

ध्वाँकोटे राजकुमार आफ्ना मित्रहरुसँग बिदा भई मोदीबेनी आइपुग्दा सन्ध्याकाल प¥यो । चौतर्फी हेर्दा पीपलका रुखमुनि बाबाजी बसेको देखेर नजिकमा गएर बाबाजीलाई ‘नमोनारायण’ भनी ढोग दिएर बसे ।

बाबाजी ‘नारायण बच्चा’ भनी आशीर्वाद दिएर ध्वाँकोटे राजकुमारलाई भन्छन्– ‘हे दाता, तिमी बडो भाग्यमानीजस्तो देखिन्छौ । यो सन्ध्याकाल कहाँ जान लाग्यौ ? तिम्रो घर कहाँ हो ?’

ध्वाँकोटे– ‘मेरो घर लिमीठाना हो । उल्लेरीको लेकसम्म केही कामले जान लागेको थिएँ । सन्ध्याकाल पर्‍यो र बास पाइन्छ कि भनेर हजुरको आश्रममा आएको हुँ । बास दिनुहुन्छ कि ?’

बाबाजी– ‘हामी योगीहरुले तिमीजस्ता गृहस्थीलाई के बास दिनु, सबै नारायणको जग्गा हो । जहाँ बस्न मन लाग्छ बस’ भनी आफ्नो मन्डी ध्वाँकोटेका सामुन्नेमा राखिदिएर भन्छन्– ‘यो बिछ्याएर बस ।’

ध्वाँकोटे ‘हओस्’ भनी मन्डी बिछ्याएर बसे ।

बाबाजी– ‘हामी योगीसँग अन्नपात केही छैन । कक्कड खाने भए दिन्छु बच्चा !’

ध्वाँकोटे– ‘हुन्छ, कक्कड भए पनि रात गुजार्न प¥यो ।’ बाबाजीले कक्कड भरी चिलिममा आगो चढाएर ‘लेऊ दाता’ भनी ध्वाँकोटेका हातमा दिए ।

ध्वाँकोटे ५–७ फुक कक्कड लगाएर भन्छन्– ‘हे बाबाजी, यो कक्कड सकियो, अर्को चिलिम छ भने भर्नुहोस् ।’

बाबाजी– ‘हुन्छ दाता’ भनी हातको चलाकी गरी आप्mनो झोलीबाट चरेस झिकी भरिदिए ।

ध्वाँकोटे ‘२–३ फुक तानेर भन्छन्– ‘हे बाबाजी, गाँजा भरी मलाई खुवाउनुभयो कि ? अम्बल लागेझैँ भयो ।’

बाबाजी– ‘गाँजा भरी मैले ख्वाएको होइन । गाँजा खाएको चिलिममा कक्कड भरिदिएको हुनाले तिमीलाई लागेको झैँ भएको होला । यसमा सन्देह छैन’ भनी ध्वाँकोटेको मुखतिर हेर्दा अम्बलले जोर पारी झुल्न लागेको देखेर भन्छन्– ‘हे दाता, सन्ध्याकाल पर्‍यो । बत्ती बाली म अलक जगाउँछु ।’

ध्वाँकोटे– ‘हुन्छ, अलक जगाउनुहोस् ।’

बाबाजी बत्ती बाली उठेर स्वर्गतिर फर्केर हात जोडी ‘अलक गुरु महाराज, जागे गोरख, भागे भूत, जय जय जय’ भनी ढोग दिएर अग्निकुण्डलाई पनि प्रदक्षिणा गरी सावरको पञ्जा हातमा लाएर आफ्नाे झोलीबाट डेनामाइटको तेजाप मिसाएको विभूतको गोला झिकी हातमा लिएर ध्वाँकोटेलाई भन्छन्– ‘हे दाता वर आऊ । तिमीलाई पनि विभूत लगाइदिएर आशीर्वाद दिन्छु ।’

ध्वाँकोटेले ‘हओस्’ भनी नजिकमा गई निधार थापे ।

बाबाजीले तीन औँलाले विभूतका गोलामा खुब रगडेर ध्वाँकोटेका निधारमा लगाइदिए ।

ध्वाँकोटे बाबाजीले विभूत लगाइदिएको एक मिनटपछि डेनामाइटको असर गरी जमिनमा लोटी मूर्छा परे । बाबाजी ध्वाँकोटे डेनामाइटका जहरले असर गरेको देखेर काम्लामा लटपटाई गुन्टाजस्तो तुल्याएर सुनाझाँक्रीका दरबारतर्फ लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment