Comments Add Comment

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–शिकारी बढ्यो

फाइल फोटो

२४ फागुन, वीरगञ्ज । जैविक विविधताले भरिपूर्ण, मनोरम दृश्य र प्राकृतिक सौन्दर्यको कारण पर्यटकीय गन्तव्यको रुपमा विस्तार हुँदै गएको पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–शिकारी अवैध व्यापार प्रमुख समस्या तथा चुनौतीका रुपमा थपिँदै गएको छ ।

निकुञ्ज प्रशासनले निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्तुको संरक्षणको निरन्तर प्रयास गरे पनि जरायो, चितल, बँदेलजस्ता आहाराजन्य प्रजातिको छिटफुट रुपमा चोरी–शिकारी हुने गरेको छ भने बेला बखत दुर्लभ रेडपाण्डा, गौरी गाई, हात्तीका आखेतोपहार लगायतका चीजवस्तुको अवैद्य व्यापार हुने गरेको पाइएको छ ।

यसैगरी निकुञ्जमा रहेको साल र सतिसाल लगायतको महत्वपूर्ण काष्ठजन वनपैदावार अवैद्य रुपमा चोरी–निकासी हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

आव ०७३/७४ मा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ पाटेबाघ, हात्ती, गैँडा, गौरीगाई लगायतका दुर्लभ वन्यजन्तुको कुनै पनि कारणले मृत्यु नभए तापनि वन डढेलोमा परी दुई वटा दुर्लभ अजिंगरको मृत्यु भएको छ भने यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको ५९ किलोमिटर लम्बाइ भएको राजर्मागमा १३ चितल, दुई जरायो, चार बँदेल, एक अजिंगर तथा एक वटा सुनगोहीको मृत्यु भएको छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हुने यस्ता अवैध क्रियाकलाप नियन्त्रण गरी समग्र जैविक विविधताको संरक्षण, संवद्र्धन र व्यवस्थापनका लागि निकुञ्ज प्रशासनले १५ स्थानमा निकुञ्ज पोष्ट तथा सुरक्षा पोष्ट स्थापना गरिएको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

यसैगरी निकुञ्जभित्र रहेको विभिन्न प्रजातिका वन्यजन्तुको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै मानव र वन्यजन्तु बीचको द्वन्द्वमा पनि वृद्धि भएको छ ।

मुख्यतयाः मनहरि, निर्मलबस्ती, अमलेखगंज र सुवर्णपुर क्षेत्रमा जंगली हात्तीले मानवबस्तीमा प्रवेश गरी बालीनाली, घरगोठ, भण्डारण गरेको अन्यबाली नोक्सानी तथा मानवीय क्षतिसमेत गर्ने गरेको साथै अन्य जनावर चितल, बँदेलले बालीनाली नोक्सानी गर्ने गरेको, चितुवाले पशुधनको क्षति गर्ने गरेकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि ठूलो चुनौतीका रुपमा देखापरेको छ ।

चालु आवमा जंगली हात्ती र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने ६ जना व्यक्तिलाई क्षति पुर्‍याएको छ । मानव–वन्यजन्तुबीच बेलाबेलामा हुने द्वन्द्व व्यवस्थापन एउटा चुनौतीका रुपमा रहेकाले द्वन्द्व व्यवस्थापनका लागि निकुञ्जले काँडेतार, वृक्षारोपनजस्ता प्रभावकारी कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment