Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Amir
२०७४ फागुन २९ गते २१:२२
Vijay Bhai Best of luck. Love from Lalbandi... Amir
kishan gurung
२०७४ फागुन २९ गते १४:३२
sarai ramro article rahecha. film jastai biography pani.
Keshab Poudel
२०७४ फागुन २९ गते १३:०९
दाइकाे एक्टिङ्ग अनि मिहेनेतकाे फल हाे याे सवै

कवड्डीका बिके, कमेडियन बन्ने चक्करमा हिरो

‘कवड्डी’का घतलाग्दो पात्र, बिके । फिल्ममा उनी काजी (दयाहाङ राई)को बाइक-ड्राइभर हुन् । निमुखा छन्, तर रमाइलो पनि । बिकेले झेल्ने हविगत र बोल्ने संवादले दर्शकको मुड ‘रोमान्टिक’ बनाइराख्छ । काजीलाई उक्साउने, थमथमाउने, घुर्काउने बिकेको आवरणमा विजय बरालको अभिनय खास्सा छ ।

जतिबेला रामबाबु गुरुङ अनामनगरस्थित निर्माणाधिन मण्डला थिएटर अघिल्तिरको सानो कोठामा बसेर ‘कवड्डी’को स्क्रिप्ट लेखिरहेका हुन्थे, त्यसबेला विजय बराल, बुद्धि तामाङ, नाजिर हुसेनहरु गिटी, बालुवा र सिमेन्टको मसला बनाइरहेका हुन्थे । मन्डलाको भवन निर्माणमा उनीहरु आफै मिस्त्री बनेर खटिएका थिए । रामबाबु भन्थे, ‘तिमीहरुलाई पनि कवड्डीमा रोल दिन्छौं ।’

विजयलाई लाग्दैनथ्यो, राम्रो भूमिका पाइएला । उनलाई के पनि लाग्दैनथ्यो भने फिल्म यतिधेरै हिट होला ।

नसोचेको भइदियो ।

‘कवड्डी’मा उनलाई बिकेको भूमिका दिइयो । त्यही सर्लाहीका बिजयलाई नसोचेको ‘नेम र फेम’ दियो । त्यसअघि उनी सानोतिनो भूमिकामा अल्झिएका थिए ।

त्यसपछि,

उनलाई एकपछि अर्को फिल्मले पच्छ्याइरह्यो । ‘कवड्डी-कवड्डी’, ‘मिस्टर झोले’ हुँदै ‘हुर्रे’सम्ममा आइपुग्दा उनी सहायक भूमिकाबाट लिड रोलमा उक्लिसकेका थिए । अहिले उनी अभिनित फिल्म ‘हुर्रे’ हलमा लागिरहेको छ ।

फिल्ममा आउनुअघि उनी नाटक गर्थे । मण्डला थिएटर बनेकै थिएन । दयाहाङ राई, राजन खतिवडा, राजन मुकारुङ, उपेन्द्र सुब्बाहरुको चिया-गफ गर्ने जक्सन थियो त्यो । त्यही जक्सन मण्डला नाटकघर बन्ने भयो । विजय बराल कोटेश्वरमा डेरा गरी बस्थे । पैदल हिँड्दै अनामनगर आउथे । टुक्रुक्क बसेर दयाहाङ राईको कुरा सुन्थे । सुनेर टाउको हल्लाउँथे । सही थाप्थे । होमा हो, मिलाउथे ।

मन्डला नाटकघर बनाउने कुरा चल्यो । उनलाई नाटक खेल्नु थियो । नाटक घरको जग उठाउँदादेखि नै खटिए । दयाहाङ राई स्वयम् गिटी, बालुवा ओसार्थे । विजय बराल जस्ता जुनियर पुस्ता पनि होस्टेमा हैंसे गर्थे । इँटा पखाल्ने, बोक्ने, बेल्चा चलाउने, भ्याएजति/सकेजति/जानेजति सबै काम गर्थे । गर्नैपथ्र्यो । किनभने उनलाई हिरो जो बन्नु थियो ।

कलाकार मोह, राजनीतिको धङ्धङी

उनलाई हिरो बन्नु थिएन । कमेडियन बन्नु थियो । टोल-छिमेककै नारद खतिवडा जस्तै । नारद चर्चित कमेडियन भइसकेका थिए । टेलिभिजनमा, पत्रपत्रिकामा, रेडियोमा देखिन्थे, छापिन्थे, सुनिन्थे । ‘मलाई नारद खतिवडा जस्तै बन्नु थियो,’ उनकै आवास मण्डला थिएटरमा उनी गफिए, ‘हँसाउने कलाकार ।’

स्कुलमा साथीहरु उक्साउँथे । उनी मख्ख पर्थे । क्यारिकेचर गरिदिन्थे ।

मण्डलाको पहिलो व्याचमा थिए, नाजिर हुसेन, वुद्धि तामाङहरु । विजय बराल उनीहरुकै दौंतरी । सबैजना मण्डलाको जग उठाउन खटिन्थे ।

उनलाई लागेथ्यो, ‘क्यारिकेचर गरेरै नामी हुन्छु । तर, यहाँ (गाउँमा) बसेर त्यस्तो सम्भव छैन । काठमाडौं नै जानुपर्छ ।’

उनी काठमाडौं आए, गाउँले दौंतरीहरुसँगै । मिनभवन कमर्स क्याम्पसमा भर्ना भए । हजुरबुवा भन्ने गर्थे, ‘पढेर बुवाले जस्तै जागिर खानू । हामीलाई पाल्नू ।’

विजयको बुवा बैंकका जागिरे । त्यही जागिरको आडमा पूरा परिवार चलेको थियो । चाडपर्व टार्नेदेखि बालबच्चाको लालनपालन गर्ने, रासनपानी जुटाउने, लत्ताकपडा खरिद गर्ने सबै त्यही जागिर थियो । हजुरबुवा चाहन्थे, ‘छोरोले भन्दा राम्रो पदमा नातीले जागिर खाइदिए हुन्थ्यो ।’ बाबु-बाजेकै इच्छालाई शिरोधर गर्दै विजयले व्यवस्थापन विषय रोजे ।

तर, उनको मनले भने बेग्लै कुरा रोज्यो । राजनीति । अल्लारे वयका । तराईवासी । अलिअलि उट्पट्याङ नगरी कसरी दिन कटाउने ?

उनी राजनीतिमा लागे । क्याम्पसको गुटबन्दीमा मिसिए । होहल्ला गर्दै हिँडे । नाराबाजी गरे । सिद्धान्तको ठेली घोकेका थिएनन् । राजनीति बुझेका थिएनन् । हजुरबुवा आफूलाई कांग्रेसी भन्थे । बुवा एमाले । उनलाई हजुरबुवाकै पार्टी ठीक लाग्यो । उनी नेविसंघका कार्यकर्ता भए । तर, उनलाई कार्यकर्ता हुनु थिएन । कमेडियन हुनु थियो ।

कमेडियन बन्ने चक्कर

एकपटक जितु नेपाल र दमन रुपाखेतीलाई फोन गरे । उनीहरुको हास्य शृंखला टेलिभिजनमा आउँथ्यो । दमनले बोलाए । अलि टाढा थियो, सुटिङ हुने ठाउँ । हस्याङफस्याङ गर्दै पुगे । दिनभर सुटिङ भयो । अन्नपानी पेटमा परेकै थिएन । खल्तीमा पैसा पनि थिएन । भोक तिर्खा सहेर आफ्नो पालो कुरिरहे ।

उनको पालो आयो । त्यसबेलासम्म न उनलाई डायलग दिइएको थियो । न त चरित्र बताइएको थियो । विजयलाई लागेथ्यो, ‘काठमाडौं गएपछि बवाल एक्टिङ गरिनेछ । रातारात हिट भइनेछ ।’

तर, क्यामेराको अगाडि उनको हातखुट्टा त्यसै-त्यसै गल्यो । उनलाई थकाई लागेजस्तै भयो । यद्यपी संवाद बोल्नुपरेन । अभिनय गर्नुपरेन । सरासर हिँड्न लगाए । त्यसै गरे ।

विजयले गाउँघरमा फोन गरिसकेका थिए, ‘फलानो शृंखलामा म पनि खेल्दैछु । फलानो बार हेर्नु है ।’ हल्ला सर्बत्र फैलिसकेको थियो ।

टेलिभिजनमा उक्त टेलिशृंखला प्रसारण भयो । विजय बराल चिनिने गरी कतै देखिएनन् । उनलाई खोज्दाखोज्दै शृंखलाको त्यो भाग नै सकियो । विजय खिसि्रक्क परे ।

सुनिल पोखरेलको छेउछाउ

विजयलाई लाग्दैनथ्यो, काठमाडौंमा कलाकार बन्न यति धेरै पापड बेल्नुपर्छ । ‘तराईमा हुर्केका, धक नलाग्ने’ विजयले सम्झिए, ‘त्यसै स्टार बनिहाल्छु भन्ने दम्भ थियो ।’ तर, काठमाडौंमा सानो डेरामा खुम्चिएर कलाकार बन्ने चक्करमा दौडधूप गरिरहँदा उनको त्यो दम्भ आफै पखालियो । उनलाई लाग्यो, ‘कलाकार बन्न सानोतिनो प्रयासले पुग्दैन । हल्काफुल्का अभिनयले पनि पुग्दैन ।’

अभिनय सिक्नकै लागि उनी नाटक हेर्न जान थाले, पुरानो वानेश्वरको गुरुकुलमा ।

सुनिल पोखरेलको नाम त उनले कण्ठै गरेका थिए । कलाकारहरुको पनि गुरु । खिरिलो ज्यान । मझौला कद । सेतो वर्ण । झ्याप्प कपाल पालेका । अलि टाढा बसेर सुनिल पोखरेललाई नियाल्थे । छेउमा जाने साहस थिएन । सुनिल पोखरेल उनको आइडल थिए ।

नाटक हेर्न जान्थे । गइरहन्थे । टिकट लिने पैसा हुँदैनथ्यो । चिनजानका एक दाइ थिए । उनैले बोलाउँथे र फि्रमा हलभित्र पठाइदिन्थे । ‘लाज-लाज पनि लाग्थ्यो,’ विजय सम्झन्छन्, ‘तर पैसा नभएपछि लाज पचाउनैपर्‍यो ।’

संयोग भनौं, भारतको नेशनल स्कुल अफ ड्रामामा प्रशिक्षणका लागि आवेदन खुल्यो । विजयलाई रंगकर्मको रंग चढिसकेको थियो । उनले अडिसन दिए, क्यारिकेचर गरेर ।

पछि थाहा भयो, उनी छनौटमा परेछन् ।

नाटकको प्रशिक्षण लिए । त्यो उनले अनुमान गरेको र बुझेको भन्दा भिन्न थियो । सिक्दै गए । बुझ्दै गए ।

उनी रंगकर्मीको संगतमा पुगे । दयाहाङ राई, राजन खतिवडाहरु नाटक गर्थे । विजय दयाहाङ, राजनहरुकै पछि लागे । मण्डला बन्ने कुरा भयो । मण्डला थिएटर बनेपछि नाटक खेल्न पाइने । उनी मख्ख थिए । जे-जे अह्राउँछन्, निसर्त पालना गर्थे । किनभने उनलाई रंगकर्मी बन्नु थियो ।

नाजिर, बुद्धिसँग रुम शेयर

मण्डलाको पहिलो ब्याचमा थिए, नाजिर हुसेन, बुद्धि तामाङहरु । विजय बराल उनीहरुकै दौंतरी । सबैजना मण्डलाको जग उठाउन खटिन्थे । गिटी कुट्ने, बालुवा बोक्ने, सिमेन्ट मुछ्ने सबै काम गर्थे । राजन खतिवडाहरु भन्ने गर्थे, ‘अहिले यसरी काम गर्दा दुःख नमान्नु, यो पछि तिमीहरुलाई काम लाग्छ ।’

तर कसरी काम लाग्छ ? विजय बरालहरुलाई थाहा थिएन ।

अल्लारे उमेर । यसै पनि जोश थियो । जाँगर थियो । समय थियो । दिनभर ढुंगामाटोमा जोतिन्थे । भोक-तिर्खा लाग्थ्यो । राजन मुकारुङ आएर भन्थे, ‘ल हिँड केटाहरु, आज तिमीहरुलाई सुप ख्वाउँछु ।’

नजिकै धराने कालो बंगुर रेष्टुरेन्ट थियो । त्यही लैजान्थे । ढुंगा-माटोसँग जुधेर गलेको ज्यानलाई केहीछिन विश्राम हुन्थ्यो । र, त्यो भन्दा बढी पेटलाई राहत । सुप घुट्काउन पाएपछि मन नै तृप्त हुने । साथीहरु बंगुरको मासु खान्थे । उनले मुख बार्न सकेनन् । खान थाले ।

पछि नाजिर हुसेनले बंगुरको मासुमा लत लगाइदिए । उनी बंगुरको मासु पकाउन सिपालु । एकै ठाउँ बस्थे । भान्सा एउटै । ओछ्यान एउटै । पाँच-छ जना लाठेहरु आफ्नै हातले पकाएको मिठो-मसिनो खान्थे । रमाइलो गर्थे । सुत्थे ।

बुद्धि तामाङलाई भान्साको काममा खुब जाँगर चल्ने । राँगाको मासु खुब मिठो बनाउँथे । राँगाको मासु भएको बेला डाडुपन्यु उनैको जिम्मामा ।

दयाहाङ राईहरु आइपुग्थे र त्यही भान्सामा मिसिन्थे । लस्करै बस्थे । थालमा भात, मासु पस्कन्थे । स्वाद मानीमानी कपाकप खान्थे । ‘त्यो दिन साँच्चै रामाइलो हुन्थ्यो,’ विजय सम्झन्छन्, ‘सबै एकै ठाउँ थियौं, हाँसोठट्टा गरिन्थ्यो ।’ कालो म्याट्रेस ओछ्याएर त्यसमाथि गुटुमुटु पर्थे । थाकेको ज्यान भुसुक्कै निदाउँथे ।

कहिलेकाहिँ दयाहाङ राई भन्थे, ‘हिँड, फिल्म खेल्न ।’

दयाहाङको पछि लागेर सुटिङमा पुग्थे । सानोतिनो रोल पाउँथे, खेल्थे । फिल्म ‘साँघुरो’मा दयाहाङको तास खेल्ने साथी भए । अरु फिल्ममा पनि उनीहरु त्यस्तै सानोतिनो रोल गर्थे । दयाहाङ, सौगात मल्लहरु क्रमशः चिनिदै थिए । निश्चल बस्नेतले ‘लुट’ बनाएपछि उनीहरु एकाएक स्टार बन्न पुगे । आफ्नै संगतका दाइहरु ‘सेलिब्रेटी’ भएको कुराले उनीहरुमा थप हिम्मत, आँट पलाउँथ्यो । ‘हामी त उनीहरुकै छत्रछायाँमा हुर्किएका पो हौं त,’ भन्ने मनोभावले छाती चौडा हुन्थ्यो ।

रंगमञ्चको सेरोफेरो

मण्डलामा नाटक सुरु भयो । धित मरुञ्जेल नाटक खेल्न पाए । त्यसबेला विजयले अनुभूत गरे, कुनै दिन राजन खतिवडाहरुले भनेको कुरा । राजन खतिवडाले भन्थे, ‘अहिले इँटा, बालुवाको काम गर, पछि तिमीहरुकै करियरमा काम लाग्छ ।’

हो रहेछ । आफ्नै पसिना चुहिएको, आफ्नै हातहरुले ठडाएको पर्खालहरुमा एक किसिमको सामिप्यता हुँदोरहेछ । निकटता हुँदो रहेछ । प्रेम-भाव हुँदो रहेछ । त्यही कारण त्यो मञ्च बिरानो नलाग्ने रहेछ । आफ्नै घर, आफ्नै कोठामा बसेजस्तै, खेलेजस्तै लाग्दो रहेछ ।

‘त्यसले हामीलाई अभिनय गर्नमा धेरै सहज भयो, जसको पर्खाल, भुँई, खम्बा हामी आँखा चिम्लेर पनि पहिल्याउन सक्थ्यौं,’ विजय भन्छन्, ‘अनि बल्ल थाहा भयो दाइहरुले कि त्यसो भनेका रहेछन् भन्ने ।’

केही समयअघि मात्र विजय ‘झ्यालिन्चा’ नाटक खेलिरहेका थिए, त्यही मञ्चमा । निर्देशक, दयाहाङ राई । लेखक, कुमार नगरकोटी । दुई पात्रबीचको लामो वार्तालाप, हाउभाउ टिप्न उनलाई गाह्रो थिएन । किनभने यसअघि उनी थुप्रै नाटकमा त्यसरी नै पदार्पण भइसकेका थिए ।

‘र, माइलो’, ‘चरनदास चोर’, ‘वैतरणी क्याफे’, ‘सिरुमा रानी’ जस्ता थुप्रै नाटकले उनको अभिनयलाई थप माझ्यो । कमेडियन बन्ने दौडमा काठमाडौं आएका उनी अभिनयको सागरमा तैरिन पुगे ।

मण्डलाको गाँसबास

अनलाइनखबरसँग भेट्ने कुरा भइरहँदा उनी कुनै फिल्म छायांकनको लागि काठमाडौं बाहिर थिए । यता उनी अभिनित फिल्म ‘हुर्रे’ हलमा लाग्ने सुरसारमा थियो । उनैले खबर गरे, ‘म काठमाडौं आइपुगें ।’

हामी उनलाई भेट्न, मण्डला थिएटर पुग्यौं । झ्याप्प दाह्री पालेर बाबाजी जस्तै गेटअपमा उनी पारिलो घाम तापिरहेका थिए । ‘काठमाडौंमा हुँदा मलाई चौबिसै घण्टा यहीँ भेट्न सकिन्छ,’ उनी भन्दै गए, ‘म यहीँ बस्छु नि त ।’

मण्डलाको दोस्रो तलामा उनको आश्रयस्थल रहेछ । सानो कोठा । उस्तै म्याट्रेस ओछ्याइएको ओछ्यान । अघिल्तिर दराज । दराजमा कोचाकोच पुस्तकहरु । ‘मेरो खराब बानी छ नि दाइ,’ उनी आफ्नै स्टाइलमा फिस्स हाँसे, ‘पुस्तक किनिन्छ, पढ्न चाहिँ पढिँदैन ।’ भर्खरै खरिद गरेको नवाजुद्दीन सिद्दीकीको बायोग्राफी फरर पल्टाएर उनले साविककै ठाउँमा थन्काए । अनि बोले, ‘यी यहीँ बसिन्छ, यहीँ सुतिन्छ । खाना चाहिँ तल भान्सामा पाक्छ । रमाइलो छ ।’

केही वर्षअघिसम्म उनीसँग सुत्ने साथीहरु हुन्थे, बुद्धि, नाजिरहरु । अहिले उनी एक्लिएका छन् । साथीहरु लाखापाखा लागे । एउटै ओछ्यानमा सुत्ने, एउटै भान्सामा खाने साथीहरुसँगको भेटघाट पनि दुर्लभ हुन थाल्यो । सबैले आ-आफ्नै स्पेस बनाए । चलायमान भए । कोही देशमा हुँदा, कोही विदेशमा । कोही पूर्वमा हुँदा, कोही पश्चिममा । कोही शहरमा हुँदा, कोही गाउँमा । एकमुष्ठ भेट हुनै गाह्रो ।

र, बिकेको कुरा

त्यही ठाउँ हो, जहाँ बसेर रामबाबु गुरुङ स्त्रिmप्ट लेख्थे । फिल्म खेलाउने आश्वासन दिन्थे । नभन्दै त्यो दिन पनि आयो । रामबाबु र दयाहाङ राई सुरुमा एक चरण मुस्ताङमा लोकेसन हेर्न गए । उनीहरु फर्केर आएपछि बुद्धि, विजयहरुलाई पनि आफ्नो टिममा मिसाए । उनीहरु मुस्ताङ पुगे ।

फिल्मको धमाधम छायांकन भयो । स्पटब्वाई आफै । कलाकार पनि आफै । सबै चिनेजानेकै दाजुहरु थिए । न काम गर्न अप्ठ्यारो, न लाज लाग्ने ।

‘हामी आफै सेट तयार गर्थ्यौं,’ विजय भन्छन्, ‘हतारहतार सेट तयार गरिसकेपछि लुगा लगाएर क्यारेक्टरको लागि ठिक्क हुनुपर्थ्यो ।’

झाँक्री -उपेन्द्र सुब्बा)को घर लिपपोत पनि आफै गर्ने । अनि आफै अभिनय पनि गर्नुपर्ने । ‘त्यस्तो अवस्थामा चाहिँ अलि धपेडी हुन्थ्यो,’ विजय सम्झन्छन्, ‘तर रमाइलै हुन्थ्यो ।’

‘कवड्डी’ हालमा लाग्यो । दर्शकले औधी रुचाए । त्यससँगै फिल्मका पात्रहरुको चर्चा-परिचर्चा सुरु भयो । फिल्ममा अफर आउन थाल्यो । कोही कता व्यस्त भए, कोही कता । ‘अब हामीले आ-आफ्नो बाटो समातिसकेका छौं,’ विजयले सुनाए, ‘एक हदसम्म सोचेको कुरा पूरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment