Comments Add Comment

अदालत जान्छु भनेका पराजुली किन मोडिए शीतलनिवास ?

न्यायपरिषदमै एक्लिए, झण्डा र डण्डा खोसिएपछि उपायहीन

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए ।

विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो ।

जोशीको हतारो

बिहान १० बजेसम्म पनि पराजुलीनिकट सर्वोच्च अदालतका कर्मचारीहरु ‘श्रीमान आउनुहुन्छ’ भन्दै थिए ।

तर, त्यसबीचमा कामु प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले बिहानै अदालत पुगेर न्यायाधीशहरुको इजलास तोकिसकेका थिए । त्यति गर्दा पनि पराजुली आउने हल्ला चलिरहेकै थियो ।

जोशीले ‘कज लिष्ट’ मात्रै तोकेनन्, सर्वोच्च अदालतको वेभसाइटबाट प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम र फोटो हटाउन लगाए । इजलास तोक्ने कम्प्युटर जोशीले हातमा लिइसकेका थिए ।

न्यायाधीशहरु पालैपालो सर्बोच्च अदालत परिसर प्रवेश गर्दा गेटमा फोटो पत्रकार र क्यामेरा पर्सनहरुको भीड थियो ।

पराजुलीले अदालतमा आउँछु भनेकाले सर्वोच्चमा दुईजना प्रधानन्यायाधीश हुने सम्भावना रहेकाले पत्रकारहरु बिहानै गेटमा जम्मा भइसकेका थिए । प्रहरी इन्सपेक्टरको नेतृत्वमा गेटमा पनि सुरक्षाकर्मी परिचालित थिए । तर, साढे १० बजेतिर एकाएक प्रहरीको एउटा डफ्फा त्यहाँबाट हिँड्यो ।

वकिलका झुण्डमा आ-आफ्नै तर्क

गोपाल पराजुली सर्वोच्चतिर नलागेर राष्ट्रपति भवनतर्फ लागेको खबर आएसँगै अब उनी नफर्किने आँकलन हुन थाल्यो । सर्वोच्च परिसरमा कालोकोट लगाएका वकिलहरु झुण्ड-झुण्डमा बाँडिएर आ-आफ्ना तर्क गरिरहेका थिए । कोही ‘यो न्यायपालिकामाथिको कु’ हो भन्दै थिए भने कोहीचाहिँ ‘जस्तो करनी, उस्तै भरनी’ भन्दै थिए ।

सबै न्यायाधीशहरु सर्वोच्चमा पुगेपछि कामु प्रधानन्यायाधीशको कार्यकक्षमा फूलकोर्ट बस्यो । कतिपयले अनुमान लगाएका थिए- दुई दिन इजलास बहिस्कार गरेका न्यायाधीशहरुले आज जोशीले तोकेको इजलास चलाउँछन्, तर अरु न्यायाधीशहरु इजलासमा नजान सक्छन् । तर, फूलकोर्टमा त्यस्तो केही भएन ।

करिब साढे ११ बजेतिर न्यायाधीशहरुको हुल नै प्रधानन्यायाधीशको कार्यकक्षबाट लहर बाँधेर आ-आफ्नो इजलासतिर लाग्यो ।

सबैभन्दा पहिले लिखित वक्तव्यसहित गोपाल पराजुली अवैध भनेर इजलास बहिस्कार गरेका चोलेन्द्र शमसेर जबरा उन्मुक्त हाँसोमा देखिन्थे । आखिर सर्वोच्च अदालतका सबै इजलास चले । यस्तो लाग्थ्यो-न्यायपालिकामा केही भएकै छैन,सबै ठीकठाक छ ।

सर्वोच्च परिसरमा कालोकोट लगाएका वकिलहरु झुण्ड-झुण्डमा बाँडिएर आ-आफ्ना तर्क गरिरहेका थिए । कोही ‘यो न्यायपालिकामाथिको कु’ हो भन्दै थिए भने कोहीचाहिँ ‘जस्तो करनी, उस्तै भरनी’ भन्दै थिए ।

कटवालकाण्डको सम्झना

०६५ सालमा तत्कालीन प्रचण्ड सरकारले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरेपछि उनले सेनापतिको कुर्सी छाडेनन् ।

सरकारले प्रधानसेनापति बनाएका कुलबहादुर खड्कालाई जंगी अड्डामा प्रवेश नै दिइएन । अन्ततः राष्ट्रपति लगाएर कटवाललाई थमौती गरिएको थियो । कतिपयले सर्वोच्च अदालतमा पनि यस्तै दृश्यको कल्पना गरेका थिए ।

गोपाल पराजुली र दीपकराज जोशी दुबैले बुधवार बेलुकै आफू प्रधानन्यायाधीश भन्दै इजलास तोक्ने प्रतिक्रिया दिएका थिए । पराजुलीले न्यायपरिषदको पत्रलाई खारेज गरेका थिए भने जोशीले स्वाभाविक भनेका थिए । तर, विहीबार बिहान जोशी अदालत गएर कजलिष्ट तोके, पराजुली भने राष्ट्रपतिसमक्ष गएर राजीनामा ठोके ।

झण्डा र डण्डा खोसियो

उच्च स्रोतका अनुसार प्रधान न्यायाधीशको हैसियतमा पराजुलीले पाएको झण्डा र डण्डाविना जानकारी खोसियो । अर्थात झण्डावाला गाडी र कारगेटसहितको अगुवा-पछुवा सुरक्षाकर्मी फिर्ता भए ।

पराजुलीले आफू उपायविहीन भएको महसुस गरे ।

झण्डावाला गाडी र अगुवा पछुवा दीपकराज जोशीलाई सलाम ठोक्न पुगिसकेका थिए । जब कि पराजुलीको सो सुविधा खोसिएको पत्र भने उनको निवासमा पछिमात्र पठाइयो ।

प्रधानन्यायाधीशको सुरक्षार्थ १५ जना नेपाली सेना, ७ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी रहने पछिल्लो संशोधित व्यवस्था छ । स्कर्टिङका गाडी फिर्ता भइसकेपछि केही नियमित सुरक्षाकर्मीमात्र प्रधानन्यायाधीश निवासमा बाँकी रहेका थिए ।

साढे दुई बजेतिर पराजुलीको सुरक्षामा खटिएका नेपाली सेनाका मेजरसहितको टोली सर्वोच्चमा पुगेर दीपकराज जोशीको सुरक्षा कमाण्ड सम्हाल्न थाल्यो । झण्डावाला गाडी पनि जोशीसमक्ष पुग्यो ।

साँझदेखि बिहानसम्म के भयो ?

विहीबार साँझ न्यायपरिषदको पत्रपछि पनि पराजुलीले आशा मारेका थिएनन् । राष्ट्रपतिलाई सपथ-ग्रहण गराउन पाएपछि उनले राहतको सास फेरेका थिए । त्यसो त शीतलनिवासमै पराजुलीबाट सपथ लिनुहुँदैन भन्नेहरु पनि पुगेका थिए । तर, उनीहरुको सुझाव विपरीत सपथ गराउन पाएका थिए पराजुलीले ।

राष्ट्रपतिलाई सपथ खुवाएपछि पराजुली कानुन र संविधानका किताब बोकेर प्रधानमन्त्री निवास पुगेका थिए । तर, उनले त्यहाँबाट ढाडस पाएनन् । कतिपय स्रोतको दावी छ कि- उनले सहज निकास नदिए महाअभियोगको सामना गर्नुपर्ने सन्देश पाए । महान्यायाधिवक्ता अग्नि खरेलमार्फत उनले निरन्तर सन्देशहरु पाइरहेका थिए ।

न्यायपरिषद सचिवको पत्र खारेज गर्नका लागि उनले न्यायपरिषद बैठक बोलाउन खोजे । तर, न्यायपरिषद सदस्य रामप्रसाद सिटौलाबाहेक अरु उनको पक्षमा कोही भएनन् । आफैं अध्यक्ष रहेको परिषदमा आफ्नो पक्ष कमजोर भएपछि उनीसँगको बाँकी विकल्प पनि सकियो ।

पराजुलीले प्रचण्डबाट ठूलो अपेक्षा गरेका थिए । आइजीपी काण्डदेखि सुशीला कार्कीमाथिको महाअभियोगसम्मका प्रमुख खेलाडी रमण श्रेष्ठमार्फत उनले धेरै प्रयास गरे । भरतपुरको मेयरमा रेणु दाहाललाई जिताउन पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय सदर गराउनेदेखि विभिन्न मौकामा आफूले सघाएको स्मरणसमेत उनले गराए । तर, उनका सबै प्रयास विफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment