Comments Add Comment

पतालेलाई टेक्दा हत्केलामा हिमाल (फोटो फिचर)


साहित्यकार तारानाथ शर्माले लेखेजस्तै, ‘हिमाली मुलुकमा जन्मे/हुर्केपनि हामीले मनलाग्दी हिउँ खेल्न पाएका छैनौं ।’

कपास जस्तै फुसफुसाउने हिउँ र त्यसको सेताम्मे धरातलमा धीतमर्ने गरी रमाउने मौका नै कहिले आउँछ ? फुल्चोकीको डाँडा वा ककनीतिर हिउँ खेल्न मध्य हिउँद कुर्नुपर्छ । दोलखा हुँदै कालिञ्चोक पुग्ने अनुकुलता सधै जुर्दैन ।

हिउँसँग लुकामारी खेल्ने कुरा थाँती राखौं । हिमाली सौन्दर्यलाई आँखाभरी सजाउने धोको पनि मनमै गुम्साउनुपर्ने अवस्था छ । भलै, हवाई कम्पनीले उपलब्ध गराएका माउन्टेन फ्लाइटमा चढेर कतिले हिमशृंखलाको फन्को लाउँछन् ।

तर, सबैको हकमा त्यो पनि संभव छैन । आकाशबाट हिमाली दृश्य चिहाउनु र कुनै भूगोलमा टेकेर मनलाग्दो हिमशृंखला नियाल्नुमा पनि भिन्न-भिन्नै स्वाद छ । यस्तै स्वाद लिनेहरुका लागि उपयुक्त गन्तव्य हो, पताले ।

आँखै अगाडि हिमाल

ओखलढुंगा र सोलुखुम्बुको मध्यवर्ती क्षेत्र हो यो । यही ठाउँमा उभिएर नाङ्गो आँखाले हिमाली दृश्यहरु नियाल्न सकिन्छ । विश्वकै अग्लो चुचुरो सगरमाथालगायत थुप्रै हिमाली थुम्का हेरेर मन अघाउँदैन ।

पताले पुग्नका लागि ठूलो सास्ती खेप्नुपर्दैन । राजधानीको कोटेश्वरबाट ८ घण्टाको मोटर यात्रामा आरमसँग पताले पुग्न सकिन्छ । राजधानीबाट यति नजिकको दुरीमा हिमाली दृश्यहरु साक्षतकार गर्न पाउनु आफैमा अभूतपूर्व लाग्छ, अजय शाहलाई ।

पतालेसम्मको यात्रा तय गरेपछि शाह निकै रोमाञ्चित थिए । ‘यति सहज यात्रा गरेर यति मनमोहक दृश्यहरु हेर्न पाइन्छ भनेर कल्पना गरेको थिइँन’ शाहले उत्साहित हुँदै भने ।

कसरी पुग्ने पताले ?

राजधानीबाट ८ घण्टाको यात्रा छिचोलेपछि पुगिन्छ, पताले । यहाँसम्म पुग्नका लागि कोटेश्वरबाट यातायातको व्यवस्था छ ।

पतालेमा पुगेपछि के खाने, कहाँ बस्ने भनेर घोत्लिनुपर्दैन । व्यवस्थित बसोबासको मेलोमेसो मिलाइएको छ । कोटेश्वरबाट सिन्धुलीको सडक हुँदै पतालेसम्म पुग्दा प्राकृतिक दृश्यहरुले लोभ्याइरहन्छ ।

तर, खल्लो

सबै कुरा भएर पनि पतालेमा केहि खल्लो महसुष हुनसक्छ । किनभने, यति आकर्षक स्थानमा पर्यटनको कुनै पूर्वाधार छैन । हिमाली शृंखलाहरु पहिचान गर्ने खास माध्याम छैन । पताले घुम्न पुगेका शाह भन्छन्, ‘प्रचुर संभावना भएको ठाउँ हो, तर यसलाई पर्यटनमैत्री कसरी बनाउन सकिन्छ भनेर स्थानिय र सरोकारवालाले ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment