Comments Add Comment

ठगी आरोपमा राप्रपा ‘सन्यासी नेता’ पुष्पराज पक्राउ

गोल्डक्वेष्टदेखि हिरोसम्म, जोगीदेखि नेतासम्म !

११ वैशाख, काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेल ठगी आरोपमा पक्राउ परेका छन् ।

पौडेलसहित सुनसरीको धरान-९ घर भइ काठमाडौं-१० मा बस्दै आएका ५९ वषर्ीय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरुले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक -एसएसपी) विश्वराज पोखरेलले बताए ।

नेटवर्किङको ठगीको ऋण तिर्न अर्को ठगी !

कुनैबेला नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेष्ट इन्टरनेशनलबाट पीडित बनेर कारबाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजक थिए, पुष्पराज पौडेल ।

त्यस दौरान उनले न त आफ्नो गुमेको पैसा फिर्ता पाए, न त ठगीमा संलग्नमाथि कारवाही नै भयो । बरु उल्टै पौडेल पनि अर्को नेटवर्किङ व्यवसायतिरै अकषिर्त भए । र, हर्वो इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बने ।

तर, उनको यो धन्दा लामो समय टिकेन । हर्वोको धन्दा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले छापा मार्‍यो । र, हर्वोको नाममा भएको करोडौं ठगी भइरहेको भन्दै प्रहरीले पौडेलको बिजनेसमा रोक लगायो ।

नेटवर्किङमा असफल भएपछि पौडेलले बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोले । सोही क्रममा उनले श्रमान नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेले । सबै कर्मबाट असफल भनेपछि सन्यासी बनेर हिँड्न थालेका पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए ।

तत्कालिन हर्वो इन्टरनेशनललाई चलाउन पुष्पराजले हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टबाट ऋण लिएका थिए । त्यसवेला उनी आफैं हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टको अध्यक्ष थिए ।
हर्वो इन्टरनेश्नल चलाउनलाई लिएको ऋण रकम फिर्ता दिन नसक्ने भएपछि उनले त्यसवापतको जग्गा दिने बताएका थिए ।

सोही अनुसार उनीहरुले ‘हाम्रो ग्रुप’ लाई दिनुपर्ने रकम बापतको भन्दै पर्साको मनियारी-७ को कित्ता नं. ७४१ को १६ कठ्ठा साढे ३ धुर जग्गा रजिष्ट्रेशन पास गरी दिने भनी माइन्यूट गराएको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

यसरी खुल्यो पौडेलको पोल

पर्सामा ८ करोड ३७ लाख रुपैयाँ मूल्याङ्कन गरिएको जग्गा दिएपछि पौडेल कम्पनीबाट अलग्गिए । त्यसपछि बनेको नयाँ समितिले ‘हाम्रो ग्रुप अफ कम्पनी’ को नाम परिवर्तन गरेर ‘गोर्खा ग्रुप अफ कम्पनी’ बनायो ।

पछिल्लो समय कम्पनीमा प्रोजेक्टहरु थप गर्ने सिलसिलामा सञ्चालक समिति सदस्य कुमार रम्तेललाई जग्गा भएको ठाउँको ट्रेस, नक्सा र चार किल्ला बुझ्न पठाउँदा पौडेलको कर्तुत आफूहरुलाई थाहा भएको पीडितको जाहेरीमा उल्लेख छ । पौडेलले दिएको भनेको जग्गा अस्थित्वमै नरहेको पाइएको भन्दै पीडितले गरेका उजुरीका आधारमा अन्ततः पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

साथै, यस्तो ठगी कार्यमा संलग्न अन्यका बारेमा समेत अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment