‘स्थानीय तहको एक वर्ष’ श्रृखलाको दोस्रो अंकमा ललितपुर महानगरको समिक्षा गर्दैछौं ।
२४ वैशाख, ललितपुर । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य एकपछि अर्काे विवादमा फस्दा ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन त्यसबाट शिक्षा लिइरहेकै छन् । त्यसले पनि यो एक वर्षे कार्यकालमा उनी अपवाद बाहेक आलोचनाको शिकार भएनन् । विपक्षीले पनि उनीमाथि औंला उठाएका छैनन् ।
मेयर महर्जनले सुरुवाती काम राम्रै गरेका थिए । उनले करको दर बढाउनु भन्दा दायरा बढाउन चाहे, जसले आम नागरिकदेखि लगानीकर्तासम्मको मन जित्यो । पुल्चोकबाट कुपण्डोलसम्म १.४ किलोमिटर फ्लाइओभर बनाउने योजना अघि सारे । सडकमा कालोपत्रे गर्दा ४० एमएम अर्थात डेढ इन्च हुनुपर्ने व्यवस्था गरे ।
तर, पछिल्लो समय उनले आफ्नो गतिलाई कायम राख्न सकेनन् । बरु धेरै विदेश भ्रमण गरेको खराब रेकर्ड बनाए । महर्जनले एक वर्षमा ८ देशको भ्रमण गरे । यसले विस्तारै चिरिबाबुमाथि पनि कहिलेसम्म आश गर्ने ? भन्ने प्रश्न उठ्न थालेको छ ।
यस्तै प्रश्न गर्नेमध्ये एक हुन् विवेकशील साझा पार्टीका रमेश मर्हजन, जो चिरिबाबुसँगै मेयरमा चुनाव लडेका थिए ।
‘चिरिबाबु दाइप्रति एकदमै आशा थियो । हुन्छ कि हुन्छ कि भन्दा भन्दै एक वर्ष बित्यो’ रमेश भन्छन्, अझै पनि आश छ । तर, अब उहाँले आफ्नो योजना ल्याउन ढिला गर्न हुन्न ।’
अझै छ अवसर
राजधानीका दुई महानगरमध्ये एक हो-ललितपुर । तर, स्रोत साधन कुनै पनि हिसाबले काठमाडौंसँग तुलना हुन सक्दैन, यदि हुन्छ भने कामको मात्रै तुलना हुन्छ ।
मान्छे किन ललितपुर आउने ? प्रष्ट छ, काठमाडौं भन्दा राम्रो सुविधाका लागि । यसका लागि मेयर चिरिबाबुले काठमाडौं महानगरले भन्दा राम्रो काम गर्छु भन्नेे दाबी गरेका छन् ।
उता भक्तपुर नगरपालिका बाहिरका मानिसहरुलाई स्वागत नगर्ने मुडमा छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि काठमाडौंलाई ‘भित्र र बाहिरका मान्छे’ भन्दै वर्गीकरण गरिरहेका छन् ।
तर, ललितपुरले भने बाहिरका मान्छेलाई स्वागत गरिरहेको छ । यसमा मेयर चिरिबाबुको भनाइ छ, बाहिरका मानिस किन आउनेभन्दा काठमाडौंमा भन्दा राम्रो सुविधा छ भन्ने अवस्था हुनुपर्छ ।
ललितपुरको अर्को सम्भावना हो, विजनेश हब बनाउने । एक समय काठमाडौंको बजार भनेकै नयाँ सडक र पुतलीसडक थियो । अब त्यो घेरा तोडिइसक्यो । ठमेलको विकल्पमा झमेल मौलाउँदैछ । अब ललितपुर सामू विजनेश हब बनाउने अवसर छ । यसका लागि पनि महर्जनले काम गर्नुपर्नेछ ।
मेयरले काम थाल्दा होस्टेमा हैंसे गर्नेहरु पनि छन् । मेयर महर्जन आफैं ज्यापु समाज चलाएर आएका व्यक्ति हुन् । त्यो क्षेत्रमा उनको लोकप्रियता कायमै छ ।
तर, यसलाई सदुपयोग गर्न मेयर मर्हजनले ठोस र वडागत योजना ल्याउन ढिल्ला गर्न नहुने बताउँछन् स्थानीय विकासका पूर्वसचिव पूर्णचन्द्र भट्टराई ।
ललितपुर हस्तकलाको हब हो । यसबाट रोजगारी सिर्जना गर्ने मात्र होइन, समृद्धि हासिल गर्ने आधार पनि खडा गर्न सकिने रमेश मर्हजनको बुझाइ छ । तर, यो व्यवसायलाई व्यवस्थित बनाउन नसक्दा पछिल्लो पुस्ता आकर्षित हुन सकेको छैन । महानगरले अब यसका लागि ठोस योजना बनाउनुपर्ने देखिन्छ ।
यस्तै भूकम्पले ठूलो क्षतिसँगै शहरहरुलाई मौलिक रुपमा पुनर्निर्माण गर्ने अवसर दिएको छ । तर, अझैपनि महानगरले वस्तीहरु पुनर्निर्माणमा ठोस काम गरेको छैन । महर्जन भन्छन्, ‘ललितपुरलाई कस्तो बनाउने भनेर देशविदेश चहार्नु पर्दैन, हाम्रो आफ्नै कला, संस्कृतिलाई संरक्षण गर्ने योजना बनाए पुग्छ ।’
मेयर चिरिबाबुले जनताले महशुस गर्ने गरी क्रक्रिट योजना बनाउन ढिला गर्न नहुने विज्ञहरुको सुझाव छ । मेयर शाक्यले आफ्नो विज्ञ टिम पनि नबनाएका होइनन् । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरु राखेर बनाइएको टिमबाट उनले यो एक वर्षमा खासै सुझाव ग्रहण गरेर काम गर्न खोजेको देखिए ।
‘डाक्टरले पनि बिरामी भएपछि अरु कहाँ उपचार गर्न जान्छ । तर, उहाँले आफैं उपचार गर्न लाग्नुभयो कि भन्ने चिन्ता छ’ विज्ञ भटट्राई भन्छन् ।
फ्लाइओभर बनाउने कागजी बाचालाई व्यवहारमा उतार्न पनि अब ढिलो हुन लागिसक्यो । अब अवसरहरुलाई उपयोग गर्ने विशेष योजना ल्याउलान् कि नियमित काममै दिन बिताएर बस्लान्, पुरै ललितपुर उनीलाई हेरिरहेको छ ।
कर्मचारीको घेरा तोड्न मुस्किल
केही गर्छु भन्ने इच्छा पनि छ, अवसर पनि छ तैपनि मेयर मर्हजनको गतिले किन पिकअप लिन सकेको छैन त ? यसको एउटा कारण हो, कर्मचारीको घेरा ।
काठमाडौंमा जस्तै ललितपुरमा पनि पुराना कर्मचारीहरुको घेरा छ, जसलाई चिरिबाबुले तोड्न सकेका छैनन् ।
उनीहरुमा पुरानो हृयाङओभर मात्र होइन, १६/१७ वर्ष स्थानीय तहलाई हामीले नै धानेका हौं भन्ने दम्भ छ र जनप्रतिनिधिलाई पनि आफ्नो अनुकुल काम चलाउन चाहन्छन् ।
मेयर चिरिबाबुले भने अहिले भएका कर्मचारीको कामबाट आफू पटक्कै सन्तुष्ट नरहेको बताउँछन् ।
‘कर्मचारी छन्, तर मेरो स्पिरिट र स्पिडअनुसार काम गर्न सक्ने कर्मचारी नै कम छन् । छैनन नै भन्दा पनि हुन्छ,’ उनको दावी छ, ‘मलाई लटरपटर र झारो टार्ने गरी काम गरेको चित्त बुझ्दैन । त्यसैले सानातिना काममा पनि आफैं गर्छु ।’
हुन पनि ललितपुर महानगरमा काठमाडौंमा जति दक्ष कर्मचारी छैनन् । भएकाहरु पनि विभिन्न गुटमा विभाजित भएर राजनीति गरिरहेका छन् । स्वार्थ समूहससँग नजिक रहेका कर्मच्ाारी विद्यासुन्दरको जस्तै चिरिबाबुका पनि समस्याका पात्र हुन् ।
विदेश भ्रमणको खराब रेकर्ड
ललितपुरको मेयर भएपछि चिरिबाबु ३ पटक जापान पुगे, दुईपटक कोरिया पुगेर फर्किए । चीन, श्रीलंका र म्यानमार पनि घुमे । सबै गर्दा ८ पटक विदेश गए ।
समग्रमा उनले धेरै विदेश जाने स्थानीय जनप्रतिनिधिको खराब रेकर्ड बनाएका छन् । उनीमाथि आशंका धेरै जन्मिएको खास कारण पनि यही हो ।
यद्यपि उनको तर्क छ, मेरो विदेश भ्रमणले महानगरलाई एक रुपैयाँ पनि आर्थिक भार परेको छैन, महानगरले एम्बुलेन्स जोडिएको दमकल आउने भएको छ, सीटी नेटको सदस्य भएको छ । तर, यतिले मात्र उनको विदेश भ्रमणलाई पुष्टि गर्दैन ।
यो पनि पढ्नुस्ः
चिरिबाबुलाई एलर्जी गराउने दुई चिजः कर्मचारी र टेण्डर !
कछुवाको गतिमा काठमाडौं महानगर !
मेयर शाक्य भन्छन्- मिडियाले लखेटे, तर म जित्छु !
प्रतिक्रिया 4