Comments Add Comment

दिपकराज गिरी भन्छन्ः माधव दाई असल मान्छे, परिवन्दमा पर्नुभयो


निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेपछि चलचित्र क्षेत्रमा भुईंचालो आएको छ । पक्राउ लगत्तै निर्माता संघले वाग्लेको बचाउनमा विज्ञप्ति नै जारी ग¥यो । उक्त नक्कली पैसा चलचित्रको सुटिङका लागि बनाइएको संघको दावी छ । वाग्ले स्वयम् संघका उपाध्यक्ष हुन् ।

वाग्लेलाई कडा कारवाही हुनुपर्ने जनमत बलियो रहेको बेला धेरै फिल्मकर्मीहरु भने उनीप्रति सहानूभूतिशील छन् । तीमध्ये एक हुन् फिल्म निर्माता तथा अभिनेता दिपकराज गिरी । गिरीले निर्माता वाग्लेको बचाउ गर्दै फेसबुकमा एउटा स्टाटस लेखेका छन्, जुन विवादित बनिरहेको छ । हामीसँगको कुराकानीमा उनले वाग्ले परिवन्दमा परेको दावी गरे । गिरीको भनाई जस्ताको तस्तै:

मैले बनाएका र खेलेका फिल्महरुमा पनि नोटका बन्डलहरु देखाउनुपर्ने दृष्य थिए । त्यस्ता दृष्यमा हामीले तल र माथि सक्कली हजार–पाँच सयका नोट हाल्थ्यौं र बीचमा त्यही साइजका कागजका टुक्रा खाँद्थ्यौं । कतिपयले चाहि यस्तोमा नोटको फोटोकपि पनि प्रयोग गर्नुहुँदो रहेछ । तर, ठूलो परिमाणमा नक्कली नोट नै बनाएर यसरी सुटिङ गरिएको चाहिँ मैले देखेको र सुनेको पनि थिइनँ ।

माधव दाई नक्कली नोटसहित पक्राउ परेपछि स्तब्ध भएँ । सुरुमा त अचम्म लाग्यो, उहाँजस्तो असल व्यक्ति कसरी यसमा फस्न पुग्नुभयो भनेर । त्यसपछि ती नोटहरु फिल्म सुटिङका लागि बनाइएका थिए भन्ने कुरा आयो । फिल्म सुटिङका लागि यसरी नक्कली नोट बनाएर प्रयोग गर्न पाइन्छ कि पाइँदैन मलाई थाहा छैन ।

हामीले फिल्ममा प्रहरीको बर्दी लगाउनुपर्ने छ भने त्यसको लागि कसैलाई सोध्नुपर्दैन । हामी सुटिङमा प्रहरीको बर्दी लगाउन पाउँछौं । तर, सुटिङभन्दा बाहिर त्यसको प्रयोग गर्न पाइँदैन । नक्कली पैसा पनि यस्तै होला । सुटिङ सकेपछि उहाँहरुले त्यसलाई नष्ट गर्नुपर्ने थियो, गर्नुभएन । केही नोटमा ‘नक्कली’ भनेर लेखिएको रहेनछ । ठूलो असावधानी भयो ।

माधवदाई आफैंले बदनियतवस नोट बनाएर बाहिर पठाएको भन्नेमा मलाई विश्वास छैन । उहाँ वास्तवमा ‘परिवन्द’मा पर्नुभएको छ । कानूनले पनि ‘परिवन्द’ परेर गरिएको गल्तिलाई फरक नजरले हेर्छ । उहाँमाथि नक्कली नोट अपचलनको मुद्दा लाग्नु हुँदैन । किनभने उहाँले त्यो प्रयोजनका लागि बनाउनुभएको थिएन ।

मैले यस विषयमा फेसबुकमा स्टाटस लेख्नासाथ धेरै नेगेटिभ कमेन्टहरु आएका छन् । उहाँलाई १० वर्ष जेलमा कोच्नुपर्छ भन्ने कुराहरु गरिएका छन् । तर, यी अतिवादी कुरा हुन् । परिवन्दमा परेर गरिएको गल्तिमा लचकता अपनाउनैपर्छ । उहाँको पृष्ठभूमि पनि हेर्नुपर्छ । विगतमा यस्ता कुनै विवादमा मुछिनुभएको थिएन ।

यसो भनिरहँदा म उहाँबाट भएको गल्तिलाई क्षमादान गर्नुपर्छ पनि भनिरहेको छैन । तर, उहाँले आफ्नो बयानमा के भन्नुभएको छ त्यसबाट पनि धेरै कुरा थाहा हुन्छ । प्रहरी र अदालतले विवेकपूर्वक आफ्नो भूमिका निभाउने विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment