Comments Add Comment

तपाईको आँखामा त छैन यस्तो रोग ? सर्तक हुनुहोस्


मौसमको परिवर्तन संगै हामी धेरै जनाको आँखा रातो हुने गर्छ । आँखा रातो हुनुको कारणहरुमध्ये आँखा पाक्नु पनि एक हो, जसलाई चिकित्सकीय भाषामा कंजंक्टिवाइटिस भन्ने गरिन्छ ।

आँखा पाकेमा यसलाई सामान्य सम्झेर घरमा बस्नु हुँदैन । कहिलेकाँही आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तै युभैटिसले गर्दा पनि आँखा रातो हुन्छ । समयमै उपचार नगरिएको अवस्थामा यसले गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले, आँखा रातो भएमा आफु खुसी औषधी प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई बेलैमा देखाउन पर्छ ।

आँखाको समस्याहरु मध्य अत्यन्त बढी मात्रामा देखिने समस्या कंजंक्टिवाइटिस हो जुन एउटा वा दुवै आँखा र कुनैपनि उमेरमा हुन सक्छ ।

कंजंक्टिवाइटिस धेरै प्रकारको हुन्छन् । तीमध्य एलर्जीक, जीवाणु र भाइरस अलि धेरै मात्रामा पाइन्छ भाइरस चाँही एलर्जी र जीवाणुको तुलनामा अलि धेरै हुन्छ । साथै, संक्रामण एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्काे आँखालाई पनि असर गर्न सक्छ । यसमा आँखाबाट धेरै आँसु र पानी आउने हुन्छ । कानको अगाडीको भाग  (प्रि – औरीकुलर लिम्फो नोड ) सुन्निने र दुख्ने गर्दछ । जीवाणु कंजंक्टिवाइटिस एउटा आँखामा हुन्छ तर कहिले दुवै आँखामा पनि हुनसक्छ । जीवाणुका कंजक्टिभाइटिस भएमा आँखाबाट पिप जस्तो पदार्थ निस्कन्छ र विहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ ।

जबकी एलर्जीका कारण हुने एलर्जीक कंजंक्टिवाइटिस भएमा आँशु धेरै आउने तथा आँखा चिलाउने गर्छ । यस्तो समस्या धेरैजसो मौसम परिवर्नत हुने समयमा तथा धुलोधुवा धेरै भएमा हुने गर्छ । गएको वर्षमा पनि यही समय यस्तो समस्या भएको महसुस हुनसक्छ ।

आँखा पाकेमा ध्यान दिनु पर्ने कुरा 

१) साबुन पानीले जतिसक्दो हात राम्ररी धुने

२) आँखा सफा राख्ने । आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्नपर्छ । त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ ।

३) फोहर कपडा वा लगाईरहेको लुगा वा साडीको आचल वा हातले पुछ्नु हुँदैन ।

४) दिनदिनै लुगाा तथा आखामा प्रयोग गरेको रुमाल फेर्नुपर्छ

५) आँखामा प्रयोग हुने श्रृंगारको सामान प्रयोग गर्नु हुँदैन

६) अरुको लुगाा, रुमाल वा आँखामा लगाउने श्रृंगारकेा सामान एकआपसमा प्रयोग गर्नु हुँदैन ।

७ ) आफु खुसी औषधी प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ ।

८ ) आँखा बेस्सरी मिच्नु हुँदैन । किनकी आँखालाई बेस्सरी मिच्दा आँखाको कर्नियामा घाँउ हुन सक्छ ।

लेखक सगरमाथा चौधरी आँखा अस्पताल, लहानका नेत्ररोग विशेषज्ञ हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment