Comments Add Comment

ठगीका १० शैलीः ओहोदाको कमाउ धन्दादेखि रियालिटी शोसम्म

६ जेठ, काठमाडौं । पछिल्लो समय नेपालमा दर्जनौं गिरोह सक्रिय छन्, जसले ठगीलाई फस्टाउँदो व्यापार बनाएका छन् । लगानी पनि गर्नु नपर्ने, घाटा पनि नहुने ! सतप्रतिशत नाफा निस्किने भएकाले आफूहरु ठगी धन्दामा संलग्न भएको पक्राउ परेका ठगहरुले बयानका क्रममा बताउने गरेका छन् ।

ठगी सम्बन्धी उजुरी प्रहरीका विभिन्न निकायमा दैनिक सयौंको सङ्ख्यामा आउनुले पनि भयावह स्थिति देखाउँछ । बेरोजगारी, अशिक्षा, ‘इजी मनी’को स्रोत लगायतका कारण अहिले ठगीको ग्राफ बढ्दो छ । ठगहरुले सर्वसाधारणलाई आफ्नो जालमा पार्न अनेक किसिमका ‘पासो’ विच्छाउने गरेका छन् ।

ठूल्ठूला प्रलोभन देखाएर उनीहरुले नागरिकलाई ठगीरहेका छन् । उनीहरुको जालमा सुरक्षा निकायका बहालवाला हाकिमदेखि लिएर सामान्य खेती किसानी गर्ने गरेका नागरिकसम्म पर्ने गरेका छन् ।

ठगीका घटना दैनिकजसो सार्वजनिक भइरहे पनि मानिसहरु ठगिने क्रम भने रोकिएको छैन । ठग्नेहरुले ठगी गर्ने आफ्नो शैली परिवर्तन गर्दै गएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल ठूलो आर्थिक लोभ हुने कुरा गर्दा त्यो व्यक्ति आधिकारिक मान्छे हो कि होइन ? कानुनी प्रावधान र जिम्मेवारी पूरा गर्न सक्ने मान्छे हो कि होइन ? लगायतका कुरातर्फ सोच्दै नसोची हतारमा निर्णय लिँदा ठगी बढेको बताउँछन् ।

‘विभिन्न आकर्षक मुलुकमा पठाइदिने भन्दै छन् भने वैदेशिक रोजगार विभागमा बुझ्नु पर्‍यो’, उनी भन्छन्, ‘जे सम्बन्धी प्रलोभन देखाइरहेको छ, त्यसको आधिकारिक निकायबाट पहिला जानकारी लिनुपर्‍यो । कुनै देश लान्छु भनेर भारतबाट उडाउने प्रलोभन दिन्छ भने कम्तिमा नेपालबाट फ्लाइट हुँदाहुँदै किन भारत जाने ? भनेर प्रश्न त गर्नु पर्‍यो ।’

ठगीका घटनालाई रोक्न प्रहरी मात्रै नभइ आम नागरिकको पनि उत्तिकै भूमिका हुने उनको बुझाइ छ ।

प्रहरीले ठगहरुले अपनाउने शैलीलाई विभिन्न प्रकृतिमा वर्गीकरण गरेको छ । जसमध्ये केही शैलीलाई यहाँ प्रस्तुत गरेका छौंः–

१. परम्परागत शैली

काठमाडौं प्रहरी परिसरको टोलीले एक महिनाअघि नुवाकोटकी मेनका पण्डित र सञ्जय पौडेललाई पक्राउ ग¥यो ।

उनीहरुले काठमाडौंको गोलढुंगा–४ मा ३२ आना जग्गाका लागि कीर्तिपुर ९ की अम्बिका रानासँग ५५ लाख लिएका थिए । उनीहरुले अर्काको नाममा भएको जग्गा विक्री गरेको कुरा लामो समयसम्म लुक्न सकेन । केही दिनमै जग्गा किन्नेले आफू ठगिएको चाल पाए । र, प्रहरीमा जाहेरी दिए ।

अन्ततः मेनका र सञ्जय पक्राउ त परे । तर, सांसद हितबहादुर तामाङले ४५ दिनको बच्चा रहेको भन्दै बिहान उपस्थित गराउने गरी आफ्नो रोहबरमा मेनकालाई छुटाए । अर्को दिन मेनुका गायब भएपछि यो घटना चर्चामा आएको थियो । समाचारहरु आएपछि मेनुकालाई प्रहरी परिसरमा उपस्थित गराइयो ।

प्रहरी अधिकारीहरु एउटा जग्गालाई देखाएर अर्कै ठाउँको जग्गा पास गराउने जस्ता घटनालाई परम्परागत शैलीको ठगी मान्छन् ।

‘अहिले परम्परागत शैलीका ठगीका घटना तुलनात्मक रुपमा कम भएका छन्’, परिसरको मुद्दा शाखामा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनकुमार थापा भन्छन्, ‘अहिले प्रविधिको प्रयोगबाट हुने ठगी बढेर गएको छ ।’

२. वैदेशिक रोजगारीको बहाना

वैदेशिक रोजगारीको लागि आकर्षक देशहरुमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि बढ्दो छ । अमेरिका, अष्ट्रेलिया, कोरिया लगायत देशमा सस्तोमा पुर्‍याइदिने भन्दै रकम लिएर फरार हुने गरेका घटना प्रहरी समक्ष बग्रेल्ती आउने गरेका छन् ।

वैदेशिक रोजगारीको बहानामा हुने ठगीलाई निरुत्साहित गर्न महानगरीय अपराध अनुसन्धान महाशाखामा २२ असोज ०७२ देखि वैदेशिक रोजगारी सहायता कक्ष नै स्थापना भएको छ । जसमा हालसम्म ९ सय बढी उजुरी परिसकेका छन् ।

ती उजुरीहरु कतिपय लिखित रुपमा आएका छन् भने कतिपय मौखिक । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिहरुको गुनासो सुन्नका लागि प्रहरीले विभिन्न मुलुकबाट सम्पर्क गर्न ००९७७–११७७ नम्बरको हटलाइन पनि राखेको छ ।

कक्षका डीएसपी मनोहर भट्टका अनुसार मानिसहरु थोरै पैसामा वैदेशिक राजेगारीका लागि आकर्षक गन्तव्य मानिएका ठाउँहरुमा जान पाउने प्रलोभनमा ठगिइरहेका छन् ।

‘समस्या परेपछि उजुरी गर्न आएका हुन्छन् । तर, उनीहरुसँग प्रमाण हुँदैन,’ भट्ट भन्छन्, ‘बजारमा भेटेकै भरमा पैसा दिएको हुन्छ । त्यसैले खोज्न एकदमै गाह्रो हुन्छ ।’

पैसा दिएको व्यक्तिको फोन नम्बर वा ठेगाना मात्रै थाहा भएको अवस्थामा पनि अनुसन्धान प्रक्रिया छिटो सकिने उनी बताउँछन् ।

३. प्रविधिबाट कमाउ धन्दा

एक युवकलाई १० हजार रुपैयाँमा ‘आईफोन–एक्स’ उपलब्ध गराउने भनेर म्यासेज आयो । एक लाख ५९ हजार रुपैयाँ पर्ने आईफोन, त्यति सस्तोमा पाउँदा उनी हर्षित भए । र, सम्बन्धित एकाउन्ट नम्बरमा रकम पठाए ।

रकम त पठाए, तर, आईफोन आएन । बरु अर्को म्यासेज फेरि आयो– सिपिङ चार्ज वापत् ३० हजार रुपैयाँ चाहियो । उनले त्यो रकम पनि पठाए । यद्यपि, अझै आईफोन आएन ।

पुनः ‘कस्टम चार्ज’ भन्दै ३० हजार रुपैयाँ मागियो । तब उनी झस्किए । र, प्रहरीसमक्ष पुगे ।

पछिल्ला समय प्रविधिको प्रयोगबाट हुने यस्ता ठगी मौलाएर गएको छ । फेसबुक, भाइबर, ह्वाट्स एप, ईमो जस्ता सामाजिक सञ्जालको प्रयोगबाट ठगी हुने गरेको छ ।

फेसबुकमा करोडौंको चिठ्ठा पर्‍यो भनेर सूचना दिने र त्यसलाई लिन पहिले निश्चित रकम तिर्नु पर्ने बताएर ठगी धन्दा चलाउन गिरोह नै सक्रिय छन् ।

सामाजिक सञ्जालमा करोडौं रकम चिठ्ठा परेको भन्ने व्यहोराको सूचना आए, सजिलै आश्वासनमा परेर रकम नपठाउन प्रहरीले पटकपटक सचेत गराउँदै आएको छ । यद्यपि, यो क्रम रोकिएको छैन ।

प्रविधिबाट हुने ठगीमा भारतीय नागरिकको समेत संलग्नता रहने गरेको देखिएको छ । उनीहरुले कहिले ‘कन बनेगा करोडपति’ को नाम त कहिले ह्वाट्स एपबाटै चिठ्ठा परेको बताएर ठगी गर्ने गरेका छन् ।

४. बीमाको नाममा ठगी

प्रहरीका अनुसार बीमाको नाममा ठगी हुने गरेको घटना पनि बेलाबेला आउने गरेको छ । नक्कली घटना बनाएर बीमाका लागि दाबी गर्नेहरुविरुद्ध प्रहरीले पनि सतर्कता अपनाएको छ ।

भीरबाट लडेकोदेखि आत्महत्या गरेको मानिसहरुसम्मलाई गाडीले किचेको भन्दै बीमा दाबी गर्ने गरेको बीमा समिति बताउँछ ।

बीमा प्रयोजनका लागि नक्कली रिपोर्ट तयार गरिने गरेको समेत बताइन्छ ।

५. बैंकिङ कसुर

दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला १३ जनालाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल, बैंकका सहायक महाप्रवन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू थिए ।

एनसीसी बैंकसँग मर्जर प्रक्रियामा गएपछि तत्कालिन समितिले करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो ।

करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान अझै जारी छ ।

यो बैंकिङ ठगी हालसम्मकै सबैभन्दा बढी रकम अपचलन भएको घटना भएको प्रहरी दाबी छ ।

त्यसअघि सीआईबीले कृषि विकास बैंकको न्यूरोड शाखामा बैंककै सहायक टेलर दीपिका रेग्मीको योजनामा चार करोड ९१ लाख रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक गरेको थियो ।

प्रहरीले बैंकको अन्तर शाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको निष्कर्ष निकालेर रेग्मीसहित १० जनालाई पक्राउ गरेको थियो ।

जसमा नेपाली सेनाका सहायक रथी रमेश विष्टसमेत थिए । रेग्मीले विष्टको खातामा केही रकम पठाएको भेटिएपछि उनी पक्राउ परेका थिए । उनीमाथि सेनाले आन्तरिक अनुसन्धान गरिरहेको छ ।

६. पेशागत ठगी

विभिन्न पेशाको नाममा ठगी गर्ने प्रचलन पनि बढेर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत वैशाख तेस्रो साता मिर्गौला प्रत्यारोपण गराइदिने भन्दै ठगी गर्ने एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो ।

भारतको विभिन्न शहरमा रहेका ठूला अस्पतालमा लगेर मिर्गौला प्रत्यारोपण गरिदिने भन्दै ठग्ने सप्तरीको बेलपुर– ६ का पंकजकुमार झा पक्राउ परेका हुन् ।

उनले मिर्गौला प्रत्यारोपण गरिदिन भन्दै दुई जनासँग क्रमशः ५ लाख र ४ लाख रुपैयाँ लिएका थिए । र, विरामीलाई भारत जान भनेर विमानस्थलमा बोलाएर आफू बेपत्ता हुने गरेका थिए ।

दुई वर्षअघि महानगरीय अपराध महाशाखामा एक युवती नक्कली पाइलटको फन्दामा परेको उजुरीसहित पुगिन् । फेसबुकमार्फत चिनजान भएको म्याक्स नामक व्यक्तिसँगको मायाजालमा उनी परकी थिइन् ।

आफूलाई एयर अरेवियाको पाइलट बताउने ती व्यक्तिले भने ठगी गर्नैका लागि उनीसँग प्रेमको नाटक रचेका थिए । तर, त्यसबेला ती युवती म्याक्ससँग यति नजिकिएकी थिइन् कि उनले आशंका गर्ने अलिकति पनि ठाउँ भएन ।

एक दिन म्याक्सले आफ्नो एटिएम हराएको बताए । र, निकाल्नलाई समय लाग्ने बताउँदै युवतीसँग दुई लाख रुपैयाँ मागे । उनीहरुबीच प्रेम सम्बन्ध र विश्वास चुलिँदै जाँदा युवतीलाई दुई लाख रुपैयाँ पठाउनु ठूलो कुरा थिएन । उनले पठाइन् ।

त्यसपछि पनि विभिन्न बहानामा ती व्यक्तिले लाखौं रुपैयाँ मागे । युवतीले पठाउँदै गइन् । तर, जब उनले ५० लाख रुपैयाँ बुझाइन् तब, उनलाई शंका लाग्यो । अनि, प्रहरी समक्ष पुगिन् ।

अनुसन्धानका क्रममा खुल्यो, म्याक्स न त स्वीट्जरल्यान्डमा थिए, न त पाइलट नै थिए ।

७. ओहदाको ठगी

काठमाडौं प्रहरी परिसरका अनुसार विभिन्न ओहदालाई आड बनाएर ठग्न पल्किएकाहरुले पनि पछिल्लो समय सक्रियता बढाएका छन् ।

परिसरले गत ५ चैतमा नक्कली सशस्त्र प्रहरी बनेर ठगी धन्दा चलाउँदै आएकी कोपिला बोहरालाई सार्वजनिक ग¥यो ।

सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया कोपिलाले ‘सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै चार जना युवतीबाट २ लाख ४१ हजार ठगी गरेकी थिइन् ।

उनले आफूलाई सशस्त्र प्रहरीको असई बताउने गरेकी थिइन् । र, विश्वास दिलाउन सशस्त्रको यूनिफर्ममा फोटो खिचाएकी थिइन् ।

अनुसन्धानको क्रममा उनी पुरानै ठग भएको खुल्यो । उनी यसअघि पनि नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

‘कहिले नासाको वैज्ञानिक त कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत भनेर ठगी गरेको घटनाका उजुरी दर्ता भएका छन् । यतिसम्म की मन्त्रीका पीए भनेर ठगेको पनि भेटिएको छ’, परिसरका एक अधिकारी भन्छन्, ‘ढिलो चाँडो मात्र हो । सबै ठग प्रहरीको फन्दामा परेकै छन् ।’

८. बहाना रियालिटी शोको

एक राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रशारण भएको चर्चित रियालिटी शो हो, डान्स नेपाल डान्स । जुन कार्यक्रमका आयोजकले शोको पहिलो र दोस्रो सिजनका विजेताहरुलाई पुरस्कारै नदिइ फरार भएको आरोप लाग्यो ।

शोको पहिलो सिजन २७ जेठ ०६८ बाट र दोस्रो सिजन २६ साउन ०७३ बाट सुरु भएको थियो । गत फागुन अन्तिम सातासम्म विजेताले पुरस्कार नपाएपछि विजेताहरु महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।

पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कार दिने बताइएको थियो ।

पीडितले दिएको उजुरीको आधारमा आयोजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं–४, धुम्बाराहीका विक्रम अछामीलाई प्रहरीले पक्राउ गर्‍यो ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पक्राउ परेका अछामीले तेस्रो सिजनको अडिसनका लागि भन्दै काठमाडौंका विभिन्न विद्यालयहरुमा फारम वितरण गरी रकम असुली गरेको समेत भेटिएको थियो ।

९. नेटवर्किङ ठगी

नेटवर्किङ ठगीमा गोल्ड क्वेष्ट इन्टरनेशनल, युनिटी, हर्वो इन्टरनेशनल लगायतका घटना चर्चित छन् । पछिल्लो समय पनि नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने क्रम रोकिएको छैन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख पहिलो साता नेटवर्क माकेर्टिङबाट ठगीमा संलग्न भएको आरोपमा आईवोस ग्लोबलका ७ जनालाई पक्राउ गर्‍यो ।

नेटवर्क व्यवसायका सञ्चालक काभे्रको पाँचखालका राजकुमार दंगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार, पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राई पक्राउ परेका थिए ।

उनीहरुमाथि ठगी मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

१०. संस्थागत ठगी, कीर्ते

काठमाडौं प्रहरी परिसरका एक अधिकार विभिन्न ‘इन्स्टियूचन’ को नाममा ठगी गर्ने क्रम पनि बढेर भएको बताउँछन् ।

‘कसैलाई छात्रवृत्ति दिने भनेर त कसलाई मेरो चिनजान छ मिलाइदिन्छु भने ठगी गर्ने गरेको भेटिएको छ’, ती अधिकारी भन्छन्, ‘हाकिमसँग चिनजान छ, जागिर लगाइदिन्छु भनेर विचौलियाको काम गरेर पनि रकम लिने गरिएको छ ।’

विभिन्न कम्पनी, अझ सरकारी कार्यालयकै सही छाप कीर्ते गरेर विभिन्न प्रायोजनका लागि प्रयोग हुने गरेको छ । जसवापत मोटो रकम लिएर सर्वसाधारणलाई ठग्ने गरिएको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment