९ जेठ, डोटी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच बुधवार विहान भेटवार्ता भएको छ ।
मुख्यमन्त्री निवास धनगढीमा भएको भेटवार्तामा प्रदेश सुरक्षा अवस्था लगायतका बिषयमा छलफल भएको थियो । छलफलमा प्रदेश सरकारको सुरक्षा अबस्था, सीमा सुरक्षा, दार्चुलाको तिंकरस्थित त्रिदेशीय नाकामा बाह्रैै महिना सुरक्षा पोष्ट राख्नु पर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीच आवश्यक समन्वयका बिषय रहेका थिए ।
तिंकर नाकामा बाह्रै महिना सुरक्षा पोष्ट राख्ने बिषयमा संघीय सरकारका गृहमन्त्री बादल सकारात्मक रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उक्त नाकामा हाल ६ महिना मात्र सुरक्षा पोष्ट राख्ने गरिएको छ ।
भारतसँग जोडिएका प्रदेश ७ का सबै सीमा क्षेत्रका भूगोलहरुमा सुरक्षा चेक पोष्ट राख्ने बिषयमा समेत छलफल भएको थियो ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि प्रदेश ७ को अस्थायी मुकाम धनगढी पुगेका गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अबस्था सम्बन्धमा चासो राखेका थिए ।
प्रदेश ७ को सुरक्षा अवस्था थप मजबुत पार्ने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्राइले जानकारी दिए ।
प्रेस संयोजक भट्राईका अनुसार गृहमन्त्री बादलको योजना अनुसार सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ ।
गोष्ठीमा गृहमन्त्री बादलले समग्र प्रदेशको सुरक्षा अबस्थाको जानकारी लिइ प्रदेशको सुरक्षा अबस्था थप मजबुत पार्न सुरक्षा निकायलाई निर्देशन दिने बताइएको छ ।
प्रतिक्रिया 4