+
+
Shares

भन्सार बढ्ने आशंकामा वीरगञ्जबाट गाडी आयात हृवात्तै बढ्यो

सुरेश बिडारी सुरेश बिडारी
२०७५ जेठ १३ गते १९:३४

१३ जेठ, वीरगञ्ज । नयाँ बजेटमा सवारीको भन्सार दर बढ्ने आशंकामा वीरगञ्ज भन्सार कार्यालयबाट नयाँ चार पांग्रे सवारी साधनको आयात हृवात्तै बढेको छ । जेठ १ देखि १२ गतेसम्म १ हजार ५६ वटा नयाँ सवारी साधान आयात भएको छ ।

यसरी आयात हुनेमा बढीजसो कार, जीप, भ्यान लगायतका चारपांग्रे साना सवारी साधन रहेका छन् । गाडी धेरै आयात भएपछि १२ दिनमै २ अर्ब २० करोड राजश्व समेत संकलन गरेको छ । अहिले साना सवारी साधनमा ८० प्रतिशत भन्सार कर, ६० प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।

जेठ १५ गते नयाँ बजेट आउँदा सवारी साधन आयातमा लाग्ने करमा वृद्धि हुने आशंका गर्दै व्यवसायीहरुले भारतीय सीमावर्ती शहर रक्सौल र कलकत्तामै थन्क्याएर राखेका चार पांग्रे सवारी साधान नेपाल ल्याउन थालेका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले नियमित भन्दा धेरै गाडी भित्रिएको जानकारी दिए । ‘जेठ १ देखि १२ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने नयाँ गाडी आयात बढेको देखिन्छ । १२ दिनमा एक हजार ५६ वटा कार जीप भ्यान आयात भएका छन्’ उनले भने ‘महिनामा ४ सय, साढे ४ सय गाडीहरु आयात हुन्थे भने त्यो तुलनामा यो निकै धेरै हो ।’

बजेटमार्फत सवारी साधनको अन्तःशुल्क परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीले आयात बढाएको वीरगंज भन्सार कार्यालयका प्रमुख पोखरेलको अनुमान छ । ‘ड्युटी बढी तिर्नुपर्छ कि भन्ने सोचेर बजेट आउनुअघि गाडी आयात बढी गर्ने चलन छ’ पोखरेलले भने ‘यसपाली संविधानको प्रावधानअनुसार जेठ १५ गते नै बजेट आउने भएकोले गाडी आयात बढेको हुन सक्छ ।’

विगतमा पनि बजेट आउने समयमा यस्तै प्रवृत्ति देखिने गरेको भन्सारका अधिकारीहरु बताउँछन् । अघिल्लो वर्ष सरकारले निर्वाचनको समयमा बजेट ल्याउनुपरेका कारण राजस्वका दरमा हेरफेर गर्न पाएको थिएन । त्यसैले बजेटअघि पनि सवारी आयतमा खासै असर देखिएको थिएन ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार वैशाख अन्तिम सातादेखि नै सवारी साधनको आयात बढ्न थालेको थियो । साना सवारी मात्रै नभएर दुई पांग्रे मोटरसाइकल र अन्य ठूला सवारीसाधन पनि जेठ १५ अघि नै भन्सार ‘क्लियर’ गर्ने हतारोमा आयातकर्ता देखिएका छन् ।

भन्सार परिसर केही दिनयता कोरियन, जापानीज, भारतीय लगायत विभिन्न देशका कम्पनीका गाडीहरुले भरिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अधिकृत उद्धव ढुंगानाले भन्सार परिसरमा क्लियरिङ भइसकेका र क्लियरिङको तरखरमा रहेको गाडीले भरिएको जानकारी दिए । ‘गाडीको आयात बढेका कारण भन्सार परिसरमा नयाँ गाडीहरु टन्नै भरिएको छ’ उनले भने ‘अधिकांश क्लियरिङको काम सम्पन्न भइसकेका छन् । विस्तारै आयातकर्ताहरुले लैजान्छन् ।’

बजेटमा सवारीसाधनमा लाग्दै आएको भन्सार दर परिवर्तन हुने सूचना अर्थमन्त्रालयबाट चुहिएको आशंका गरिएको छ । क्लियरिङ एजेन्ट कम्पनी नारायणी सिपिङ लजिष्टिक कम्पनीका सञ्चालक सन्देत श्रेष्ठ नयाँ बजेट आउँदा गाडीको ड्युटी बढ्ने भन्ने खबर आएकोले गाडीको आयात हृवात्तै बढेको बताउँछन् । ‘सानो गाडीलाई कडाई गर्ने नीति सरकारले लिने कुरा बाहिर आएको छ’ उनले भने ‘ त्यसैले गाडी आयात बढेको छ । स्टक अब छैन भन्दा पनि हुन्छ । तेस्रो मुलुकबाट आउने गाडीमा केही झन्झटिलो प्रक्रिया हुने भएकोले कलकत्तामा केही गाडी हुन सक्छ ।’

भन्सारमा बढी कर तिर्नुपरेको खण्डमा सवारी साधनको मूल्य बढ्ने भएकाले बजेट अगाबै सामान भित्र्याउने कोशिसमा आयातकर्ता लागेका हुन् । सामान्य अवस्थामा आयातकर्ता तथा व्यापारीहरुले लगानी नफसाउनका लागि गाडीको अर्डर गरिसकेपछि कलकत्ता बन्दरगाहमै केही दिन राख्ने, त्यसपछि रक्सौलमै राख्ने र आवश्यकता अनुसार भन्सार राजश्व तिरेर नेपाल भित्र्याउने गर्दै आएका थिए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?