Comments Add Comment

फिक्सिङको आरोपले घेरिएको तीन वर्ष

२४ जेठ, काठमाडौं । ‘गएको तीन वर्षमा कोहीसँग त्यस्तो केही कुरा नै भएन । धेरै यता उता नै गइनँ । कतै जाउँ भने पनि कसैले केही भनिदेला भन्ने डर हुने । यसैले घरमै बसिरहन्थेँ ।’

म्याच फिक्सिङको अभियोगबाट सफाइ पाएपछि फुटबलर विकास सिंह क्षत्रीले आधा खुसी आधा बेखुसीको भाव व्यक्त गरे । उनले तीन वर्ष ‘अपराधी’ जस्तो बनेर बाँच्नुपरेको कठिन समय सम्झिए ।

नेपालले खेलेका अन्तर्राष्ट्रिय खेलहरुमा मिलेमतो गरेर पैसा लिने र जानाजान खेल हारिदिने गरेको आरोपमा २७ असोज २०७२ मा पक्राउ परेका विकाससँगै तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापा र खेलाडीहरु सन्दीप राई र रितेश थापा फुटबलबाट मात्र होइन समाजबाट नै टाढिनु पर्‍यो ।

‘त्यो आरोपपछिको समय सम्झँदा नै पनि डर लाग्छ । त्यो बेला यो त यस्तो मान्छे भनेर कसैले हेपिदेला भन्ने डर लाग्थ्यो । एकदमै दिक्दार लाग्थ्यो । कतै निस्कनै सक्दिन थिएँ’ विकासले सुनाए ।

विकासजस्तै सागर, सन्दीप र रितेशको पनि अनुभव फरक छैन । आरोप लाग्नासाथ अपराधि जस्तो बनाइएको कठिन समय सफाइ पाइसक्दा पनि उनीहरुको आँखाअघि नाचिरहेको छ ।

बिहीबार विशेष अदालतले राज्य विप्लवको कसूर प्रमाणित नभएको भन्दै उनीहरुलाई सफाइ दिएको छ । सफाइपछि अदालत परिसरमा जिन्दगीकै सबैभन्दा कठिन समयबाट निस्कन पाएको भन्दै उनीहरुले खुशी साटासाट गरे ।

लड्डु ल्याएर वरपर भेटिएकाहरुलाई बाँडे, आफन्तसँग रमाए, समर्थकहरुसँग अंकमाल गरे । ठूलो भारी बिसाएपछि झैं आरामको स्वास लिए ।

फिक्सिङको आरोप लागेपछि फुटबल समर्थकले ‘यदि यो सत्य हो भने नेपाली फुटबलको लागि ठूलो बिडम्बना’ भन्ने प्रतिक्रिया दिएका थिए । सफाइ पाएपछि त्यो आरोप नेपाली फुटबलका लागि भन्दा बढी आफ्नो पूरा जीवन र खेलका लागि भयानक बिडम्बना भएको उनीहरुले सम्झिएका छन् ।

कतै निस्कनै नसकिने, अपराधी जस्तो भएर बाँच्नुपर्ने, आफूलाई मनपर्ने फुटबलबाटै टाढा हुनुपर्ने, हरेक सेकेण्ड बिताउन अप्ठ्यारो हुने त्यो समय सम्झदै सागर भन्छन्, ‘१५ वर्षभन्दा बढी समय फुटबलमा बिताएँ । तर, गएको तीन वर्ष त्यो १५ वर्षभन्दा कयौं गुणा लामो भयो । तीन वर्ष बिताउन निकै अप्ठ्यारो भयो ।’

एक खेलाडी खेलमा लागेपछि सबै कुरा बिर्सन्छ । अझ राष्ट्रिय टिमका रहेका उनीहरुले आˆनो जीवनमा फुटबलबाहेकको विकल्प सोचेका थिएनन् ।

‘मैले पढाइ छाडेर फुटबललाई करिअर बनाउँछु भनेर हिँडेका थिएँ । फुटबलमा करिअर बनेर उचाइमा पुग्ने बेला एक्कासी आरोप लागेर मैदानबाट बाहिर जीन्दगी बिताउन सहज हुन्छ त ?’ सागरले प्रश्न गरे ।

म्याच फिक्सिङको आरोपले उनीहरुको जिन्दगी नै डामाडोल बनाइदियो । हरेक समय त्यसबाट बाहिर निस्कन संघर्ष गरिरहनु पर्‍यो । ‘मलाई अहिले मनमा के लागेको छ भनेर भन्नै सक्दिनँ । त्यो तीन वर्ष कसरी सम्भिmउँ ? एकदमै गाह्रो थियो । आउने समयमा हेरौं अब के हुन्छ’ सन्दीपले भने ।

रितेशको सोच पनि सबैको जस्तै छ । ‘त्यो बेला त आरोपबाट बाहिरिएर बाँच्ने संघर्ष नै भयो । जे होस् आज त्यो आरोपबाट बाहिरिएका छौं, त्यसबाट सफाइ पाउँदा एकदमै खुशी लागेको छ’ उनले भने ।

यसले साँचो बोलेको हो भनेर अदालतले भनिदिँदा उनीहरुलाई खुशी लागेको छ । नराम्रो व्यवहारबाट बाहिर निस्किएर आरोपहरुबाट मुक्ति मिल्दा आनन्द लागेको छ ।

अब मैदान फर्कन सकिएला ?

आफ्नो पूरा उमेर फुटबलका लागि छुट्टाएका उनीहरुलाई अझै पनि मैदान फर्किएर खेल्न मन छ । तर, उनीहरुले यो पनि बुझेका छन् कि मन भएको हरेक कुरा परिस्थितिसँग मिलिदिँदैन ।

‘खेल्नुपर्ने बेलामा खेल छाड्नु पर्‍यो । त्यसले हामीलाई निकै पछाडि लग्यो । त्यो समय अब फर्किएर आउँदैन । मलाई अझै राष्ट्रिय टिममा खेल्ने इच्छा छ तर, त्यसरी नै खेल्न सक्छु भन्ने छैन । समय फेरियो’ सागरले सुनाए ।

सागरलाई जस्तै सन्दीपलाई पनि मैदान र्फकने मन छ । तर, उनलाई पनि त्यो परिस्थिति मिल्छ भन्ने लाग्दैन ।

‘फुटबलमा फर्किने पनि कोशिस त रहने छ । तर, त्यो सहज छैन । जे समय थियो त्यो त बित्यो नि । गएको कुरा गयो । अब त्यसैगरी खेल्न त सकिँदैन’ सन्दीपले भने ।

विकासलाई भने फुटबलमा फर्किन उस्तो इच्छा पनि छैन । ‘फुटबलमा त अब ब्याक हुँदिन होला । त्यो त सजिलो छैन । अब अरु कुरामा लाग्न पनि त बाटो खुलेको छ । आजदेखि नयाँ अध्याय सुरु गर्छु’ उनले भने ।

जीवनमा उतार चढाव त आउँछन् नै । अझ खेलाडीको जीवनमा त्यस्ता उतार चढाव धेरै हुन्छन् । कहिले उपाधिको उचाइमा उचो भइन्छ, कहिले हारको पीडामा कमजोर । कहिले मैदानमा हुँदाको खुशी त कहिले मैदानबाट बाहिरिनुपर्दाको दुःख । यस्तै उतारचढाव उनीहरुको जीवनमा पनि भयो ।

यो सबैमा पनि राज्यविरुद्धको अपराधी जस्तो गरी मान्छेले नकारात्मक रुपमा हेरिदिने हुँदा उनीहरुलाई सबैभन्दा अप्ठ्यारो भयो । मानिसहरुले त्यसरी नसोचिदिउन् भन्ने लागि रहृयो । यसैले पनि फुटबलमै फर्किएर केही गर्ने मन र नेपाली फुटबल अझै राम्रो होस् भन्ने चाहना उनीहरुमा छ ।

०००

अन्त्यमा, उनीहरु सबैको एउटै भनाइ छ । ‘हामी खेलाडी हौं, खेलबाहेक केही सोचेकै थिएनौं ।’ जसरी आरोप लाग्दा नै अपराधि बनाइयो त्यो ठीक होइन ।

‘हामीलाई आफ्ना कुरा बुझाउने अवसर पनि दिइएन । आरोप लाउनु मात्र ठूलो कुरा होइन । आरोप लाग्दैमा अपराधी बनाउनु भएन ।

अदालतको फैसलासम्म पनि कुर्न नसक्ने ? के भएको हो ? के गरेको हो ? भन्ने सबै कुराको अन्तिम निर्णय र न्याय त अदालतमै हुन्छ नि हैन र ? अहिले त्यो न्याय हामीले पाएका छौं’ विकासले भने, ‘अब भने छाति फुलाएर बाहिर निस्कन सक्ने भएको छु । शीर ठाडो बनाएर हिँड्न सक्ने भएको छु ।’

उनीहरुले अप्ठ्यारोमा परेका बेला साथ दिने समर्थकलाई सम्झिए । उनीहरुलाई धन्यवाद दिए । ‘यो तीन वर्षसम्म हामीमाथि विश्वास गरीदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौं । यिनीहरु निर्दोष छन्, फिक्सिङ जस्तो काम गर्नै सक्दैन भन्ने उहाँहरुको विश्वासले बाँच्न सजिलो भयो । उहाँहरुलाई धन्यवाद ।’

यो पनि पढ्नुस् 

सागर थापाको प्रश्न – ‘सजाय’मा बितेको ३ वर्ष म बिर्सु कसरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment