Comments Add Comment

प्रदेश ३ का मुख्यमन्त्रीको दावी : १० वर्षमा तेलबाट चल्ने गाडी हटाएरै छाड्छु

नीति तथा कार्यक्रम बहुमतले पारित

२४ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने जिकिर गरे ।

सरकरले समयानुकुल कार्यक्रमअघि सारेको बनाउँदै उनले कुनै पनि हालतमा पेट्रोल गाडी हटाएरै छाड्ने बताए । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा २०८५ सालभित्र काठमाडौं, चितवन, हेटौंडा, धुलिखेल र बनेपामा पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने उल्लेख गरेको थियो ।

साना सवारी साधनका कारण ठूला शहरमा बाक्लो सवारी चाप बढ्दै गएकाले अब सवारी साधनमा नियन्त्रण र विस्थापन जरुरी रहेको बताए ।

मुख्यमन्त्री पौडेलले विदेशमा श्रम गरेर नेपाल पठाएको रेमिट्यान्सको ठूलो रकमलाई उद्योग तथा व्यवसायमा लगानी गर्ने बताएका छन् । विदेशी भूमिमा युवाले गरेको श्रमवापतको रकम खाइखेलीमै सकिएको भन्दै त्यस्ता रकम उत्पादनको क्षेत्रमा प्रयोग गरिने उनले बताए ।

मुख्यमन्त्री पौडेलले रेमिट्यान्स पठाउनेको नाममा शेयर खडा गरिदिएर बृहत योजना वा उद्योग सञ्चालन गर्दै रोजगारी सिर्जना गर्ने योजना सुनाए ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा आएको रेमिट्यान्स अब सरकार मातहतमा रहने गरी उद्योग तथा व्यवसायमा लगानी गर्ने बताए ।

सार्वजनिक-निजी साझेदारी र सार्वजनिक-सहकारी साझेदारीका आधारमा प्रदेश विकासको अवधारणा ल्याइएको भन्दै यसका लागि प्रदेश निर्माण कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आशंका नगर्न आग्रह गरे ।

प्रदेश सरकारले ४ वर्षभित्र कम्तीमा एक सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा योगदान दिने ढंगले काम गर्ने बताउदै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रलाई समेत उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिने बताए ।

सहकारीमा रहेको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको भन्दै मुख्यमन्त्री पौडेलले यसलाई उद्योगमा लगाउन प्रोत्साहन गरिने बताए ।

सरकारले आउदो चार वर्षमा प्रदेशलाई समृद्ध बनाउने अभियान अनुसार नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले सरकारले ल्याएको कार्यक्रम उत्कृष्ट रहेको दाबी गरे । ‘कार्यक्रम राम्रो रहेको भन्दै बाहृय मुलुकमा रहेका १ सय ७१ जनाले म्यासेज गरेका छन्’ उनले भने ।

नीति तथा कार्यक्रममा महिला, दलित, उपेक्षित सबै वर्ग र समुदायको भावना समेटिएको भन्दै राम्रोसँग अध्ययन गरे विपक्षिलाई पनि चित्त बुझ्ने उनको भनाइ थियो ।

प्रदेश ३ को नीति तथा कार्यक्रम बिहिबार बहुमतले पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment