Comments Add Comment

विश्वकपको मूल्य र भड्किएको सामाजिक सञ्जाल

सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकप फुटबलमा अर्जेन्टिनाले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई पराजित गरेपछिको एउटा सन्दर्भले नेपाली समाजलाई भावनात्मक रुपले जोड्छ । सन्दर्भ के रहेछ भने, उक्त जितलाई लिएर अर्जेन्टिनाका विख्यात खेलाडी डिएगो म्याराडोनालाई पत्रकारले सोधेछन्, ‘कसरी इङ्गल्यान्डलाई पराजित गर्नुभयो ?’

म्याराडोनाले यस्तो जवाफ दिएछन्, ‘किनभने यसपाली इङ्गल्यान्डसँग गोर्खालीहरु थिएनन् ।’

सन् १९८० मा बि्रटिश सेनाले फकल्यान्डको टापुमा अर्जेन्टिनालाई हराएको सन्दर्भमा लक्षित जवाफ थियो यो । म्याराडोनाको जवाफको आशय के थियो ? त्यसतर्फ नलागौं । तर, उनको अभिव्यक्तिले ‘गोर्खाली’ भनेका चानचुने होइनन् भन्ने सन्देश सर्वत्र फैलियो । यसको नतिजा के भइदियो भने, सारा नेपाली म्याराडोनाका फ्यान भइदिए ।

निश्चय नै म अर्जेन्टिनाको फ्यान हुँ । म पनि अर्जेन्टिनासँग त्यसरी नै जोडिएको छु, जसरी म्याराडोनाको जवाफबाट प्रभावित भएका सारा नेपाली जोडिएका छन् ।

तर, अर्को प्रश्न जटिल छ, ‘यसपाली कुन टिमले विश्वकप उठाउँछ ?’

खासमा म खेल विश्लेषक होइन । खेलको नतिजा पूर्वानुमान गर्न सक्ने क्षमता मसँग नहोला । यद्यपि म फुटबल लभर हुँ । फुटबल क्रेजी हुँ । मलाई फुटबल असाध्यै मनपर्छ । मनपर्ने मात्र होइन, म खेल्छु पनि । हेर्छु पनि । विश्वकप मात्र होइन, अरु खेलहरु पनि म नियमितजसो हेरिरहेका हुन्छु । खेलाडीको पर्फमेन्स, स्टाटेजीबारे धेरथोर जानकारी राख्छु ।

भर्खरै पनि म फुटसल खेलेर आएको हुँ । फुटलसमा हाम्रो आफ्नै टिम छ । किशोरवयमा म स्वयम् फुटबलर बन्ने सोच्थें । गाउँघरमा पनि खुब फुटबल खेलिन्थ्यो । तर, फुटबलमा करियर छैन भन्ने त्यसबेलाको धारणाले मलाई लोक गायनमा बढी केन्दि्रत गरायो ।

फुटबलै-फुटबल

फुटबलका फ्यान असंख्य छन् नेपालमा । फुटबल यसैपनि विश्वकै लोकपि्रय खेल हो । अहिले विश्वकप फुटबलको ज्वरो चढ्दै जाँदा नेपाली समाजमा पनि त्यसको तरंग अनुभव गर्न सकिन्छ । हरेकजसो तन्नेरी आ-आफ्ना पक्षका जर्सीमा ठाँटिन थालेका छन् । बजारमा फुटबलकै चर्चा सुरु भएको छ । फुटबलकै कारण टेलिभिजन, प्रोजेक्टरको बजार उत्कर्षमा छ । रेष्टुरेन्टहरु फुटबलमय हुँदैछन् । जताततै फुटबलै, फुटबल छन् ।

अब प्रश्न उठ्छ, आखिर सात समुन्द्रपार हुने एउटा खेल प्रतियोगितामा हामी किन यतिधेरै उद्वेलित छौं ?

खेलुकद आफैमा उत्सव हो । यसको ध्येय भनेको मानव समाजमा उमंग पैदा गर्नु हो । चाहे विश्वको जुनसुकै गोलार्द्धमा भएको खेलकुद किन नहोस्, त्यसमा रमाउन सक्नु सकारात्मक कुरा हो । जबकी विश्वकपमा हामी जस्ता एशियाली मुलुकको पहुँच कमजोर छ ।

विश्वकपको प्रभाव नेपाली समाजमा

पृथ्वीको अर्को गोलार्द्धमा रहेका मुलुकहरु फुटबलमा विश्वलाई अगुवाइ गरिरहेका छन् । यसले हामीबीच भाइचाराको सम्बन्ध स्थापित गरिदिएको छ । लियोनल मेसी होस् वा थोमस मुलर, एन्टोनी ग्रीजमन होस् वा नेइमार, अहिले हाम्रै युवाहरुको ढुकढुकी बनेका छन् । यसलै विश्व समुदायलाई एउटै लयमा मिसाइदिएको छ, विश्वकप फुटबलले ।

खासमा विश्वकपले विश्वकै अर्थतन्त्रमा खास प्रभाव पार्छ । यसबाट नेपाली अर्थतन्त्र पनि अछुतो रहने कुरा भएन । तपाईं देख्न सक्नुहुन्छ, यतिबेला टेलिभिजन खोसाखोस छ । जताजतै जर्सीको पसल छ । रेष्टुरेन्टहरु पनि अब गजबले चल्नेछन् ।

यसबाहेक अर्को महत्वपूर्ण कुरा भनेको, यसले हामीलाई तनावमुक्त बनाउनेछ । यो कुरा तथ्यांकमा भन्न त सकिँदैन, तर ठोकुवाका साथ भन्न सकिन्छ, विश्वकपले हामीलाई तनावबाट मुक्त राख्नेछ । किनभने फुटबलको रौनकले हामीमा उमंग, खुसी छाउँछ । सारा पिर, चिन्ता भुलेर हामी टेलिभिनज स्त्रिmनमा रमाउँछौं । यसले हामीलाई मानसिक रोगबाट पनि उम्काइदिन्छ ।

समर्थकको अराजकता

तर, विश्वकप फुटबलको यो सकारात्मक पाटोलाई एकछिन छाड्ने हो भने, नेपालमा यसको ‘साइड इफेक्ट’ देखिन थालेको छ । तपाईं पनि हेर्न सक्नुहुन्छ, सामाजिक सन्जालमा परस्पर विरोधी टिमका समर्थकहरु गालीगलौजमा उत्रिएका छन् ।

आफ्नो टिमको पक्षमा हुटिङ गर्ने, रमाउने होइन । बरु विपक्षी टिमको खोइरो खन्ने प्रवृत्ति बढी देखिएको छ । फेसबुकमा अश्लील गाली गर्ने क्रम ह्वात्तै बढेको छ । अस्ति भर्खर मात्र मैले के देखिरहेको थिएँ भने, अर्जेन्टिनाको जर्सी जलाएर त्यसलाई फेसबुकमा राखिएको थियो । यस्तै किसिमको अराजकता अरुले पनि गरिरहेका छन् ।

पक्ष र विपक्षवीचको जुन अस्वस्थ्य प्रतिस्पर्धा मैले देखिरहेको छु, त्यो एकदमै गलत छ ।

खेलकुदः अनुशासन र भाइचाराको सेतु

वास्तवमा फुटबल अझ भनौं, खेलकुद भनेको अनुशासन, गतिशिलता र भाइचाराका लागि हो । खेल भनेको अनुशासनका लागि, सदभावका लागि, स्वास्थ्यका लागि, मनोरञ्जनका लागि खेल्ने चिज हो ।

खेलको ध्येय भनेको आपसी सम्बन्ध भत्काउने होइन, बरु जोड्ने हो । तर, हामी आफूआफूमा फुटिरहेका छौं । खेलकुदको मूल मर्मलाई भुलेर तल्लोस्तरको गालीगलौजमा उत्रिएका छौं । यसले समाजमा विचलन ल्याउनेछ ।

कुनैपनि टिममा हामी सबैको आ-आफ्नै झुकाव, समर्थन हुनु पक्कैपनि राम्रो हो । यसरी समर्थन गरेरै हेर्दा बढी रोमाञ्चकारी पनि अनुभव हुन्छ । यसका लागि बरु जर्सी लगाउने, घरमा झन्डा राख्ने गर्न सकिन्छ । तर, अर्कालाई गाली गर्नु भनेको असभ्यता हो । कुसंस्कार हो ।

फुटबलमा आ-आफ्नो पक्षलाई समर्थन गरौं तर, सभ्य ढंगले । मेरै घरमा भिन्नभिन्नै टिमको समर्थक छौं । म अर्जेन्टिनाको समर्थक, छोरी अर्कै टिमको, सालो अर्कै टिमको ।

यसो भन्दैमा नेपालमा जसरी चुनाव हुँदा पक्ष-विपक्ष टिमबीच घम्साघम्सी चल्छ, विश्वकपलाई पनि त्यस्तै बनाउनु चाहिँ ठीक होइन ।

किन ब्राजिल र अर्जेन्टिनाको क्रेज ?

अहिले नेपालमा देखिने भनेको अर्जेन्टिना र ब्राजिल नै हो । धेरैजसो समर्थक ब्राजिल वा अर्जेन्टिनाको जर्सीमा देखिन्छन् । विश्वकपमा भिड्ने अरु थुप्रै मुलुक छन् । यद्यपि किन अर्जेन्टिना र ब्राजिलकै समर्थक बढी होलान् ?

यसमा मेरो आफ्नैखाले बुझाई छ । जतिबेला नेपालमा टेलिभिजन युग सुरु भयो, त्यसबेलाको विश्वकपमा ब्राजिल र अर्जेन्टिनाकै वर्चस्व थियो । १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभीमा एन्टिना बटार्दै विश्वकप हेरेका पुस्ताबाटै यी दुई टिम अभिन्न रुपमा जोडिन आइपुगे । तर, अहिले अरु थुपै्रै टिम छन्, जसलाई युवाहरुले पछ्याइरहेका छन् । स्पेन हुनसक्छ, जर्मनी हुनसक्छ, फ्रान्स हुनसक्छ ।

विजेताको भविष्यवाणी

अब कसले जित्ला त विश्वकप ? यो सबैलाई चासोको विषय हो । वास्तवमा फुटबल अनौठो खेल हो । मैदानमा जतिसुकै अब्बल खेल प्रदर्शन गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकिएन भने फुटबलमा जित हासिल हुँदैन । त्यसैले यसमा भनेको गोल नै मुख्य हो । विगतमा, अर्थात भनौं डिएगो म्याराडोनाकै पालाका खेल र अहिलेको खेलमा फरक देखिएको छ ।

म म्याराडोनाको भनाईबाट मात्र प्रभावित होइन, उनको खेलबाट पनि हो । उनको खेल्ने शैली, पर्फमेन्स सबै मलाई मनपर्छ । उनको विचारको पनि म सम्मान गर्छु । त्यसबेलाको समयमा अहिले जस्तो सुविधा थिएन होला । अहिले जस्ता मैदान थिएन, खानपान थिएन । तैपनि उनीहरुले आफ्नो जमनामा जादु देखाइदिए । अहिलेका खेलाडीहरुले धेरै कुराको साथ पाएका छन् ।

मैले अघि पनि भने, फुटबलमा गोल नै महत्वपूर्ण हुन्छ । अहिलेका अधिकांश टिमको स्टाटेजी के बुझिन्छ भने, जसरी हुन्छ पोलमा चार्ज गर्ने । भनौं विपक्षी टिमलाई दबावमा राखिरहने ।

म अर्जेन्टिनाको प्रशंसक भएर पनि अर्जेन्टिनाले विश्वकप उठाउँछ भन्ने कुरामा ढुक्क छैन । मेसी एक्लैको बलमा जित होला भन्ने लाग्दैन । किनभने उनका टिममा उनीमात्र अब्बल भएर पुग्दैन । फुटबल भनेको टिमवर्क हो । यसमा टिमको तालमेल मुख्य हुन्छ ।

विश्वकपमा यसपाली अनपेक्षित नतिजा आउँछ कि भन्ने लाग्छ । वा सोच्दै, नसोचेको टिम अगाडि आउन सक्छ । मेरो अड्कलमा फ्रान्स पनि यसपाली विश्वकपको दावेदार हो । उसँग अहिले नयाँ जोस र जाँगरले भरिएको टिम छ ।

आखिर जित र हार भनेको खेलमा हुन्छ नै । मैदानमा उत्रिएपछि जित वा हार दुबै स्विकार्न सक्नुपर्छ । यसले हामीलाई पनि केही कुरा सिकाउँछ । जितको उन्मादमा जसरी हामी रमाउँछौं, हारलाई पनि त्यसरी नै पचाउन सक्नुपर्छ । वास्तवमा फुटबल खेल मात्र होइन, पाठ पनि हो ।

(अनलाइनखबरका लागि शिव मुखियासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment