Comments Add Comment

प्रकृतिसँग लय मिलाउँदै खप्तडको यात्रा (फोटोफिचर)

खप्तड, नयाँ नाम होइन । नौलो गन्तव्य पनि होइन । तर पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नैपर्ने त ?

किनभने यो प्रकृतिले सित्तैमा सजाएको अनुपम भू–सौन्दर्य हो, जसलाई जति हेरे पनि तपाईंको मन अघाउने छैन । यसको भौगोलिक बान्की, त्यससँगै लय मिलाइरहेको खोला, पृष्ठभूमिमा चाँदी झैं हिमाल, विशाल घाँसे मैदान, त्यहाँ फूलेका रंगबिरंगी वनफूल । आहा ! कति सुन्दर, कति शान्त ।

खप्तड धार्मिक पर्यटनका लागि कहलिएको स्थान हो । धार्मिक आस्था राख्नेहरु मात्र होइन, प्रकृतिसँग एकाकार हुन लालयितहरु पनि यहाँ पुगे हुन्छ ।

के छ खप्तडमा ?

यो प्रश्नलाई यसरी मिलाउन सकिन्छ, के छैन खप्तडमा ।

यहाँ अनन्त घाँसे मैदान छ । मैदानमा रंगबिरंगी वनफूल लहराइरहेका छन् । खप्तड बाबाको मन्दिर छ । मन्दिरलाई बीचमा पारेर बगेका कञ्चन खोला छ । खप्तड दह छ, अन्य मठमन्दिर छन् । र, २२ वटा साना–ठूला फाँट छन् ।

के पाइन्छ खप्तडमा ?

यस क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्रकृतिको खुला संग्रहालय र जीवित बगैंचा हो ।

नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।

खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोती छन् । यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो ।

बझाड, बाजुरा, डोटी र अछामको संगम स्थल खप्तड क्षेत्र । चलन चल्तीमा खप्तड क्षेत्र बझाड र डोटीबाट जाने गरिन्छ । खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो ।

समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो ।

कसरी पुग्ने खप्तड ?

खप्तड क्षेत्र पुग्न धेरै बाटा छन् । तर बझाड र डोटीबाट चलन चल्तीमा रहेको छ । खप्तड क्षेत्र पुग्नका लागि काठमाडांैबाट सीधै हवाई मार्ग हुँदै धनगढी पुग्न सकिन्छ अथवा बसको १५ घण्टे लामो यात्रा पश्चात पुगिन्छ, धनगढी ।

धनगढीदेखि डोटीको सदरमुकाम सिलगढीसम्मको यात्राको लागि ८ घण्टा बसको यात्रापश्चात सुरु हुन्छ, पैदल यात्रा । अलिहे बगलेगसम्म जीप पनि चल्ने भएकाले रिजर्भ गरेर पनि लान सकिन्छ । बग्लेगबाट ८ घण्टा यात्रामा पुग्न सकिन्छ, खप्तड क्षेत्र ।

यम बहादुर खड्का, पर्यटन व्यवसायी

मेरो यो खप्तड यात्रा दोस्रो हो । तर म पहिले करिब दुई वर्ष अघि जाँदा र अहिले खासै केही भिन्नता पाइनँ । पर्यटकलाई चाहिने आधारभूत आश्वयकताहरुको जरुरी छ । अहिले त आन्तरिक पर्यटककहरुको गन्तव्य स्थलका रुपमा निकै चहल पहल बढेको छ । तर अझै यसको विकास गर्न जरुरी छ ।

विकास भन्नाले बाटोमा चिह्नहरु, उकालो हिँड्दा पानीको व्यवस्थापन तथा खप्तड पुगेपछि बास बस्नका लागि उचित व्यवस्थापन । अहिले जेनतेन चलेको छ, तर यसले दीगो समयका लागि उपयुक्त छैन ।

मैले खप्तडको भविष्य निकै राम्रो देखेको छु । खप्तड जानलाई विभिन्न बाटाहरु रहेका छन्, यसले पनि खप्तडको भविष्य राम्रो हो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment