+
+

नेपालमा क्यान्सरग्रस्त स्तनको पुननिर्माण हुन्छः डा. प्रफुल्ल शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ४ गते १०:२१
डा. प्रफुल्ल शाक्य

स्तन क्यान्सर भएमा प्राय जसो पूरै स्तन काटेर फालिदिने चलन छ । जुन नेपालमा पनि सामान्य छ । यही अवस्थालाई ध्यानमा राखेरै अहिले नेपाल क्यान्सर रिसर्च सेन्टरले स्तनलाई बचाएरै स्तन क्यान्सरको उपचार गर्दै आएको छ ।

स्तन सग्लो राखेर शल्यक्रिया गर्न सकिन्छ ?

हाल हामीकहाँ स्तन क्यान्सरको समस्या लिएर आउनेमध्ये ३५  देखि ४० प्रतिशत विरामीको स्तन बचाएरै शल्यक्रिया गर्दै आएको छ । यसरी स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार गर्दा कुनै जटिल समस्या हुँदैन । सर्वसुलभ तथा प्रभावकारी भएकै कारण पछिल्लो समय यस तर्फ मानिसहरुको आर्कषण समेत बढ्न थालेको छ ।

त्यसबाहेक, नयाँ स्तन बनाउने -ब्रेस्ट कन्सट्रक्सन, ब्रेस्ट इम्प्लान्ट लगायतका सेवा समेत सुचारु गर्दै आएका छौं ।

क्यान्सर भएपछि स्तन काटेर निकालिन्छ ?

यो सेवा पहिले पहिले नेपालमा सुरु नहुदाँ स्तन क्यान्सरका विरामीको पुरै स्तन हटाउने गरिन्थ्यो ।

कारण के थियो भने हामी सोच्थ्यौ, स्तन नै नभएपछि क्यान्सर हुने कुरै आउँदैन । जुन कुरालाई अहिले विज्ञानले समेत ‘गलत’प्रमाणित गरिसकेको छ ।

अर्थात, स्तन क्यान्सर भएर पूरै स्तन निकाले वा क्यान्सरलाई मात्र निकाल्दा सोही ठाउँमा क्यान्सर हुने सम्भावना उत्तिकै हुने भएकोले त्यसरी स्तन फाल्दा क्यान्सरको ट्यूमर निस्कियो की निस्किएन भनेर हेर्न भने जरुरी छ ।

यस किसिमको प्रविधि पहिले नेपालमा विकसित भएको थिएन । नेपालका विभिन्न अस्पतालहरुले  स्तनमा ट्युमर भए नभएको हेर्ने विशेष किसिमको प्रविधि भित्र्याएसँगै त्यही प्रविधिको मध्यमद्धारा अहिले नेपाल क्यान्सर रिसर्च हस्पिटलले एकै पटक स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार सफलता पूर्वक गर्दै आएको छ ।

त्यतिमात्र हैन, हाल अस्पतालले स्तनलाई नयाँ स्वरुप दिन स्तन इम्प्लान्ट (ब्रेस्ट इम्प्लान्ट) को व्यवस्था समेत गर्दै आएको छ ।

के हो ब्रेस्ट (स्तन) इम्प्लान्ट तथा ब्रेस्ट कन्जरभेसन ?

बे्रस्ट कन्जरभेसन अर्थात स्तनलाई बचाउनु भनेकै स्तनमा भएको क्यान्सरलाई हटाएर स्तन बचाउनु हो  । विशेषगरी , स्तनमा भएको ट्युमर वरिपरिको निश्चित भागलाई झिकेर स्तनलाई बचाउने गरिन्छ । र, पूरानै अवस्थामा फर्काउन सकिन्छ ।

त्यसको लागि स्तन क्यान्सर स्तनमा बीस प्रतिशत भन्दा बढी फैलनु हुँदैन । यसरी ब्रेस्ट कन्जर्भ गर्दा व्यक्तिलाई खासै हानी हुँदैन । बरु निकै फाइदा पुग्छ । किनकी यसरी ब्रेस्ट इम्प्लान्ट वा कन्जर्भ गर्दा मानिस सामान्य जीवन जीउन सक्दछ । अझ भनौ कतिपयलाई त शल्यक्रिया गरेको छ भन्ने समेत थाहा हुँदैन ।

यसको केही हानी छैन ?

यसको एउटै मात्र हानी भनेको मानिसमा हुने मनोवैज्ञानिक असर हो । किनकी एक पटक स्तन क्यान्सरको उपचार गरिसकेपछि उक्त क्यान्सर फेरी पलाउछ भन्ने डर धेरैमा हुने गर्छ । तर यो विधि अपनाएर स्तनको शल्यक्रिया गर्दा विरामीलाई कुनै हानी हुँदैन ।

गत आठ महिनामा अस्पतालमा कम्तीमा ४० देखि ५० जनाको स्तन कन्जरभेसन समेत गरिसकेको छ ।

कस्तो अवस्थामा स्नत पुननिर्माण गरिन्छ ?

क्यान्सर स्तनमा बीस प्रतिशत भन्दा बढी भागमा फैलिएको छ भने, त्यसलाई हटाउन स्तनको पुर्ननिर्माण (ब्रेस्ट रिकन्सट्रक्सन) गर्नु पर्दछ । स्तनको पुर्ननिर्माण गर्दा स्तनको पूरै भागलाई काटेर फालिन्छ  । र, उक्त ठाउँमा नयाँ स्तनको निर्माण गरिन्छ । जसलाई चिकित्सकीय भाषामा ‘ब्रेस्ट अन्कोप्लाष्टिक’ भन्ने गरिन्छ ।

कयौले ब्रेस्ट अन्कोप्लाष्टिकलाई कस्मेटिक सर्जरीसित पनि जोड्ने गरेको पाइन्छ । जबकी कामकाजी महिलाहरुको स्तनलाई सामान्य आकार दिने यो आफैमा विशेष किसिमको सर्जरी हो ।

स्तन पुननिर्माण कसरी गरिन्छ ?

स्तनको पुननिर्माण विभिन्न तरीकाले गरिन्छ । जसमध्य सबैभन्दा सामान्य तरीका भनेको पेटको तल्लो भागमा रहेको मासु र बोसो र , ढाडमा रहेको मासु र बोसोलाई झिकेर स्तन बनाउने प्रक्रिया हो ।

त्यस्तै, सिलिकनको स्तनलाई शल्यक्रियाद्धारा स्तनमा इम्प्लान्ट गरेर पनि ब्रेस्ट इम्प्लान्ट गरिन्छ । जुन आफैमा अप्राकृतिक हो ।

यी दुवै राख्दा खासै फरक हुँदैन । यद्यपी, सिलिकन जेलमा उपलब्ध हुने भएकोले यसको समयावधी जम्मा दश देखि पन्ध्र वर्षको हुने गर्दछ । त्यसपछि उक्त सिलिकनलाई पुर्न परिर्वतन गर्नु पर्दछ । जबकी शरीरको मासु काटेर बनाइने इम्प्लान्ट भने आफैमा प्राकृतिक हुन्छ । यसरी  ब्रेस्ट पुर्ननिमार्ण गर्दा ८० देखि एक लाख २० हजार रुपैया सम्म खर्च लाग्ने गर्दछ । जबकी सिलिकन हाल्दा डेढ देखि दुईलाख सम्म खर्च लाग्न सक्दछ । नेपालमा हाल आफ्नै जीउको मासु हालेर स्तनको पूर्ननिर्माण गर्नेहरु धेरै छन्  ।

यी सम्पूर्ण सेवा, उपचार नेपालमै संभव छ ?

हाल नेपालमा स्तन क्यान्सरको उपचार मात्र हैन, यसको बचावट तथा पूर्ननिर्माण समेत सम्भव भएका कारण स्तन क्यान्सर भएकै कारण अहिले कुनै पनि व्यक्ति रोएर बस्नु पर्दैर्न । अझ भनौ पाँच वर्ष अघि स्तन क्यान्सर भएर स्तन काटिएको भएपनि पनि त्यसलाई तत्काल पुर्ननिर्माण गर्न सकिन्छ । तर त्यसका लागि  विरामीलाई एक हप्ता देखि दश दिनसम्म अस्पताल भर्ना हुनु पर्दछ । र एक पटक शल्यक्रिया गरिसकेपछि एक महिना भित्रमा मानिस सामान्य जीवनयापन गर्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?