८ असार, बेइजिङ । चीनको ग्रिनकार्ड पाउनुलाई विश्वको सबैभन्दा कठिन मध्येको एक काम मानिन्छ । तर, चीनले अहिले यो प्रक्रियालाई अलि सजिलो बनाएको छ । उसले व्यवस्थित आवेदन प्रक्रियालाई लागु गरेर ग्रिनकार्डका लागि आवेदन गर्ने मापदण्ड पनि अलि खुकुलो बनाएको छ ।
अप्रिलमा व्यवस्थित आवेदन प्रक्रिया लागू गरेपछि मात्रै सांघाईले करिब ५०० जना विदेशी नागरिकलाई दुई महिनाको बीचमा स्थायी बसोबासको अनुमति कार्ड दिएको छ । यो सङ्ख्या चीनले यस वर्ष दिएको ग्रिनकार्डको करिब ३० प्रतिशत भएको सांघाइ पब्लिक सेक्युरिटी ब्युरोले बताएको छ ।
मिनिस्ट्री अफ पब्लिक सेक्युरिटीका अनुसार सन् २०१६ मा मात्रै १,५७६ विदेशीलाई चीनको स्थायी आवासिय अनुमति दिइएको छ । जुन अघिल्लो वर्षभन्दा १६३ प्रतिशतले बढी हो ।
चीनले विदेशीहरुलाई दिएको स्थायी आवासिय अनुमति वा चिनियाँ ग्रिनकार्ड सबैभन्दा पहिले सन् २००४ मा दिइएको थियो । सन् २०१६ सम्ममा चिनियाँ ग्रिनकार्ड लिनेको सङ्ख्या दश हजार नाघिसकेको छ ।
यी हुन् चिनियाँ ग्रिनकार्ड लिएका प्रसिद्ध व्यक्तित्वहरु–
जोन हिल्टन
जोन हिल्टन चीनको स्थायी आवासिय अनुमति लिने पहिलो विदेशी नागरिक हुन् । उनले सन् २००४ मा चिनियाँ ग्रिनकार्ड लिएकी थिइन् । उनी एक पारमाणिक भौतिकशास्त्री हुन र म्यानहाटन प्रोजेक्टमा काम गर्ने थोरै मध्ये एक महिला वैज्ञानिक हुन् । सन् १९४८ मा चीन आएपछि उनले आफुलाई कृषि उपकरण र दुग्ध उद्योगको सुधारमा समर्पित गरेर ५० वर्षभन्दा धेरै चीनमा बसिन् ।
रोबर्ट ए मुन्डेल
अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका रोबर्ट ए मुन्डेललाई ‘फादर अफ युरो’ भनिन्छ । उनले सन् २००५ मा बेइजिङमा चिनियाँ ग्रिनकार्ड लिएका थिए । चीनमा धेरै लामो समयसम्म अर्थशास्त्रको प्राज्ञिक कार्यमा उनी संलग्न थिए ।
कर्ट बिटरिच
स्विटजरल्याण्डका कर्ट विट्रिचले सांघाई मा सन् २०१८ अप्रिल २ मा चिनियाँ ग्रिनकार्ड लिएका हुन् । सन् २००२ मा रसायनशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका उनी सांघाइ टेक युनिभर्सिटीका अध्यक्ष प्राध्यापक छन् ।
फेरिङ्गा बनार्ड लुकास
फेरिङ्गा बनार्ड लुकास सन् २०१६ को रयासनशास्त्रका नोबेल पुरस्कारको विजेता हुन् । उनले चिनियाँ ग्रिनकार्ड सन् २०१८ मे २ मा लिएका हुन् । उनी इस्ट चाइना युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा भिजिटिङ प्रोफेसरको रुपमा काम गर्छन् ।
स्टेफन मार्वरी
स्टेफन मार्वरी चिनको ग्रिनकार्ड लिने पहिलो विदेशी खेलाडी हुन् । सन् २०१६ अप्रिल १८ मा ग्रिनकार्ड लिएका यी पूर्व एनबिए स्टार सन् २०१० देखि चीनमा बास्केटबल खेल्न थालेका हुन् । उनले बेइजिङ डक्सलाई तीनपटक चिनियाँ बास्केटबल एसोसिएसनको उपाधी दिलाएका छन् ।
बास्केटबलबाट सन्यास लिएपछि चीनको युवा खेलाडीहरुलाई प्रवर्द्धन गर्ने उनको लक्ष्य छ ।
चिनियाँ ग्रिनकार्डका लागि कसरी आवदेन दिने ?
चिनियाँ ग्रिनकार्डलिनका लागि यी मापदण्ड हुनुपर्छ
१. चीनमा प्रत्यक्ष लगानी गरी कर राम्रोसँग तिरेको रेकर्ड र स्थिर व्यापार ।
२. उच्च स्तरको प्रतिभा ।
३. सरकारको सहयोग प्राप्त गर्ने मुख्य उद्योगहरुमा काम गर्ने व्यक्ति ।
४. चीनको लागि धेरै ठूलो योगदान दिएको हुनपर्ने वा चीनलाई आवश्यक पर्ने सीप भएको हुनपर्ने ।
५. आफ्नो परिवारको साथमा रहन चीन आएको हुनपर्ने ।
(स्रोतः चाइना डेली डटकम)
प्रतिक्रिया 4