Comments Add Comment

म्याराडोनाले गणेश थापासँग फोटो खिच्न किन मानेनन् ?

‘म मेस्सी र रोनाल्डो दुवैलाई मन पराउँछु, अर्जेन्टिनाले विश्वकप चुमोस्’

१३ असार, काठमाडौं । कुनै समय नेपाली फुटबलका पर्याय मानिन्थे गणेश थापा । उनले १५ वर्ष खेलाडीका रुपमा र २२ वर्ष अखिल नेपाल फुटबल महासंघ (एन्फा) को नेतृत्वमा रहेर नेपाली फुटबलमा योगदान दिए । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षे प्रतिवन्धमा परेपछि फुटबलबाट उनको नमीठो बहिर्गमन भयो ।

नेपाली फुटबलमा मात्र नभएर विश्व फुटबलकै सबैभन्दा माथिल्लो तहमा पुग्न सफल एक मात्र नेपाली हुन् थापा । उनी फिफाको अनुशासन समितिको सदस्यसम्म भएका थिए । सन् १९९८ देखि २०१४ सम्मका पाँचवटा विश्वकप फुटबलमा उनी प्रत्यक्ष सहभागी भए । तर, जारी विश्वकप भने टेलिभिजनमै हेरेर चित्त बुझाउनु परेको छ उनले ।

पहिल्यैदेखि अर्जेन्टिनाका समर्थक हुन् थापा । पहिले म्याराडोना र अहिले मेस्सीका फ्यान । म्याराडोनासँगै बसेर विश्वकप हेर्ने मौकासमेत पाएका थापाले अनलाइनखबरलाई आफ्नो अनुभव यसरी सुनाएः

मैले पहिलोपटक विश्वकप फुटबल टीभीमा हेरेको सन् १९७८ मा हो । त्यतिबेला म किशोरावस्थामा थिएँ र फुटबलमा आफूलाई हेलिसकेको थिएँ ।

हाम्रो घर विशालनगरमा थियो । डिल्लीबजारमा एकजना इञ्जिनियर दाइको टीभीमा विश्वकप आउने चर्चा सुनियो । धेरै रिक्वेस्ट गरेपछि हामीले उहाँको घरमा विश्वकप हेर्ने मौका पायौं । टीभीले एउटा रसियन च्यानल टिप्दोरहेछ, जसबाट म्याच लाइभ आउँथ्यो । एन्टिना घुमाएको घुमायै गर्नुपथ्र्यो ।

सन् १९८२ सालको विश्वकपका बेला भने म चाइनामा थिएँ । हामी बसेको होटलमै लाइभ म्याच हेरियो । त्यतिबेला म्याराडोनाको जगजगी थियो । म्याराडोनाको प्रदर्शनले मलाई पनि औधि प्रभावित तुल्यायो र म उनको डाई हार्ड फ्यान बनें । उनकै कारण मैले फुटबलमा अर्जेन्टिनालाई समर्थन गर्न थालेँ, जुन क्रम आजसम्म पनि जारी छ ।

मैले पहिलोपटक रंगशालामै गएर विश्वकप फुटबल प्रत्यक्ष हेरेको भने सन् १९९८ मा हो, जुन फ्रान्समा भएको थियो । मलाई फिफाले ‘स्पेसल ड्युटिज’ का लागि खटाएको थियो । पहिलोपटक फिफाको ब्लेजर लगाएर भीआइपी बक्समा बसेर विश्वकप हेर्दा मैले आफूलाई भाग्यमानी सम्झिएँ । एउटा सपना पूरा भएको क्षण थियो त्यो ।


मैले हेरेको पहिलो म्याच नै अर्जेन्टिनाको थियो । सो म्याच हेर्न म्याराडोना आउने भनिएको थियो । मलाई म्याच हेर्ने उत्सुकता जति थियो, त्यति नै उत्सुकता थियो म्याराडोनासँग भेट्ने । आफ्नो सिटमा बस्नुअघि मैले म्याराडोनालाई खोज्न थालेँ । मेरो भन्दा दुई लाइन अगाडि उनको नाम लेखिएको सिट खाली देखेँ । त्यसपछि म म्याराडोनाको व्यग्र प्रतिक्षामा बसेँ । मेरा आँखा मैदानमा भन्दा म्याराडोना आउने ढोकामा बढी केन्द्रित भए ।

तर, खेल सुरु भइसक्दा पनि उनी आएनन् । मैले फिफाका व्यक्तिहरुसँग खोजिनीति गरेँ । त्यसपछि थाहा भयो, म्याराडोना नआउने भएछन् । म निकै निराश भएँ । त्यो विश्वकपमा मैले उनलाई भेट्न पाइनँ ।

सन् २००६ को विश्वकपमा मैले फिफाको अनुशासन समितिको सदस्यका रुपमा भाग लिएँ । प्रत्यक्ष म्याचको सूक्ष्म अवलोकन गरेर खराब व्यवहार देखाउने खेलाडीहरुमाथि आवश्यक कारवाहीको निर्णय लिनुपर्ने दायित्व हुन्थ्यो हाम्रो कमिटीको । २००६ को विश्वकपको फाइनलमा जिनेदिन जिदानले विपक्षी खेलाडीको छातिमा टाउकोले हानेको घटनापछि उनलाई कारवाही गर्ने निर्णय हामीले नै गरेका थियौं ।

म्याराडोनालाई भेट्ने अधुरो चाहना यही विश्वकपमा पूरा भयो । अर्जेन्टिनाको पहिलो म्याचमा उनी आउने भए । भाग्यवस मेरो र म्याराडोना बस्ने सिट सँगसँगै रहेछ । मभन्दा ठीक बायाँ उनको र उनकी छोरीको सिट थियो । खेल सुरु हुनुअघि म्याराडोना छोरी लिएर आए । उनका केही साथीहरु पनि थिए । घुम्रे कपाल भएका, घुँडामा फाटेको जिन्स लगाएका म्याराडोना त्यतिबेला दुब्ला थिए । मैले उठेर हात अगाडि बढाएँ । उनले हात मिलाए तर मेरो अनुहारमा हेरेनन् ।

जब अर्जेन्टिनी टिम मैदानमा प्रवेश गर्‍याे, म्याराडोना र उनका साथीहरु सिटमै उक्लिएर उफ्रिन थाले । मैले कुरा बुझिनँ । उनीहरु एउटा नयाँ खेलाडीको नाम लिएर चिच्याइरहेका थिए, जो थिए लियोनल मेस्सी ।

त्यतिबेला मैले मेस्सीको नामै सुनेको थिइनँ । उनी अर्जेन्टिनाको टिममा रहेछन्, तर, कोचले अन्तिम ११ मा नराखेपछि म्याराडोना र उनका साथीहरुले विरोध जनाएर उफ्रिएका रहेछन् । तर, मेस्सीले मौका पाएनन् ।

मेरो ध्याउन्नचाहिँ म्याराडोनासँग फोटो खिच्नेतर्फ थियो । मैले उनीसँग फोटोका लागि आग्रह गरेँ । एकपटक होइन, पटकपटक । तर, उनले वास्तै गरेनन् । सो खेल अवधिभरि, हाफटाइममा समेत मैले ५० पटक जति उनीसँग अनुनय गरेँ होला । मैले आफू फिफाको जिम्मेवार व्यक्ति भएको समेत बिर्सेर एउटा डाइहार्ड फ्यानको रुपमा उनीसामु प्रस्तुत भएँ । तर, उनले रुखो भएर अस्वीकार गरिरहे । मसँग मात्र नभएर उनले अरु कोहीसँग पनि फोटो खिचाउन मानेनन् ।

उनी म्याच अवधिभरि अत्यधिक तनावमा थिए । सायद त्यही तनावले गर्दा हुन सक्छ, उनलाई फोटो खिच्न मन नलागेको । सो खेल अर्जेन्टिनाले हार्‍याे । त्यसपछि म्याराडोनाका साथीहरुले कुर्सी तोडफोड गरे ।

मेस्सीका फ्यानहरुले रोनाल्डोलाई देखी नसहने र रोनाल्डोका फ्यानहरुले मेस्सीलाई तिरस्कार गर्ने खुबै देखिएको छ । तर, म उनीहरु दुबैलाई मन पराउँछु । उनीहरुको खेल्ने शैली फरक छ

अर्जेन्टिनाको अर्को म्याचमा पनि म म्याराडोनाकै प्रतिक्षामा थिएँ । तर, उनी आएनन् । पछि थाहा भयो कि अघिल्लो म्याचमा कुर्सी फोडेको भनेर उनका साथीहरुलाई भीआइपी बक्समा प्रवेश गर्न रोक लगाइएको रहेछ । त्यसबाट रिसाएका म्याराडोना आफ्नो सिटमा नआएर दर्शक दीर्घामै बसेर हेरिरहेका रहेछन् ।

मैले विश्वकपमा ब्राजिलका पेलेसँग पनि पटक–पटक भेटेँ । उनी म्याराडोना भन्दा बिल्कुल फरक स्वाभावका थिए । एकदमै कुल । उनीसँग जतिपटक फोटो खिचे पनि कुनै झर्को मान्थेनन् । म्याराडोना भने औधि सन्की । तर, स्वाभाव जस्तो भए पनि मेरो म्याराडोनाप्रतिको आकर्षण र सम्मानमा कहिल्यै कमी आएन ।

म्याराडोना र मेस्सीको तुलना

अहिले म्याराडोनाकै स्तरका खेलाडी मेस्सी अर्जेन्टिनासँग छन् । म उनको पनि ठूलो फ्यान हुँ । म यी दुईको खेल भिडियोमा दाँजेर पनि हेर्छु । शैली उस्तै छ, क्षमता उस्तै छ । शारीरिक रुपमा भने म्याराडोना जति स्ट्रोङ मेस्सी छैनन् ।

विश्वकपको आधारमा हेर्ने हो भने म्याराडोना जुन उचाईमा पुगे, मेस्सी त्यसको छेउछाउमा पनि छैनन् । क्लव फुटबलको आधारमा चाहिँ मेस्सी म्याराडोनाभन्दा पनि माथि छन् । उनले आफ्नो क्लव बार्सिलोनालाई दिलाउन बाँकी सफलता कुनै छैन ।

विश्वकपमा मेस्सीले आफूलाई प्रमाणित गर्ने अन्तिम मौका छ अहिले । उनीजत्तिको प्रतिभावान खेलाडीले विश्वकप उपाधि चुमुन् भन्ने म चाहन्छु । मजस्तै करोडौं उनका फ्यान छन् संसारभरि ।

मेस्सी चरम दबावमा छन् । यो दबाव उनको प्रदर्शनमा झल्किएको छ । अघिल्लो विश्वकपमा उनले आफ्नो देशलाई फाइनलसम्म डोर्‍याए । तर, फाइनलमा उनी चुके । त्यो एउटा स्वर्णिम मौका थियो उनका लागि । यस्तो मौका बारम्बार आउँछ भन्ने छैन ।

यसपालिको वर्ल्ड कप

अहिलेचाहिँ म घरमै बसेर विश्वकपको मज्जा लिइरहेको छु, आम नेपाली दर्शकले जस्तै । कहिले बाहिर साथीभाइसँग हेर्छु । फाइनल म्याचचाहिँ कहाँ गएर हेर्ने निधो भएको छैन ।

रंगशालामा बसेर हेर्दा र टेलिभिजनमा हेर्दाको फरक अनुभूति हुन्छ । खेल सुरु हुनुअगावैदेखि रंगशालाभित्र उत्सवको माहोल हुन्छ । समर्थकहरु आआफ्नो देशको पक्षमा हुटिङ गरिरहेका हुन्छन्, जसले खेलको मज्जालाई दुईगुणा बढाइदिन्छ ।

तर, टेलिभिजनमा आफ्नो परिवार, साथीभाइसँग हेर्दाको छुट्टै मज्जा छ । टेलिभिजनमा खेलाडीहरुको सानो सानो एक्सन पनि रिप्ले मार्फत नियालेर हेर्न सकिन्छ, जुन रंगशालामा सम्भव हुन्न ।

यसपालिको विश्वकपमा पनि मेरो समर्थन उही अर्जेन्टिनालाई हो । ग्रुप गेमका दुई म्याचमा अर्जेन्टिनाको प्रदर्शन कमजोर देखियो । तर, तेस्रो र निर्णायक म्याचमा भने टोली लयमा फर्किएको छ । मेस्सीले शानदार गोल गर्दै टोलीलाई बाटो देखाए ।

फर्ममा फर्किनका लागि मेस्सीलाई एउटा गोलको आवश्यकता थियो, जुन उनले पाएका छन् । उनले अघिल्ला दुई म्याचमा ‘वान टु वान’ मौका पनि पाएका थ्एिनन् । उनले बल पायो कि तीन–चार जनाले घेरिहाल्थे । त्यसैले गोल निकाल्न सकेनन् । नाइजेरियाविरुद्ध पाएको कठिन मौकालाई गोलमा परिणत गरे । मेस्सी अर्जेन्टिनालाई एक्लो बलबुतामा माथिसम्म पुर्‍याउने क्षमता राख्छन् । यो विश्वकप मेस्सीमा नै केन्द्रित छ । समर्थकहरु पनि विरोधीहरु पनि उनको खेल नियालेर हेरिरहेका छन् ।

जहाँसम्म नेपाली फुटबलको भविष्यको कुरा छ, म अँध्यारो देख्दिनँ । हामीसँग प्रतिभाशाली खेलाडीहरु छन् । अहिले राष्ट्रिय टिममा रहेका खेलाडीहरु ५–७ वर्षसम्म खेल्न सक्छन् । खाली उनीहरुको राम्रो व्यवस्थापन एन्फाले गर्नुपर्नेछ

समूह चरणको नतिजाहरु हेर्दा मलाई सबैभन्दा प्रभावित तुल्याएको टिम हो बेल्जियम । यो टिम यसपालि माथिसम्म जाने सम्भावना देख्छुृ । अघिल्लो विश्वकपमा युवा खेलाडीहरु थिए । उनीहरु अहिले खारिएका छन् । टिम सन्तुलित छ ।

इङल्यान्ड पनि निकै सुधारिएको देखिन्छ । १९९६ पछि इङल्यान्ड विश्वकपमा चम्किएको छ । हेरौं कहाँसम्म पुग्छ । यसैगरी क्रोएसियाले पनि निकै आशा देखाएको छ ।

ब्राजिल र जर्मनी त पराम्परागत महाशक्ति भइगए । यिनीहरुलाई कहिल्यै पनि कमजोर आँक्न मिल्दैन । समूह चरणमा उनीहरुले आफ्नो स्तरमा खेल्न सकेनन् । तर, उनीहरु जस्तोसुकै स्थितिबाट पनि कमब्याक गर्न सक्छन् । त्यसैले मैले यी दुई टिमलाई पनि दाबेदारकै सूचीमा राखेको छु । अर्को दाबेदार स्पेन पनि हो । पोर्चुगलचाहिँ रोनाल्डोमा बढी निर्भर देखिएको छ ।

मेस्सीका फ्यानहरुले रोनाल्डोलाई देखी नसहने र रोनाल्डोका फ्यानहरुले मेस्सीलाई तिरस्कार गर्ने खुबै देखिएको छ । तर, म उनीहरु दुबैलाई मन पराउँछु । उनीहरुको खेल्ने शैली फरक छ । रोनाल्डोको स्ट्राइकिङ पावर राम्रो छ । मेस्सीचाहिँ कलात्मक खेल्छन् । समग्रमा रोनाल्डोभन्दा मेस्सी राम्रा छन् । तर, दुवै महान खेलाडी हुन् ।

विश्वकप र नेपाली फुटबल

एउटा नेपाली फुटबल खेलाडीका रुपमा मैले कहिल्यै पनि विश्वकप खेल्ने सपना देख्न सकिनँ । अहिले पनि त्यो सपना देख्ने स्थिति छैन । तर, यो एकदम असम्भव कुरा हो भनेरचाहिँ म भन्न चाहन्न ।

म राष्ट्रिय टिममा हुँदा नेपाली फुटबल जिरो अवस्थामा थियो । खेलाडीहरुलाई कुनै सुविधा थिएन । सौख पूरा गर्नका लागि फुटबल खेलिन्थ्यो । मैले बंगलादेश र कोलकाताका क्लवहरुमा गएर खेल्ने अवसर पाएँ । त्यस्तो अवसर नपाउने खेलाडीहरुको आर्थिक अवस्था नाजुक नै थियो ।

फुटबल खेलेर बाँच्न सक्ने वातावरण म एन्फाको नेतृत्वमा आएपछि बनेको हो । नेपाली फुटबललाई व्यवसायिक बनाएको श्रेय आफूले पाउँदा अहिले पनि गर्व लाग्छ । खेलाडीहरु अहिले महिनामा लाखसम्म कमाउन सक्ने भएका छन् । कुनै खेल नभए पनि अहिले महिनाको १५ हजार त्यतिकै पाउँछन् । यसका लागि मैले नै ८ करोड फिक्स डिपोजिटमा राखिदिएको छु ।

मेरो कार्यकालमा एन्फा एकेडेमीको स्थापना भयो । हामीले नेसनल टिममा खेल्दा उपत्यकाका खेलाडी ९० प्रतिशत थिए भने १० प्रतिशत बाहिरका । अहिले अधिकांश बाहिर, मोफसलका छन् । त्यो कारण हामीले देशैभरि फुटबलको विस्तार गर्न सफल भयौं । कुनाकाप्चामा रहेका प्रतिभाहरुलाई समेट्यौं ।

त्यसपछि लिगलाई महत्व दिन थालियो । खेलाडीलाई प्रोत्साहन गर्न कार पुरस्कार दिन थाल्यौं । खेलाडीको इन्स्योरेन्स गर्ने काम भयो । सरकारको ठोस सहयोगबिना नै हामीले धेरै काम गर्‍याैं । फिफा र एएफसीको सहयोग तथा स्थानीय प्रायोजक जुटाएर स्रोत परिचालन गर्‍याैं । पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्‍याैं । त्यसबाट उठेको पैसा फुटबलमा लगायौं ।

यद्यपि, अन्तर्राष्ट्रिय नतिजाको हिसाबले भने मेरो कार्यकाल सन्तोषजनक रहेन ।

नेपाली टोलीले क्षमता अनुसारको नतिजा निकाल्न सकेन । एन्फाको अध्यक्ष हुँदा पनि मैले टोलीलाई विश्वकपमा पुर्‍याउने महत्वाकांक्षा राखेको होइन । मेरो उद्देश्य सार्क लेभलमा नेपाललाई उत्कृष्ट बनाउने र एसियाली लेभलमा पुर्‍याउने मात्र थियो । तर, त्यो हुन सकेन । यसमा म आफूलाई अभागी ठान्छु । किनकि नेपालले राम्रो खेल्दाखेल्दै पनि महत्वपूर्ण म्याचहरु जित्न सकेन । फुटबलमा भाग्यको पनि ठूलो हात हुन्छ ।

यद्यपि, हामी एकदम पातालमै थियौं भन्ने पनि होइन । हरेक सार्क गेममा हामीलाई एउटा दाबेदार मानिन्थ्यो । हामीले सार्कका सबै देशहरुलाई हराएका छौं । तर, एउटै प्रतियोगितामा सबैलाई हराएर बिजेता बन्न चुक्यौं । हाम्रो कमजोरीचाहिँ फिनिसिङमा रह्यो । बल नियन्त्रणमा राखेर पनि गोल गर्न नसक्दा सोचेजस्तो नतिजा ल्याउन सकेनौं ।

जहाँसम्म नेपाली फुटबलको भविष्यको कुरा छ, म अँध्यारो देख्दिनँ । हामीसँग प्रतिभाशाली खेलाडीहरु छन् । अहिले राष्ट्रिय टिममा रहेका खेलाडीहरु ५–७ वर्षसम्म खेल्न सक्छन् । खाली उनीहरुको राम्रो व्यवस्थापन एन्फाले गर्नुपर्नेछ ।

एन्फामा नयाँ नेतृत्व आएको छ । यसले फुटबलको उत्थानका लागि मैले अघि बढाएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरु ल्याओस् भन्ने चाहन्छु । तर, अहिलेसम्म त्यस्ता योजना र कार्यक्रमहरु आएको देखिँदैन । लिग घोषणा भएको छ, तर रेलिगेसन नहुने भनिएको छ । टिम रेलिगेसन नहुने लिगको कुनै अर्थ नै छैन । यसलाई सच्याउनैपर्छ ।

फिफाले अत्यन्त अन्यायपूर्वक १० वर्ष प्रतिवन्ध लगाएपछि फुटबलबाट टाढा रहनुपरेको छ । यो प्रतिवन्ध त म झेल्न सक्छु, तर, मलाई देशभित्र जसरी बदनाम बनाइएको छ, यसको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ । न म आफू निर्दोष छु भनेर सडकमा चिच्याउँदै हिँड्न सक्छु

मेरो पालामा फिफाबाट वार्षिक २ लाख ५० हजार डलर आउँथ्यो । अहिले १ मिलियन डलर पुगेको छ । यसको सही सदुपयोग गर्नुपर्‍याे । खेलाडीको र क्लवको सुविधा बढाउनुपर्‍याे । पुरस्कार राशी बढाउनुपर्‍याे  लिग सञ्चालन गर्न पाँच करोड फिफाले दिएको छ । सरकारले खासै बजेट नदिए पनि चल्ने स्थिति छ । खाली फुटबललाई सही नेतृत्वको आवश्यकता छ । हामी कम्तिमा साफ लेभलमा उत्कृष्ट बन्न सक्छौं ।

आफ्नै बारेमा

मैले आफ्नो जीवनको ठूलो कालखण्ड फुटबलमा समर्पित गरेँ । तर, अन्तमा बदनाम बनाइयो । देशभित्र ६ वटा छानविन समिति बनाएर पनि भ्रष्टाचारको आरोप प्रमाणित गर्न सकेनन् । तैपनि खेदो गर्न छोडिएको छैन ।

फिफाले अत्यन्त अन्यायपूर्वक १० वर्ष प्रतिवन्ध लगाएपछि फुटबलबाट टाढा रहनुपरेको छ । यो प्रतिवन्ध त म झेल्न सक्छु, तर, मलाई देशभित्र जसरी बदनाम बनाइएको छ, यसको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ । न म आफू निर्दोष छु भनेर सडकमा चिच्याउँदै हिँड्न सक्छु ।

फुटबलबाट बहिर्गमनपछि राजनीतिमा लागेँ । राजनीतिको माध्यमबाट सभासद भएपछि मकवानपुरमा समाजसेवाका कामहरु धेरै गरेँ । तर, पनि हाम्रो पार्टीले यहाँ पराजय व्यहोर्नुपर्‍याे । अहिले राजनीतिमा पनि मलाई वितृष्णा भइसकेको छ । मजस्तो स्ट्रेट फरवार्ड व्यक्तिले राजनीति गरेर काम रहेनछ ।

अझै पनि देशका लागि केही गर्ने मसँग उमेर, छ समय छ । त्यसैले निस्क्रिय बस्न चाहन्न । खेलकुदकै क्षेत्रमा योगदान दिन चाहन्छु । हालै खेलकुदसम्वन्धी एउटा संस्था दर्ता गरेको छु । फुटबलमा त अब फर्किने सम्भावना छैन । तर, अन्य खेलकुदका लागि केही गर्ने इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment