
२७ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीलाई लिन सरकारले हेलिकोप्टर पठाउने तयारी गरेको छ ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाउने तयारी गरेको हो । स्रोतका अनुसार डा. केसीलाई लिन नेपाली सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर जुम्ला पठाउने तयारी गरिएको छ ।
‘जुम्ला पठाउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । तर, डा. केसी आउनुहुन्छ या हुन्न थाहा भएन’, सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने ।
उनका अनुसार केसीलाई लिन बुधबार नै हेलिकोप्टर पठाउने तयारी रहेको स्रोतको दाबी छ ।
जुम्लामै रहेका डा. केसी निकट डा. भूमेश काफ्लेले भने काठमाडौंबाट हेलिकोप्टर आउनेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।
डा. केसी भने माग पुरा नभएसम्म काठमाडौं नआउने अडानमा छन् । उनले सरकारले काठमाडौंबाट पठाएका चिकित्साकबाट पनि उपचार लिन मानेका छैनन् ।
‘डा. केसी अनसन बसेको अवस्थामा मर्नै परे यहीँ नै मर्छु भनिरहनु भएको छ’, डा. केसी पक्षधर एक चिकित्सकले भने, ‘हेलिकप्टर लिन आएकै भरमा काठमाडौं आउनुहुन्छ जस्तो लाग्दैन । यद्यपि काठमाडौं जाने कि नजाने उहाँको निर्णयको कुरा हो ।’
चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग राख्दै डा. केसी १२ दिनदेखि जुम्लामा अनसनरत छन् ।
प्रतिक्रिया 4