Comments Add Comment

केपी ओलीको ‘मविवि शाह’ रुप ! कविता कस्तो फुर्ला ?

प्रज्ञा प्रतिष्ठानलाई उपेक्षा, मदन भण्डारीको ब्यानरमा भानु जयन्ती

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफूलाई राजनीतिज्ञ मात्रै नभई ‘कवि’को रुपमा पनि प्रस्तुत गर्ने भएका छन् ।मविवि शाहमा जस्तै प्रधानमन्त्री ओलीमा पनि भाषा साहित्यप्रति रुचि एवं गहिरो लगाव देखिएको छ । ओलीले अब कवितासमेत लेख्ने बताएका छन् ।

मविवि शाहले पञ्चायतकालमा राजकीय प्रज्ञा प्रतिष्ठान मार्फत कला साहित्यलाई अगाडि बढाएका थिए । तर, प्रधानमन्त्री ओलीचाहिँ प्रज्ञा प्रतिष्ठान जिवित हुँदाहुँदै ‘मदन भण्डारी फाउण्डेसन’को ब्यानरमा कला साहित्य अभिवृद्धि गर्नेतिर लागेका छन् ।

करिब एक साताअघि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो कवि रुप प्रकट गर्दै यसो भनेका थिए- ‘३० गते चन्द्रागिरिमा एउटा साहित्यिक कार्यक्रम हुन्छ । विदेशी मित्रहरुलाई आयोजकहरुले पुर्‍याउने प्रवन्ध गर्नेछन् । स्वदेशीमित्रहरु आफैं जानुपर्ने हुन सक्छ । भ्याएँ भने म पनि जान्छु । चन्द्रागिरिका टुप्पामा पुग्दा कविता आयो भने लेखौंला ।’

पृथ्वीनारायण शाहले पहिलोपटक काठमाडौं उपत्यकालाई नियालेको डाँडो भनिएको ‘चन्द्रागिरि’मा पुगेर शनिबार प्रधानमन्त्री ओलीले कस्तो कविता फुराउलान् ? प्रधानमन्त्रीले लेखेको कवितालाई कसैले गीत बनायो भने त्यो मविवि शाहको अर्को रुप हुन सक्छ । नेपालमा अहिलेसम्म मविवि शाह नै पहिलो कवि शासक हुन् ।

तर, शनिबार प्रधानमन्त्रीले चन्द्रागिरिमा पुगेर कविता लेख्ने समय भने नपाउने सम्भावना छ । किनभने मन्त्री र सचिवहरुको ब्रिफिङ सुन्ने कार्यक्रम शनिबार बिहान ११ बजे सिंहदरबारमा आयोजना गरिएको छ । बुधबार १४ वटा मन्त्रालयको मात्रै ब्रिफिङ सकिएकाले बाँकी मन्त्रालयको ब्रिफिङ शनिबार आयोजना गरिएको हो । यति महत्वपूर्ण कार्यक्रम छाडेर प्रधानमन्त्री ओली कविता लेख्न र केबुलकार चढ्नतिर लाग्लान् ? यो प्रश्न पनि निकै नै रोचक छ ।

तर, स्मरणीय के छ भने शुक्रबार भानुजयन्तीको दिनदेखि ३१ गतेसम्म आयोजना गरिएको तीनदिने ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन’ प्रधानमन्त्री ओलीकै ईच्छा अनुसार आयोजना गरिएको हो ।

मदन भणडरी फाउन्डेसनले अघिल्लो साता आयोजना गरेको कार्यक्रममा पौने घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले  भानुजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको तीनदिने सम्मिलनबारे  सूचना वाचन गरेकै शैलीमा यसरी प्रचार गरेका थिए-

‘हामीले थुप्रै कामहरु गर्नुपर्ने छ । मदन भण्डारी फाउन्डेसनले थुप्रै कामहरु गरिराखेको छ । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको सन्दर्भमा असार २९, ३०, ३१ गते तीन दिन हिमवत् खण्ड कला साहित्य सम्मिलन हुँदैछ । सम्मेलन हैन, सम्मिलन । साहित्यकारहरुको भेला । यसमा विविध जाति भाषा, विभिन्न संस्कृतिका साहित्यकार, विभिन्न समयका र विभिन्न भेगका, देश विदेशका साहित्यकारहरुको सम्मिलन हुन्छ ।’

बालुवाटारमा बनेको योजना 

‘हिमवत खण्ड कला साहित्य सम्मिलन’ केन्द्रका संयोजक राजेन्द्र सुवेदीका अनुसार करिब दुई महिना जति अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अन्तर्राष्ट्रिय स्तरको नेपाली भाषा साहित्यको कार्यक्रम गर्ने सोच आएको हो । त्यही सोचअनुसार मदन भण्डारी फाउन्डेसनका सदस्य तथा सल्लाहकारको टिमलाई ओलीले बालुवाटार बोलाएर यससम्बन्धी सुझाव लिए । उक्त छलफलमा शान्ता मानवी, विजय सुब्बा, दिनेश डीसी, कुन्दन अर्याल, देवराज घिमिरे, राजेश बज्राचार्य र राजेन्द्र सुवेदीले भाग लिएका थिए ।

‘प्रधानमन्त्रीको सोच हिमाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिने गरी कार्यक्रम आयोजना गर्ने थियो, सुरुमा हामीले नामबाटै हिमाली कला संस्कृति झल्कनुपर्छ भन्ने मत राख्यौं । त्यसअनुसार हिमवत खण्ड कला साहित्य सम्मिलन गर्ने योजना बनेको हो,’ संयोजक सुवेदीले अनलाइनखबरसँग भने, ‘हिमवत खण्ड पुराण युगदेखि नै चलेको नाम हो र यसको इतिहास करिब १० हजार वर्ष देखिन्छ । यही आधारमा हिमवत खण्ड कला साहित्य सम्मिलन नाम जुरेको हो ।’

सुवेदीका अनुसार प्रधानमन्त्रीको चासो भएका कारण भानुभक्तको जन्म दिनको अवसर पारेर तीन दिनको भव्य कार्यक्रम बन्यो । जसअनुसार विश्वभरि छरिएर रहेका नेपाली कला साहित्य विज्ञलाई नेपाल डाक्ने र भव्य कार्यक्रम गर्ने योजना बन्यो । यसअनुसार प्राध्यापक राजेन्द्र सुवेदीलाई संयोजक बनाएर कार्यक्रम तय गरिएको हो । यसमा १९ वटा उपसमितिहरु बनेका छन् । समितिमा नेता र सांसदहरुसमेत छन् ।

काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेर शुक्रबारदेखि कार्यक्रमको सुरुवाट गरिँदैछ । कार्यक्रममा बर्मा, भारत, थाइल्याण्ड, अमेरिका, जापान जस्ता देशबाट नेपाल विज्ञहरु झिकाइएको छ । जसमध्ये नेपाली भाषामा विद्यावारिधि गरेका तथा अक्सफोर्ड विश्विद्यालयमा प्राध्यापन गरिरहेका माइक हर्ट तथा नेपाली साहित्यमा विद्यावारिधि गरेका जापानी नागरिक हाराहितो नोजी प्रमुख आकर्षण रहनेछन् ।

त्यसैगरी कोलकाता विश्वविद्यालयका प्राध्यापक डा.सत्यप्रकाश तिवारी, सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख कविता लामा, आसाम नेपाली साहित्य परिषद्की अध्यक्ष दुर्गा खतिवडा, सिक्किमबाट केन्द्रीय सांसद रहेकी तथा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीकी श्रीमती दिलकुमारी भण्डारीको पनि उपस्थिति रहनेेछ ।

कार्यक्रममा नेपालका सातवटै प्रदेशका भिन्न-भिन्न भाषा र संस्कृतिको टोली समावेश भएको छ भने १४ राष्ट्रका ४८ जना नेपाली भाषा र साहित्य विज्ञहरु नेपाल आउने आयोजकको दाबी छ । कार्यक्रममा निजी व्यवसायीदेखि नगरपालिकाका पदाधिकारीहरु पनि खटिइरहेका छन् । आयोजक समितिमा सांसदहरुसमेत छन् ।

प्रज्ञा प्रतिष्ठानलाई उपेक्षा, मदन भण्डारीको ब्यानर !

प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा मुताविक मदन भण्डारी फाउन्डेसनको ब्यानरमा शुक्रबार सुरु भएको ‘हिमवत खण्ड कला साहित्य सम्मिलन’ माथि केही प्रश्न उठेका छन् । प्रधानमन्त्रीकै इच्छामा आयोजना गरिएको यो कार्यक्रम राष्ट्रले गर्नुपर्नेमा पूर्वएमाले नेताको नाममा रहेको फाउन्डेसनले गरेपछि प्रश्न उठेको हो ।

प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान जस्ता सरकारी संस्थाले यो सम्मिलन किन आयोजना गरेनन् र नेताका नाममा पार्टीका कार्यकर्ता सम्मिलित संस्थाले भानु जयन्तीको अवसरमा नेपाली भाषा तथा साहित्यसम्बन्धी तीन दिने कार्यक्रम आयोजना गर्‍यो ? यो प्रश्न अहिले साहित्यकारहरुमा उठेको छ । स्व. मदन भण्डारी साहित्यिक स्रष्टा नभएर राजनीतिक व्यक्तित्व हुन् ।

स्रोतका अनुसार यो सम्मिलन गैरसरकार संस्थाको ब्यानरमा गरिए पनि सरकारी खर्चमा गर्न लागिएको हो । आयोजकका अनुसार सरकारी तथा निजी उद्यमीहरुको सहयोगमा उक्त कार्यक्रम भइरहेको छ ।

कार्यक्रमको कुल बजेट ५० लाखको हाराहारीमा छ । जसमध्ये विदेशी पाहुनालाई नेपाल ल्याउन हवाइजहाजको भाडा सरकारी हवाइजहाज कम्पनी नेपाल एयरलाइन्सले खर्च बेहोर्ने भएको छ । कार्यक्रममा प्रयोग हुने गाडी निजी क्षेत्रले सहयोग गरिरहेका छन् ।

कार्यक्रमको तेस्रो दिन चन्द्रागिरी हिल्समा हुने सम्पूर्ण कार्यक्रमको खर्च चन्द्रगिरी हिल्सले सञ्चालन गरेको केबुलकारले गर्ने भएको छ । पाहुनालाई खाने बस्ने खर्च काठमाडौं नगरपालिकाको सरकारी कोषबाट बेहोरिने भएको छ ।

कार्यक्रमका आलोचक केही साहित्यकारहरुले तीन दिनसम्म हुने यो सरकारी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका निकट साहित्यकारहरुको वर्चश्व रहेको दाबी गरेका छन् । तर, आयोजकहरु भने मदन भण्डारी पार्टीको मात्रै नभएर राष्ट्रकै सम्पती भएका कारण उनका नाममा सम्मिलन आयोजना गरिएको भन्दै साहित्यिक कार्यक्रममा बखेडा झिक्नुको तूक नरहेको बताउँछन् । सम्मिलनमा प्रदीप गिरी, तुलसी भट्टराई, उषा ठाकुर जस्ता भिन्न दल र समुदायका विज्ञहरु पनि समावेश भएकाले वाहिर हल्ला भएजस्तो पार्टी कार्यकर्ताको मात्र कार्यक्रममा हावी नरहेको आयोजकको भनाइ छ ।

आ-आफ्नै तर्क

प्रधानमन्त्री ओलीको योजना र प्रत्यक्ष निर्देशनमा पहिलोपल्ट हुन लागेको यस किसिमको कार्यक्रममा किन सरकारी निकायलाई किन उपेक्षा गरियो ? यो प्रश्नमा सरकारी कर्मचारी भने अनविज्ञता व्यक्त गर्छन् । कतिपयले नेता मदन भण्डारीको नामलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रधानमन्त्रीको मोहका कारण सरकारी साहित्यक निकायलाई पंगु बनाएको आरोप लगाएका छन् ।

यता सम्मिलनका संयोजक सुवेदीको भने आफ्नै तर्क छ । उनी भन्छन्, ‘थोरै समयमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न सरकारी बाटोबाट जाँदा ढिलासुस्ती हुन सक्थ्यो । अर्को कुरा, यसको बजेट पनि सरकारसँग थिएन । यी दुई कारणले मदन भण्डारी फाउन्डेसनअन्तरगत साहित्य कला विभागले जिम्मा लिएको हो ।’

‘सरकारले यो कार्यक्रम गर्ने हो भने करिब दुई करोडको बजेट खर्च हुन्छ । यही कारण प्रधानमन्त्रीज्यूले मितव्ययिता अपनाउन र ढिलासुस्ती हुन नदिन छोटो बाटो रोज्नुभएको हो’ मदन भण्डारी फाउन्डेसन अन्तरगतका एक कर्मचारीले अनलाइनखवरसँग भने, ‘अहिले यो कार्यक्रम जसरी सम्पन्न हुँदैछ, यसबाट पनि प्रधानमन्त्री ठीक हुनुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

‘जुन किसिमको कार्यक्रम प्रधानमन्त्रीको निर्देशनमा हुँदैछ, झट्ट हेर्दा निकै राम्रो देखिन्छ । तर, सरकारी स्तरबाट कार्यक्रम नगर्दा जति धेरै पाहुना आउनु पर्ने हो, त्यति पाहुना आएनन् । सायद यो कमजोरी हो । अर्कोपल्ट यस किसिमको कार्यक्रम गर्दा पार्टीका नेताको नाममा खुलेकेा संस्था जोडिनु हुन्न ।’ कार्यक्रममा सहयोग पुर्‍याइरहेका एकजना सरकारी उच्च अधिकारीले अनलाइनखवरसँग भने, ‘खर्चको वचत भएको सत्य हो । किनभने यो कार्यक्रममा निजी क्षेत्रले बढी फाइदा लिएको छ । त्यसैले खर्च पनि उसैले गरेको छ । सरकारी तवरमा कार्यक्रम गर्दा यसो गर्न मिल्दैन्ा ।’

केके हुँदैछ तीन दिन ?

कार्यक्रमको पहिलो दिन बहुभाषिक सांस्कृतिक कार्यक्रम तय गरिएको छ । सांस्कृतिक संस्थानको सभा हलमा आयोजित उक्त कार्यक्रममा नेपालभित्रका ७ भाषाका ७ गीत र ७ नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ भने दोस्रो दिन डा. माधव पोखरेलले ‘हिमवत खण्डका भाषा र नेपाली भाषाको स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी जितेन्द्र देवले ‘नेपालका भाषाहरु र तिनका साहित्यिक स्थिति’ माथि कार्यपत्र प्रस्तुत गर्दैछन् ।

विदेशबाट आएका विद्वानहरुले पनि नेपाली भाषामा कार्यपत्र प्रस्तुत गर्नेछन् । सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख कविता लामाले ‘नेपाल बाहिर भानुभक्तलाई हेर्ने दृष्टिकोण’ माथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी कलाकार ठाकुरप्रसाद मैनालीले ‘नेपालका कला र सांस्कृतिको स्थिति र भावी दिशा’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्पूर्ण कार्यपत्रको नेपालबाट डा. अभि सुवेदी र डा. बासुदेव त्रिपाठीले संयोजन गर्ने र विदेशबाट कोलाकाता विश्वविद्यालयका प्राध्यापक सत्यप्रकाश तिवारीले संयोजन गर्ने बताइएको छ

दोस्रो दिनको दोस्रो कार्यक्रममा नेपालका बहुभाषी गोष्ठी राखिएको छ । ७ प्रदेशका १५ जोडी नारी-पुरुष कविले स्थानीय भाषाका कविता वाचन गर्नेछन् ।

त्यसैगरी स्थानीय भाषाका थप पाँच कविले आफ्ना भाषाका कविता वाचन गर्नेछन् । साँझ विदेशी पाहुनालाई आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित नेपाली चलचित्र देखाइनुका साथै नेपाली पाहुनाहरुका लागि मनोज गजुरेल, सीताराम कट्टेल धर्मुससहितको टिमले हास्यब्यङ्ग्य कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

तेस्रो दिन नेपालका जिल्ला जिल्लाबाट आएका तथा विदेशबाट आएका कविहरुलाई समेटेर चन्द्रगिरी हिल्समा कार्यक्रम गरिने भएको छ । उक्त दिन कविहरुले दिनभरि चन्द्रागिरी हिल्सको डाँडोमा बसेर कविता लेख्ने कार्यक्रम छ । त्यहाँ नेपाली गाउँघर र पहाडी क्षेत्रको चित्र कोर्ने कार्यक्रम राखिएको छ । चन्द्रागिरीमै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समापन गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment